मनमा प्रेम र समर्पणको
सगुन बोकेर
सुरु भएको तिम्रो मेरो
जीवनको सहयात्रा
भर्खर झैँ लागे पनि
पार भैसकेछ्न कैयौं वसन्तहरू।
आँखाभरि सपना सजाउँदै
निष्ठाको फूलबारीमा
विश्वासका बीउ बिजन छरी
जीवनको सामलतुमल
मिलाउँदा मिलाउँदै
पखेटा हाली उडिसकेछ्न्
हाम्रो हृदय पगाल्ने
हामीले सुम्सुमाइरहने बचेरा
सजिलो खोज्न शहरतिर ।
केवल
बाँकी छ अब
जीवनको उकाली ओरालीमा
कैयौँ तनावका तटबन्ध तोड्दै
हावा-हुरीसँग जुध्दा
थोत्रिएको रूपरङ्ग
चाहुरिएको छाला
सेतै फुलेको केशराशि ।
हराए पनि
बैंसालु चाहना
बैंसालु उच्छ्वास
नशालु नजर
बैंसालु आस्वादनको स्पर्श।
तिमी र म त छौँ नि
उस्तै त छ नि
मनभित्रको माधुर्य
सुमधुर स्पर्श
संवेदनाले भरिएको मुटु
सँगै बाँच्नेसँगै मर्ने
कसिलो बाचाको गाँठो
निर्मल निश्चल प्रेम
छाडे पनि सबैले
एक्लो छैनौँ हामी
आऊ प्रिय
तिमी मेरो मधु
म तिम्री मालती
हेर्दै आँखामा उही स्मृतिविम्ब
गुनगुनाऊँ
मायाको नवीन धून।
– गङ्गा आचार्य
काठमाडौँ