Skip to content


मलाई तराईबाट
छक्कड काटेका पूर उमेर नभएका अधबैँसे एक हल गोरु
साथमा दरो फलामे कल्टी हलो ल्याएर
भग्नावशेष भएको त्रिभूवन सदन वरिपरि
मज्जाले लुँडी झिकीझिकी हलो जोतेर
तोरी छर्न मन लागेको छ,

मलाई पहाडबाट
लेकाली आलु
उत्तिसका दाउरा
र ठूल्ठूला सिलेबरका डेक्चीमा
ढुङ्गाको चम्का हाली
टुँडिखेलमा आलु उसिनेर
चित्राको मान्द्रामा मस्यौरा हाल्न मन लागेको छ
मलाई हिमालबाट
हिमनदीको चिसो पानी
पहराका शीलाजित मिश्रित जडीबुटी
गुँरासका रमणिय सुन्दर थुँगाहरू
थुन्सेका थुन्से ओसारेर यो काठमाडौँमा
उरुङ् लगाइदिन मन लागेको छ
त्यसपछि हेर्नु छ यहाँका जात्रेहरूले के गर्दा रहेछन् ?

हिजो पनि हामी भुइँ मान्छेका लागि
नारायण हिटी काँडे तार भित्रै थियो
आज पनि हामी भुइँ मान्छेका लागि
नारायण हिटी पहरा भित्रै छ
खै ! के फरक छ ?
हिजो राजा हुँदाको नारायण हिटी र
आज राष्ट्रपति हुँदाको नारायण हिटीमा
बरू अलिकति तोरी फलाए पनि
यो त उदाहरण हुने छ
आम मान्छेका लागि,

टुँडिखेलमा कति बाँध्ने अब
नयाँ ब्याएका भाषणका सातपोकेहरू
मलाई कर्णालीको विकटता
मेचीको संवेदना विज्ञापन गरेर
अब पनि नयाँ नेपालमा
जनाद्र्धन ढाँट्नु छैन
कुरा दोचारेर
यो अमूल्य समय त्यसैत्यसै काट्नु छैन ।

पेशल आचार्य
मन्थली
२०६५–१२–२७

1 thought on “नारायणहिटी”

  1. सुन्दर कविता
    निकै सुन्दर कविताको निम्ति पेसल आचार्य जीलाई साधुबाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *