Skip to content


जाडो महिनाको तातो घाम
चियाको चुस्कीमा मकै बदाम
घरको आँगन
या
कौशी
परालले बुनेका
सुकिला
न्याना
चकटी गुन्द्री बिछ्याएर
बसिन्थ्यो घेरा लगाएर
खाइन्थ्यो
हरियो डल्ले खुर्सानीमा
नून
जिरा
लसुन
मिसाई लसलस पिसेर
निबुवा या भोगटे साँधेर !!

राफिलो घामले नतातेको शरीर
आगो जस्तै बन्थ्यो तातो
हुम्लाको स्याउ झैँ रातो
पिरोकै बहानामा
पिइन्थ्यो
घटघटी
एक अम्खोरा
स्वच्छ मुलको चिसो पानी
गाग्रीबाट सारेर
तँछाडमछाड गरी !!

दुध बडा
रंग कडामा बनाएको तातो चिया
चियाको चुस्कीमा
चियाकै साथी
जुनेलो झैँ उठेका
आमाले भुटेका
मकैका सेता फुल
मकैको अन्तिम घान पछि भुटिएको तातो भटमासले
बन्यो मकैको सुहाउँदो जोडी !!

मंसीरको महिना
खुशीको महिना
प्रेमीहरुको प्रेम गाँठो कस्ने
लगनको महिना
जताततै बिहेको कुरो
टेलिभिजनमा पन्चेबाजाको गीत
रेडियोमा नव विवाहित जोडीको अन्तर्वार्ता
सँगै हाँस्ने खेल्ने वालसखा
चमेलीको बिहे
अर्को हप्ता तय भएको चम्पाको बिहे
यस्तै,यस्तै !!

जब जब मध्यान्हमा
काला काला बादलुको घुम्टोले
छोपिदिन्छ
सूर्यको न्यानो किरण

चल्छ
सिरसिर चिसो सिरेटो
सुगन्धित रंगी बिरंगी फूलका सुवासले
स्पर्श गर्दा स्वयं भुलेर आफैंलाई
अंग प्रत्यंग चुमेर जाने त्यो पवनले
आभास गराउँछ
प्रेमिल मिठा मिठा बात गर्दै
अंगालोमा बाधिएका जोडी
सुहागरातमा छताछुल्ल पोखिएका
केही थान प्रेम !!

झ्यालबाट छिरेको
जूनको मन्द प्रकाश
चराको चिरिबिरी धुन
कोठा भित्रको शून्यता
बाहिर परिरहेको झरी
छानो भिजेर चुहिने बलेनी
तन भिजेर चुहिने प्रेमको आँकुरा
बेरेर राख्न
सहायता लिनै पर्छ
कसिलो अंगालोमा
निर्जीव सिरानी
कोही कसैको सम्झना गरेर
आफ्नै दिलको राजा ठानेर
हो जब पर्न थाल्छ यसै गरी झरी
बस्न मान्दैन यो मन वशमा
तसर्थ भन्छु म
ए झरी
नझरी देऊ यसरी !

3 thoughts on “झरी”

  1. परदेशको कथा तपाईं हामीहरुको
    परदेशको कथा तपाईं हामीहरुको निक्कै मिठो र जादुमय सुन्दर बिम्बहरूले कलात्मक शैली अति राम्रो कविता सिस्टर साहित्यिक यात्रा सधै सफलताको शुभकामना ! !

  2. सुन्दर देखियाे । सफलताका
    सुन्दर देखियाे । सफलताका लक्षणहरु झलमल छन् । शुभकाना ।

    1. आभारी छु
      आभारी छु ,प्रतिक्रियाको निम्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *