Skip to content


भूकम्पले तर्साइराख्ने र नाकाबन्दीले दाउरा बाल्नु पर्ने भएकाले हीराको चिया पसल चउरमा सरेको थियो । चियाका पारखीहरू चुस्की लगाउँदै नयाँनयाँ कुरा सुन्न र जान्न पाउने मनसुवाले त्यहीँ जम्मा हुन्थे । पसलमा भीडभाड थियो ।

“भुइँचालो र नाकाबन्दीले पूरै जनजीवन अस्तव्यस्त बनाइदियो ।” वर्तमानले भन्यो र प्रतिकृयाका लागि दृष्टि घुमायो ।

“अन्त्ररात्मामा जरो गाडेर बसिसक्यो डर ! अब के हुन्छ होला भन्ने लागिरहन्छ ।” कुरा अगाडि बढाउनमा खप्पिस छे कल्पना ।

“सबैको ध्यान भुइँचालोले तानिरहेको छ, संविधान पारित गर्ने मौका यही हो भन्ने आइडिया कसले दिएछ हाम्रा नेताहरूलाई ?” बुजुर्ग खगेन्द्रले भने र उनले पनि उत्तर खोजेजस्तो सबैतिर दृष्टि घुमाए ।

“तर, मधेसलाई भुइँचालोले छोएको छैन भन्ने कुरा आएनछ तिनका मनमा ?” प्रकाशले पनि प्रश्न उठायो ।

“हामी त बहादुर हौँ ! नाङ्गैभोकै बस्न सक्छौँ, कसैका सामुन्ने झुक्दैनौँ । भन्दै सरोकारवालाहरू आँखा चिम्लेर तपस्यारत भएका छन् । यस समस्याको टुङ्गो कसरी लाग्छ त ?” गम्भीरसँग पनि जिज्ञासा नै थियो ।

“राजनीति गर्नेहरूसँग मानवीयता हुँदो रहेनछ हगि ? मधेसी नेताहरूको विद्रोहले भूकम्प पीडितहरूको पीडामा झन् नूनचुक थप्ने काम गरिरहेको छ ।” देव चिन्तित देखियो ।

“भाइ फुटे गँवार लुटे भनेको यही हो । उत्तरतर्फको छिमेकीसँग जोडिने एउटा गोरेटो थियो, बन्द गरिदियो । अर्को छिमेकीले पूर्व, दक्षिण र पश्चिम तीनैदिशाबाट घेरेको छ । विद्रोही पक्षसँग मिलेर सबै नाका थुनिदियो । खाने, लाउनेदेखि लिएर औषधी पनि बन्द ! भूकम्पका कारण फुटपाथमा पुगेकाहरूको अवस्था देख्ता उहिलेको नालापानी किल्लाको कथा सम्झन्छु म !” कुरा गर्दागर्दै भावुक भएछ हीरा, ड्याङ्ग टेबुलमा गिलास राख्यो ।

त्यसको चर्को आवाजले रने तस्र्यो ।

“भूकम्प हैन हजुर पसलेको आवेग हो ।” वर्तमानले भन्यो ।

भुइँचालो आउँदा आफूले तीन तलाबाट हाम फालेको सम्झिँदै रनेले भन्यो, “अगुल्टाले हिर्काएको कुकुर बिजुली चम्केको देखे पनि तर्सिन्छ, भनेजस्तो पनि हो !”

त्यो सुनेर धेरैले खित्का छोडे ।

रनेले आकाशतिर दृष्टि दौडाउँदै भन्यो, “आकाश यति सफा किन भयो ? अन्तरिक्षबाट पनि कुनै आपत् आइलाग्ने त होइन ?”

“नाकाबन्दीकै प्रभाव हो !” सबैले वर्तमानतिर हेरे । ऊ भन्दै थियो, “सवारी साधन ठप्पै भएपछि धूवाँधूलो केले उडाउने ?”

