Skip to content
RekhaPanta


गैरीखेतको रोपाइँ
जमदार बाको मेला
उखेलेर धानको बिउ
झमझम पानीको वर्षा
वर्षासँगै
सुमधुर आवाजमा गाएको असारे गीत
“रिमी र झिमी पानी है पर्यो असारे मासैमा”
कोइलीले कागको फुल चोरे झैँ मौका छोपी छोपी रोपाहारलाई
हिलो छ्याप्ने लाठेहरू
तिनै लाठे मध्यको एक उनी !!

खेतको आलीमा बसेर
निथ्रुक्क भिजेको शरीर
खाइन्थ्यो खाजा
एउटै पछेउरीमा थापेर
झिकेर पालै पालो
मगमग बास्ना आउने
दारको ठेकीमा जमेको एकराते दही
ढिकीमा कुटेको चिउरा
तामाको अचारको साथ
जमदारनी आमाको हात
प्रत्येक गाँसमा जुधिरहन्थे नजर
उनको मेरो !!

छुट्टीको दिन
खोलामा पौडी खेल्दै
बालुवामा बनाएका
सुन्दर स _साना घरहरू
सानो घरभित्र
झनै साना साना
बनावटी
ढुंगाको दुलहा दुलही
बालुवाको भतेर
जन्तीमा जम्मा दुइजना
म र उनी !!

बनपाखामा
दाउरा घाँस
सालको पात बजाउदै
सुसेल्दै
रनबन घन्किने गरी गाएका गीतहरू
कलकल बगेका स्वच्छ मूलको पानी
अन्जुलीमा उबाएर मेटिएको
तिर्खा
भोक
थकान
घाँसको भारी होस् या मनको भारी
बिसाउन पुग्छ डाँडाको चौतारी
सिरसिर बतासले छिनमै मेटिने थकान
तल दोबाटोमा देखिने
भरियाको लर्को
चौतारी पेटीमा बिछ्याएका
सेता सेता छपनी
छपनिमा खेलिने
बागचाल बुद्धिचाल
खेलको प्रतिसपर्धामा
उनी र म !!

गोधूलि साँझको सकेंत गर्थ्यो
झ्याउँ झ्याउँ झ्याउँकिरीले
लाहुरे बाको घरमा बसेको रोधी
जोर मादलको घिन्तांग घिन्ताग
मंसीरको सोमबार लाग्ने झ्याल्ला भूमे थान
जाडोको मौसममा एउटा पछेउरी
काफी थियो दुइजनालाई
ढोडेनी बजारमा लाग्ने
एकादशी मेला
किनेर खाएको
सुन्तला बदाम
फूलैफूलको डोली
भजन गाउदै
दरौदी नदीमा टाँगेको फुलकै तोरण
फूलका गुच्छा नदीमा बगाउदै
मुस्कुराउने
उनी र म !!

भनौला कुनै दिनभन्दा भन्दै
मनभरी उकुसमुकुस भएर बसेका
प्रेमका अंकुराहरू व्यक्त गर्न
नसक्दा
दिन बिते,
महिना बिते
ऋतु फेरिए
भित्तामा झुन्ड्याएको पात्रो फेरियो
कतै उसैले पो भन्छ कि भन्ने आशा गर्दा गर्दै
समयले नेटो काट्यो
अहिले लाग्छ
मन दरिलो बनाएर उसकैसामु
आफ्नो प्रेम व्यक्त गरौँ
तर न त्यो समय आउँछ फर्केर
न उही मान्छे !!

-रेखा पन्त, गोरखा

हाल:ईजरायल

1 thought on “याद”

  1. सुन्दर कविता
    सुन्दर कविता रेखा जी । अझ सुन्दर कविता पढ्न पाइयोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *