जेब्रा क्रसिङ्का दाँयाबाँया
चौडा सडकका छातीमा उभिएका
सडक वारपार गर्न आतुर
छरपष्ट छिरलिएका छिचिमिराझैँ
ढाडमा नदेखिने भारी बोकेका
टाउकामा नदेखिने बोझ उचालेका
भयमिश्रित लेप दलेर
आतङ्क घुलित सुगन्धमा घुलेर
मौनता चबाएर चुइङ्गममा
दौडिए पनि नदौडिएजस्ता
पौडिए पनि नपौडिएजस्ता
ती मान्छेका हुलहरू हुन्
मान्छेका हुलहरू होइनन्,
आदिम युगदेखि
‘हाइब्रिड कम्प्युटर’ युगसम्म
एउटा पुरुष जतिसुकै दौडिएको अभिनय गरोस्
ऊ एउटी स्त्रीसम्म मात्र पुग्न सकेको छ
ऋग्वेदका परा र अपरा विषयदेखि
‘सरोगेट मदर’सम्म
एउटी स्त्री जतिसुकै पौडिएकी नाटक गरोस्
ऊ एउटा पुरुषसम्म मात्र टुङ्गिन सकेकी छ
सलहका हुलका हुल झैँ सहरीकृत मानवहरू
बस, माइक्रो, टे«न, ट्राम, ट्याम्पो र ट्याक्सीमा
साथसाथ किन नदौडिएका हुन्
प्रत्येकका भोक एक्ला छन्
निजका भोग एक्ला छन्
जोसुकैका रोग एक्ला छन्
तिनका शोक एक्ला छन्
समूह त नाटक हो
सडक त नाटकघर हो,
यहाँ आफ्नो भोक केवल आफ्ना लागि मात्रै हो
यहाँ आफ्नो भोग केवल आफ्ना लागि मात्रै हो
यहाँ आफ्नो रोग केवल आफ्ना लागि मात्रै हो
यहाँ आफ्नो शोक केवल आफ्ना लागि मात्रै हो
प्रत्येकका भोकहरू
भोगहरू
रोगहरू
शोकहरू
पत्रिकाका विज्ञापित समवेदना र श्रद्धाञ्जलिहरू
‘टाइकुन’ उन्मुख ढोंग हुन्
पुँजीकृत दुःख समनले आजसम्म कसैको दुःखको पारो
रक्तिभर/बित्ताभर घट्ने भए
संसार दुःखरहित भैसक्ने थियो,
आजसम्म
संसारमा झारिएका आँसुले नुहाएर मानिसहरू
अश्रुरहित भैसक्ने थिए
आजसम्म
संसारमा पोखिएका रगतका आयतनले मानिसहरू
रक्तरहित भैसक्ने थिए
भन्नेहरूले भन्लान् –
आँसु दुःख बाँड्नैका लागि साँचिएको हो
रगत दुःख घटाउनैका लागि साँचिएको हो
तर समूहीकृत आँसु र रगतले
कतिको व्यक्तिगत दुःख घटाएको छ ?
कतिको व्यक्तिगत सुख बाँडेको छ ?
वेदलाई
कुरानलाई
बाइबललाई
त्रिपिटकलाई
धुलिसात पारेर अध्ययन गरी धुल्याए पनि
भेटिएनन् विश्लेषित उत्तरहरू,
सवारी साधनलाई रोकेर
चौबाटाहरूमा
आजसम्म कुनै दुःखको मात्रालाई
घटाउने बाटो देखाउने
‘ट्राफिक’ सडकमा देखिएनन्
हजारौँ पत्रिकाहरूमा
लाखौँलाख ‘बाइलाइन’ समाचार छापिए
तर व्यक्तिको मौलिक दुःख घटाउने
मौलिकोन्मुख दुःखका समाचार लेखिएनन्
दुःख परिवारमा बाँड्न सकिने भए
किन एउटा छोरो जीवनभर घाँस काट्छ र
अर्को छोरो जुनीभर चेक काटेर भ्याउदैन ?
स्त्री आमा हो –जननी
पुरुष पिता हो
सक्ने भए सलाइका बट्टा वा बिस्कुटका पुरियाझैँ
एकैनासे सन्तान जन्माउँथे
बाउआमाहरू
जन्म मौलिक भएपछि
जन्मेत्तर सबै नाम, क्रिया प्रतिक्रिया
कसैसँग कसैको पर्याय हुनै सक्दैन
मृत्यु प्राकृत भएपछि
मृत्योत्तर सबै व्यवहारहरू
कसैसँग कसैको समानार्थी बन्नै सक्दैन
त्यसैले
हुल फजुल हो
समूह ढोंग हो
वर्ग फत्तुर हो
भीड आफैँमा नाटक हो
अप्रेसन थिएटरमा सिजरिङ्पछि
जब नवजात शिशु जन्माउँदछन् दक्ष चिकित्सकहरू
त्यसपछि
वेद/बाइबल/कुरान र त्रिपिटक साक्षी राखेर
उसको न्वारान गरिन्छ
उसको नेम सेलेक्सन गरिन्छ
उसकी नाम दि जाती है
उसले नामाकरणको पूर्णाहुती पाउँछ
समाजको पोखरीले उसलाई
नाम दिन्छ
जात दिन्छ
धर्म दिन्छ
र दिन्छ वर्णको अन्त्यहीन कलेबर बाँचुन्जेल
यसरी यहाँ मान्छेको सट्टामा जन्मिन्छ
एउटा हिन्दू
एउटा मुश्लिम
एउटा क्रिश्चियन
एउटा बौद्ध धर्माबलम्बी
एकएक गरी अनेक भएका/भनिएकाहरू
धर्मयुद्ध गर्छन्
वर्णयुद्ध गर्छन्
वैचारिक युद्ध गर्छन्
र जलाउँछन् वेदहरू
नष्टयाउँछन् बाइबलहरू
धुजाधुजा पार्छन् कुरानहरू
अनि टुक्र्याउँछन् त्रिपिटकहरू,
मानिस जन्मँदा मानिस मात्रै जन्मन्छ यहाँ
बालवय
तन्नेरी र
बुढ्यौलीमा पनि
हिन्दू भएर टुकुटुकु नगरे
क्रिश्चियन भएर ठमठम नहिँडे
मुश्लिम भएर अद्बैँसे नभनिए
अनि बुद्धिष्ट भएर लौरो नटेके
सार्वभौम मानिस नै मर्न पाउँने थियो चैनको मृत्यु
मृत्यु त सिकन्जाविहीन हुने थियो
जुलुसजुलुस मान्छेहरू
भीडभीड मान्छेहरू
ताँतीताँती मान्छेहरू
वर्गवर्ग मान्छेहरू
यात्रामा निस्केका छन्
कोही जन्ती भएर
कोही मलामी भएर
कोही पक्ष भएर
कोही प्रतिपक्ष भएर
वादी भएर/प्रतिवादी भएर
ग्राहक भएर/साहू भएर
यो भएर/त्यो भएर
एसियन/अफ्रिकन/युरोपियन/अमेरिकन/अष्ट्रेलियन
मानिसलाई जति राष्ट्रका महादेशका
गञ्जकमा हालेर थुनिन्छ
त्यति हुल चोइटिन्छ – साँगुरिन्छ
र ऊ व्यक्ति बन्छ,
त्यसैले जन्ती भन या मलामी भन
समूह त देखावटी हो मोलम्बा लगाएको सुनको गजुरझैँ
मान्छे एक्लो हुन्छ
मान्छे एक्लो रहन्छ भाषण सुन्नैका लागि खर्किएका उरुङ मान्छेहरू
क्रान्ति गर्नका लागि थुप्रिएका रास मान्छेहरू
मान्छेका हुलहरू हुन्
मान्छेका हुलहरू होइनन्
अभिनित चरित्र
अपनाउन
व्यष्टिबाट समष्टि भएका मानिसहरू
अदा पूरा गर्न
फर्ज निभाउन फड्को मार्नेहरू
एक्लाएक्लै छन्
सग्लासग्लै हुन्
मिलेजस्ता छन् प्राकृततः मिल्दैनन्
जुटेजस्ता छन् व्यवहारतः जुट्दैनन्
त्यसैले ती मान्छेका हुलहरू हुन्
मान्छेका हुलहरू होइनन् ।
पेशल आचार्य
टीकाथली
२०६५–०७–८