Skip to content

हैसियत (लघुकथा)



मौसम लागेपछि एउटा बोटमा फूल फुल्यो । फूलबाट फलमा रूपाँतरण हुँदै गयो । आफ्नो भरिपूर्ण बैँस चढेको उन्मादमा एक दिन फल र फूलले गफ हाँक्यो ।

“हेर फल ! हामीलाई देखेर प्राणीहरू खुशी भएका छन् । हामी नै बोट बिरूवाको पहिचान हौँ । हामीलाई सबैले सम्मान गर्छन्,” फूलले मस्किदै भन्यो ।

पातले सही थाप्यो ।

“हो त हकि फूल ! हामी नहुने हो भने हाँगा काण्ड र जरालाई कसले चिन्छ र । अनि बंश बृध्दि गर्ने पनि हामी नै हौँ । त्यही भएर हामी सबैभन्दा माथि छौँ,” फलले पनि मच्चिदै धक्कु लगायो ।

फल र फूलको यो गफ सुनिरहेको हाँगा अनि काण्डलाई झोक चल्यो । हाँगाले जरालाई खुसुक्क भन्यो, “सुनिबक्स्यो जरा महोदय ! हजुरको महानता चटक्कै बिर्सेका यिनीहरूलाई यिनको हैसियत चिनाइदिनु पर्यो । हजुरको हैसियत के हो भन्ने सबक सिकाई दिनु पर्यो ।”

“तिमीहरू उत्तेजित नहोऊ ! यी टुप्पोबाट पलाएकाहरूको गफ यस्तै उत्ताउलो हुने गर्छ । एक दिन यिनीहरूले आफै सबक सिक्ने छन् : तिमीहरू सँयमित बन,” जराले शालिनता पूर्वक भन्यो ।

नभन्दै एक दिन हुरीबतास र पानी दर्केर पर्यो । केही क्षणमै फल, फूल र पात रून्चे अनुहार लिएर भुइँमा पसारो परे ।

अल्पबिराम

Leave a Reply

Your email address will not be published. Required fields are marked *