Skip to content

पाँच मुक्तक (हिन्दू दर्शन)


हिन्दू दर्शन
हिन्दू दर्शन मान्यो भने कर्म–फल भन्छन्
परिश्रम गरी प्राप्त फल कर्म–बल भन्छन्
समताको नारा मात्रै फल कहीं भेटिदैन
आखिरमा सन्तोष लिन भाग्य–छल भन्छन्

खेती गर्दा
खेती गर्दा अन्न मिल्छ काम गरे दाम
अकर्मी त भोकै बस्छ रुन्छ दिवासाम
मन्दिर मस्जिद हिड्नु सन्तोषको लागिर्
ढुक्कभई कर्म गर्यौं अघि आउँछन् राम

चाकडी
चाकडी र चापलुसी त सबै मन पराउँछन्
भगवानलाई खुसी पार्न सबै दाम चढाउँछन्
मौन बस्छन् भगवान जस्ले जहाँ जेजे गरे पनि
कमजोर मान्छे मूर्तिसामु आँसु झराउँछन्

धर्मशास्त्र–
धर्मशास्त्र हामी पढ्छौ धर्म पाउनलाई
खर पनि काट्ने गर्छौ मन्दिर छाउनलाई
आफ्नै ध्यानमा भगवान मस्तसँग सुत्छन्
चलाख छन् प्रभू पनि सबै कज्याउनलाई

पूजाआजा–
पूजाआजा भन्दै मानिस किन कराउँछन्
सत्य सवल कर्म गर्दा ईश्वर डराउँछन्
पसिनाको एक एक बूँद अमृत नै ठानौ
यिनै बूँद बगाउनेलाई ईश्वर मनपराउँछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *