Skip to content

अप्राप्य मोड र तिम्रो माया


“जिन्दगी मेरो परिभाषामा, त्यति नै अप्ठ्यारो र नितान्त अपर्याप्त विषयवस्तु भएको छ र म त्यसलाई सजिलै स्वीकार्ने पक्षमा छैन,“ ऊ गम्भीर भएर यी कुराहरू बोल्छ ।

ऊ भन्नाले अनाम अर्थात् मेरा अभिन्न मित्र । ऊ अक्सर गरेर यसरी नै फटाफट बोलिदिन्छ, म भने त्यो अवस्थामा कुनै उत्तर दिन नै पाउदिन । कस्तो सम्झौता भएको छ हाम्रो बीचमा र हामी आफूमै अन्यौल छौं। तर के त्यस्तो भए हाम्रो भोगाइ साच्चै नै अमिल्दो भएको छ त ? म पनि ऊजस्तै सजिलो बनेर बोलिदिन्छु । ऊ मतिर फर्किन्छ र फिस्स हाँस्छ । मेरो असल मित्र सजिलै सत्य कुराहरुमा प्रतिवाद जन्मिन सक्तैन । मित्रता आफैमा स्पष्टता हुनुपर्छ र यो नै यात्रामा सबैभन्दा महगो प्राप्ति हो । आखिर जसरी भए पनि बाँच्नु मात्र त जीवन हुन सक्तैन नि !

ऊ लगातार बोल्छ र छेवैको कुनै विदेशी उपन्यास पल्टाउने व्यस्ततामा लाग्छ । म प्रतिवाद नगरीकनै उसले बोलेको कुरा स्वीकार्ने मानसिकतामा आफूलाई उभ्याउँछु । तर मभित्र यति धेरै पीडा किन अव्यक्त बाँचेको छ ? म उसलाई किन खण्डन गर्न सक्तीन ? मभित्रको कमजोरी मैले नै स्पष्ट छानबिन गर्न सकेकी छैन । बुझ्यौं सपु म यतिखेर सिद्धान्तसग सहमति प्रकट गरेर र आफू केही हु भन्ने विश्वास दिलाउन चाहन्छ । ऊ वास्तवमा धेरै बोल्छ र अविश्वासको कुरा आदर्शता मन नपराएरै पनि स्वीकार्दै जान्छु ।

ऊ संवेदनशील छ । तर बाहिरबाट आफूलाई कठोर देखाउने असफल प्रयासमा रहन्छ । उसले एकताका यस्तै कुरा मसँगको प्रथम भेटमा गरेको थियो, “तिम्रो र मेरो सम्बन्धबाट तिमीझै म धेरै प्रभावित छु । तर तिमीसगको मिठो यात्रामा पनि मेरो कुनै नौलो इच्छा पलाएन । यसरी यतिखेर पनि जीवन हरेसग्रस्त छ । र यो नै मेरो जीवनको सबैभन्दा ठुलो दुर्घटना भएको छ । तर म यसमा पनि खुसी छैन । मेरो जीवनको अमूल्य साथी नभनेर अब म पुनः चुपचाप बस्तीन तिमीलाई केही हदमा थाहा छ म हावामा हैन मरुभूमिमा वस्ती बसाउने सिद्धान्तको मान्छे हु । तर महत्वाकाङ्क्षाले मलाई एक कदम अघि नबढ्दै पल्टाइदियो, चाहनाले मन सल्काइदियो, कल्पनाले बगरझै सुकाइदियो ।”

उसले यस्ता कैयौं कुरा हाम्रो भेटमा भन्ने गर्छ ।

अलिकति जीवन नभोग्दै जीवन समाप्त गर्ने कुरा र सधैं विवादास्पद बाँच्ने उसको जीवन मलाई भने त्यति मन पर्दैन । त्यसपछि हामीहरू चारपाच महिनासम्म पनि भेटिएनौ । यति लामो समयसम्म पनि नभेटिदा उसले अचानक आजको भेटलाई लिएर कुनै ठूलो योजना बनाएन । यति बेला लाग्थयो ऊ अरु दिनभन्दा बढी नै दुःखी भएको हुनुपर्छ ।

“बुझ्यौ, यो जीवन एउटा क्षणिक सपनाभन्दा बढी केही भएन । सपना नै रहन्छ । वर्तमान कहाँ अमर हुन्छ र कमु। म यो सपनाजस्तै क्षणिक बचाइमा पनि भावनात्मक अनुभूतिमा चुर्लुम्म डुबेर तिम्रो यो सामीप्यको मिठासमा युगयुग रहन पाए । अह, किन हो क्षणिक सपनाले मलाई पागल बनाएको छ ।” ऊ लगातार बोलिरह्यो र मैले पनि त्यसरी नै सुनिरहे ।

“साथी, म तिमीलाई माया गर्छु । मायाको परिभाषा छैन, यो अवश्य हो तर अपरिभाषित वस्तुको प्रयोजन किन त ? यदि माया अपरिभाषित वस्तुको प्रयोजन किन त ? यदि माया अपरिभाषित भन्ने ठान्ने हो भने यो आफैमा अपूर्ण हुन्छ र यिनीहरुलाई मायाको मापमा राख्न सकिन्न । यदि यिनीहरुलाई माया भन्ने हो भने मायाको थुप्रै परिभाषा हुन सक्छ । त्यसैमध्येको एक परिभाषा मायाको मापमा हृदयको सामीप्यता र भावनाको समर्थन हो । कल्पनाझै माया भताभुङ्ग हुन्छ अवश्य । तर कल्पनाको वायुपन्खी उतारचढाव भने माया होइन । यदि सहज र सरल रुपमा मायालाई स्वीकार्ने हो माया आवरण हो, पूजा हो । तिमी आफै कल्पना गर त मैले तिमीप्रति राखेको समर्थन र तिमी यति धेरै दिन नआउदाको पीडा माया हैन त ?” मैले अति नै संवेदनशील र प्रिय कुरा गरे ।

“एकैछिन घुम्न जाऔं न । धेरै दिन भयो हामीहरू एकआपसमा खुल्न सकेका छैनौ ।“

उसले मेरो हात समात्यो र घुम्न जानुपर्छ भन्ने दबाब दिन थाल्यो । म पनि ऊसग जाने तयारीमा लागे । हामीहरू हिंड्न थाल्यौं र धेरै लामो यात्रामा लाग्यौं । जीवनका अपायक खुसीहरू ऊसम्म पुगेर एउटा आकृति खडा भएको छ र म पनि एक प्रिय मित्रजस्तै भएर ऊभित्र भिज्ने कोसिसमा लागेकी छु । साच्चै ऊ मेरो सन्तोष हुनुको पर्याय हो । छेवैको सानो पसलमा हामीहरू विश्राम गर्छौ । कस्तो संयोग छ हाम्रो मित्रताको म उसलाई धेरै कुरा भन्न चाहेर पनि भन्न सक्ने अवस्थामा छैन । “म छिट्टै नै बिहे गर्दैछु । अर्थात हामीहरुले चार वर्षसम्म गरेको प्रेमलाई मैले नचाहेर धोका दिनुपरेको छ । मैले बिहे गर्ने मान्छे पैसावाल हो । तर ऊसग धेरै पैसा छ भनेर मैले बिहे गर्न लागेको भने पक्कै र्होइन । यति हो मलाई आर्थिक समस्याको जर्जरताले नराम्रोसग बिथोलेको छ । आर्थिक अभावले मेरा विचारहरू विभाजित जस्तै भएका छन् । प्रत्येक क्षण मेरो यात्रामा नमीठो र मृत्युजस्तै कहालीलाग्दो वर्तमान मेरोसामु हुन्छ र म चुपचाप त्यसलाई सहिरहेकी छु । उफ म बिथोलिएकी छु । साच्चै नै बिथोलिएकी छु ।

“साथी, म बिहे गर्दैछु । ऊ पैसावाल छ । घर, मोटर छ र सुनेकी छु थुप्रै बैङ्कब्यालेन्स पनि छ रे। एकै प्रकारको जीवन बाँच्न राम्रो भने पक्कै हुन सक्तैन, हैन र ?” मेरो कुरा सुनेर उसले के निर्णय निकाल्यो त्यो त मलाई थाहा छैन । तर यति हो, उसले यो कुरा भने पटक्कै मन पराएन । मैले अनुमान लगाएँ ।

ओहो मानिसहरू कति चाडै र सजिलै विचारहरू परिवर्तन गर्न सक्छन । म पनि परिवर्तन भएकी छु र यो भिन्नता नै हामी बीचको अन्यौलता हो । ऊ भन्छ, “सायद तिमीले मित्रताको नकारात्मक पक्षको कल्पना गर्यो होला, जो मबाट बिस्तारै प्रदर्शित हुनेछ । मान तर यो मिथ्या छ, नसोच म आम मान्छेहरुको लस्करमा उभिएकी उही मान्छे भनी । म सदा सीमाबद्ध बग्न चाहन्छु र अवञ्छित प्रदर्शन मेरो नियति हुने छैन । हुन त जीवनपरिवेश यस्तै छ, हाम्रा निकटताका सीमाहरू नजिकिएर सीमाका सानासाना डोराहरू धूमिलधुमिल भएका छन् । यसैले त त्यस परिधिभित्रको हाम्रो जीवनलाई सदा सशक्त बनाइराख्नुपर्छ । तर तिमी त जीवनप्रति निष्ठुर छयौ, जुन नकरात्मक सोचाइ हो ।, एउटा कटु सत्य त्यो तिम्रा विचारहरुमा पराजीत हुनु हुँदैन ।”

म उसका गम्भीर कुरा सुनेर अँझ गम्भीर भएँ । ऊ बोल्दै गयो, “जीवन सजिलो छैन र उपायहीन अप्ठेरो पनि छैन जे तिमी खालि मृत्यु र तनावको कुरा गर्ने । यस्तै कल्पनाले ? तिमीलाई हरघडी प्रभाव पार्दै होला र तिमी क्रमशः आफ्नो क्रियाशिलताको धुरीबाट ओह्राला झर्ने क्रममा छयौं । यो अर्थहीन वर्तमान सच्याऊ र अस्पष्ट हुन खोजेका भविष्यको कोणात्मक रेखाङ्कन गर । मेरो त खालि माया तिमीलाई । बिहे गर, बिहे सम्झौता हो ।” उसले यति भन्यो र आँखाभरि आँशु पार्यो । मैले अनुमान लगाएँ ।

उसले यति बोलिरहुन्जेल आफैलाई तौलेको छ र माया गर्ने एउटा गोरेटोमा हराउने स्पष्ट अभिव्यक्ति खोजिरहेको छ । मैले धेरै कुरा ऊसँग गर्नु छ । मैले भने– “साथी हामीबीच थुप्रै रुपान्तरणहरू भए । ती सबै हाम्रै मैत्री हैसियतबाट नै भए र हामीले जीवनका विविध फाटहरुलाई एकदेखि अर्कोसम्म निश्चय नै पुराउनु पर्छ । यसै क्रममा मैले त झन् यही भावनाको बिस्कुन फिजाएकी छु तिमीछेउ । म जे बोल्न चाहिरहेकी छु त्यो किन सजिलै व्यक्तिदैन ? ऊ मतिर फक्र्यो र फिस्स हाँस्यो । हामी यतिखेरसँगै छौ । कुनै समयमा यही ठाउमा बसेर हामी जीवनका स्वर्णिम सपनाहरू सजाउने कल्पनामा रमाएका थियौं । ऊ मसँग यति चाडै बिहे गर्न सक्तैन । कारण म आर्थिक तनावमा जसरी बाचिरहेकी छु, आमाको आदेश पालना गर्न म जति हतारिएकी छु ऊ पनि त्यति नै अभावमा बाँचेको छ । कारण स्पष्ट छ । हामी चाडै बिहे गर्न सक्तैन । तर मैले चाडै बिहे गर्नुपर्छ ।”

ऊ भन्छ– “वर्तमान कठोर हुदाहुदै पनि स्वीकार्नु पर्छ । हामी यही गोरेटोमा एउटा यात्रा गर्दागर्दै परिवर्तन आउछन् तर जुन परिवर्तन हाम्रो दोस्रो गोरेटोको थालनी हुनेछ । हुन सक्छ हामीहरू बढी आत्मीय भएका छौ । आत्मीयताको कारण हामी त्यहाँ छुट्टिन नसकौला, के भर र मनको ? यो जति पनि लम्ब्याउन सकिन्छ ।यसरी हामी जहा छुट्टिन नसकौला । यसरी हामी जहा छुट्टिन सक्तैनौ तत्पश्चात् हाम्रो छेउमा अँध्यारोको सम्भावना क्रमशः बढ्दै जानेछ र त्यो विकराल अँध्यारोले हुन सक्छ मलाई, तिमीलाई वा दुवैलाई छोप्न सक्छ तब हामीले फेरि एउटा युग अ“ध्यारोको सामना गर्दै बिताउनुपर्नेछ । यहा यो त पक्कै निश्चित छ अधयारोमा हामी रमाउने छैनौ । यसरी हामीले हाल बाँच्तै गरेको जीवन र मित्रतासँगै बाचिरहनेछ । यो निश्चित छैन । हुन सक्छ तिम्रो बिहेपश्चात् मैत्रित्वमै परिवर्तन होस् । अथवा परिभाषित होस् विस्तृतीकरण होस्, यस अवस्थामा हामी विकल्प खोज्नेछौ । जुन विकल्प खोज्नेछौ त्यो आजकोभन्दा धेरै फरक हुनेछ । तिमी आफै सोच, तयो विकल्प हामीहरू कसरी स्वीकार्नेछौ “? ऊ लगातार बोलिरहन्छ ।

म हिंड्ने तरखरमा लाग्छु । कारण आमा आजकाल मप्रति बढी शङ्कालु हुँदै जानुभएको छ । त्यसैले पनि म चाडै घर जानुपर्छ । ऊ त्यसै पनि उदास र एक्लै बस्न मन पराउने मान्छे । तर जे भए पनि अब म छिट्टै नै ऊबाट टाढा हुनेछु । उसको र मेरो मित्रता सधैका लागि सम्झनामा मात्रै सीमित हुन सक्नेछ । हामीसँगै उठ्छौ र अघि जुन बाटो आएका थियौं तयही बाटो फर्कने जमर्को गर्छै । साच्चै मलाई भक्कानो छोडेर रुन मन लाग्छ । हावा चलेको कारण हामीहरू त्यहाँ धेरै बेर अडिन सक्तैनौ ।

“दिदी, तपाईंको नाममा चिठी आएको छ,” सानो भाइ एउटा सेतो खाम दिएर भाग्छ ।

मेरै नाममा आएको त्यो चिठी उसको हो, किनभने अगाडि खाममा नै स्पष्ट उसको नाम उल्लेख छ । चिठीमा लेखिएको छ,”कामु, धेरै दिन भयो, हामीहरू भेटिएका छैनौ । तिम्रो बिहे हुदैछ, शुभकामना हेर न, जति नै गरे पनि मैले हाम्रो मित्रतालाई बिर्सन सकिन । सायद म जीवनको यर्थाथ र सपना भुल्दैछु, भुल्ने क्रममा म स्वय म नै अपरिभाषित हुन पुगेको छु । विश्वास गर, म तिमीलाई माया गर्छु । तिमी मैले माया गरेको मान्छे हो । तिमी यी हेर त, यसरी तिमीबाट म टाढा हुनुपर्छ हैन भने कम्तीमा मभित्र सम्झना प्रबल रहनेछ र म फेरि एक्लो हुनेछु तिमीजति सहृदयी बनेर मेरो परिवेशमा कोही आएनन् । तर कामु मैले मित्रताभित्र माया रोप्ने भ्रममा दुख रोपेको रहेछु । लाग्छ कतै रोपेको मायामा मेरो आसक्तिको भ्रम त तिम्रो अनुभूतिमा आएको छैन ? ठीकै छ धेरै लामो पत्र अब म चाहेरै पनि लेख्न सक्तिन । तिमीबाट म टाढाको भएको छु । अर्कै देशमा अब म कहिल्यै नफर्कने गरेर जादैछु । तिमीलाई शुभकामना ।”

चिठी पढेपछि मेरा हात यतिखेर कामेका छन् र म स्तब्ध भएर उभिएकी छु । मेरो आँशु पनि सकिएको जस्तो भएको छ । म स्तब्ध उभिएको छु यतिखेर ।

कमला बुढाथोकी सरुप

Leave a Reply

Your email address will not be published. Required fields are marked *