Skip to content

जीवन्त अनुभूतिको महत्व


मानिसको हृदय छुने गरी लेख्नका लागि लेखनमा कुनचिज चाहिन्छ होला ? यो प्रश्नले मलाई कहिलेकाहीँ कुत्कुती लगाउँछ । मेरो सपाट मनले भन्छ –मुटु छुने गरी लेख्नको लागि स्रष्टाको आत्मामा जीवन्त अनुभूतिको बाढी चल्नुपर्छ । जीवन्त अनुभूति जीवन अनुभवबाट आर्जित चिज हो ; सूचना र ज्ञान किताबबाट आर्जन हुनसक्छ । त्यसलाई अध्ययनबाट समृद्ध गर्न सकिन्छ । तर अनुभूति अलग चिज हो, यो जीवनका उकालीओरालीहरूको हिँडाइबाट प्राप्त हुने चिज हो । व्यवहारका बाङ्गाटिङ्गा मोडहरूबाट आर्जित हुने वस्तु हो । त्यसैले ज्ञानको शुद्ध भण्डारमा धनी मानिस जीवन अनुभवमा गरिब हुन सक्छ ।

व्यवहारको अग्निचक्रबाट डामिँदै झिल्सिँदै पिल्सिँदै अगाडि बढेको स्रष्टाको कलममा जीवन्त अनुभूतिको जति सुगन्ध मग्मगाउँछ । त्यो सुगन्ध नक्कल अनुकरणबाट शब्द जोडजाड गर्ने स्रष्टाका रचनामा सर्वथा अभाव रहन्छ । एकप्रकारको कृत्रिमता हुन्छ त्यहाँ, एकप्रकारको कुरूपता हुन्छ त्यहाँ । सक्कली मुजुरको पखेटामा उनीएका प्वाँखहरूको बान्की र अलगअलग जातका चरीबाट राम्रा राम्रा प्वाँखाहरू निकालेर कागका पखेटामा जडिन्छ भने त्यसको बान्कीमा आसमानको अन्तर हुन्छ । एउटामा प्राकृतिक लयको बुनौट हुन्छ भने अर्कोमा कृत्रिम बुनौट हुन्छ । एउटामा सक्कली सुन्दरताको आरेख हुन्छ भने अर्कोमा नक्कली सुन्दरताको आरेख हुन्छ ।

जीवनमा दुःखको रङ कस्तो हुन्छ ? भोग्दै नभोगेको दुःखको स्वाद कति तितो हुन्छ चाख्तै नचाखेको लेखकले लेखेको दुःखको वर्णनमा दुःखको जीवन्त चित्रण नहुन सक्छ । दुःखको जीवन्त चित्रणको लागि त्यसको समिपमा सघन अनुभूति हुनुपर्दछ । आलिशान महलको सुखमा लटपटिएर लेखेका भोगेका दुःखका कवितामा प्रायोजित भाव, प्रायोजित विचार र प्रायोजित कला हुन्छ । त्यहाँ स्वय म यथार्थ बोल्दैन, नाटकीयताको आयोजन हुन्छ । यथार्थ हुँदैन कृत्रिम सजधजको व्यवस्थापन हुन्छ । हाम्रा कतिपय सपेदपोश लेखकका लेखाइमा यही समस्या देखिन्छ । उनीहरूको लेखाइमा अनेकौँ अप्राकृतिक विरोधाभासहरू प्रकट भएकाछन् । त्यसै उनीहरू सिराहामा लटरम्म सुन्तला फलाउछन् अनि ऐँशलुको रूखमा पीङ हालेर चचहुईँ चचहुईँ गर्दै मच्चाउछन् । कृत्रिमता यसरी आउँछ । काठमाडौंको महलभित्रै बसेर बाहिरी भूगोलको वर्णन गर्ने हुँदा कुरा कहाँकहाँ खुिस्कन्छ । त्यो उनीहरूले थाहा पाएका हुँदैनन् । गोर्की र प्रमचन्दका कथा किन विश्वव्यापीरूपमा लोकप्रिय बने ? किन उनीहरूका कथा जीवन्त र मार्मिक भावले भरिएका छन् ? यसको एउटै कारण म देख्छु –उनीहरूको लेखनमा सघन अनुभूतिको बाढी छ । आफू स्वय म घोप्टो नेप्टो चेप्टो भएर दुःख भोगे । त्यही भोगाइबाट उनीहरूको लेखन तीक्ष्ण अनुभूतिको चापले भरियो । उनीहरूले दुःखलाई जीवनको सीमान्त विन्दुसम्म ओर्लेर अनुभव गरे । त्यही अनुभवले यथार्थको चित्रणलाई सशक्त बनायो । उनीहरूको वर्णनमा काहीँपनि कृत्रिमता र बनावटीपन झल्किएन ।

जयशंकरदेखि ज्याकलण्डनसम्म, जुलियस फ्यूचिकदेखि अश्त्रोभस्कीसम्मको साहित्य लेखनमा जुन जीवन्तभाव छ, त्यो अनुभूतिको तीक्ष्णताबाट सिर्जित भावहो । उनीहरूले जीवनलाई गहिराइबाट भोगको छन् । स्रष्टा स्वय म श्रमिक बनेर श्रमको कष्टसाध्य बाटो हिंडेका छन् । र त्यही श्रमचेतनाबाट उनीहरूले साहित्य रचेका छन् । उनीहरूले जीवनमा जे भोगे त्यही लेखे, जे खेपे त्यही कोरे । अरूको अनुभव अनुभूति उनीहरूलाई चोर्नै परेन । आफ्नै अनुभूतिको रासमा चुलिएर लेखे ।

त्यस्तै कविरका काव्यहरूमा डुब्छु । उनका काव्यका हरपंक्ति चर्खाको धागोसितै कातिएका छन् । कविरले आफू जुलाहा बनेर विश्व साहित्यलाई अनमोल काव्य दिएँ । जीवनका अन्तिम दिनसम्मै धागो कात्ने, लुगा बुन्ने त्यसलाई बेच्ने आफैँ बजार जानेसम्मका कामहरू सम्पन्न गरेका कविर सिर्जन योगीमात्र होइन, निष्काम कर्मयोगीपनि थिए । कविरलाई कविर बनाउने, कविरलाई विशिष्ट साधक बनाउने काममा उनको श्रममय जीवन र त्यसबाट आर्जित अनभूति नै सबभन्दा महत्वपूर्ण कुरा थियो होला । त्यसैले त लोककवि अलिमियाँले सानो चुरा दोकान फिजाँएर चुरा बेचिरहेको दृश्य मलाई राम्रो लाग्छ । कृष्ण धरावासीले आमाको चुर दोकानमा सूर्ती बेच्न सघाएको दृश्य प्यारो लाग्छ । अलिमिया र कृष्ण धराबसीका साहित्य किन जीवन्त र मार्मिक भावले भरिएका छन् त ?भन्दा उनीहरूले जीवनका सुखदुःखलाई परिधिमा बसेर होइन, त्यसको केन्द्रमा उत्रेर भोगको थिए । र त उनीहरूका रचना सशक्त बने ।

दिनको सत्र घण्टा ट्यूशनमा घोटिने देवकोटाका रचना किन कालजयी छन् त ? उत्तर सिधा छ । उनी त्यो समय र समाजका स्रष्टा मात्र थिएनन् । समय, समाज र जीवनका भोक्ता थिए । प्रयोक्ता थिए । कवि पूर्ण विरामको कविताको दमलाई उनको जुत्ताकारखाना र सिमेन्ट कारखानाको श्रमिकजीवनको कटु सत्यानुभूतिले घोलेर हेर्न सकिन्छ । यथार्थको भागाइबाट उठेको अनुभूति कति बलशाली हुन्छ ? अनि प्रायोजित अनुभूति कति फितलो हुन्छ भन्ने कुरा स्रष्टाहरूका भिन्नभिन्नखाले पृष्ठभूमिबाट बुझ्न सकिन्छ । फिल्म र नाटक खेल्ने कलाकारहरूले अभिनयमा रूनु पर्दा धेरैले आँखामा आँशु निकाल्ने रसायन दलेर रून्छन् अरे । त्यसरी निकालिएका आँसु कृत्रिम हुन् । छाँतीमा साँच्चैको हुँडलो मच्चिएर निस्केका आँसुको मूल्य अर्कै हुन्छ । त्यसरी निकालिएका बनावटी आँसुमा अनुभूतिको तीक्ष्णता मार्मिकता र गहनता हुँदैन ।

विहान बेलुकै पाँचतारे होटलको लन्चडिनर खाएर हिँडेको कविले लेख्ने काव्यमा कति सूक्ष्म र तीक्ष्ण भाव आउन सक्लान् ? दिनरात आलिशान महल र कारमा रमण गर्नेले लेखेका झुप्रीका कविता, चरचरी फुटेका पैतलाको वर्णनमा कत्ति यथार्थ प्रतिविम्बन होला ? शङ्कै लाग्छ । यस खालका कविहरूले खसाएका आँसुलाई मैले नक्कली आँसु ठानेको छु । उही कलाकारले केमिकल दलेर निकाल्ने आँसुसँग यिनलाई तुलना गर्नसकिन्छ ।

पञ्चायती व्यवस्थाको मृटृ हल्लाउने कविता लेख्ने कवि युद्धप्रसादभित्र आफैँमा कृशकाय व्यक्तित्वका थिए । तर उनका कविताको शक्तिदेखि त्यतिखेरका राजामहाराजा शासकहरू झस्किँन्थे । नत्र राजा महेन्द्रले हातमा ललिपप राखेर उनलाई फकाउन किन दूत पठाउँथे । तर यद्धप्रसादले आफ्नो सुख स्वार्थलाईभन्दा जनताको दुःखमार्कालाई ठूलो ठानेर आजीवन निष्ठाको जीवन बिताए । जीवनभर एउटा अडिग आस्थामा निर्भर रहे । भारतमा निर्वासित हुँदा अठार वर्ष एउटै कोट लगाए । दुःख त कति हो कति भोगे । त्यही भोगाइ र जीवन आदर्शको चमकमा उनका हरकाव्यपंक्तिहरू टल्किए ।

यसरी स्रष्टाको छातीमा पैदा हुने जीवन्त अनुभूति जीवन्त व्यवहारबाट निस्किँदो रहेछ । त्यो अनुभूति नै यथार्थको नजिक हुँदो रहेछ । त्यसमा नै सत्यको झलक देख्न सकिने रहेछ । जो जीवन्त अनुभूतिले समृद्ध छ त्यसैले लेख्न सक्ने रहेछ युगयुग बाँचिरहने कालजयी रचनाहरू ।

२०६७भदौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *