Skip to content

“अनमोल पुरस्कारहरू”को एक विवेचना


परिचय

वि.सं. २०२७ चैत्र १८ गते शंकरपोखरी पर्वतमा, माता यशोदा रिजाल र पिता प्रेमप्रसाद रिजालको जेष्ठ पुत्रको रूपमा जन्मनु भएका भेषराज रिजालले वि.कम. विएड. र एम. ए.सम्मको शैक्षिक योग्यता हाँसिल गर्नुभएको छ साथै सरकारी सेवामा उपसचिव पदमा कार्यरत हुनुहुन्छ । २०४७ सालबाट २०५३सम्म शिक्षक सेवामा कार्यरत रहेर २०५३ देखि हालसम्म सरकारी सेवामा विभिन्न पदमा कार्यरत भै राष्ट्र, जनता र साहित्य सेवामा आफूलाई समर्पित गर्दै आउनु भएको छ । राप्ती साहित्य परिषद दाङको आजीवन सदस्य रहनुको साथै विभिन्न साहित्यिक संस्थामा आवद्ध हुनुहुन्छ ।

नेपालका विभिन्न जिल्लामात्र नभै भारत, थाइल्याण्ड र जापानको भ्रमण गर्नु भएका भेषराजजीले यिनै भ्रमणका सिलसिलामा समयलाई सदुपयोग गर्दै एउटा सवल नियात्राकारमा आफूलाई परिचय गराउन सफल हुनुभएको छ । मिठो बोली, हँसिलो अनुहार, सहयोगी स्वभाव, कर्तव्यपरायण, समदर्शी, न्यायप्रेमी र बहुआयमिक व्यक्त्विको रूपमा पाएको छु मैले भेषराज रिजाललाई ।

प्रकाशित साहित्यिक कृतिहरू– बालुवाको मुठी (गीति कविता सङ्ग्रह) २०५७, देश सधैं रुने छैन (कवितासङ्ग्रह) २०५९, मेरा पाइलाहरू(यात्रा अनुभूतिको सङ्ग्रह, २०६८,) छरिएका पाइला कोरिएका डोब( नियात्रसङ्ग्रह) २०६९, र अनमोल पुरस्कारहरू (कवितासङ्ग्रह) २०७२) बजारमा आइसकेका छन् । साहित्यिक कृतिहरूको अलवा ओखरबोट गाउँ विकास समितिको वस्तुगत विवरण, म्याग्दी, २०५७ (लेखन तथा सम्पादन) देवीस्थान गाउँ विकास समितिको वस्तुगत विवरण, म्याग्दी, २०५७ (सम्पादन),सरलीकृत खरिदार परीक्षा दिग्दर्शन, २०६८ (सहलेखन) समेत रिजालका प्रकाशित कृतिहरू हामीले अध्ययन गर्न पाइरहेका छौं ।

संरचना – यो कृति ३४ओटा कविताले सुसज्जित छ ।यस कृतिलाई आमा यशोदादेवी रिजाल,बुवा प्रेमप्रसाद रिजाल,अनेक कालखण्डमा शिक्षादीक्षा दिने समस्त गुरुवर तथा ओझेलमा परेर पनि सदा कृयाशील सङ्घर्षपूर्ण जिन्दगीहरूप्रति समर्पण गरिएको छ । यस कृतिको प्रकाशन राधा बाँस्तोलाले गर्नुभएको छ र मूल्य रु ५०/– राखिएको छ । यस कृतिमा कसैको शुभकामना र भूमिका समावेश नगरी सोझै पाठकवर्गलाई नै मूल्याङ्कनको लागि छोडिएको छ जो एउटा सकरात्मक पक्ष हो ।

कृतिभित्र पस्दा – भावनाका छालहरूलाई एउटा कापिको पानामा कलमबाट कैद गरेर हामीसामु पस्कनु भएको छ भेषराजजीले ‘अनमोल पुरस्कारहरू’ । हो पनि पुरस्कार भनेका साच्चि नै अनमोल नै हुन्छन् । कहिल्यै मूल्य तिरेर नसकिने । यी अनमोल पुरस्कारहरूमा पहिलो पुरस्कार छ ‘बाल्यकालले डोर्याएको जिन्दगी’ जो आनन्ददायी जीवनको सुनौला क्षण हो, ‘भोक न भकारी शोक न सुर्ता’ भने झै बाल्यकालका विविध क्रियाकलाप जो हरेक बालकले भोगेका हुन्छन्लाई कविले सुखद दिनको रूपमा लिँदै, वर्तमान पनि खुसीखुसीसँग बितेको धारणा पस्केका छन् ।‘आभास ’ जीवन जगतका विविध पक्षलाई नियाल्दा प्राण,उडेको चङ्गासरि, कमजोर धागो भएको, मन मायाको दन्किदो आगोमा रहेको र गहिरिदै जाँदा लक्ष्यप्राप्ति गर्दा आभास र एउटा झझल्को मात्र नभएर अटल विश्वास भएको धारणा छ कविको ।

हकर– यस कवितामा आजको यो लोकतन्त्रको,यथार्थ घटनाकर्मलाई पस्कदै कविले लेख्छन् –

‘आयो आयो खबर लोकतन्त्रको
लडिरहेछ बेखबर लास युवाहरूको,’

यता राजस्वी यात्रा चल्नु,उता रगतको खोलो बग्नु, खबर पढ्नेहरू पनि वेखबर भएर बस्नु, नाङ्गिएकाहरूले पनि दौरा सुरुवालले छोपिन खोज्नु ‘गाउँ अनाहक मरिरहेछ,सहर मोज गरिरहेछ ’ जस्ता धारणा आएका छन् कवितामा ।

तप्प तप्प –असिम माया हराउँदैन र माया अमूल्य छ, मायाकै लागि तप्प तप्प परेलीको छानो चुहिदिन्छ र मुटुको पानो भिज्छ भन्ने जस्ता मार्मिक धारणा पस्किएको छ कवितामा ।

परेवा र वाज– शान्तिको खोजी गरिएको छ र भनिएको छ – यो समय परेवा उडाउने होइन वाज धपाउने हो तर परेवाकै भेषधारी वाजदेखि भने होसियार रहनु परेको छ ।

उनी –उनीको खोजीमा पोखिएको वेदनामा गाइएको गीतमा भनिएको छ –

परेलीमा कम्पित हुँदा नयन तालको पानी
ढुकढुकी नै सल्बलाउँछिन् अन्तरमनकी रानी

सालिक–अनगिन्ती विविध प्रकारका सालिकहरू देखिन्छन् कुनै शहीदहरूका सालिक, कुनै शहीदहरूलाई फाँसी दिनेहरूका सालिक, कतैसँगै राखेका त कतै शहीदको शिर माथि चढाएको, शहीदको अपमान भएको, शहीदका परिवारको विचल्ली आदिमा कविका मनमा धेरै प्रश्नहरू उब्जिएका धारणा आएको छ कवितामा ।

चङ्गा, जून र म – भावनात्मक अभिव्यक्तिमा कवि सिङ्गो जिन्दगी पर्खेपछि देखिएकी प्यारी पातलो अनुहार, कान्तिमय बलेको मुहार भएकी प्यारी जूनलाई अनमोल उपहार ठान्नु, भेट्न कुद्नु र उड्नलाग्दा बादलले छेक्नु र आकाशबाट खस्नु तर त्यही जूनले कविलाई उपहास गरेकोमा घायल शरीर सहितका कविले जूनको मुहार नहेर्ने, मृदु मुस्कान नचाहने, धोकेवाज आगमनलाई नपर्खने, घाती मायालाई नमाग्नेजस्ता धारणा आएको छ कवितामा मैले नसक्ने भएँ – विश्वासले जिते संसार जितिन्छ भन्थे तर प्रेमिकाको बेसुरा ताल,चर्को कुरा, मनका रहेको छुरा, सुरा, अर्कैको चुरा भएकोले नसक्ने भन्ने धारणा आएको छ ।

हराएको मेरो दिन –पर्खाइको घडी निकै लामो हुन्छ भन्ने गरिएकोमा यहाँ त दिनै हराएको छ । चारदिनको विछोडमा गएको एकदिन वित्ता पनि फर्कने दिन गन्दा चारैदिन बाँकिरहेकोले त्यो एकदिन कता गयो भन्दै कविले प्रश्न तेस्र्याएका छन् । प्रेमको आतुरताले गर्दा निम्त्याएको नतिजा नै हो त्यो हराएको एकदिन ।

कपाल कोरी बाटी चुल्ठी पार है – कपाल कोरी बाटी चुल्ठी पारी गए पनि काँइयोमा अड्किएका केशराशीले मनका चिराचिरामा रोमाञ्चित गरिरहेको र माया ममता र विश्वास भरिरहेको धारणा पस्किएको छ ।

निर्जीव यन्त्रसँग –आजको निर्जीव बस्तुसँग इमेल, फ्याक्स, टेलीफोन,पत्र प्राप्त गर्न गरिने प्रयत्नसँग तुलना गर्दै काम कर्तव्यप्रति विश्वास जगाउन र खियालागेका संयन्त्रमा प्राण भर्न रातसाँझ खटिइरहन, अनवरत लडिरहन,निरन्तर जुटिरहन र हरपल तड्पिरहन परेको धारणा आएको छ ।

बादशाहाको नयाँ परिधान–घुमाउरो पाराले यस कवितामा कविले परिवर्तित समयमा जनताले जुन अनुभूति त्यो अनुभूति पाउन सकेका छैनन् । काम कर्तव्यमा अर्पण, राष्ट्र सेवामा समर्पित, हुनु पर्ने त्यो हुन सकेको छैन बरु सत्तामोहमा चुक्लिचाकडीमा ध्यानमग्न, ढाकछोप, ठूलाठालुबाट दिग्भ्रमित निर्देशनमा जुटिरहेका यी नयाँ बादशाहहरूको प्रदर्शनीबाट जनता हैरान भएको र यिनको यो प्रदर्शनीलाई कति दिन राख्ने भनी कवि प्रश्नबाची भएका छन् । कविको यो धारणा आजको कटुसत्य हो । परिवर्तनको अनुभूति

नयाँ वादशाहहरूले गरे पनि जनताले अनुभूति गर्न सकेका छैनन् ।

फूलका कुरा –यस कवितामा बेकारका कुरा छाडी कामका कुरा गर्नु पर्ने र अन्धकारबाट उज्यालोतर्फ लम्कन पर्ने धारणा आएको छ ।

कुरा खेलिरहन्छ मनभरि–जीवन भोगाइका यथार्थतालाई केलाउँदै कविलाई लाग्छ –

बिर्साइको अँध्यारो छिचल्दै
उदाइरहने सम्झनाको उज्यालोले नै
चल्दोरहेछ जीवन अनवरत ।

मन यस्तो चीज हो जस्मा असंख्यरूपमा घटनाक्रम आवतजावत हुन्छन् । यी घटनाक्रमलाई केलाउँदै मानव जीवनलाई सार्थकतातिर लानु आजको आवश्यक्ता हो ।

आँखाभरि आँसु लिई–आँखाभरि आँसु लिई अब रुन छाड्दै, जति जोड्यो उति टुट्ने दिल अब तोड्दै छु भन्दै कविले छाया नभै यथार्थता अन्धकार नै किन नहोस् अन्धकार नै खोज्नु, गुर्जा हिमालतिरै ईश्वरको खोजी,अन्यायीलाई जेलनेल कहिले बन्ने धारणा राख्दै आस्था अटल धौलागिरी भएको र जाली सहर छाड्ने धारणा आएको छ कवितामा ।

घाउहरू कोट्याउँदा–यस कवितामा कविले जिन्दगी एउटा घाउ हो,यो सङ्घर्षबाटै समेटिन्छ ।जिन्दगी जिन्दगी जस्तो भएर बाँच्नु पर्छ भन्ने धारणा राखेका छन् ।

घाती– घातीलाई घाती भनेर चिनाउने काम ठिक भएको ठहर छ ।

भित्तातिर फर्किएर –यस कवितामा उज्यालो र संसार देख्न भित्तातिर नभै संसारतिर फर्कनु पर्ने र अन्धकार मास्न मैनबत्ती झै जल्न सक्नु पर्छ भन्ने धारणा आएको छ ।

