Skip to content

नाम, बदनाम र गुमनाम


नाममा वासना छ । नाममा शासना छ । नामको निम्ति मान्छे अन्धो हुन्छ । विवेकका आँखालाई तर्पण दिन्छ । हिजोसम्म मामदामको कुनै जोहोतोहो नभएको मानिस मामदामको कुरुस्त व्यवस्था मिलिसकेपछि नाम कमाउने भोकमा तड्पिएको छ । लाग्छ ऊ नाम कमाउने अन्धो धुनमा शरीरको रक्तचाप बढाइरहेको छ । काम, माम र दामको वर्तुल घेरामा सीमित हुँदारैनछन् मान्छेका चाहनाहरू । माम र दामपछि जसलाई पनि नामको भोक लाग्छ क्यारे ।

नाम एक अपूरित क्षुधा रहेछ । जुन क्षुधासमनको निम्ति ऊ जस्तोसुकै कृत्यको पछि लाग्नपनि तयार हुन्छ । त्यतिबेर उसको मस्तिष्कबाट सुकर्मको साँचो नाम र दुष्कर्मको झुटो नामको पार्थक्य रेखा मेटिएर जान्छ । र नाम कमाएँभन्दा भन्दै ऊ प्रकारान्तरले बदनाम कमाइसकेको कुरा भुल्दछ । त्यतिखेरसम्म उसको अन्तस् चेतनाचक्षु यति धमिलो बनिसकेको हुन्छ कि बदनामलाईपनि नामै देख्न थाल्दछ । दुर्नामलाई पनि सुनाम नै ठान्न थाल्दछ ।

नाम त सुकर्मबाट फलित हुने चिजको नाम हो । नाम एक सुगन्ध हो जुन दिग्दिगन्त त्रिकालभरि जगत्मा सुवास बनेर गम्किरहन्छ । बुद्ध नाम हो, देवकोटा नाम हो, कुष्ण नाम हो, कविर नाम हो, महावीर नाम हो, आइन्स्टाइन नाम हो, सुकरात नाम हो, ओशो नाम हो । यी नामका सुगन्धहरू युगयुगसम्म मानवसृष्टिको क्रमसँगै लहराइरहन्छन् ।

सत्यको अन्वेषणबाट चम्किने नाममा सिंगो युगको गरिमा आवेष्टित हुन्छ । यस्ता नाम, नाम कमाउने तुच्छ कामनाबाट माथि उठेका तपस्वीहरुले मात्र सृजना गर्न सक्तछन् । कुनै कुकर्म या दुष्कर्मबाट फलित हुने चिज नाम होइन, त्यो बदनाम हो । समाजमा कसैेले कसैको आन्ध्रा काटेर घरका तली थप्छ । वेवकुफ मानिस उसको पराक्रममा तारिफको पुल गाँस्छन् । ठूलो घर बनाएर नाम राख्यो, नाम कमायो भन्छन् । नाम र बद्नामको पृथकता बोध गर्न नसक्ने चेतना छैन हामीसित ।

नाममा स्वास्थ्यदायक सुगन्ध हुन्छ । नामको सुगन्धले समाजलाई स्वस्थ, सुन्दर बनाउँछ । बद्नाममा दुर्गन्ध हुन्छ । जसले सिंगो समाजलाइृ अस्वस्थ र कुरुप बनाउँछ । एकाथरि मानिस राम्रो नराम्रो जे गरेर भएपनि आफ्नो नाम इतिहासमा चम्काउन चाहन्छन् । यस्तो नाम त हेरोद र हिटलरले पनि राखे, विरप्पन र नाथुराम गोड्सेले पनि राखे, विन लादेन र वकासुरले पनि राखे, इदिअमिन र मुसोलिनीले पनि राखे । तर विचारणीय प्रश्न छ यी नामले सृजनको गीत गाएकी ध्वंशको गीत गाए ? यी नामले मानवकल्याणलाई बढोत्तरी गरे कि मानवजातिको ध्वंश गरे ? यी प्रश्नको अन्तर्यमा जाँदा उनीहरुका नाम नामका विम्ब होइन, यिनीहरुका नाम बद्नामीका विम्ब हुन् । त्यसैले यस्ता नामलाई नामको कोटिमा राख्नु नामको नै बदनामी हो ।

इतिहासमा अजम्मरी बनेका जति मानव चेतनाहरू छन्, ती सतही नामको वासनाबाट माथि उठेका मुक्त पुरुषहरू हुन् । उनीहरुमा नामको ख्यातिको रौँ बराबरको चिन्ता थिएन । उनीहरुमा त मानवक्ल्याणको चिन्ता औ हुटहुटी थियो । आफू चर्चामा आउन कसैले कर्मसाधना गरेनन् । केवल केवल दुःखी मानवप्रतिको असीम करुणा भावबाट यी आत्माहरू जागेका थिए । त्यसैले यी नाम अखबारको प्रचारबाट चम्किएका नाम होइनन् । जनहृदयका ढुकढुकीबाट स्वीकृत नामहरू हुन् यी ।

वासनाबाट निसृत नाममा भोक जगाउने तत्व हुन्छ । नामसित गाँसिएका भोकहरू थरिथरिका छन् । पदको भोक, प्रतिष्ठाको भोक । आदरको भाक, सम्मानको भोक । ख्यातिको भाक, प्रख्यातिको भोक । यीनै भोकहरुले उसलाई अशान्त अधिर बनाइरहन्छ । तनावका सहस्र नसाहरू टन्किन्छन् । नाम कमाउने लालसाबाट कुनै मानिसले जतिसुकै निष्काम सेवा गरेको छु भनेपनि उसको सेवा कामी सेवामा दरिन पुग्छ ।

एउटा मानिसले महिनौं भयो चामल पशलको उधारो पैसा नतिरेको । बाल बच्चालाई बिहान बेलुका भात खुवाएको पैसा तिर्न आनाकानी गरिआएको मान्छेले शिलालेखमा नाम खोपिने भएपछि ऋण काढेरै पैसा चन्दा दियो एउटा संस्थालाई, नामको लालचा कति शक्तिशाली हुँदो रहेछ । यो घटना हेरेर सोचमग्न भएको छु ।

अर्को मानिसले त्यसैगरी अर्को संस्थालाई एकविटो पैसा दान दियो । संस्थाले नामको लोभ जगाइदियो, तपार्इँले हाम्रो संस्थालाई यति रकम दिने हो भने तपाईंको फोटोसहित नाम सिङ्गमरमरमा कुँदिदीन्छौँ । आफ्नो फोटो र नाम भित्तामा रंगिने भएपछि नलोभाइकन पैसाको मुठो खुसीसाथ दान गर्यो । म देखिरहेको छु बूढो भएको बाबुलाई गाई किनेर दूधभात खुवाउन कञ्जुस गरिरहेको मान्छेले महादानीमा नाम दहर्यायो । आमाको पेटको ओखती किन्न लोभाउने मानिस, बाबुलाई दूध भात दिन मख्खिचुस मानिस नामको भोकले कसरी कन्तुरको पैसा झिक्तो रहेछ, आँखै अगाडि देखें ।

यसरी सिङ्गमरमरको छातीमा खोपिएका नाम पनि वेकार नाम ठानेको छु । बरु बिना नाम बाबुलाई दूधभात खुवाएको भएर बाबुबाट आशिषको शुभभावले उसलाई आपूरित गर्थ्यो होला । मेरो विचारमा सच्चा मानिस नामको वासनाबाट पनि मुक्त हुन्छ, वदनामको विकृत दृश्यबाट पनि सजग बन्छ ।

नाम र बद्नामको वासनाबाट मुक्त भएर छुपेरुस्तम रहनुलाई म गुमनाम भन्दछु । नाम बद्नामभन्दा यस्तो गुमनाम जीवन मलाई हजारगुना प्यारो लाग्छ । गुमनामीमा आफ्नै मजा छ । मस्ती छ । कुनै सास्ती र दौडधुपले यस्तो आत्मालाई दसहात टाढाबाट पनि छुँदैन । सान र मानको झिँजोपिरोबाट पूर्णतः ऊ अछुत रहन्छ । यसरी अछुत हुनुमा आनन्द छ । पद र प्रतिष्ठाको भोकले उसलाई कतैबाट पनि स्पर्श गर्न सक्तैन ।

यस अर्थमा लाउत्सु महोदयको गुमनामी जीवन मलाई औधी प्यारो लाग्छ । रमण महर्षिको निसँग भाव कति सुन्दर छ । यिनीहरुले देखिनुमाभन्दा छोपिनु छेलिनुमा रुचि राखे । कता कता मलाई डोर बहादुर विष्ट गुमनाम भएको घटना मन परेको छ । यदि उनी सचेतनावश गुमनाम भएका हुन् भने । गुमनामीहरू चर्चापरिचर्चाको चमेरेखेलभन्दा चौधहात टाढा रहन्छन् । र आफ्नै आनन्दको चीर समाधिरुपी भित्री पिङमा झुलिरहन्छन् । मनुष्यका सच्चा आत्माहरू देखिन चाँहदैनन् लुक्न चाहन्छन् । प्रचारमा आउन चाँहदैनन् गुमनाम हुन चाहन्छन् । उनीहरू त छापाका भँगेरेटाउके अक्षरमा होइन मुटुका भित्री ढुकढुकीमा लुक्न चाहन्छन् । विज्ञापनका चर्का ध्वनि तरंगमा होइन मेरुदण्डको भित्री रिढमा घुस्न चाहन्छन् । उनीहरुलाई देखिनुमा कुनै रुचि हुँदैन । छोपिन चाहन्छन् जरा जस्तो । जरा माटोभित्रभित्र छोपिएर पुरिएर फूललाई हसाउँछ, पातहरुमा हरियाली रौनक दिन्छ । उनीहरुलाई वेतुक वतासे बातमा कुनै उत्साह हुन्न । गुमनामी व्यक्तित्व अरुले उमारेको स्वादमा होइन आफैंभित्रको स्वादमा रमेका हुन्छन् । उनीहरू अरुले पोतिदिएको रङमा सजिन चाहन्छन् । यस्तालाई बाहिरी जगत्को चमकदमकले अस्तव्यस्त पार्न सक्तैन न उनीहरुसित हृदयमा अन्तहीन दुष्पुर आँकाक्षाको घोडा नै बाँधिएको हुन्छ । सदा सन्तोषी, सुखी र शान्त त यस्तै गुमनाममा जीवन बिताउने मान्छेहरू देख्छु । तिनकै हारमा उभिन पुनः पुनः लेख्छु ।

पुन्य कार्की
२०६७ कार्तिक २३

Leave a Reply

Your email address will not be published. Required fields are marked *