उसले प्रकृतिमा पहिलो पटक आँखा खोल्यो।
आमाको न्यानो छातीमा फुलबाट निस्केपछि उसले प्रकृतिको रङ्ग हेऱ्यो र यस्तो प्रकृतिमा जन्म पाएकोमा आमाप्रति मनमनै कृतज्ञ भयो।
अघि बढ्दै गयो, आफ्ना दाजु-दिदीहरूको निख्खर सेतो रङ्ग देखेर प्रफुल्लित भयो। भर्खर आँकुराउन थालेका पँखेटा फड्फड् गर्दै नजिकैको तलाउमा आफ्नो छवि देख्यो – कोइला भन्दा पनि कालो आफ्नो रङ्ग देखेर उसको क्रोध पारा चढ्न थाल्यो। आफ्ना सबै दाजु-दिदीहरूलाई सेतो रङ्गमा तर आफुलाई कालो रङ्गमा जन्म दिने उसकी आमालाई नाना भाँतिले सराप्यो, अनि नजिकैको हिलोमा लुटपुटियो र अलग्गै रङ्ग देखाएर खुब रवाफका साथ हिँड्न थाल्यो।
आमा भने सन्तानको आफूप्रतिको अनादर देखेर भित्र-भित्रै कुँडिइन्। उनको आँखाबाट रक्ताश्रू निरन्तर बग्न थाले।
नयाँ रङ्गको अहंकारमा ऊ यताउति डुल्दै निकै टाढा आइपुग्यो। बिरालाहरू तथा कुकुरहरूले झम्टन थालेपछि उसलाई एक्लोपनको आभास भयो र आफ्नो समूहको खोजीमा हिँड्न थाल्यो। जहाँ कहीँ आफूजस्तै अन्य हाँसहरूको बथान देख्ने गर्थ्यो, त्यहिँ मिसिन खोज्थ्यो तर ती हाँसहरू कि काला कि सेता थिए, उनीहरूले ऊ जस्तो अनौठो रङ्गको हाँस देखेकै थिएनन्। जसै ऊ उनीहरूसँग मिसिन खोज्थे, उनीहरू उसलाई ठुंग्न थाल्थे। उसले ती बथानहरूमा दुवै किसिमका हाँसहरू उत्तिकै मिलेर बसेको देख्यो तर आफू त्यो समूहमा मिसिन जति कोसिस गरे पनि सकेन।
उसलाई बल्ल आफ्नो प्राकृतिक रङ्गको महत्त्व ज्ञात भयो। ऊ जसो-तसो अरू हाँसहरूको बथानसँग छेलीएर नजिकैको तलाउमा हामफाल्यो र भएभरको हिलो सबै पखाल्यो। शरीरको हिलोसँगै उसको मनको मैलो पनि धोइयो अनि निर्धक्कसँग आफ्नै प्राकृतिक रङ्ग लिएर हाँसहरूको बथानमा गयो। अघि उसलाई ठुँगेर भगाउने हाँसहरूले उसलाई स्वागत गरे समूहमा मिसाए। ऊ औधि खुसी भयो।
उसलाई आफ्नी आमाको निन्दा गरेको कुरा सम्झना भयो र भक्कानिन थाल्यो। आफ्नो नीच सोचप्रति आफैँलाई औधि दुःख लाग्यो। आमासँग माफी मागेर आफ्नो भूलको प्रायश्चित गर्ने निर्णय गऱ्यो र घर फर्क्यो।
घर फर्केर आफ्नी आमासँग गरेको दुर्व्यवहारको क्षमा याचना गऱ्यो र आमासँग अङ्कमाल गऱ्यो।
अहिले उसँग उसकै प्राकृतिक रङ्ग थियो तर अफशोच त्यो प्राकृतिक रङ्ग हेर्न आमा असमर्थ थिइन्।
पुत्र वियोगमा झरेका रक्ताश्रुले उनको आँखा बेकार भैसकेका थिए।
रत्ननगर, सौराहाद्वार, चितवन
२०७४ आश्वीन १७