गरौं उद्धार उसको– अरुको गति रोक्दा, आफ्नो गति पनि रोकिन्छ, मानव आस्था ढल्छ, इमान अनमोल पुरस्कार हो, भ्रष्टता यो युगको तिरस्कार हो, यी सबै चीज नबुझ्दा मान्छे मान्छेको नजरबाट खस्छ भन्ने धारणा पस्किएको छ कवितामा ।

सिरियल हेरिरहेकी उनी–कविले उनीलाई धेरै सिरियल नहेर्नेभन्दा सिरियलबाट समय काटिएको उनीको धारणा, धेरै समय टिभी नहेर्ने त्यसमा पनि हिन्दी सिरियल त पटक्कै नहेर किनकि हाम्रो परिवेशको जीवन कथा र सङ्घर्ष को कथा छैन घरयास्ी झगडा छ र पैसाको लागि जस्तो पनि रोल गरेर हामीलाई पथभ्रष्ट बनाउनेजस्ता पर्दामा देखिन्छन् भन्ने धारणा आएको छ ।

जाजरकोट दुखिरहेछ – जाजरकोटमा हैजा फैलिंदा काठमाडौले औषधी घरघरमा पुर्याइएको सबैको सहयोग रहेमा हैजा तुरुन्त निको हुन्छ भन्दै उपहास गरेको तर जाजरकोट दुखिरहेको धारणा छ कवितामा ।

हात हल्लाई –यस कवितामा नजिक आएर पीर हटाएर खुसी दिंदै एक्लो जीवनका अन्धकारलाई मासी दीप जलाएकोले जीवन उत्थानतिर लम्केको र आस्थामाथि विश्वास थपिएको धारणा आएको छ ।

समवेदना –नेपालको सुदूरपश्चिम थलिदा कसैले नसम्झेको र समवेदनासम्म पनि नदिएको धारणा आएको छ ।

सापट लिई अलिकति– े जीवनजगतसँग सम्बन्धित यस कवितामा जून र घामको रश्मी लिइ दुवै हात फैलाएर उनी मुस्काउँदा वसन्तले जिन्दगीलाई चुमेको, मनमा बत्ती बलेको उज्यालोले छाएको अनुभूति सङ्गाल्दै अतितको मन पोल्ने दृश्य भाँचिएको र बग्दै जाँदा डुब्दै जाँदा सहाराको कोही छन् कि भन्दै नजर चलाएको धारणा आएको छ कवितामा ।

तिम्रो मनसँग – तिम्रो गोधूलिको क्षितिज जस्तो तन र विहानीको सुनौला जस्तो मन भएमा पहरे छाती आकाशभन्दा उच्चा हुने, फलामे पएर धर्तीभन्दा चौडा हुने र कर्कसेबोली गीत बन्ने जस्ता दुखान्त बिछोडहरू अमर प्रीत हुन्थे जस्ता धारणा आएका छन् । संयोगान्त र वियोगान्त मानव जीवनका क्षणलाई मध्यनजर राख्दै अमर प्रेमलाई सवलतातिर लानै पर्छ ।

अन्तिम यो भेट हो ?– बिदाहुँदाको क्षणमा भएको दुखद अभिव्यक्तिमा तिम्ले गरेको कामको स्मरण गरिने छ र तिमीले विगतका सुन्दर सुखलाई सम्झेर विगतका तीता चीज भए विर्सनु भन्ने अनुरोध गरिएको छ ।

आज एउटा पीरले – पीरले विरक्तिएको र अनयास टुट्न लागेको जीवन सूत्रमा जीवन मौलाउने वृत्तको खोजी गरिएको छ ।

सोझाको सहारा – सोझाले डुक्रने साँढेलाई पनि मान्छे देख्ने, घातीलाई साथी देख्ने, अर्काको बाटो नछेक्ने, साँध नमिच्ने आदि सहनशीलताप्रति साधुवाद पस्केका छन् कविले । सकरात्मक सोचले सधैं सकरात्मक मार्ग अबलम्वन गर्छ भन्ने सन्देश दिएको छ कविताले ।

निर्वाहमा पानी पर्दा –राष्ट्रियभावनाले भरिएको यस गीतमा निर्वाहमा पानी पर्दा ओतिने छत र छाता नभएको र वैरी बढ्दा घरहाता पनि सुरक्षित नभएको, स्वार्थले गर्दा अनगिन्ती लोभीहरूको खातैखात बढेको, जालझेल रचिएको,जस्ता कर्मलाई दर्शाउँदै कविले आज देशमा देखिएको यथार्थतालाई पस्केका तलका चतुस्पदीलाई पढौं –

उहिलेका पुर्खा लड्थे थर्काई नालापानी
अहिले आफैं नाकाबन्दी गर्छन् राष्ट्रघाती
बाध्यताले विदेशिएँ छोडी पितामाता
आपतमा बचाउने छैन नलनाता
पृष्ठ ४७

घात गर्यौ – आस, बास, त्रास दिए पनि पछि लाग्दामा घात गरेकोले चाहहरू सबै मरेको तर एउटा मन अँझै मरेन भन्ने धारणा आएको छ ।

हराएको छोरो –अति मार्मिक भवनाले पूर्णता पाएको यस कवितामा छोराको चाहनालाई पूर्ति नगर्दा घर छाडेर हिडेको र हरेक क्षेत्रमा खोजी गर्दा भेट्टाउन नसकेको तर रेडियोले आतङ्ककारी मारिएको भनेर उसको नाम जोडिएर आएको । यस कविताले माओवादी जनआन्दोलनका घटनालाई जोडेको छ ।

भेटिएको छोरो –यो कविता पनि अति मार्मिक र वर्तमान परिपेक्षलाई समाएर लेखिएको छ । हराएको छोरो भौतिक अस्तित्व मेटिएको र गर्दन रेटिएको अवस्थामा भेटिएको धारणा आएको छ । हराएपछि खोजको क्रममा इष्टमित्र, आफन्त, साथी, चोक, गल्ली, वनपाखा, प्रहरी प्रशासन, मानव अधिकारवादी, बालश्रमशोषण, यौनदुराचार, मृगौला तस्करी, बालबालिकाको अपहरण हुने आदि आदि स्थानमा पुगेका धारणा र अन्त्यमा भौतिक अस्तित्व मेटिएको र रेटिएको छोरो भेटिएपछि मातापितालाई लाग्ने अनुभूति जस्तै कोलाहाल पनि मसानघाट जस्तो लाग्ने, खोलाका पानी पनि छोराको

रगतजस्तै लाग्ने, ठाँटिएर हिड्नेहरू बालअपहरणकारीजस्ता लाग्ने जस्ता अनुभूतिलाई कवितामा प्रष्ट्याइएको छ ।

अनमोल पुरस्कारहरू– यस कृतिको यो अन्तिम कविता हो । यस कृतिको नामाकरण पनि यसै कविताबाट गरिएको छ । यस कवितामा धेरै धारणाहरू राखिएका छन् तापनि मैले केही बुँदाहरूमात्र समेट्ने प्रयास गरेको छु ।

सर्वप्रथम अग्रजहरूबाट प्राप्त स्याबासी,आशीर्वादले मानव जीवनलाई उर्जा मिल्छ । यहाँ पनि कविले आमा,बाबु,गुरूहरूका धापहरू तथा आशीर्वचनले जीवनलाई रोमान्चित पारेको र विश्वास, प्रतिज्ञा र प्रण भरेको अभिव्यक्ति राखेका छन् । घरय।सी क्रियाशील जीवन र प्राकृतिक वर्णन पनि यहाँ समेटिएका छन् । आस्थाका प्रवाहित भङ्गालाहरू, सम्पूर्ण जमिनहरूको उपयोग, मेचीकालीका साँधहरूको नालीवेली सुरक्षित रहेको देखाउन सकिने धारणा साथै शरीरमा रहेको उर्जाशीलता,पाइलामा भरिएको जोशिलो प्राण, थकाइको निश्वास उमङ्गको उत्साह, आस्थाको आधार विश्वासको उच्चाइ आदिको आस्था, विश्वास, प्रतिज्ञालाई बचाइ राखेको र कुनै दिन बिसाउने धारणा आएको छ ।

यस कृतिको भावसारलाई मैले अति सूक्ष्मरूपमा प्रस्तुत गरेको छु । यी । लेखिएका कविताहरूले विविध पक्षलाई समाएका छन्, समाजका घटनाक्रमलार्इ सरल अनि सहजरूपमा सजाएका छन् र यहाँ प्रस्तुत कृतिमा कविले कतै सबैलाई आनन्द दिँदै आफू पनि रमाएका छन् भने कतै पाठकलाई रुवाउँदै आफू पनि रोएका छन् ।

भ्रष्टहरूको पोल खोलेका छन् । भ्रष्टहरूले स्वय म नाङ्गिएको अनुभूति गर्ने धारणा राखेका छन् । लोकतन्त्र आएको तर लोकतन्त्रको परिणती मारकाटले गर्दा रगतको खोलो बगेको, शान्ति खल्बलिएको, परेवा छाड्ने मानिसरूपी बाजबाट सतर्क रहन परेको,शहीदको अपमान गरिएको, शहीदको सपनामा लात हान्दै फूलमाला पहिराइएको, शहीदको सालिकसँगै शहीदलाई गोली ठोक्नेको सालिक पनि राखिएको यस्ता विकृति र विसङ्गतिप्रति कवि चिन्तित छन् । खिया लागेका संयन्त्रमा प्राण भर्न तड्पिरहेछन् लागिरहेका छन् र चिन्तित पनि छन् । साथी र घातीको पहिचान गर्नु पर्छ र घातीलाई घाती भन्न पछिपर्न हुन्न भन्ने उनको ठहर छ । राष्ट्र राष्ट्रियतामा कटिबद्ध रहेका कविले पसीना चुहाएर माटोलाई फुलाउन चाहन्छन् । विकटका भूगोलको मर्मलाई आत्मसात् गर्न चाहन्छन्, काठमाडौले विकटका भूगोललाई हेर्न पर्ने ठान्छन् ।

दलीय स्वार्थ, क्षेत्रीय राजनीति, जातियवाद, भागवण्डाको राजनीतिबाट माथि उठेर सम्पूर्णलाई हीतकर काम गर्नु पर्ने आदि आदि धारणालाई प्रदर्शन गर्दै उभिएका छन् कविजी ।

भाषशैली – कविको स्वत स्फूर्त भावनाको लयबद्ध बगाइ नै कविता हो भन्ने परिभाषालाई आत्मसात् गर्दै यस कविताको अध्ययन गर्दा भाषाशैली सरल छ । सबै प्रकारका पाठकको लागि यो कवितासङ्ग्रह ग्राह्य अनि खुराकिलो छ । प्रचलित उखानटुक्का टिपेर, भावनालाई लय र अनुप्रास मिलाउँदै शब्द शब्दलाई केलाउँदै, नेपाली परिवेश, सामाजिक यथार्थलाई नियाल्दै, शृङ्गार,करुण आदि विविध रसलाई प्रयोगमा ल्याइ, सुन्दर शान्त, न्यायपूर्ण र शिष्ट समाजको परिकल्पना गर्दै प्रस्तुत गरिएको कवितासङ्ग्रह अनुकरणीय छ ।

अत यस कवितासङ्ग्रले समसामयिकतालाई समाएको छ । समाजमा मौजुदा राजनीति,आर्थिक,राजनीतिक विकृति र विसङ्गतिलाई प्रष्ट्याउँदै साथै व्यङ्ग कस्तै कविले आफ्नो कविता लेखन उद्देश्यलाई पनि प्रष्ट्याएका छन् । कवि यथार्थवादी छन् र उनका भावना स्वच्छन्द रूपमा बगेका छन् साहित्यरूपी ऐनामा सबैलाई प्रदर्शित गरेका छन् । कविले नेपाली साहित्यमा एउटा सवल कृति पस्केका छन् भन्दै कविको कवितामय जीवन सवल र सफल बनोस्, भविष्यमा जीवन र साहित्य उज्ज्वलोतिर उन्मुखताको कामना गर्दै बिदा चाहन्छु ।

धन्यवाद
सदानन्द अभागी
२०७४ साल मंसिर महिना ७ गते,
शान्तिचोक नवलपुर

1 thought on ““अनमोल पुरस्कारहरू”को एक विवेचना”

  1. हार्दिक धन्यवाद
    मेरो कविता सङ्ग्रह ‘अनमोल पुरस्कारहरु’ को विश्लेषणात्मक समीक्षा गरिदिनुभएकोमा आदरणीय अग्रज साहित्यकार सदानन्द सरप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

    भेषराज रिजाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *