Skip to content

समवेदना पेस गर्न कहिलेसम्म तँछाड मछाड गर्ने ?


मेरा एक जना अति नै घनिष्ट मित्रले थाहै नदिई “लौ बस्नु बाइकको पछाडि” भनेर मलाई लिएर कतै जानुभो । दशैंका भेडाजस्तो लागें म उनका पछि । गन्तव्य कता थियो मलाई केही थाहा थिएन । तर उहाँले भनेपछि नमान्ने मैले कुरै आएन । खुरुखुरु उहाँको बाइकको पछि बसेर उहाँले जता लानुहुन्छ त्यतै गएँ ।

आधा घन्टाको यात्रापछि म पुर्याइएँ एक यस्ता घरमा जहाँ ठुलो भीडभाड थियो । ओहो म ता कुनै राजनीतिक चुनावको प्रसारमा कुनै नेताको घरमा पो आएँछु कि ? अथवा कसैलाई सम्मान गरिने कार्यक्रममा पो आएँ कि ? या कुनै साप्ताहिक पूराण लागेको ठाउँमा पो आएँ कि ? मैले त्यहाँको दृश्य देखेपछि परिकल्पना गरें । अहँ पुरान ता हैन, दिदी बहिनीहरू नाच्नु भाको छैन, नाचगान नै छैन, भजन कीर्तन नै छैन, माइक बजेकै छैन, टोल थर्काउने गरी, सारा भुराभुरीका कानको जाली फुटाउने गरी माइक बजेकै छैन । पुरानमा बज्नु पर्ने बाजाहरू बजेका छैनन् । भनेपछि यो पुरान हैन भन्नेमा म स्पष्ट भएँ तथापि राम्रै गरी एक जना पूराणवाचकले पुरान भनिरहनु भएको छ खाटमाथि ओछ्याइएको राडीमा बसेर । यो कस्तो पुरान होला मलाई निकै खुल्दुली भयो । केही स्रोताहरू सुनिरहेका छन् । एक दुई जना देखावटीकै लागि भए पनि ध्यानमग्न जस्ता देखिन्छन् । केही भने पर्सादी लिनमा लागिरहेका छन् । यसै बीचमा घरभित्रबाट स्रोताहरुलाई फलफूल, सर्वत र चियाहरुको बन्दोबस्ती पनि भइरहेको छ । स्रोता टनाटन छन् । अचानक मेरा आँखा सिकुवामा राडी ओछ्याएर बसेका सेता लुगा लगाएका दुई जना लोग्ने मान्छेमा परे । यिनलाई देखेपछि थाहा भो यो ता कुनै मरुमराउ भएको घर पो रहेछ । साथीले पनि थाहा नदिएर मलाई केही बेर दुविधामा पारे भनेर मनमनमा अलिक रिस पनि उठ्यो । यहाँ उपस्थित महानुभावहरू ता समवेदनाका लागि आएका पो रहेछन् । यो थाहा भएपछि र समवेदना दिन आएको ठाउँ हो भन्ने बुझेपछि केको रिस भनेर म मथ्थर भएँ । अनि पो मेरा आँखा घुमे वरिपरिको वातावरणमा ।

उपस्थित सबै मृतकको नाममा समवेदनाका लागि उपस्थित भएका रहेछन् भन्ने थाहा भो । म आफू बडो लुम्सो लुम्रो जस्तो भए पनि बाँकी समवेदनाको कार्यक्रममा उपस्थिजतहरू निकै तामझामका साथ आएका रहेछन् । मगमग अत्तरको बासना आइरहेको थियो भीडबाट । पुरुषहरू परस्परमा केकेके कानेखुसीको शब्दहरुमा गफगाफमा देखिन्थे सायद पार्टीको चुनाबको, देशमा भएको भ्रष्टाचारीको, जम्बो मन्त्री मण्डलको, देशको राजनीति आदिको आकलन हुनु पर्ने हो उनीहरुको गफगाफमा । कोही गलललल हाँस्तै गरेका पनि देखिन्थे, कोही भने शौचालय कता छ भनेर शौच कर्मका लागि सोधपुछ गरिरहेका थिए । उता समवेदनाका लागि उपस्थित हुनु भएका महिला मण्डलीले फेसनको महत्व रामरी बुझेको देखिन्थ्यो । वस्त्रको सानोतिनो प्रदर्शनी नै भनेजस्तो देखिन्थ्यो । त्यति धेरै ता हैन दुई जना नानीहरू भने यो तिघ्रासम्म अघाडितिर धुजैधुजा पारेर च्यातिएका आजभोलिको फेसनमा चलेका प्यान्ट लाएका पनि देखिनु भो । यो प्यान्ट पछाडितिर पनि त्यसरी नै च्यातिएको थियो कि अगाडि मात्र हो हेर्न चाहेर पनि मैले सकिनँ । अलिक मिलेन पनि, लाटो लाटो चालले हेरेको भए ता हुने पनि थियो होला तर यसो पनि गरिनँ । पुरानको सन्दर्भ ता बल्ल पो थाहा भो गरुड पूराण पो रहेछ ।

यसै बीचमा मेरा आँखा घुमे घरका भित्तातिर । त्यहाँ ता नानाथरीका रङ्गी बिरङ्गी महँगा महँगा शैलीका समवेदनाहरू ब्यानरमा, तुलमा, महँगा फ्रेममा सजाइएर झुन्ड्याएका छन् । मलाई ता रत्नपार्कनिका अग्ला अग्ला होर्डिङ्बोर्डहरुको सम्झना भयो । मृतकका भव्य र ठुला ठुला रङ्गिन चित्रहरू सुसज्जित छन् । चित्रसँग कतै उच्च कविता लेखिएका छन् कतै उच्च प्रशस्तिहरू पनि छन् । फेरि मलाई राजधानीतिरको चुनाबी प्रचार प्रसारमा गरिने चलहपलक जस्तो भान भो । समवेदना जनाउन तयार राखिएको समवेदनाको पुस्तिकामा नाम लेख्न र सही गर्न उपस्थित समवेदनादाताहरुको घम्साघम्सी पर्ला जस्तो देखियो । तै अलिक धैर्य लिए, सबैले आखिर समवेदना न पेस गर्न आएका थिए । लडाइँ नै परिहाल्ला जस्तो बुझिएन । हो गर्मीको समय भएको कारणले पानी, सर्वत, फलफूलहरुमा भने यथेष्ठ बन्दोबस्ती भएर पनि अलिकति हारालुछ परेजस्तो भो । तर त्यसमा पनि समझदारी देखियो । आखिर समवेदना प्रकट गर्न न आएका थिए यी अतिथिहरू । सभामा धेरैका मोबाइलहरू बजिरहे । केही साथीहरू त्यही बीचमा पनि नेट चलाएर च्याटिङ् धन्दामा व्यस्त देखिन्थे । सभाको फोटो लिने समवेदनाको क्षेत्रका पत्रकाहरू पनि मनग्गे थिए । म भने विहङ्गावलोकन गरिरहेको थिएँ ।

केही छिन पछि पण्डितजीले गरुड पूराण सकेर यता समवेदनाको पूराण वाचन गर्ने अवसर दिनु भाको हुँदा तयार परियो । हाम्रो टिमका लिडरले सबैको ध्यानाकर्षण गर्नु भए तापनि मोबाइहरू भने ध्यानाकर्षणमा परेनछन् । यो कुनातिर कसैको गोजीवाट मोबाइल बज्छ, ऊ कुनाबाट बज्छ । तैपनि यस्तै बीचमा हाम्रो टिमलिडरले समवेदना पढ्न थाल्नुभो । मैले समवेदनाको भाका सुने र समवेदनाको मूल्यवान चाँदीको फ्रेम लगाएर ल्याइएको समवेदनाको डिजाइन पनि हेरें । ओहो, बडो कलात्मक, सजिसजाऊ गरिएका, कसैकोभन्दा कम नलाग्ने, भित्रको पेट बोली पनि उस्तै आकर्षक, बडो गम्भीर शब्दहरुले भरिएको माथितिर मृतकको सुन्दर र सानदार चित्रले सजाइएको । टलललल टल्केको र अति नै आकर्षक रहेछ ।

उहाँले आफ्नो कर्मकाण्डीय परम्परालाई बडो सजिलै सक्नु भो । समवेदनाको प्रवचनमा राम्रो वक्ता हुनुहुँदो रहेछ भन्ने भान भो । पत्र म पुष्प म धुप म दीप म पनि सक्नु भो र ल्याइएको भव्य समवेदनाको रजतपत्र लगेर सबैकोभन्दा माथितिर झुन्डाउनु भो र यो कार्य सक्नुभो । कुनै मन्त्रीले भव्य समारोहमा ठुलो व्यानर उघारेर कार्यक्रमको शुभारम्भ गरेको बेला जसरी फोटो पत्रकारहरू फोटो खिच्न तँछाड मछाड गर्छन् यहाँ पनि यो प्रमाणपत्र माथि भित्तामा टाँस्ता त्यही झलक भो । सो कार्यक्रम सकेर अलि ओर आएर यसो हेर्नु भो त्यसलाई । सायद अरुकोभन्दा गतिलो भो भएन भनेर चेक गर्नु भा होला भन्ने मलाई लाग्यो । अनि मौनधारणका लागि सिङ्गो सभालाई ह्वीप जारी गर्नु भो । मौनधारण शुरु भो । तर मोबाइल भने मौन रहने हैनन् । यसै बीच पनि निकै ओटा मोबाइलले मौनधारण गरेनन् । खासखुसको भाषामा मौनअवधिपछि सुनियो यो सत्रौं पटकको मौन धारण रहेछ आजको । शुरुदेखिकै र अन्तसम्मको हो भने तिनसय पैंसठ्ठीभन्दा माथि मौनधारणको कार्यक्रम जाने रहेछ भन्ने बोध भो मलाई । विचरा क्रियापुत्रिहरुको बिजोग देखियो । एक डफ्फा आउँछ उठाउँछ, अर्को आएर त्यसै गर्छ । तिनलाई मानमनितो, खान्तेपिन्ते । आसन ग्रहण आदिले हैरानी भएको देखें मैले । हाम्रो डफ्फाले पनि त्यही गरेको छ । मलाई भने बिचराहरुलाई यसरी बारबार उठाउनु भनेको सजाय दिए जस्तो भान भइरह्यो । भर्खर विकास भएको परम्परा यस्तै छ । खैर जेसुकै होस् । म मात्र यसबाट अपवाद कसरी हुन सकुँला र ? मर्ने ता मरिगो जीवितलाई यो सास्ती दिनु भनेको दण्डका माथि अँझ ठुलो दण्ड दिनु जस्तो लाग्यो मलाई । तैपनि म चुपचाप रहें ।

यसै बीच क्रियापुत्रि उठेर प्रत्युत्तरका रुपमा भाषण दिन थाल्नु भो । उहाँलाई यसो गर्नु बाध्यता रहेछ । धन्यवादज्ञापन गर्नुभो र अन्तमा उहाँका पिताजीको शुद्धीशान्तिमा प्रसाद ग्रहणका लागि सबैलाई निम्ता दिनुभो । अन्तमा उहाँले हाम्रो त्यो सभामा बडो मार्मिक कुरा राख्नु भो— “हजुरहरुले टक्र्याउनु भएका यी ब्यानरहरू हामीले के गर्नु हो ? घरैभरि टाँगेर सधैं राख्ने कि यिनलाई के गर्ने चलन छ हामीलाई सुझाव दिनु भए हुने थियो ।” क्रियापुत्रिले नम्रताका साथ सोधेका कुरामा कसैले पनि सटिक उत्तर दिएको देखिएन । अनि पो बाहिर भित्तामा टाँग्न नअटाएका समवेदनाका प्रमाणपत्रहरू घरभित्र बोरामा खाँदेर राखिएको कुरा पनि उहाँले सुनाउनु भो ।

यसै बीचको कुरा हो । सभाका एक जनाले अलिक अप्रिय लाग्ने वचन बोलेको सबैले सुने । उहाँ एक्लै भन्दै हुनुहुन्थ्यो— “अब यो तडकभडकलाई समाजबाट कम गर्ने हो भने मृतकले नै मर्नु पूर्व यो समवेदनाका नाममा गरिने ऐयासी, विलासी र तडकभडकका देखावटीहरू मेरा नाममा नगर्नु भनेर सबैलाई सचेत अवस्थामै पहिले नै भन्नु पर्छ नत्र भने झन् झन् यसमा विकृति आउँछ, तिजमा, दसैंमा र अरु अरु चाडहरुमा आएको विकृतिजस्तो ।” उहाँको यस तथ्यपरक वचनमा भने कसैले पनि वास्ता गरेको बुझिएन किनभने समवेदनाका लागि हारालुछ थियो ।

यो अलिक अस्तिको कुरा हो । क्रिया सकिएपछि घर खाली गर्नका लागि उहाँले यी समवेदनाका तुल र प्रमाणपत्रहरू जलाउनु भो भन्ने कुरा सुनियो । बडो दुविधा लाग्ने कुरा भयो । कुरा के हो थाहा भएन ? म भने यो समस्या मेरा छोरालाई नपारिदिनु भनेर अहिले नै भनिराख्छु । समवेदनाका लागि तँछाड मछाड नगरिदिनु होला । हस त धन्यवाद ।

भद्रपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *