Skip to content

खेलौँ डण्डीबियो


यता आऊ साथीभाइ केही भन्नु थियो
खेलौँ हामी कपर्दी र खेलौँ डण्डीबियो

खेल खेल्दा झेल गर्न अघि सर्नुहुन्न
‘शान्ति’सँग खेल्नुपर्छ हल्ला गर्नुहुन्न

धागो लिई ‘दीपा’ दौड ‘सुषमा’ लिऊ सियो
खेलौँ हामी सियो–धागो, खेलौँ डण्डीबियो

‘बिना’ तिमी बहिनी बन्नू ‘देवी’ दिदी बन्नू
‘सूचना’ चैँ के बन्ने हो नलजाई भन्नू

खेल्ने काम तिमी गर म बस्नेछु चियो
खेलौँ हामी भाँडाकुटी, खेलौँ डण्डीबियो

डोरी लिई ‘अनुपा’ को खुट्टा बाँध्न आऊ
‘शुभेच्छा’ को आँखा छोप्न रातो रुमाल ल्याऊ

बिरालाले मुसा समाई दिनु मुक्का दियो
खेलौँ मुसो–बिरालो र खेलौँ डण्डीबियो ।

–भोर्लेटार, लमजुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *