Skip to content

इञ्जिन

  • by

आजसम्म सेकेन्ड ह्यान्डले नै धानिरहेछ जिन्दगी । नयाँ चढ्ने मन भएर पनि काम चलाउमै अल्झिएको छ रहरहरू ।

सेकेन्ड ह्यान्ड भएपछि उही त हो मर्मत गरिरहनुपर्ने । खर्च आइरहने । महिलाको घाँटिको सल जस्तै, वर्तमान कच्चा सम्बन्धजस्तै मिलाइरहनुपर्ने घरिघरि यसका पार्टपूर्जा । स्टार्ट नै नभएपछि म डोर्याउँदै पुगे मेरो मोटरसाइकललाई वर्कसपसम्म ।

सलिम भाइले यसलाई धेरै पटक मर्मत गरिसकेको छ । उसले प्लक गएछ भन्यो र फेरिदियो । स्टार्ट भयो । मेरो काम सकिए पनि म एकछिन बसे । वर्कसपमा अर्का एक जना पनि मोटरसाइकल सर्भिसिङका लागि आएका थिए । परिचय गरे, म लक्ष्मण । कोपिला सहकारीको प्रमुख । मैले पनि परिचय दिएँ । फरासिला मान्छे रहेछन् उनी । केही समसामयिक गफ गरे चुरोट पिउँदै ।

उनी आफ्नो बाइकमा प्रयोग गर्ने पार्टपुर्जा बारे निकै चासो दिइरहेका थिए । ओरजिनल सामान प्रयोग गर है भाइ । मोटरसाइकल बनाउँदै गरेका केटोलाई उनले निर्देशन दिए । यही बीचमा उनले दुई क्यान विएर पनि भ्याए ।

सलिमले सोध्यो, ‘‘मोबिल चाहिँ कुन हालिदिऊँ सर ?”उनले भने, ‘‘सबभन्दा राम्रो हाल, इञ्जिन बचाउन परेन ?” तीन लाखको मोटरसाइकलको इञ्जिन बारे यत्रो चासो र चिन्ता गर्ने तपाईँले आफ्नो शरीरको इञ्जिन बारे चाहिँ किन बेवास्ता नि ? मैले फ्याट्ट भने ।

मेरो कुरा सुनेर उनी मुस्कुराउँदै भने हो त है । मैले त यस बारे सोचेकै थिइन । तपाईँले आँखा खोलिदिनुभयो । आफ्नो इञ्जिन बचाउन पनि अब त धुम्रपान, मध्यपान छोड्नै पर्छ । हाम्रो भनाइ र गराइमा धेरै ठाउँमा तालमेल नमिलेको देखिन्छ । उनले छोड्ने निश्चय त गरे तर खै व्यावहारमा उतारे कि नाइँ ? हामी आफ्नो बाटो लाग्यौँ ।

गोपाल खनाल
तारकेश्वर गापा–१ दाङसिङ नुवाकोट
हाल पोखरा –११

Leave a Reply

Your email address will not be published. Required fields are marked *