Skip to content

बालबालिकालाई उपदेश

मालिकको भासन खेसरियाले सबै ता बुझेन तैपनि आफ्ना मालिकले गरेको भासन रामरी सुन्यो । मालिक धनमान साहूकोमा कामका लागि बसेको केटो हो खेसरिया । को हो, कसको छोरो हो भनेर बुझ्न उसको नाम नै काफी भएकोले त्यता नलागी खास कुरामा लागौं ।
उसका विद्यालयको अभिभावक भेलाको दिन । उसका मालिक धनमान साहू विद्यालयको अभिभावकहरुको भेलाका प्रमुख । निकै जनाको भाषणपछि उनको पालो आयो । उनले बडो सारगर्भित भाषण गरे । खास गरी विद्यार्थीहरुलाई उपयोग हुने भाषण । नैतिक शिक्षाका बारेमा राम्रो कुरा । भाषण समापन गर्ने बेलामा विद्यार्थीहरुलाई लक्षित गर्दै भने—“हेर बाबु हो, आजको जमाना बडो खराब आयो । खानपानमा सारै जोगिनुपर्छ, बजारमा स्वास्थ्यलाई हानी पुगाउने खानु नहुने कुराहरुको बेचबिखन भइरहेको छ । यस्ता कुरा खानबाट बच्नु पर्छ है । आफ्नो स्वाथ्यको आफैं…”
भाषणको बिचमा उनले अलिक गहिरो खोके । मालिक पान तम्बाखु बढी खाने हुँदा सारै खोक्छन् भन्ने खेसरियालाई थाहा छ । उसले आफ्ना मालिकको भाषण बडो ध्यानले सुनिरह्यो । खोकेर फेरि सुरु गरे—
“….रक्षा गर्नुपर्छ । भनम न.. यी पान, सुपारी, तम्बाखु, बिँडी, सिग्रेटहरु, खैनी, तमाखु, गुट्खा केके हो केके बजारका दोकानभरि झुन्ड्याइएका हुन्छन् । यस्ता वस्तुमा आँखा लाउनुहुुन्न । अरुअरु अभक्षेहरु ता झन् कति छन्छन् । तिनका बारेमा म केही भन्दिनँ……। मेरो सल्लाह विशेष गरी नानीहरुलाई हो । अभिभावकहरुले पनि यस्ता कुराको किनबेचमा बालबालिकाहरुको प्रयोग नगरौं…. । यति भन्दै म…।” उनले भाषण सके । बालबालिकाहरुले मजाले ताली बजाए । खेसरियाले ता झन् बढी जोडले ताली पिट्यो । कार्यक्रम सकियो । सबै घरघरमा गए ।
बेलुका घरमा पुग्नासाथ खेसरियालाई मालिकले भने “जाजा खेसरिया मैले ता बजारबाट गुट्खा र पान ता ल्याउनै पो भुलेछु । जा गइहाल् ।”
“अनि नखानु भनेको हैन मालिक अघि भाषणमा…?” भन्न ता मन लाग्यो तर सेकन । सायद मालिकहरुले खानु हुन्छ होला, हामी केटाकेटीले खानु नहुने होला भन्ने सोच्तै मालिकका लागि आवश्यक गुट्खा, रजनीगन्धा, जर्दाहरु लिन हतारहतार दोकानतिर लाग्यो । मालिक भने खेसरियाको बाटो हेरिरहे ।
२०७४ मार्ग ९ गते बिहान

Leave a Reply

Your email address will not be published. Required fields are marked *