Skip to content


‘धेरै वर्षपछि फर्केर चुनाब त आयो । तर यो चुनाब भनेकै तनाव हो रहेछ दाइ, त्यसैले म चाहिं यो पाली चुनाबमा तटस्थ बस्छु ।’ नबुङहाङको कुरा सुनेर पिईराखेको चियाको गिलास उठाउँदै बागेमान बोले, ‘होइन किन नि? कसरी थाहा भयो? यो पाली त हाम्रै दाइलाई उठाउने हो जिताउनलाई त हामी चुप लागेर हुन्छ र?’ तानेको एक सुरुप चियामा हावा मात्र आएकोले नबुङले गिलास हेरे, चिया सिद्धिसकेको रहेछ । क्याफेको साहुनीलाई चिया थप्ने ईशारा दिदैं नबुङ बोले, ‘अस्ति विद्यार्थी संगठनको चुनाबमा हुनुसम्म भयो नि, समुदायको केही हित गर्न सकिन्छ कि भनेर सचिव पदमा वसेको सुर्वा कल्याणकारी समाज पनि चुनाबमा यो पार्टी र त्यो पार्टी भन्ने हुँदा विग्रिराखेको छ । फूटाऊ र शासन गर भन्ने भनाई कतै सुनेको थिएँ, ठ्याक्कै त्यस्तै भयो । प्रत्येक पार्टीले हाम्रो समुदायको कोही न कोही अगाडि बढाएकै हुँदो रहेछ । पार्टीले गर्दा यो पाली जाति पनि तीन टुक्रा भयो ।’ …..
‘यो कोलाम क्याफेमा बसेर आजसम्ममा हामीले तीनवटा चुनाबको तयारीको बारेमा कु्रा गरिसकेका छौं जस्तो लाग्छ । तर यो पालीमात्र किन त्यस्तो लागेको होला है?’ केही समयको पजपछि बागेले कुरा सुरु गरे । पहिलो र दोस्रो भनेको केन्द्र स्तरकै चुनाब थियो, खास महशुस भएन तर तेस्रो चुनाब चाहिं आफू–आफैँ परियो । स्वतन्त्र विद्यार्थी युनियनमा कलेजमा उपाध्यक्ष पदमा उम्मेदवार बन्दै गर्दा कल्याणकारी समाज र अरु साथीहरुको आँखाको तारो मात्र बन्न पुगियो । झन् यो पाली त परिवारबाटै त्यति रुचाइएको छैन मेरो यो चाला ।’ नबुङको यी भनाईहरू मुख आँ गरेर एकोहोरो भएर सुनेपछि बागेदाइले आजको लागि कुरा टुंग्याए, ‘तिम्रो बोल्ने शैलीहरू हरेक सुन्दा र देख्दा त तिमी साह्रै नेता हुन सक्ने मान्छे र भोटरलाई सम्झाउन सक्ने मान्छे जस्तो लाग्यो ।’ नबुङ ‘दिनभरि रुङ्ग्यो, बुढा त जिउँदै’ भन्दै चारकप चियाको पैसा तिरेर कोलाम क्याफेबाट बाहिर निस्कियो ।
कोठा पुगेर बोकेको झोला बिसाएपछि सर्ट फेर्दै गर्दा मोबाइलमा म्यासेज आयो, ‘धेरै मिस गरेको छु, कता गायव? एक मिस्डकलसम्म पनि छैन त, बाई द वे लभ यु, उम्माककक….’ जवाफमा, ‘उम्मा भनेको हाम्रो भाषामा उसको आमा भनेको हो, अनि प्यास मेटाउने पेय पदार्थलाई पनि कसै कसैले उम्मा भन्छन् ।’ लेखेर एक स्माईली जोडी पठाए । ‘दोस्रो अर्थमा बुझ्दा पनि अन्यथा नहोला । अनि चुनाब आउँदै छ, भन्दिया छु है, निद्राको खराव, पैसाको खराब, साथीभाइ, आफन्तसँगको चित्त दुखाई मात्र हो । चुप बस्नु राम्रो होला….’ नबुङलाई लाग्यो, ‘यो मान्छे उम्मा शब्दको पहिलो अर्थ नै होला, आमाले अह्राएभन्दा नि गजब तरिकाले अह्राउँछे । तर जे भए पनि माध्यमिक विद्यालयको पढाई नसक्दै कमाएको सम्बन्ध अहिले कलेजको सानोतिनो नेता भइसक्दासम्म टिकेको छ, चानचुने त कहाँ हो र?’

बेलुका खाना खाएपछि टिभीमा चुनाबी सरगर्मी बढेका समाचार हेर्दै यसो फेसबुक खोलेर नयाँ नयाँ फीडहरू हेर्न थाले । पचहत्तर प्रतिशतभन्दा बढी त आउँदै गरेको चुनाबकै पेरीफेरीमा आधारित पोष्टहरू देखिए । त्यही बीचमा उनले एक पोष्टलाई राम्ररी हेरे, जुन उनका नजिकका चिनजानका साथीको थियो । ‘नाङलो चिन्हबाट हाम्रो गाउँमा एक प्रौढ कक्षा लेभलको व्यक्तिलाई अगाडि बढाइदैं छ, हाम्रो धारणा त के भने दाग नलागेको चन्द्रमा चिन्हबाट हामीले प्रस्ताव गरेको विए पढेको र थुप्रै बौद्धिक कार्य पनि गरिसकेका व्यक्ति नै एकमात्र विकल्प हो हाम्रो लागि ।’ यसो तल कमेन्ट हेर्दै जाँदा अर्को एकजोडी चील चिन्ह समर्थकले लेखेका थिए, ‘नाङलो भनेको गोलो हुन्छ, गोलो भनेको जिरो हो, त्यसैले यो पटक नाङलो चिन्ह जिरो हुनेछ, तर चन्द्रमा आकाशमा हुन्छ उसलाई पृथ्वीमा कहिले के हुन्छ थाहा हुन्न, विए पढ्यो भन्दैमा एक्लो वृहस्पति पनि कोही नहोला ।’ यी र यस्तै थुप्रै कमेन्ट, लाइक र रिप्लाईहरू हेरेपछि नबुङलाई चुप बस्न मन लागेन, लेखिदिए, ‘साथीहरु, जसले जसलाई जे भनेर होच्याए पनि, रिसाए पनि आखिर त्यो सानो भूगोलभित्र अट्नुपर्ने तपाईं हामी नै हौं, मेरो एकजना काका हुन्ुहुन्छ, पाँच कक्षा पनि पास नगरेका तर तमसुक लेख्नमा आजका एमए पढेकाले पनि भेटाउन सकिन्न उहाँलाई ।’

नाङलो चिन्हका अध्यक्षका प्रस्तावित उम्मेदवारले फोन गरेर बोलाए, ‘नबुङ जि, केही समय मिलाएर क्याफे आउनु न है, अनुरोध गरेँ ।’ कोलामा क्याफेको एक कोठामा बागे, उम्मेदवारहरू छ सात जना अरु साथी सहित बसिराखेका थिए । प्रस्तावित उम्मेदवारले कुरा सुरु गरे, ‘साथीहरू मेरो अनुरोध स्वीकारेर आउनु भो, धन्यवाद । हाम्रो पार्टीबाट मलाई अध्यक्षमा प्रस्ताव गरिएको छ तर मैले तपाईं युवा साथीहरुसँग सल्लाह गरेर मात्र अन्तिम जवाफ दिने भनेको छु । अब गाउँको विकास गर्नलाई म आफूलाई इच्छुक र सक्षम ठानेको छु, तर एउटै सर्तमा, त्यो सर्त के हो भने तपाईंहरुको सकरात्मक सहयोग । म प्राविधिक रुपमा कमजोर छु तर शिक्षा भनेको विद्यालयको औपचारिक घेराभन्दा बाहिर पनि हुन्छ भनेर पढेकाहरू नै मलाई असक्षम देखाउन उद्दत छन् । यो तपाईं हामीलाई जानकारी भएकै कुरा हो । हाम्रो संगठन कमजोर भएपनि तपाईंहरुको सहयोग भयो भने बाजी मार्नेमा म सम्पूर्णतः विश्वस्त छु । र जितपछि गाउँको विकास गर्नको लागि हरेक पाइलामा तपाईंहरुको सल्लाह, सुझाव, सहयोग भए हामी एक फड्को मार्न सफल हुनेछौं । बाँकी तपाईंहरुको सुझाव, धन्यवाद!’ अब पालो अरु उपस्थित साथीहरुको थियो र सबैले सहयोग गर्ने वाचासहित टिकट लिएर आउन सुझाए । नबुङ त्यस्तो एक्लो व्यक्ति बनेन, जसले सहयोगको वाचा गर्न सक्दैनन् । उनी त झन् पार्टीको भातृ संगठनबाट स्ववियू उपाध्यक्ष पदमा हारिसकेका मान्छे न परे ।

बेलुका घर आएर समाचारको लागि टिभी खोल्न नपाउँदै आमाले गुनासोको पोका खोलिन्, ‘तेरो मामाको छोराले फोन गरेर गुनासो गर्दै थियो । भान्दाइले भनेको मानेनन् भनेर, तलाईं त्यो नाङलेले के दिन्छ हँ? मामाको छोराको पार्टीमा लाग्दा के घाटा छ?’ नबुङलाई नआवोस भनेको प्रसंग आइदिएकोले चुपचाप फेसबुकमा आँखा लाउनतिर लागे । हिजोको कमेन्टको रिप्लाई आएको रैछ । थुप्रैबाट पक्ष र विपक्षमा, पक्षभन्दा विपक्षको कमेन्टमा ध्यान गयो, ‘नबुङजी पनि गाउँलाई कोदालो खन्नेको हातमा सुम्पिएर एक सताब्दी पछाडि धकेल्ने अभियानमा लाग्नुभएको जस्तो गन्ध आयो ।’ नबुङको किराति रिस चर्कियो तर सम्हालिएर लेखे, ‘गन्ध आएछ खराव भो, आफूलाई त यो नै वास्ना हो भन्ने लागेको छ । गोयाङबाट निस्कने सेन्टलाई कसैले गन्ध भन्लान् तर हामी त्यसलाई गोयाङको वास्ना वा सुगन्ध भन्दछौं ।’

‘मलाई एउटा फोटोकपी गरिदिनुस् न ।’ भन्दै नबुङ एउटा फोटोकपी गर्न पसलमा छिर्यो । पसलका साहुजीले फोटोकपी गर्दिदैं नबुङलाई भने, ‘अनि यो पालीको चुनाबमा तपाईंको पार्टीको तयारी कस्तो छ त?’ नबुङ अलि हड्बडाए । ‘यो पाली चाहिं तटस्थ बसौं कि भन्या हो, दर्शककै रुपमा ।’ पसलका साहुजी लामो हाँसो साथ बोले, ‘तपाईं त सर दर्शक होइन स्ट्राइकर पो होला हौ ।’ साथै उनले यो पाली दाग नलागेको चन्द्रमाले सोझो सेटमा जित्ने दावी समेत गरे । भने, ‘हाम्रो गाउँमा तपाईंको पार्टीले ५ प्रतिशतभन्दा बढी मत कटाएछ भने त….।’ नबुङ, ‘ए, भनेपछि हामी त मान्छे नै होइनौ, हामीलाई त भोट माग्नै आउदैन ।’ भन्ने मनमनै सोच्दै आफ्नोलाई हार्ने र उसकोलाई जित्न सक्ने पार्टी भन्दै बाहिरिए । कोठा पुगेपछि नबुङले बागेदाइलाई फोन गरेर भने, ‘मेरो कोठा आउनुहोस् चुनाबमा हाम्रो पार्टीलाई कसरी विजय बनाउने भन्ने बारे छलफल गरौं ।’

बागेदाइ अघि फोनमा हाँसे जसरी नै हाँस्दै नबुङको कोठामा पसे । ‘कसरी मन परिवर्तन भयो? तटस्थबाट तयारीतिर मन गएछ त!’ चिया सार्दै नबुङ बोले, ‘समय र परिस्थितिले गर्दा भनेर भनिन्थ्यो जसको अर्थ बुझ्दै छु ।’ बागेदाइ र नबुङले यो पाली हाम्रो पार्टीलाई जिताउनको लागि गरिनुपर्ने कार्यहरुको फेहरिस्त तयार पारे । योजनाहरुलाई रफ र सफ गर्दा गर्दै रातको बाह्र बजिसकेको थियो । नबुङको मोबाइलमा तीन चार पटक फोन आइसकेको थियो । उसले आज कलेजको केही नोट बनाउदै छु भनेर पछि आफै फोन गर्ने भनेर टारेको थियो । बागेदाइ नबुङकै कोठामा अर्को ओछ्यानमा निदाएपछि फोन गरे । उताबाट, ‘अहिलेसम्म हजूरकै फोन कुरेर आज बाह्र बजाएँ ।’ अनि यता उताका कुरापछि उताबाट उनकी दिदी गाउँको उपाध्यक्ष पदमा उम्मेवारी दिँदै गरेकी र सबैबाट सक्दो सहयोगको अपेक्षा गरिएको जानकारी आयो । नबुङ विखलवन्दमा परे, जब चिन्ह सुने, ‘एक जोडी चिल!’ यता आफू नाङलो चिन्हतिर, उता हुनेवाला जेठीसासू एकजोडी चिलमा । अब उसले सामान्य रुपमा ‘ल ल भै हाल्छ नि’ मात्र भनेर कुरा मोड्यो ।

‘खास के हेरेर तिमी नाङलो चिन्हको वकालततिर लाग्यो? न त जित्ने टीम नै हो, न त राम्रो काम गर्ने पार्टी नै हो । यो पाली प्रतिष्पर्धा भनेको दाग नलागेको चन्द्रमा र एकजोडी चिलबीच नै हो । छोड्दे भाइ यताको न उताको हुन्छस् ।’ यो कुरा करिब करिब सँगसँगै एसएलसी पास गरेका साथीले सुनाउदै गर्दा बडो गम्भिर भएर सुने नबुङले, र अन्तमा भने, ‘हेर साथी जितकै कुरा भनेको जनताको भोटले निर्धारण गर्ने कुरा हो । मैले समर्थन गर्दै गरेको उम्मेदवारमा पनि गाउँको विकास गर्ने र जनताको मन जित्ने क्षमता छ । हाम्रो उम्मेदवार नजित्ला तर तिमीले सोचेजस्तो कम भोट चाहिं हुन्न, यो कुरा बुझ्नु ।

यस्ता र उस्ता थुप्रै प्रसंगका बीच नबुङ पनि नजानिदो पाराले तातिदै गएको चुनाबको माहौलसँगै तातिदै गए । बागे र नबुङ अब रातभरदेखि दिनभरसम्म चुनाबको रणनीति बनाउने काममा लागे । आमाको यता मामाको छोरालाई सघाउने र प्रियाको उता दिदीलाई भोट दिने कुरालाई उति वास्ता नगरीकन अगाडि बढ्ने अठोट लिए अनि उनीहरुलाई पनि आफ्नो मुद्धामा सामेल गराउने मनसाय लिँदै थिए नबुङ । तर उनलाई थाहा थिएन कि के हुनेछ र के हुनुपर्छ, उसलाई यति थाहा थियो जसरी पनि नाङलो चिन्हले जित्नुपर्छ । यसैको लागि रातदिन मेहनत बढेको थियो ।

चुनाबको दिन आयो, सबैजना मतदान केन्द्रमा भेला भए । दुई लाइन थियो, एउटा महिला र अर्को पुरुषको । सबैले मतको दान गरे । चुनाबभरी नबुङ घरतिर आउन पाएन, चाहेर पनि भोट दिएपछि भोलिपल्ट बल्ल आँगनमा आइपुगे टुप्लुक्क । आमाले परै हेरेर भनी, ‘अब उप्रान्त मलाई आमा पनि नभन, घर पनि आउनु पर्दैन, सारा नाता यसैमा टुट्यो, तँलाई के दिन्छ नाङलोले?’ के गरुँ कसो गरुँ झैँ गरेर आँगनमै ट्वाँ परेर आँगनमै उभिराखेको बेला मोबायलमा म्यासेजको घण्टी बज्यो, मोबाइलमा थियो, ‘अब हाम्रो यात्रा यतिमै अन्त भयो, प्रेम र व्यवहार फरक हुने रैछ, बोलेको जस्तो कसले पो गर्न सक्दो रैछ र? तिमीले त मलाई भुली नै सक्यो होला, मैले पनि भुलेँ, सदाका लागि…’

त्यति नै खेर मत गणना सकिएछ क्यारे उताबाट मान्छेको एकहुल नारा लगाउँदै नबुङको कोठातिर अगाडि बढ्यो । ‘यो जित कसको? नाङलोको!.. नाङलो चिन्ह हाई हाई!….’

Leave a Reply

Your email address will not be published. Required fields are marked *