गजलः
रोकूँ भन्दा भन्दै आँसु आँखाबाट झरेको छ
मेरो भाग्य दलानबाट परपर सरेको छ ।।
विरहका भाकाहरु न्याउली गाउँछ रुखमा बसी
उसको गीत सुनी मेरो मुटु चिरा परेको छ ।।
साँझ बिहान झ्याउँकीरीले उराठ्लाग्दो कराएर
शरद काल नै मेरा लागि शिशिर जस्तो गरेको छ ।।
सुसेलेर हावासँगै डबलीको सल्लो घारी
विरहका गीत मानौं छाती भरी छरेको छ ।
ढकमक्क फुल्नु पर्ने फूल पनि वैलिएर
ठिँगुरिए जस्तो भई बिचमा कतै झरेको छ ।।