“अब नौ रेक्टरको भूकम्प आउँदै छ भन्ने चाल पाएपछि भूगर्भविद्हरूले काठमाडौँ छोडिसके रे !” नारायणले सबैतिर हेर्यो ।

“टन्टै सकिन्थ्यो !” मृत्यु नै स्वागतयोग्य भइसकेको भाव झल्कायो दानेले ।

गौरी छेउमा बसेर सबैका कुरा सुनिरहेकी थिई, उसले कुमारी(देवीको रुपमा पुजिने कन्या)तिर छट्के दृष्टि फाल्दै भनी, “हैन, दैवीशक्ति पनि हुन्छ भन्थे त ! के हामी तीन करोड नेपालीहरू सबै पापिरहेछौँ ?”

“दैवीशक्तिकै कारणले यहाँ उभिएर गफ लडाइरहेका छौँ भन्ने ठान्नुस् न ! त्यस भुइँचालोको चेष्टा सम्झने हो भने सबै भताभुङ्ग हुनुपर्नेजस्तो लाग्दैन तपाईंहरूलाई ?” कुमारीलाई छाता ओडाइरखेको पुजारीले भन्यो । भुइँचालोका कारण कुमारीको गासबास पनि चउरमै सरेदेखि पुजारीको काम छाता ओडाउनेमै सीमित थियो ।

पुजारीका कुराले कुमारीलाई चित्त बुझेछ । उनको अनुहारमा खुसीको भावभङ्गी झल्कियो ।

“कति दयालु छन् हाम्रा भगवान्, आफ्नो मन्दिरको रक्षा नगरेर भूकम्प पीडितको उद्धार गर्न हिँडेछन् ।”

“त्यसैले त मन्दिर जति घोप्टे परेका छन् ।” हिराको वाक्य वर्तमानले पूरा गर्यो ।

कुमारीले कटाक्ष गरिन् ।

कुमारीका सामुन्ने दैवीशक्तिको बारेमा हाँसो ठट्टा गर्नु अनुचित ठहरिन्थ्यो ।पश्चाताप स्वरुप हिरा र वर्तमानले अँधेरो मुख बनाउँदै भुइँतिर हेरे ।

“भुइँचालो जानु, नाकाबन्द हुनु यो सबै दैवकै लिला हो बाबू ! यो कार्यको माध्यमबाट इस्वरले केही भक्तहरू थपे होलान्, केही हटाए होलान् र केहीलाई सचेत गराए होलान् !” आफ्नो अस्थिŒव जोगाउनलाई हर प्रयास गर्दै थियो पुजारी ।

“तिनै किक आउट हुनेहरू भुइँचालोको शिकार भए क्यार ?” प्याच्च भनेपछि देवीकै सामुन्ने छु भन्ने सम्झेछ वर्तमानले । अँधेरो मुख बनाएर अर्कोतिर फक्र्यो ।

“अन्तर्राष्ट्रिय मानवअधिकारवादीको ध्यान कहाँ छ ?” अनुहारैभरि प्रश्नवाचक चिह्न झल्काएर कल्पनाले सबैतिर हेरी ।

“वादी आदि सबैको ध्यान ठूलाबडातिरै छ ! चाइनाले आँट्यो भने हाम्रो देशमा हावा पनि छिर्न दिँदैन ।” देवले भन्यो ।

विचरा हामी ! भन्ने भावमा सबै टोलाए ।

कुमारी जुरुक्क उठिन् र रिसाएजस्तो भाव देखाउँदै हिँडिन् । पुजारी पनि हतारहतार छाता ओडाउँदै हिँड्यो ।

अब के हुन्छ होला ! सबैका अनुहारमा अनिश्चित भय र सन्त्रास फैलिँदै गइरहेको थियो ।

काठमाडौँको जमिन थर्र थर्र थर्किन थाल्यो ।

“भुइँचालो गयो …!” कोलाहल मच्चियो ।

घर वा जमिन थक्र्यो कि दोष पाउँथ्यो भुइँचालोले !

चारैतर्फ त्राहिमा म फैलियो ।

“यस भुइँचालोले पनि बसिखान नदिने भयो ?” लडबडाउँदै सबै खुला ठाउँतिर दौडिन थाले ।

थर्र थर्र… कोही हिँडेजस्तो गरी थर्किरहेको थियो जमिन ।

‘रामरामरा…, भुइँचालो पनि यस्तरी हिँड्छ र !’ मान्छेहरू छक्क पर्दै थिए ।

काठमाडौँ खाल्टो झलमल्ल उज्यालियो । सबैका आँखा टुँडीखेलतर्फ तन्किए ।

धरहराजस्ता तिघ्रा देखेपछि, ‘आमामामा…, को हो यो भुसतिघ्रे !’ आश्चर्यमा डुबे ।

अत्यधिक तेजिलो भएकाले ठम्याउन गाह्रो परिरहेको थियो । आँखा मिच्दै चियाएर हेर्दा कम्मरमा बाघको छाला, घाँटीमा नाग, पाखुरामा नाग, टाउकोमा बायाँतर्फ चन्द्रमा । जटाको बीचबाट गङ्गा झरिरहेकी देखेपछि ‘आमामा…,’ भन्दै गरेका मान्छेहरू ‘म… म… महादेव पो !’ भन्दै हतारहतार हात जोड्न थाले । कोही विश्वासै नलागेझैँ ट्वाँ परेर हेरेको हेर्यै भए ।

महादेवको दाहिने हातमा त्रिशूल थियो भने बायाँ हातमा डमरु ।

‘अहो…, भगवान् महादेव पो आउनु भएछ !’ कोही ‘हरहर महादेव !’ भनेर खुसी मनाउन थाले ।

महादेवले त्रिशूल जमिनमा गाडे र डमडमडम डमरु बजाए । अनि ख्वाक्क खोकेर मुखबाट भलिवलजत्रो नीलो डल्लो निकाले । त्यो निस्किएपछि नीलकण्ठ महादेवको घाँटीमा देखिने नीलो रङ हरायो । भन्नाले त्यो खोकेर निकालेको नीलो डल्लो अमृत प्राप्तिका लागि देवता र दानव मिलेर समुद्र मन्थनगर्दा निस्केको विष रहेछ । त्यो महादेवले घाँटीमा राखेका रहेछन् । महादेव हिउँमा तपस्यारत हुँदा त्यो विष चिसोले जमेर साह्रो न साह्रो डल्लो भएको थियो होला । महादेवले त्यसलाई आकाशतिर उफारे, समाते । फेरि उफारे, समाते । भलिबल खेलाएझैँ गरे । पाँच–सात पटक खेलेपछि अलि माथि उफारे, बुरुक्क उफ्रेर हाने सट् ! उनले सट् हान्दा हातको र डल्लोको घर्षणले चट्याङ्परेझैँ झिलिलिलि… बिजुली चम्किनुको साथै पूरै ब्रह्माण्ड थर्किनेगरी भयङ्कर आवाज आयो । महादेव उफ्रिँदा जमिन पनि डगमगाएको थियो । मान्छेहरू लडखडाएर एकअर्कालाई अँगाल्न पुगे, तर महादेवलाई देख्नुभन्दा ठूलो आश्चर्य अरू के हुन सक्थ्यो र ? बाँकी कुरासँग सरोकारै थिएन कसैलाई ।

पूरा वायुमण्डलमा ठूलै हलचल मच्चाउँदै नीलो डल्लो रकेटझैँ बत्तासिएर दक्षिणतर्फ हान्नियो । अचानक समुद्रबाट विष्णु भगवान् निस्केर त्यो डल्लो च्याप्पै समाते, नत्र त्यो खसेको ठाउँमा भयङ्कर दबाब पर्थ्यो र कयौँ माइल वरपरसम्मको जमिन ध्वस्तै हुन्थ्यो होला !

विषले विष्णु भगवान्को हात पोल्न थाल्यो । उनले त्यसलाई फेरि महादेवतिरै फ्याँके ।

महादेव बुरुक्कै उफ्रे, उनको हात त्यही डल्लोमा ठोकियो । यस पटक पनि हजारौँ यान घुइकिँएजस्तो आवाज गर्दै त्यो डल्लो दक्षिणतिरै गयो । यसपटक विष्णु भगवान्ले समाएनन् उठाए सट् । महादेवले फेरि त्यसैमा ठोके । फेरि विष्णुले उठाए । फेरि महादेवको पालो, फेरि विष्णुको । महादेवले एकपछि अर्को सट् दिइरहे भने विष्णुले पूरा शक्ति लगाएर भुइँमा खस्नै दिएनन् । यदि त्यो डल्लो भुइँमा खसेको भए समुद्र नेपालैसम्म आइपुग्थ्यो ! लख् काट्दै थिए नाकाबन्दी पीडित ।

“शान्त महादेव शान्त शान्त !! विष्णु भगवान् बचाउनुस् !!” देवीदेवताहरूको स्वरले पूरै आकाश गुञ्जाएमान भइरहेको थियो ।

‘महादेव रिसाउनै जान्दैनन्, रिसाए भने सितिमिति मान्दैमान्दैनन् क्या !’ खासखासखुसखुस गर्दै थिए काठमाडौँवासी । साँच्चिकै महादेवले कसैका कुरा सुनिरहेका थिएनन् । झन् जोरले मारे सट् ! यस पटक विष्णु भगवान् सट् उठाउनतिर लागेनन्, हात जोडेर उभिए । विष्णु भगवान्ले हात जोडेको देखेर डल्लो आफैँ फक्र्यो । बुरुक्क उफ्रेर महादेवले कराँते सट् दिए पश्चिमतिर ! त्यो डल्लो पश्चिमतिर मोडिएको मात्र के थियो फुत्त महाकाली प्रकट भइन् र हात उठाउँदै उफ्रिइन् ! महाकालीको हातमा ठोकिएर त्यो डल्लो महादेवतिरै फक्र्यो ।

खडखड…, महाकाली उफ्रिँदा तिनका घाँटीमा झुन्डिएका खप्परहरू बजेको स्वर पनि सुनियो ।

“सदियौँदेखि नेपालका सुपुत्रहरूलाई अनाहकमा हत्या गर्ने र गराउने काम भयो । खप्परजति महाकालीले माला उनेर घाँटीमा छिराइहालिछन्, अनि कहाँबाट जन्मिऊन् विरहरू अचेल !” मान्छेहरू अटकलवाजी लगाउँदै थिए, महादेवले अर्को सट् दिए । त्यो पनि महाकालीले छेकिदिइन् । महादेवले फनक्क घुमे अनि जम्प लिएर पूर्वतिर मारे सट् ! त्यहाँ तम्तयार रहेछन् सूर्य भगवान् । उनले बढाएको हातमा ठोक्किएर डल्लो महादेवतिरै आयो । फेरि अर्को सर्ट दिए महादेवले । यस पटक सूर्य भगवान्ले पनि हात जोडे । हात जोडेको देखेपछि डल्लो फर्किहाल्दो रहेछ । महादेवले लात्तिले हाने । डल्लो आकाशतिर हान्निएको थियो कता बिलायो कता ।

“अब त्यो डल्लो आउँदैन ।” दायाँबायाँ टाउको हल्लाउँदै थिए मान्छे, तर महादेवले आकाशतिर हेरेपछि अरूले पनि त्यतै हेरे । अन्तरिक्षबाट रकेट आएजस्तो हुइँकिएरै आयो डल्लो । बुरुक्कै उफ्रेर महादेवले छट्के सट् दिए उत्तरतर्फ ! भित्ताझैँ ठडिएका पहाडहरूलाई ध्वस्तै बनाउला जस्तो गरी भयानक आवाज गर्दै गइरहेको थियो डल्लो, बुद्ध भगवान् तपस्यामा लीन देखिए । महादेवले झटपट त्यो डल्लो छोपे र आफ्नै मुखमा छिराए । डल्लो पहिलेकै जस्तो घाँटीमा बस्यो । महादेवको घाँटी फेरि निलो देखियो ।

“हरहर महादेव ! नीलकन्ठ महादेवकी जयजयजय !!!” आकाशबाट पुष्प वर्षाउँदै देवीदेवताहरू महादेवको रुद्र रूप शान्त भएकोमा जयजयकार मनाउँदै थिए, महादेव अन्तध्र्यान भए । अरू देवीदेवताहरू पनि एकाएक अदृश्य भए ।

“देख्यौ ! देख्यौ !! फेरि आउन सक्छन्, हाम्रा भगवान् !”

नाक चेप्र्य्राउँदै घरभित्र पसे काठमाडौँवासी ।

— बखतबहादुर थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *