Skip to content

तिम्रो माया मुटुभरि


परिचय
मायावी संसारमा मायाका बखान जति गरे पनि सकिदैन । यही मायाका कुरा लिएर पिता अ.स.ई. स्व. तीर्थराज तिमल्सिना र माता स्व. चोला अधिकारी तिमल्सिनाकी सुपुत्री मीरा तिमल्सिना ‘धरा’ हाम्रो अगाडि देखा परेकी छन् ।

अध्ययनमा स्नातक र पेसामा शिक्षण सेवामा कार्यरत ‘धरा’ पल्लव साहित्य प्रतिष्ठान, चितवन, गजलमञ्च चितवन, नेपाल रेडक्रस सोसाइटी, र गीतानगर सामुदायिक अध्ययन एव म पर्यटन सूचना केन्द्रसँग आजीवन सदस्यमा आवद्धता हुनुको साथै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनमा प्राथमिक उपचार प्रशिक्षकको रुपमा पनि आवद्ध देखिन्छिन् । श्रीअमरज्योति ई. स्कुल भ.म. न.पा–६को २०६४।६५को उत्कृष्ट शिक्षक र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनको २०६८को उत्कृष्ट रेडक्रस शिक्षक नायक सम्मानले विभूषित पनि भैसकेकी छन् ।

साहित्यकार एवम पल्लव साहित्य प्रतिष्ठान नारायण चितवनका गोर्खे साइँलोको निवासमा मुस्कानको साथमा प्रवेश गरेपछि मीराजीसँग साक्षत्कार भयो । ‘तिम्रो माया मुटुभरि’ नामक गजलसङ्ग्रह पनि मेरो हातमा पर्यो ।

कृतिको संरचना –आवरण पृष्ठ सहित यो कृतिको संरचना ९३ पृष्ठको छ । यो कृति ७० ओटा गजलले सिङ्गारिएको छ । मूल्य रु २५०।– राखिएको र यस गजलसङ्ग्रहलाई पल्लव साहित्य प्रतिष्ठानले प्रकाशन गरेको छ । कृतिकारले यसकृतिलाई पिता स्व. तीर्थराज तिमल्सिना र माता स्व. चोला अधिकारी( तिमल्सिना) प्रति समर्पण गरेकी छन् ।

कृति र कृतिकारप्रति साहित्यकारको धारणा –पव्रकाशकीयमा पल्लव साहित्य प्रतिष्ठानका कोषाध्यक्ष मीना लामिछानेले मीरा तिमील्सिनाले गजलमय मधुरसलाई पान गर्दै तिम्रो माया मुटुभरि गजल कृति लिएर नेपाली गजलको क्षेत्रमा उत्साहपूर्वक गजल यात्रा गरेको धारणा राखेको र यस कृतिको भूमिकामा वरिष्ठ गजलकार डा. धनश्याम न्यौपाने ‘परिश्रमी’ले, “वस्तुत ः यी गजल नेपाली गजल परम्परामा समसामयिकताबाट अत्याधिक प्रभावित देखिन्छन्”, भनेका छन् । वरिष्ठ कवि एव म महाकाव्यकार गोविन्दराज विनोदीको धारणा यस प्रकार छ–”सरल, सार्थक, निश्छल, तरल, अभिव्यक्तिका नमुनाका रूपमा मीराका गजल संरचित छन् ।” प्रा. कपिल अज्ञातले हार्दिक शुभेच्छा प्रकट गर्दै, “मीरा तिमल्सिना ‘धरा’को यो कृति गजलप्रतिको प्रारम्भिक अभ्यास हो, यो साहित्यप्रतिको नैसर्गिक अनुराग हो, भन्ने धारणा पस्केका छन् । पल्लव साहित्य प्रीतष्ठानका अध्यक्ष गोर्खे साँइलोले मीराको व्यक्तिगत व्यवहारलाई यसरी प्रशंसा गर्नुभएको छ –”हरेक शब्द–शब्दमा साहित्य सम्मिश्रण गरेर, मीठा र सुललित मधुर वाणी प्रक्षेपण गर्ने र हँसिलो अनुहारमा प्रस्तुत भएर नरिसाइकन बोल्न सिपालु देखिनुहुन्छ गजलकार मीरातिमल्सिना ।”

कृतिभित्र प्रवेश गर्दा– तिम्रो माया मुटुभरि शीर्षक दिएर गजल लेखनमा अग्रसर भएकी मीराका गजलहरूले चोखा मायका भावनाहरू लहरिँदै अघि बढेका पाइन्छन् । जसरी मुटुबाट रगतका बूँद बूँद धमनी मार्पmत शरीरभरि वितरित भएका हुन्छन् त्यसरी नै मीराका गजलमा प्रेमका धारणाहरूले गजल कृतिलाई सिँचित गरेका छन् । प्रणयले भरेका यिनका गजलमा कतै प्रेमिले मनमा नै आगो लगाएर मुटु जलाएर खाग पारेका छन् भने कतै प्रेममा डुबेर मर्ने चाहना हुँदा हुँदै पनि पासो किनेर पठाएका छन्, कतै हँसाएका छन् भने कतै रुवाएका छन्, कतै गालामा चुमेका छन् यसरी हेर्दा प्रेममा विविधता पाइन्छ । हेरौ केही गजलका शेरहरू–

लुकीछिपी लाको माया जवानीकै मीठो
चोरी–चोरी चुम्बन् झन् दिवानीकै मीठो
(गजल ३५, पृष्ठ ३५)

धेरै पीडा लुकेको छ यो धराको जीवनमा
प्रेम चिज सुकेको छ यो धराको जीवनमा
( गजल ६३, पृष्ठ ६३)

्प्रेम प्रणय र शृङ्गारिक गजलहरू यथार्थपरकरूपमा पस्किएका छन् ।

नारीवादी चिन्तन–मीराले पहिलो गजलमा नै आमालाई सम्बोधन गरेर गजल लेखनलाई अगाडि बढाएकी छन् । आमले उनीप्रति गरेको लगानीको यथार्थतालाई पस्केकी छन् ।जीवन उत्थानको लागि मातृ वियोग एउटा पर्खालको रूपमा ठान्छिन् गजलकार । नारीले जन्मघरबाट कर्मघर जाँदाको पीडा, नेताबाट विवश पारेर चेलीका हक इज्जत माड्ने काम भएको, संस्कृति धान्नको लागि नारीको जन्म भएको, छोरी र पत्नीले इज्जत पाउनु पर्ने, कैयौंका जीवन झुमा बनेर बितेको, छोइ हुँदा गोठमा राखीने कोही मर्ने र कोही माथि टाठाबाठाले रजाई गर्ने, देउकी र झुमा बनाएर राख्ने आदि मार्मिक धारणाहरू यसरी पस्केकी छन् गजलकारले –

महिनावारी, सुत्केरीमा पेटभरी गाँस छैन नारीलाई
प्रशवको पीडा हुँदा आफ्नै घरमा बास छैन नारीलाई
(गजल ६७, पृष्ठ ६७)

मीराका गजलमा हामीले राष्ट्रिय चिन्तन, देशको सीमा अतिक्रमण भएको, लोकतन्त्र र गणतन्त्र आए पनि जनताले आभास नपाएको राजनीतिक विकृmति, विसङ्गति, धनी गरिब बीचको ठूलो खाडल तथा विषमता, उज्यालोको खोजी आदि थुप्रै धारणाहरू अध्ययन गर्न पाउँछौं । केही शेर उदाहरणको लागि अध्ययन गरौं –

राष्ट्रियताको लागि जन बनौ जुझारु
शहीदकोभन्दा सुन्दर काल देख्दिन म
(गजल ४, पृष्ठ ४)

अस्तित्व गुमाउँदै लिपु धाएको छ
नयाँ मेचीकाली मनमा छाएको छ
(गजल ५, पृष्ठ ५)

प्रकृति प्रेमले मीराको दिलमा ठूलो स्थान लिएको छ, –
विलासिता पर सारी जोगाएका छन् पर्यावरण
पहाडमा डाँफेसँगै तराई मयुर नाचेको छ
(पृष्ठ ५० गजल ५०)

समाजका बन्धनले गर्दा आज मानव जीवनले चाहेका परिवर्तनहरू कठीन देखिन्छन् । यसमा मीराले भन्छिन्–

बन्धनहरू चुँडालेर अघि बढ्न थालेपछि
समाज नै झुलेको छ यो धराको जीवनमा
गजल ६३, पृष्ठ ६३

भाषशैली–भाषा सहज छ । सबै प्रकारका पाठकलाई ग्राह्य छ ।

शीर्षकीकरण– गजलमा प्रेमीप्रति राखिएका गहन धारणाहरूले के प्रमाणित गर्छ भने प्रेमीकाको तनभरि मायाका भावनाका लहरहरू मुटुबाट प्रवाह हुने रगतका बूँद बूँद सरह बगिरहेका छन् ।त्यसो हुँदा प्रेमिकाले ‘तिम्रो माया मुटुभरी’ भन्दै भावानलाई दृढताको साथ उठाएको हुँदा शीर्षक सार्थक छ भन्न सकिन्छ ।

गजलले आफ्नै देश, परिस्थिति, जनजीवन, देशको वर्तमान अवस्था, जीवनका भोगाइ, प्रेमप्रणय, समाजमा देखिएका विभेद, देशका सीमा अतिक्रमण, नारीले भोग्नपरेका पीडा र नारीलाई दिइनुपर्ने सम्मान, सामाजिक समनताको चाहना, राष्ट्र रराष्ट्रियताप्रति प्रवलता आदि विविध पक्षलाई गजलकारले सवलरूपमा उठाएकी छन् । गजलकारको यो पहिलो गजलसङ्ग्रह हो ।उनी गजल लेखनमा अभ्यासरत छिन् । गजल लेखनमा गजल सिद्धान्तमाभन्दा पनि गजलकारको स्वप्रयासबाट निर्मित गजलहरूले आफ्नै किसिमको मीठास भरेका छन् । सुधारका पक्षहरू पनि देखा परेका छन् तर निरन्तरको प्रयासरत र गजल सिद्धान्तको अध्ययनले गजल लेखनमा परिमार्जन आउने आशा राख्दै गजलकार मीरालाई साहित्यप्रतिको चाहनालाई निरन्तरतादिदै अघि बढ्नको लागि शुभकामना दिँदै बिदा चाहन्छु ।

धन्यवाद
मिति २०४७ पुस १८ गते,
शान्तिचोक, कावासोती न.पा. वडा ७, नवलपुर, नेपाल

सदानन्द अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *