Skip to content


यो माटो चाखी हेर त
नूनिलो छ
किन, थाहा छ
किनकि यो माटोमा
मेरी आमाले मलाई जन्माउदा
प्रसव पीडाले छट्पटाएर
आँखाबाट झरेको आँशु
मिसिएको छ
अनि
मेरा बुबाले
मलाई दुई छाक खुवाउन
एक सरो लगाइदिन
बगाएको हजारौं लिटर
पसिना छ
अब आफै भन त साथी
यो माटो छोडेर
बिदेश
म कसरी जाऊँ

मैले पहिलो चोटि हिंड्दा
मेरा साना औला समातेर
हिड्न सिकाउने बुवाको त्यो
ठूलो हात,
मेरो छातीमा चिसो लाग्दा
आफ्नो छातीमा लपक्क टाँसेर
न्यानो बनाउने आमाको त्यो
महान छाती,
अनि
आफूभन्दा धेरै माया र
सधैं साथ दिने
आफन्तलाई
एक्लै छोडेर
अब आफै भन साथी
बिदेश
म कसरी जाऊँ ?

यो माटो
जुन मगमग बास्ना आउँछ
यो हावा
जसले मलाई सास फेर्न सजिलो हुन्छ
नदिको कलकल आवाज
जसले मनै तरङ्गित हुन्छ
यहाँको पानी
जसले मात्र घाँटी भिजाउन सक्छ
अनि यो मातृभूमि
जसले म माथि ठूलो
आश र विश्वास गरेको छ
अब आफै भन साथी
बिदेश
म कसरी जाऊँ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *