Skip to content

विमल भौकाजीसँग छलफल

20171226_PeshalAcharya-BimalBhaukajiInterview


‘जीवन समाप्त नभएसम्म जिन्दगीको दौडमा धेरै चीज छुटिरहन्छन् ।’
– विमल भौकाजी, लेखक/सम्पादक
(मोबाइल – ९८४९३०५९४९)

१) अचेल के साधनामा व्यस्त हुनुहुन्छ ?
आफ्नो सिर्जना गर्नेभन्दा अन्य लेखकका सिर्जनाहरू सम्पादन गर्ने कार्यमा मेरो बढी समय बित्ने गरेको छ –हिजोआज ।

२) बजारमा उपन्यास र संस्मरणको शेरगुल खिलेको छ, यहाँ भने लघुकथा र काव्य विधामै व्यस्त हुनुहुन्छ । जान्न सकिन्छ, किन होला ?

थोरै माटोमा धेरै आकृतिका परिवर्तित रूप बनाउन सकिन्छ भन्ने मेरो मान्यता रहिआएको छ, त्यसैले ।

३) वर्तमान नेपाली साहित्यलाई यहाँका सिर्जनात्मक आँखाले कसरी परख गरिरहेका छन् ?

थोरै मात्र वास्तविक साहित्यका वरिपरि अराजक अर्थात् तथाकथित साहित्यको यो माहौलको वर्णन गर्ने मसँग कुनै शब्दहरू छैनन् ।

४) जीवनमा लेखक नै हुन्छु भन्ने धोको थियो यहाँको ?

पक्कै थिएन । तर अहिले नै पनि मैले आफूलाई कहाँ लेखक मानेको छु र ? साँच्चैको लेखक हुनु एउटा ठूलो तपस्याको विषय हो । नढाँटी भनूँ– म तपस्यारतः छुइनँ । अन्य व्यवहारहरूमा म विभाजित छु ।

५) नेपाली साहित्य के–कति कारणले नेपाली सीमाबाहिर निस्कन नसकेको हो ? विस्तारमा गएर बताइदिनुहोस् न ।

जात–जातमा, वर्ग–वर्गमा, क्षेत्र–क्षेत्रमा बाँडिएको ‘गु्रपिज्म’ नै यो रोगको कारण हो कि ?

६) राज्यको उपस्थिति भएका संस्थामा सिर्जनात्मक साहित्यिक गतिविधिहरू र गुणवत्ता किन कम भएका होलान् ?

त्यस्ता साहित्यिक संस्थाहरूका दैनिकी पूरै ‘सरकारी डिठ्ठा’को मानसिकताबाट ग्रस्त भएपछि ती कारिन्दाका मातहतबाट गुणात्मक सिर्जनाहरूको अपेक्षा गर्न सकिन्छ र ?

७) क्रोनिक रोगीझैँ भएका या सेतो हात्तीझैँ लाग्ने साझा र एकेडेमीहरू अब राज्यले पालेर कहिलेसम्म बस्ने होला ? कि तिनीहरूको विकल्पमा नयाँ–नयाँ सोच र कार्यक्रमसाथ अन्य संस्थाहरू अविर्भाव गराउने हो ?

जागिर खाने थलो बनेको ती संस्थाहरूको कुनै औचित्य देखिन्न – यतिखेर । नयाँ संस्था बनाइयो भने पनि यिनैलाई अनुसरण गर्ने खालका नहोलान् भन्ने ग्यारेन्टी कसले दिने ?

८) बजारवादको हल्लालाई यहाँले कसरी लिनुभएको छ ? के बजारमा हल्ला गरिएका वा गराइएका पुस्तकमा त्यस्तो केही दम देख्नुभएको छ ? छ भने कृपया निर्भयतासाथ नामै लिई मूल्याङ्कन गरिदिनुहोस् न !

हिजोआज धेरै महिना वा केही वर्ष नै भयो, राम्रा भनेर हल्ला चलाइएका किताबहरूको मैले मुखै हेरेको छुइनँ ।

९) अहिलेसम्म यहाँका के–कति पुस्तकहरू प्रकाशित भए ? अब के–के प्रकाशन गर्ने चाँजो मिलाउँदै हुनुहुन्छ ?

मेरा मौलिक सिर्जनाहरूको आधा दर्जन र अन्य तीन–चार दर्जनको सङ्ख्यामा सम्पादित किताबहरू प्रकाशित भएका छन् । सम्पादित अरू पनि पुस्तकहरू प्रकाशनका तयारीमा छन् । तर मेरो आफ्नै पुस्तक प्रकाशनको तत्काल सोच बनाएको छुइनँ ।

१०) जीवनको उत्तराद्र्धमा के छन् यहाँका सिर्जनात्मक योजनाका नवोन्मेषी पहेलीहरू ?

त्यस्तो खास केही छैन । जीवन सहजताका साथ बितोस्, बस् !

११) जीवनलाई भोग्नुभो, जीवनलाई साहित्यमा अर्थ्याउनु पनि भो, अँ, के रहेछ त जीवनको तात्विक परिभाषा ?

यही बुझैं मैले– बाँच्न जाने जीवन भनेको उत्सव रहेछ ।

१२) साहित्यमा यौनको उपस्थिति कस्तो हुनुपर्छ ? यहाँका कृतिमा चाहिँ यौनलाई कसरी प्रस्तुत गर्नुभएको छ ? अलि खुलेरै विस्तारमा बताइदिनुहोस् न !

यौनको प्रस्तुतिलाई सीमाङ्कन गर्ने आधार लेखक स्वयम्को कलममा छ । कमरेड प्रचण्डको भाषणमा समेत ‘यौन’ देख्ने अग्रज पुष्कर लोहनीलाई तपाईं के भन्नुहुन्छ ? उहाँ त ‘यौन’लाई विना प्रतिबन्ध लेख्ने छुट लेखकसँग हुन्छ र हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । के उहाँको प्रष्ट यौन–साहित्यलाई बहिस्कार गरिएको वक्तव्य तपाईंले कहीँ पढ्नुभएको छ ? अर्थात् यौन–साहित्यलाई पनि नेपाली पाठकहरूले रुचाएकै देखिन्छ । जहाँसम्म मेरो प्रसँग छ, मेरो लेखनचाहिँ समय–सन्दर्भमा आधारित हुने गरेका छन् । कुन विषयले कहाँनिर मलाई छुन्छ, त्यसैमा भर पर्छ मेरो लेखन ।

१३) राजधानी केन्द्रित कार्यक्रममा झुण्ड र समूहले एकर्कालाई नमान्ने र नपत्याउने महारोगलाई यहाँले कसरी लिनुभएको छ ?

एउटा सानो वाक्यमा भनूँ– आत्मरतिको मैदान हो, राजधानी ।

१४) जनयुद्ध अघि र जनयुद्ध पछिको साहित्यलाई यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ ? जनयुद्धको धरातललाई टेकेर इमान्दार भई लेखकहरूले कृति पस्किन सकेजस्तो लाग्छ त यहाँलाई ?

कुन जनयुद्ध ? यो परिभाषाप्रति मेरो विमति छ । साँच्चै, यो युद्ध भन्ने शब्दले आजको शताब्दीलाई उपहास गरिरहे जस्तो लाग्दैन तपाईंलाई ? सीधै मान्छेले मान्छेको हत्या गरेको छ, अनि भनिएको छ– जनयुद्ध ! यो तथाकथित शब्दको आड लिएर लेख्नेहरू दानव हुन्, कुनै पनि दृष्टिकोणबाट लेखक हुन सक्दैनन् ।

१५) पुरस्कारका बारेमा चलेका हल्ला र सिण्डीकेटलाई यहाँले कसरी लिनुभएको छ ?

यस विषयमा मेरो कुनै रूचि र सरोकार छैन ।

१६) सर्जक भनेको भगवान् हो, कतिपय मानिसहरू यसो पनि भन्छन् तर हाम्रा नेपाली सर्जकहरूको भित्री रूपमा व्यक्तिगत जीवन अध्ययन गर्ने हो भने घिनलाग्दा पनि देखिएका छन्, एउटा साहित्यकार किन दोहोरो मापदण्डको जीवन बाँच्छ होला ? के दोहोरो जीवन नबाँचे यहाँ बाँच्नै सकिन्न र ?

विकृति कहाँ छैन ? तर हामी केवल राजनीतिमाथि गाली बर्साउँछौँ । धार्मिक क्षेत्र, कला–संस्कृतिमा पनि विकृति छ । सही, सत्य हुनु भनेको आजको समाजको नकारात्मक पक्ष भएको छ । जो धूर्त छ, जो पाखण्डी छ, जो बेइमान् छ, जो दूराचारी छ, जो भ्रष्टाचारी छ उही नै इज्जतदार कहलाइन्छ । सायद यसैको लहैलहैमा साहित्य क्षेत्र पनि अनुसरित छ । सबैको सोचाइ यही बनेको देखिन्छ– आडम्बरी भएरै आखिर बाँच्नुपर्ने त यही समाजमा नै त हो ।

१७) अहिले नेपाली साहित्यको कुन विधा ओझेलमा परेको छ ? हल्ला गरे पनि कुन–कुन विधाहरूलाई सर्जकले नै न्याय गर्न सकिरहेका छैनन् ? कृपया ‘स्वट एनालाइसिस्’ गरिदिनुस् न ।

विधात्मक लक्ष्मण–रेखामा उभिएर हेर्दा कविताको क्षेत्र मौलाएको देखिए पनि त्यसमाथि ठूलो अन्याय परेको पाउँछु –म । तथाकथित कविहरूबाट आक्रान्त छ –कविता । सामान्यतः भनिने–सुनिने, हेरिने विषय होइन –कविता । यो विशुद्ध अनुभूतिको विषय हो तर यही ‘कविता’लाई नाटकघरहरूमा लगेर दिनदहाडै लिलाम गर्ने प्रचलन दिनानुदिन बढ्दो छ । कविता अभिनय–कला होइन, जीवनसँग जोडिएको वास्तविकता हो ।

१८) नेपाली साहित्यिक पत्रपत्रिकाहरूको वर्तमान मुखडा कस्तो देख्नुहुन्छ ? थेसिसलाई छोट्याएर वा तोडमरोड गरेर गुणग्राही समालोचना लेख्ने पारम्परिक साहित्यिक पण्डितहरूलाई यहाँ के भन्नुहुन्छ ?

साँच्चिकै भन्न लगाउनुहुन्छ भने यो समालोचनासँग मेरो लगाव अलिक कम छ । यो विधाप्रति म कम आकर्षित छु । तसर्थ यसबारेमा मौनधारण गर्नु नै सही हो कि ?

१९) नयाँहरूको लेखन–दमबाट नेपाली साहित्यको भण्डारले असल कृति पाएको छ वा कागजको नाश मात्रै भएको छ, के छ यहाँको विचार ?

सर्वत्र नकारात्मक रूपले मात्रै हेर्ने हो भने कुरो बेग्लै हो, अन्यथा झालाकझुलुक कहीँ–कतै उज्यालो देख्छु –म । तथापि हाम्रा अघिल्ला पुस्ताका लेखकहरूका दाँजोमा यो पछिल्लो पुस्ताको लेखन पछि परेकै हो । यो कटुसत्यलाई हामीले स्वीकार्नै पर्छ– वास्तवमै धेरै कविहरूद्वारा कागजको नाश मात्रै होइन सत्यानाश नै भइरहेको छ ।

२०) यतिका मान्छेको भीडमा यहाँले नै लेख्नुपर्ने के त्यस्तो चिज छ र यहाँ यतिका वर्षदेखि लेखिरहनु भएको छ ?

मान्छेको जीवन पूर्ण रूपमा लेख्न नसकिरहेको आभास छ –मलाई ।

२१) लेखेर के पाउनु भयो ? के गुमाउनु भयो ?

भौतिकतालाई पर राखेर भन्नुपर्दा, लेखेरै सन्तुष्ट हुने बानी बसिसकेको छ –मलाई । सायद यो केवल बानी मात्रै होइन बाध्यता बनेको छ र यही बाध्यता नै मेरो जीवनको ठूलो प्राप्ति हो ।

२२) नेपाली साहित्य र नेपाल बाहिरबाट नेपाली भाषामा लेखिएका साहित्यमा कहाँका साहित्यकारहरूले लेखेका साहित्यिक कृतिहरू उम्दा लाग्छन् त यहाँलाई ?

स्पष्टै देखिन्छ– नेपालबाहिरबाट धेरै त ‘लाहुरे साहित्य’ नै सिर्जना भएका छन् । विशुद्ध साहित्यप्रति प्रतिबद्ध नभई केवल रहरले साहित्यकार बन्ने मानसिकताबाट अभिप्रेरित छन् –विदेशी भूमिका तिनीहरू । राम्रो र टीकाउ साहित्यका लागि एक किसिमको ऋषिझैँ ध्यानमा लीन हुन आवश्यक छ । विदेशको सन्दर्भमा, तर यो समयको वेगमा त्यो पटक्कै सम्भव छैन । यद्यपि त्यहाँका केही लेखकका सिर्जनाबाट म प्रभावित छु । देशभित्रका त कुरा नगरौँ भो । साँच्चै छातीमा हात राखेर, राम्रा लागेका दुई–चार कृतिको यहाँ नाम लिने हो भने मेरो कृतिको नाम किन लिइनस् भनेर, गिनेचुनेका कुनै अखबारी लेखकमार्फत् अन्य चर्चित लेखकहरूबाट गाली–गोदाइ खाइएला फेरि ।

२३) लेखेर के हुन्छ ? वा नलेखेर के हुँदैन ? लेखकका सवालमा यहाँलाई कस्तो लाग्छ ? अलि विस्तारमा गएर बताइदिनुहोस् न ।

दोस्रोको मत के–कस्तो हुन्छ ? त्यो म भन्न सक्दिनँ । तर मैले माथि नै पनि भनेँ –म त लेखेर आत्मसन्तुष्टि प्राप्त गर्छु ।

नलेखिरहनै सकिन्न, त्यसै कारण लेखिरहन्छु,
नलेखी बाँच्नै सकिन्न, त्यसै कारण लेखिरहन्छु ।

यसर्थ समाजमै रहेर पनि अन्य प्राणीभन्दा लेखक भिन्न जीवनशैली बाँच्छ ।

२४) मैले सोध्न बाँकिरहेका र यहाँलाई भनुँभनुँ भएर भन्न मन लागेका केही महत्वपूर्ण कुरा भए छोटकरीमा राखिदिनुहोस् न !

जीवन समाप्त नभएसम्म जिन्दगीको दौडमा धेरै चीज छुटिरहन्छन् । छुटोस् पेशलजी, छुट्न दिनोस् ।

२५) व्यस्त समयका बीच पनि वार्तामा रमाउनुभयो । धन्यवाद् छ यहाँलाई ।

तपाईंलाई पनि उत्तिकै धन्यवाद !

वार्ताकार – पेशल आचार्य

1 thought on “विमल भौकाजीसँग छलफल”

  1. राम्रो लाग्यो ।
    साहित्यिक सम्वाद राम्रो लाग्यो ।

    भेषराज रिजाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *