Skip to content

ढुक्ढुकीको आलाप

ओठ निःशब्द छ मन स्तब्ध छ
मुटु चर्केको छ छाती तड्पेको छ
रक्तमुच्छेल ढुक्ढुकी आलाप गरिरहेछ

जलेको मनभित्र छन् छटपटिएका कथाहरु
बल्झेको घाउभित्र छन् थलिएका व्यथाहरु
प्रहार निष्ठुर छ असह्य पीडा छ
रुझेको परेली विलाप गरिरहेछ

गहिरो आकासभित्र रित्तै छन् चाहनाहरु
भासिएको जगमाथि भेटिँदैनन् आफ्नाहरु
निर्दयी घात छ साथ टुटेको छ
छुटेको प्रेमिल मन चित्कार गरिरहेछ

छोडिएको पाइलामा छन् अजम्बरी सम्झनाहरु
गडेको खिलझैँ दुख्छन् मर्मान्तक वेदनाहरु
आस्था वर्जित छ विश्वास दण्डित छ
साहसको यौटा दीप अझै धिपधिप बलिरहेछ ।

२०७४।०६।०७,
काठमाडौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *