दिन ढल्दै गयो, साँझ पर्न लाग्यो फर्कूँ कि के गरूँ ?
आउँछ्यौ कि भन्ने आशामा अँझै पर्खूँ कि के गरूँ ?
दायाँ र बायाँ जाँ बस्छ्यौ त्यहीँ बस्ने ठाउँ खाली छ
जतन गरी राख्या छु दिल पस्ने ठाउँ खाली छ
मुखले बोल्न नमिल्ने मनको भाषा छ मसित
थाके नि नजर भेट्नलाई झिनो आशा छ मसित
बादलले किरण छरेर बाटो देखाउन खोज्दै छ
जूनको ठुन्को बिस्तारै मुन्टो उठाउन खोज्दै छ
आकाशबाट उज्यालो झार्न तारालाई डाक्या छु
अँध्यारो छल्न जूनकिरी बोलाई बाटोमा राख्या छु
यो तारतम्य मिलाउँदा पनि आइनौ किन हो
निठुरी बन्यौ कलेजी माझमा छाइनौ किन हो
कि बाटातिर कसैले काँडा मिल्काई फाले कि ?
तिम्रो र मेरो सपना खोस्न तगारो हाले कि ?
यत्तिकै सिङ्गो रातलाई साथी बनाई टोलाउँछु
पिपिरी बजाई पातको रुन्चे धूनले बोलाउँछु
चन्द्रमालाई बादलले छेकी पार्दियो धमिलो
जसरी दिन खल्लो भो मेरो रात भयो अमिलो
मागेर पैँचो जूनको ज्योति छर्कूँ कि के गरूँ ?
आउँछ्यौ कि भन्ने आशामा अँझै पर्खूँ कि के गरूँ ?
रमेशचन्द्र घिमिरे
लमजुङ