Skip to content

भरतराज पन्त सम्झना र श्रद्धाञ्जली

  • by


नेपाली कविता साहित्यका क्षेत्रमा भरतराज पन्तलाई एउटा अद्वितीय प्रतिभासम्पन्न व्यक्तित्वको रूपमा लिइन्छ । धैर्य, सहिष्णुता, आत्मबल, आत्मविश्वास र अठोट आदि विभिन्न किसिमका सद्गुणहरू उनीभित्र खचाखच भरिएका कारणले नै विभिन्न किसिमका कठिन परिस्थितिका बीच पनि उनले नेपाली साहित्यको क्षेत्रमा आफ्नो कीर्तिमान कायम गर्नसकेको देखिन्छ । आफ्नो जन्म भएको तीन वर्ष पनि पुग्दा नपुग्दै आफ्नी आमाको निधनको पीडा भोग्नु परेको यिनले १९९० साल माघ २ गते गएको महाभुकम्पको प्रकोप पनि सहनु परेको थियो । यस अवस्थामा करिब दुई वर्षसम्म भत्केको घरको छिँडीमा नै जसोतसो जीवन गुजारा चलाएपछि वि.स. १९९२ मा त्यो क्षतिग्रस्त घर छाडेर उनको परिवार काठमाडौंको कुश्लेचौरमा बस्न पुगेको थियो ।

पिता मणिदत्त पन्त र माता ललितादेवी पन्तको पुत्ररत्नका रूपमा वि.सं. १९८६ साल असार ३० गते काठमाडौंको गुच्चाटोलमा जन्म लिएका भरतराज पन्तको १९९२ माघ २० गतेका दिन सात वर्षको उमेरमा व्रतबन्ध गरिएको थियो । यसपछि उनको शिक्षा(आर्जनको क्रम अघि बढ्यो । आफ्नो पढाइ पूरा गर्न पाउँदा नपाउँदै १४ वर्षको उमेरमा नै उनको विवाहको कुरा अघि बढ्यो । २००० सालको फागु पूणिर्माको दिन उनको विवाह पनि भयो । यसको लगत्तै उनका पिता मणिदत्त नराम्ररी बिरामी भए । बिरामी भएको सात दिन पनि बित्न नपाउँदै उनको पिताको निधन हुनपुग्यो । उनी टुहुरो बन्न पुगे । विविध किसिमका अत्यन्त जटिल परिस्थिति र अनेकौँ किसिमका घरायसी समस्याका कारण उनका पिताले यसअघि नै आफूले बस्दै आएको घर जग्गा बेचिसकेका थिए । त्यो घरमा केही समय आश्रय मात्र लिएको अवस्थामा पिताको मृत्युपछि कवि पन्त र उनकी पत्नी डेरा लिएर बस्न विवश भए । यसैबीच वि.सं. २००४ सालमा उनीहरूको कोखबाट जेठो छोरोको जन्म भयो । त्यसपछि २००६ सालमा छोरी जन्मिई । २००८ सालमा उनको कान्छो छोरो र २०१० सालमा कान्छी छोरीको जन्म भयो । घरायसी समस्याका कारण उनकी श्रीमती क्रमशः विक्षिप्त बन्दै गइन् । अनेकौँ उपचारको क्रम अघि बढाउँदा पनि उनलाई रोगमुक्त तुल्याउन सकिएन । यसै पिरले २०२८ सालमा उनको जेठो छोरोले प्राणत्याग गरे । २०४८ सालमा पोखरा गएको अवस्थामा उनको बुढेसकालको एकमात्र सहाराको रूपमा रहेको कान्छो छोरोको पनि रहस्यमय मृत्यु भयो । उनले अरू अनेकौँ किसिमका पारिवारिक दुःख र कष्टहरू पनि झेल्नु परेको थियो ।

एकपछि अर्को दैवी तथा प्राकृतिक मारका बीच पनि उनी नेपाली कविता सिर्जनाको क्षेत्रमा समर्पित भावले लागि परे । वि.सं. २००६ साल माघ २१ गते उनी संंस्कृत छात्रावासमा अध्ययनका लागि भर्ना भए । यसपछि नै उनीभित्र कविता लेख्ने उत्प्रेरणा जाग्दै गएको पाइन्छ । २००९ सालमा उनले सम्पूर्ण मध्यमा परीक्षा उत्तीर्ण गरे । यसपछि क्रमशः उनले शास्त्री, साहित्यचार्यका साथै नेपाली विषयमा एम.ए. उत्तीर्ण गरे । उनी त्रिविमा नेपाली विषय पढाउन थाले । संस्कृतमा पनि उनको गहन ज्ञान थियो । यही कारणले गर्दा पनि कवि पन्तले नेपाली कविता साहित्यको क्षेत्रमा आफ्नो तर्फबाट विशिष्ट योगदान दिनसकेको पाइन्छ । उनका ‘जूनकीरी’ (कवितासङ्ग्रह), ‘दोभान’ (महाकाव्य), ‘नमस्कार’ (मुक्तकाव्य), ‘मेरो रमु’ (शोककाव्य), ‘दिनेश’ (शोककाव्य), मनःस्थिति (शोककाव्य) आदि गरी अनेकौं काव्य प्रकाशित भएका छन् । गद्य साहित्यतर्फ ‘राजीव लोचन जोशी’ (समीक्षा), अलङ्कार चन्द्रोदय, ‘हातको तकियां आदि कृति प्रकाशित छन् । उनका ‘तपस्वीनी, ‘पञ्चदशिका’, ‘र्सौन्दर्य लहरी’, ‘कर्पूरस्तोत्रम्, आदि अनुवादित कृति र हास्यव्यङ्ग्य साहित्यतर्फ ‘गुन्द्रुक’ शीर्षकको पुस्तक पनि प्रकाशित छन् । यसका अतिरिक्त उनको ‘नेपाली अलङ्कार परिचय’ नामक अर्को पुस्तक र संस्कृत भाषामा लेखिएको ‘बल्लरी’ (कवितासङ्ग्रह) पनि प्रकाशित भएको छ । उनले केही कथाहरू पनि लेखेका छन् ।

उपर्युक्त किसिमको अत्यन्त असहज अवस्थामा पनि नेपाली साहित्यको क्षेत्रमा उनले दिएको योगदानलाई कम आँक्न सकिँदैन । नेपाली साहित्यमा अविस्मरणीय योगदान दिन सकेकै कारण उनी गुणराज पुरस्कार (२०४४), रुद्रराज पाण्डे पुरस्कार, (२०४९), सीताराम प्रतिष्ठान मुक्ति पुरस्कार (२०५१), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५३), भूपालमान सिंह कार्की पुरस्कार (२०५७) आदि विविध पुरस्कारका साथै अन्य अनेकौँ किसिमका पदक, विभूषण, सम्मानपत्र, प्रशंसापत्र र अभिनन्दनपत्रहरूबाट पनि सम्मानित भएका छन् । यस्ता होनहार प्रतिभाको निधन २०६५ साल वैशाख १८ गते भएको थियो । उनले अनेकौँ दुःख र कष्टको सामना गर्दै कसैको आशामुखी नबनी आर्जन गर्नसकेको शिक्षा र नेपाली साहित्यको क्षेत्रमा दिनसकेको योगदान निश्चय पनि अत्यन्त प्रशंसनीय र प्रेरणादायी छ । उनको पहिलो वाषिर्क तिथिका अवसरमा उनीप्रति हार्दिक सम्झना र श्रद्धाञ्जलि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *