Skip to content


थोत्रो गाना गाउँदै कुद्छस् घरको छाना-छाना
ठीक् लागेन मुसा मलाई तेरो तानाबाना

बस्ने घर छैन तेरो मेरो घरमा बस्छस्
राति-राति हल्ला गर्छस् दिउँसो कुना पस्छस्
किताब काट्न, लुगा काट्न अघि सर्नुपर्ने
मेरो घरमा बसी मेरै अहिरो गर्नुपर्ने

मुलाको झैँ चाना पारी काट्छस् मेरो नाना
ठीक् लागेन मुसा मलाई तेरो तानाबाना

भान्छाकोठा पसी घिउको भाँडो ढलाउँछस्
च्याँच्याँ चूँचूँ गर्दै छुच्चो मुख चलाउँछस्
थुतुनोमा मुड्की हानी दाँत झारी दिऊँ कि ?
बिरालोलाई बोलाएर ठीक् पारिदिऊँ कि ?

कानमा समाई अब तँलाई पुर्‍याई दिन्छु थाना
ठीक् लागेन मुसा मलाई तेरो तानाबाना

तरबार छ कि खोकिलामा आँसी छ कि हातमा
च्याट्टै पारी काट्न सक्ने छुरी छ कि दाँतमा
जस्तोसुकै कडा पनि धूलोपिठो पार्छस्
सेतै कुरा खाए पनि कालो दाना झार्छस्

लैजाऊँ कि हत्कडीले बाँधी झ्यालखाना
ठीक् लागेन मुसा मलाई तेरो तानाबाना ।

रमेशचन्द्र घिमिरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *