Skip to content

चक्रपथको गोलचक्कर


फ्लाइओभरसहित सडक विस्तार भइरहेको कलंकीचोकबाट महानगर यातायातको नयाँ गाडीमा छिरेँ म । सम्बत् २०७४ साल भदौ १७ गते बिहानको सात बज्दै थियो त्यतिबेला ।

काठमाडौँसँग जोडिन आइपुगेको मुलुकको प्रमुख लोकमार्गको चौराहा कलंकीचोकको अवस्था देखेर भने विक्षिप्त भएँ एकछिन । देखियो– चारैतिर रोकिएका गन्तव्य बिर्सेका जस्ता सवारी साधनहरू, कुदिरहेका हुलका हुल मान्छेहरू, हिले फुटपाथमा तेर्साइएको च्याँखे व्यापार । सामान्य डाइभर्सनसमेत नखोली आवागमन रोकेर निर्माण भइरहेको देख्दा उदेक लागे पनि बन्दैछ भन्ने भरोसामा केही सम्झेझैँ गरी आँखा चिम्लेँ । र, शहरिया स्वाङ पार्दै अन्तै मुन्टो फर्काएँ मैले ।

पार्किङस्थलको अभावमा सडकमै रोकिएर यात्रु पर्खिरहेका ट्याक्सीहरूको भीड छिचोलेर अघि बढ्दै थिएँ, लत्रिरहेको तारमा अल्झिएर एउटा मोटरसाइकल लड्यो । काखे बच्चोसहितका बाबुआमा सकुशल उठे । तिनीहरूको सुरक्षित यात्राको कामना गर्दै अघि बढेँ म पनि ।

वाफलनेर विस्तारित सोझो बाटो हुनाले सरर कुदिरहेथ्यो सडक । बहत्तर सालको विनासकारी भूकम्पसँग जोडिएको सम्झनाले एकचोटी फेरि हल्लायो मलाई । भूकम्प गएपछि म निस्केर आइपुगेको खुला सडक यही थियो । जहाँ देखेथेँ, भूकम्पबाट बच्न सडकसँग शरण लिएका हजारौँ मान्छेहरू । र, मैले पनि ओठमुख सुकाएर धेरै दिनसम्म भोगेथेँ पालमुन्तिरको चिसो ।

अचेल भूकम्प बिर्सेर मान्छे आफनो धुनमा लागेको देख्दा एकमन खुसी भए पनि हजारमन दुखी छु म । म कहालीन्छु, स्मृति गुमाएको दुनियाँले परिहाले कसरी गर्ला अर्को भूकम्पको सामना ?

निर्धक्क बाटोमा बसिरहेका बाँच्छाहरू देखिए । तिनीहरूलाई देख्दा खुला चौरमा पुच्छर हल्लाईहल्लाई चर्ने मेरो गाउँका मालीगाई र चौरी बाँच्छीको याद आयो । वर्षौँपछि पनि अँझै आउँछ तिनको सम्झना मलाई । तर, यिनको माया मान्ने कोही छैन यहाँ । संवेदनाहीन मट्याङ्ग्राजस्ता मेरो धमिला आँखाले पनि देख्दैनथे सधैँजसो । आज अनायास परेछ नजर यिनीहरूमाथि ।

सीतापाइला पुग्दा सडकछेउमा देखियो प्लास्टिक, हिलोलगायतको फोहोरको डङ्गुर । फलफूलका टोकरी र तरकारीका ठेलासँग रमाइरहेथे शहरियाहरू । प्लास्टिकरहित शहर बनाउने सुन्दर सपनालाई त्यसै तुहाइदियो यो शहरले । निर्माण सामग्री सडकमै थुपारेर अनेक संरचना निर्माण गरिरहेछ शहर । खोई कहिले सम्पन्न हुन्छ तिम्रो निर्माण ? भूकम्पको फोहोर थुपारेर टालटुले निर्माणमा व्यस्त शहरसँग सोध्छु मैले ।

बुद्धलाई नमन गर्दै स्वयम्भूको डाँडातिर हेरेर उँचो विश्वाससँग रमाएँ एकछिन ।

मान्छे चढ्ने र झर्ने ठाउँमै झिँगा भन्किरहेको मरेको कुकुर देखियो आज पनि । महानगरीय व्यवस्थापनलाई चुनौती दिँदै यो कुकुर केही दिनदेखि लडिरहेछ बेखबर । नाक थुनेर मुन्टो अन्तै फर्काएँ मैले ।

विनासकारी भूकम्पताका हुरीले रुख ढाल्दा एकजनाले ज्यान गुमाएको ठाउँ यही हो, मनले सूचित गरायो । सडकछेउका जीर्ण रुखहरू हेर्दै मनसँग गुनासो गरेँ, विस्मृतिको गर्तमा पुगिसकेका घटनाहरू सम्झाएर किन दुखित बनाएको बिनसित्ती ?

वनस्थलीचोक नपुग्दै रोकिए गाडीहरू । जाम परेकोलाई स्वाभाविक मान्दै सडकमा घण्टौँ कुरिरहनुपर्ने बाध्यता छ काठमाडौँमा अचेल । सडकको अवस्था, सडक बत्ती, बस बिसौनी, सवारी क्रसिङ व्यवस्थापन, जेब्राक्रस र यात्रु तर्ने स–साना पुलको अभाव जस्ता समस्याले जेलिएका छन् सडक यहाँ । यस्तै समस्याको आडमा झन् बल्झिँदोरहेछ– लेन अनुशासन मिच्ने, ओभरटेक गर्ने जस्तो प्रवृत्ति । सोच्छु, समस्यामा बाँधिएर यथास्थितिमा रोकिँदा छट्पटिनुपर्दोरहेछ ।

बालाजुचोक छोडिएर माछापोखरी पुगियो । देब्रेपट्टि नागार्जुनको जंगल हेरेर चक्रपथका व्यथा बिर्सन चाहेँ एकछिन मैले ।

सासै नफेरिकन, आँखै नझिम्क्याइकन, सिठी बजाउँदै हात हल्लाएर आउनेजानेलाई इशारा गरिरहेथ्यो चोकचोकमा ट्राफिक प्रहरी । प्रविधिसम्पन्न पूर्वाधार निर्माण भएर सडक स्वचालित हुने दिन कहिले आउला, म धुलो र धुँवाको मुस्लोभित्रको मान्छेको अनुहार हेर्दै टोलाउँछु ।

पुलमुन्तिर बगिरहेथ्यो धमिलो विष्णुमती । करिब दुईवर्ष अघि नदी सफाइ कार्यक्रममा सहभागी हुँदाको क्षण सम्झेँ मैले । अहो, कम्ती फालिएथ्यो र फोहोर उतिबेला । अहिले पनि उत्तिकै छ फोहोरको डंगुर वरपर । एउटा कुराले चित्त बुझाउँछु– सफाइ कार्यक्रममा सहभागी भएकोले त पक्कै फाल्दैनन् होला फोहोर यत्रतत्र । यस्तै कार्यक्रममा सहभागी हुँदाहुँदा दीक्षित होलान् सबै शहरिया एकदिन ।

गोंगबु बसपार्क छोडिएपछि केही मान्छेहरूले आज पनि सडक सफा गरिरहेको देखियो । त्यो समूहमा स्थानीय मान्छेहरू थिए थिएनन्, खास चासो यसमै थियो मेरो ।

केहीदिन पहिले ठूलो पानी पर्दा एकजना स्कुले बच्ची बगेको ठाउँलाई फलामे बारले बारेको देखियो । बार बारे तिल जोगिन्छ भन्दै थिएँ, ती बच्ची बगेको ठाउँ मात्रै बारेर अन्यत्र त्यसै छोडिएको पो देखियो ।

हिजो राती परेथ्यो ठूलो पानी । फेरि उत्रै पानी पर्ला जसरी धुम्मिएको छ आकास । तर, धुलोले ढाकिएको छ सडक । लाज लागेर नाक लुकाएजसरी रुमालले अनुहार ढाकेको छु मैले । सोच्छु, भत्केको सडक मर्मत गरेर सबै धुलो हटाउन पाए अरु के चाहिन्थ्यो होला र काठमाडौँमा ?

बसुन्धरा नपुग्दै गुरुजीले कण्डक्टरलाई भने, ढोका लगाऊ । प्रष्टै बुझिन्थ्यो, यात्रुको सुरक्षाका लागिभन्दा पनि ट्राफिक प्रहरीलाई देखाउन लगाइन्छ ढोका ।

आहा, नेपाल प्रहरीका केही जवानहरूले सडक सफा गरिरहेको देखियो त्यहाँ पनि । सभ्य शहर निर्माणको शुभारम्भ ठानेर उत्साहित भएँ म एकछिन ।

चक्रपथका सप्पै ठाउँको नाम फलाकेर कराइरहेछ कण्डक्टर । धुवाँ धुलोले सजिएको सडक उसको कोकोहोलो पाएर झन् आह्लादित भएको छ । नाक छोपेर उभिइरहेका मान्छेहरूको भीड चक्रपथका चोकहरूमा अल्मलिए पनि अनेक चहलपहल पाएर उल्लासित भएको छ शहर । मेलम्ची खानेपानी आयोजनाको पाइप विच्छ्याइसकेर बाँकी पाइपहरू सडक किनारमै छन् असरल्ल । के छैन र सडकसँग; पसल–व्यापार, अस्पताल–स्वास्थ्य, स्कुल क्याम्पस–शिक्षा, बैंक बिमा–आर्थिक कारोबार, … । सडकसँगै छ मान्छेको माया, प्रेम, घृणा, सद्भाव, आशा, भरोसा, … । यो सब देखेर मान्छेहरूले सुन्दर शहर निर्माण गर्न एउटा दृढ प्रतिज्ञासहित सडकमै घन्काइरहेझैँ लाग्यो स्मार्ट सिटीको नारा ।

आठबजे महाराजगञ्ज पुग्न फिटीफिटी परेकी महिला आठ बज्नुपहिल्यै झरिन् महाराजगञ्ज चोकवल्तिर । सुविधा, समय र प्रतिबद्धताप्रति बेप्रवाह वर्तमानमा उनको अपेक्षा पूरा भएको देखेर मजस्तै अरूहरू पनि खुसी भए होलान्, अचम्मित भए होलान् ।

महाराजगञ्जचोकमा पुगेर स्वर सम्राट नारायणगोपालको स्मरण गरेँ मैले । उनका कालजयी गीत संगीत मान्छेको मनमनमा गुञ्जिएकै छन्, देवतासरिको उनको सालिकसँग गर्छु मौन सम्वाद ।

मुलुकको करिब आधा जनसंख्या थुप्रिएको राजधानीका लागि कति रुख बिरुवा चाहिँदो हो ? अलिकति हरियाली पोखिएको सडकसँग एउटा प्रश्न तेस्र्याएँ मैले, ऊ निरुत्तर झोक्राइरह्यो ।

चाबहिल चोकमा आइपुग्दा पनि उस्तै उदासी देखियो मान्छेको अनुहारमा । म स्तब्ध हुन्छु, सडकको भत्केको अनुहार मान्छेको अनुहारमा टाँसिएको त होइन ? विदीर्ण अनुहारका मान्छेहरूको दौडधूप देख्दा लाग्छ, चारुमति स्तुपाका आँखाले देखेको पुरानो इतिहास सम्झने फुर्सद कसैको छैन यहाँ ।

एकजना महिलाले आफू नजिकै तिव्र गतिमा आइपुगेको गाडीको पर्वाहै नगरी हात तेर्साउँदै बाटो काटिन् । मानौँ, गाडीको ब्रेक उनकै हातमा छ । दुईचार मिनट टाढाको जेब्राक्रससम्म नपुगेर जहाँसुकैबाट बाटो काट्नेहरू देखिन्छन् सर्वत्र । जेब्राक्रसमै पनि मान्छे किचिएका घटना सुनाउँदै जुनसुकै ठाउँबाट हेलिने केही साथीभाइलाई सम्झन्छु । नियम मिच्नेहरूको यस्तै दुईतर्फी चेपुवामा रन्थनिन्छु म हरक्षण ।

गौशालाचोक पुग्दा बाँदर, परेवा र मान्छेहरूको चहलपहल देखियो । फूलपाती, मिठाई बेचिरहेका, जुत्ता पालिस गरिरहेका मान्छे र पशुपतिनाथलाई एकैपटक नमन गर्छु मैले । आर्यघाटमाथि मडारिइरहेको धुवाँको मुस्लो देखेर मनमनै सोच्छु– मान्छेले मर्छु भनेर कुकर्म नगरोस्, अमर छु भनेर सत्कर्म गरोस् ।

चोर, डाँका र गुण्डाहरूलाई संरक्षण दिने तर बेरोजगारको हिसाबै नगर्ने विवेकशून्य शहरसँग ठुस्किएर आफ्नै गाउँ पस्न मन हुन्छ कहिलेकाहीँ । शहरको अनेक परिबन्दले अल्मलाइरहेछ मलाई । तर, मजस्ताको गुनासो सुन्ने फुर्सदै छैन शहरसँग ।

सडकमा परेका खाल्डाखुल्टी मेरै छातीमा लागेको घाउजसरी दुखिरहे । सभ्यता र संस्कार हिँड्न अबरोध भइरहेको चक्रपथमा अभाव र गरिबीमात्रै कुदिरहेछ मस्तले । देख्छु, सडकको गरिबीलाई गिज्याउँदै गेट पर्खालले छेकिएर आलिसान महलहरू भने बाँचिरहेछन् सम्पन्नता । तिनलाई मुलुकको चासो छैन, आफू सम्पन्न भए पुगिहाल्छ । कहिलेकाहीँ त लाग्छ, आफूलाई नचाहिने सम्पत्ति पनि थुपारिरहेछ यो शहर ।

बाग्मती तरेर तिलगंगा पुगियो । देब्रेपट्टिको गल्फ खेल्ने चौरको सुन्दरताले तान्यो एकछिन । सञ्चारग्रामका महाकवि, कविशिरोमणि र नाट्य सम्राटको त्रिमूर्तिय एकबद्धताले लोभ्यायो । एयरपोर्ट र सिनामंगलसँग मुस्कुराएँ म । तीनकुनेको खालिचौरमा सन्तोषको सास फेरेँ र एउटा सुन्दर पार्क सजाएँ मनमा ।

कोटेश्वरमा अल्मलिइरहेथे गाडीका लस्कर र मान्छेको भीड । म भनेँ टंकप्रसाद आचार्यको सालिक खोजेर अल्मलिएँ धेरैबेर ।

कोटेश्वर कटेपछि धुलोले धमिलिएको विश्वासलाई चिटिक्कको आकासे पुलसँग उचालेँ मैले । अनि लेन छुट्याएको विस्तारित बाटो देखेर रमाएँ । दीपनगर, बालकुमारी, खरिबोट र ग्वार्को पार गरेर सरर गुडिरहेँ । सातदोबाटो, चापागाउँदोबाटो, ताल्छीखेल, थसीखेल, कुसुन्ती र एकान्तकुनाका विस्तारित सडकछेउका बस्तीसँग नजर जुधाएँ । नख्खुदोबाटो, बागडोल, धोबीघाट, नयाँबाटो, सानेपा र बल्खु हुँदै कलंकी निस्केर दुईघण्टामा चक्रपथ फन्को मारेँ ।

शनिवारीय फुर्सदमा टहल्न निस्केको म चक्रपथ घुमेर आफ्नै बासस्थानतिर फर्कँदै थिएँ । उकुच पल्टिएको घाउले थलिएको रोगी चक्रपथ देखेर हराइरहेथ्यो मेरा पाइलाको गति । चक्रपथभित्रको काठमाडौँ सम्झदा त नाडी नै हरायो मेरो । अनि बाटोछेउमै घुँडामा हात राखेर निहुरिँदै सुस्ताएँ एकछिन ।

घावैघाउले थिल्थिलिएको शरीरको मुटु झन् कहाँ होला र सद्दे ? सम्झियो– मुलुकभरका बेरोजगारहरू थुप्रिने रत्नपार्क, टाउको उठाउन नसकेको बूढो घण्टाघर, आँसु सुकेको नानीजस्तो रानीतलाउ र खण्डहरभित्र पुरिएको धरहरालाई । सम्झिए– बन्नुभन्दा भत्किनुको पीडा खेपिरहेका धुलाम्मे सडकहरू । यो सब देखेर मुटुमै चस्कियो– मुलुकको आशाको प्रवाह केन्द्र सिंहदरबार ।

दुखेको छाती छामेर आफैलाई सम्झाएँ– अनेक पूर्वाधार, प्रविधि र सभ्य संस्कारले सम्पन्न भएर समृद्ध नेपालको सुन्दर शहर बन्ने छ काठमाडौँ एकदिन । आफ्ना लथालिङ्ग अव्यवस्थाहरू तह लगाएर मुलुकबासीको भरोसाको केन्द्र बन्ने छ काठमाडौँ कुनैदिन ।

यही आशामा काठमाडौँको अव्यवस्थताप्रति वेवास्ता गरिरहेछु अचेल मैले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *