Skip to content

मेरो छोरो भेटिएको छ


एक महिनाअघि
आफ्नै आँगनबाट
हराएको मेरो छोरो
आज अचानक भेटिएको छ
शोकसन्तापले पिरोलिएका
मेरा शुभचिन्तकहरूलाई कसरी भनूँ ?
उसको भौतिक अस्तित्व मेटिएको छ
उसको गर्धन रेटिएको छ !

ऊ हराएपछि कहाँ कहाँ खोजिन र मैले ?
इष्टमित्र, आफन्त र साथीभाइ
विरान बस्तीका अन्जान र पराइ
ऊ पुग्ने खेल्ने हरेक वन जड्डल र चउर
खोला खोल्सा र काँसे झाडी
चोक, गल्ली र खेतबारी
हुलिया दिँदै सोध्दै हिँडे –
सडक बालकहरूलाई पनि
खोज्दै हिँडे भेट्यौ कि भनी
खलासी र चालकहरूलाई पनि
दुःख पीडा देखाउँदै आँसु झार्दै
खोजी दिन आग्रह गर्दै
कहाँ कहाँ पुगिन र म ?
प्रहरी प्रशासन र मानव अधिकारवादी
ज्योतिषि धाँमी झाक्री बाल अधिकारवादी
गोहीका आँसु झार्ने छिमेकी अवसरवादी
आफ्नो गाउँबस्तीमै विरानो भएर
सबैको सहानुभूतिले झन् थिल्थिलिएर
म त्यहाँ पनि पुगेँ
जहाँ –
बालश्रम शोषण र यौनदुराचार हुन्छ
मृगौला तस्करी र बालबालिकाको अपहरण हुन्छ
जताततै
पुगेँ÷पर्खेँ
हेरेँ÷खोजेँ
र नभेटेर फर्कें
मेरो प्राण कुनै दिन भेटिएला भन्दै
जीवित नभेटिए बरू नभेटियोस् भन्दै
खोज्दाखोज्दै
एकमहिना अघि
आफ्नै आँगनबाट
हराएको मेरो छोरो
आज अचानक भेटिएको छ
शोकसन्तापले पिरोलिएका
मेरा शुभचिन्तकहरूलाई कसरी भनूँ ?
धोबी खोलाको किनारमा
उसको गर्धन रेटिएको छ
उसको भौतिक अस्तित्व मेटिएको छ !

यतिबेला मलाई
यो सहरको कोलाहल पनि
मसानघाट जस्तो लाग्छ
धोबीखोलाको पानी
मेरै छोराको रगत जस्तो लाग्छ
ठाटिएर हिँड्नेहरू
बालक अपहरणकारी जस्ता लाग्छन्
कानून हराएको यो देशमा
म कसलाई भनूँ हजुर ?
मेरो छोरो रेटिएको छ !
रेटिएको मेरो छोरो भेटिएको छ !

रचना समय र स्थान : २०६३ कात्तिक २०, हेटौँडा
प्रकाशित : दाङबाट प्रकाशित नयाँ युगबोध राष्ट्रिय दैनिक, वर्ष ३२, अङ्क २३०, २०६५ मङ्सिर २८

1 thought on “मेरो छोरो भेटिएको छ”

  1. धेरै धेरै धन्यवाद ।
    सम्पादकज्यू,
    मेरो कविता प्रकाशन गरिदिनुभएकोमा धेरै धेरै धन्यवाद ।

    भेषराज रिजाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *