Skip to content

ज्वानौसँग जात्रा (कथा)

JeewanDangi


लेकाली गाउँ छाडेर हिडेको वर्षौ भयो । गाउँ पुग्दा थाहा पाएँ, मैसँग मुग्लान लागेकाहरू छुट्टी आई, फेरि फर्किए छन् । ४ वर्ष पछि मुकाम, गुराँस बजारबाट गाउँमा पाईला टेग्दा, नौलोपन महसुस भयो ।

गाउँमा घर जति जम्मै हरिया भएको सचिव काकाले, गुराँस बजार पुग्दा भनेका थिए । गाउँ सप्रिएको रहेछ । जम्मैका घरहरू एकैनासे देखिने । धेरै पछि जन्मथलो आउदा, बिदेशीभन्दा कम नाउरो लाग्या छैन । गुराँस बजारबाट, गाउँ आउन–जान दिनैभरि हरेपछि सकिन्छ ।

दबसे खोलाको उकालो लाग्दा स्याउला खेर्न आएकी, तल्लो घरकी साईली सान्जे बाटैमा भेटिइन् । उनीसँगै रामकला पनि आएकी रहिछे । “सान्जेई हात ल्याउ ढोग्छु,” मैले भनें । उनी अल्मलिएर, मुखैभरि एकोहोरो हेरिन् । साथैमा रहेकी रामकला अँझै अकमक्कै परी ।

अनौठो मान्दै उनीले भनिन्, “अरे.. अरे..जिते – बाँबै नि त घर आइस् ।”

रामकला पनि चिनिछे – “नमस्ते जिते दाइ । कति नाउरो हुनुभाको, हेर तो जेई जिते दाइ ।”

अरु गफ नगरिकन सान्जे र कान्सीलाई बस्न भने । सबेरै मुकामबाट बाटो लागेपनि गाउँ नजिकै पुग्दा बिस्तारै थकान मेटिदै थियो । मा–छोरीले मका र भाङगो हाल्या खाजा ल्याएका रहेछन् । खाना भने । सान्जेले हाँस्दै बिहे पनि गरिस् कि भनेर सोधिन् । छैन – भन्दै बिहेको कुरा टारे ।

खाजा खादै “बजार पुगेपछि के याद गरिस् होला र, गाउँको ?” सान्जेले सोधिन् ?

“त्योता हो जेई, धेरै वर्ष भयो आउने होइन,” रामकला थपी ।

एकै छिन अलमल परें ।

“अँ…सान्जे गाउँ आउन निकै गाह्रो पर्दो रहेछ तर पनि तिमीहरुलाई सम्झेकै हुन्छु । उता गुराँस बजारमा अलिकति छाक टार्ने मेसो गर्याउँछु । चट्टकै छाडेर यता आऊ भने खानेबाटै बन्द हुने, के गरु तो मन हुन्छ । तर ट्याम मिल्दैन ।”

“अँ.. तेरो काकाले भन्थे, जिते त गाउँ छोरेर ठुलै मान्स भ्याउ छ रे । नाउरो गरिस जेठा, तर घर भने नर्बिएस् ।” लामो सास फेर्दै साईली सान्जे थपिन्, “मनोज्या त काम नलाग्ने भयो । जाँड पनि खान्छ रे, चुरोट पनि खान्छ रे, घर पनि बस्दैन । तेरा काका पनि बिरामी भैरहन्छन् । पैँसा पनि कमाउदैन, उसका बाँ थला पर्या धेरै भयो । केही मान्छ भने भनेस । तेरो त मिल्न दौतरी हो ।”

“हुन्छ सान्जेई, म मनोजलाई भनुला । कसो नमान्ला र ? अब त बुद्धिपनि आउने बेला भयो । मैले भनेपछि मान्ला ऐ,” यसो भने ।

… … …

साँझ लाग्दै थ्यो । यतिमै गफ थन्काउदै, घरमा आउछु भनी सान्जे र रामकलाबाट छुटिए । सँगैको ज्वानौ मनोज र लोती गाउँमै छन् । लाले बिदामा आएरपनि मलेसिया पुग्यो । विष्णु कतारबाट भोलिनै घर आउछ रे । यिनीहरू कुनै बेलाका प्रण हुन । एकै छिन नभेटिए, घर–घरमा गएर बोलाउथिम् र जम्मा भई डाडाँ गएर क्यारेम बोर्ड खेल्ने, आज कोही कता, कोही कता छ म । बाल्यकालका ज्वानौहरूसँग मास्तै वर्षपछि भेट्ने अवसर मिल्दै छ ।

मनोज, लोती, विष्णु, म अब केही दिनमै जोडिने छौ । धोबीगाउँको मेला नगएको पनि बषौ भएछ । गाउँमा धेरैले पुजाँ लाएछन्, बिहे पनि गरेछन । घर–घरमा मेदी देख्छु । धेरैले पुराना दिन, देखाउदै बिहेका कुरा गर्दा पनि सुनेको छैन । एकदिन त सुन्नै पर्ला ।

… … …

घरमा पुग्दा, जेई दाउरा लिन कटेरी आएकी रहेछिन् । देख्न बितिकै चिनिन्, “काले आइस त ? खुसी हुँदै सोधिन । अँ… आए” मैले भने ।

वर्षौंपछि आमाको काले घरमा आउदा जेईको खुसीमा दम छ । हात माग्दै – जेईको हातमा ढोग गरे । म लेकाली गाउँ छोड्दा – दुबलो थिए । मोटो भएको पनि जेई सुनाइन, कालो मान्स, बजार गएपछि अलि सेतो भएको हाँस्दै भनिन । मलाई काले – काले भनेर बोलाउने पनि जेई हुन । ठुलो हुँदै जादा, गाउँका जम्मैले काले भन्थे । घरमा आएर मेरो नाउ किन बिगारेको भन्दै झगडा गरेको सम्झिए । आखिर आमाको उपमा के पाए, धेरै धेरै आर्शिवाद पाए । गाउँलेले चिन्ने काले नाउ पाए ।

मैले भने, “बाँ खैतो जेई, घरमै छन् कि डुल्न गाँछन् ?”

जेई – “राम्या बाँ–का घरमा बाख्राको, पाठा हेर्न गाछन् । तेरा बाँले बाख्रा खेर्नेभन्दा अरु, के जान्या छन् र ?”

बाँ । म सानै छदा देखि नै बाख्राको ब्यापार गर्थे । गाउँमा बस्दा पेशा उस्तै गछन् । फुर्सद हुदैन । कुदेका–कुदेई ।

म गाउँ आएको थाहा पाएपछि मनोज्या कुद्दै आयो । पक्कै साईली सान्जे र रामकलाले भने होलान ।

जित्याँ … । अ जित्याँ…गाउँभरि हल्ली खल्ली गर्दै भान्सामै आयो । “बड्डा क्या छ तेरो हालचाल” मैले सोधे । आफू नाउरो भएको बतायो । गाउँमा काम नभएको सुनायो । लाले, बिष्णन्या बिदेश गएर प्रगति गरेको बखान गर्न समेत भ्यायो ।

लालेले मलेसियाबाट ल्याइदिएको, बिदेशी घडी हातैमा लाको रहेछ । त्यो पनि देखायो । केहीदिनमै विष्णु पनि आउछ । उबाट पनि आशा छ । केही बिदेशी चिनो आउनेमा ।

बाँ पनि आए । खाना खाने बेला भयो । जेईले ठारी खेतको चामल र सिन्की पकाकिरहेछिन । उबेला मैले रोटी खान्न थे । बासी भए नि भातै खान्थे । जेईलाई थाहा छ, मैले मन पराउने भनेको भात र सिन्की हो ।

खानै लाग्दा, मनोज्या सोध्यो – “खै तिहारमा पनि आइनस्” । न परार साल आइस्, न पोहोर, न यो साल । आँखाँमा टिलपिल आँसुका ढिका झार्दै, जेई थपिन – “के गर्ने मनोज्या घरमा कोही भए पो आउला, को छ र यसको यहाँ” ।

अलमल परे । मुखमै लिएको भातको गास पनि रोकियो । केही भन्न सकिन । जेई कतिबेला मौका पर्ला र भनौला भन्ने सोचेकिरहेछिन् । सानोमा काम बिराउदा जेई पिट्दा शरिर दुखथ्यो । आज जेईको एक शब्दले मन चस्कियो । न बोल्नु, न भातै छाडेर हिड्नु । गल्ती सम्झिए, अनेकल पीडाको भारीबाट बजार जान लायक बनाएकी, मेरी जेईलाई यती भन्न छुट थियो । बाँ – पनि गनगन गर्दै, मै लक्षित कडा कडा शब्दहरू प्रहार गरिरहेका थिए ।

मनोजमैतिर हेर्दै भात चपाइरहेको थियो । पोखरीको पानी झै मेरा नयनमा आँसु खेरिएका थिए । बस अब कोही छेउबाटै प्वाँल पार्ने चाहिएको थियो । त्यो पनि मनोज्या पुरा गरिदियो । जसो तसो हतार–हतारमा भात चलाउदै, निस्किए । “भात त थप गुराँस बजारबाट आइस, भोक धेरै लाग्यो होला” – जेई सोधिन । आँखाका आँसु र नाकको सिगान लुगाउर्दै भने – “भयो खाँन्न, अघि दबसे खोलामा साईली सान्जेई भेटिन । खाजा पनि खाँथे” ।

बाँहिर निस्किए । झ्याउ किरीको आवाजले, गाउँ भरि हल्ली खल्ली मच्चिएको थियो । भित्र जान मन मानेन । मनोज्यालाई यतै बोलाए । बाँ र जेई, मसँग अँझै कुरा गर्न चाहन्थे । उनीहरुको भाव बुझे । तर उनीहरुकासामु पट्टकै दिल खोलेर बोल्न सक्ने अवस्थामा छैन । मनोज आयो । हामी – मेरो पुनारो कोठातिर लाग्यौ ।

कोठाको छेउमै पुगेपछि झल्लक सम्झिए । ढोकामा कसैको नाम थियो । अँझै पनि उस्तै देखिन्छ । ४ वर्षपछि उसैलाई र उनै दिनलाई याद गरे ।

… … …

पानीको झरी आयो । गाउँका बारीमा मकै कुटाउने चल्ती थियो । मैले गाउँकै शिक्षा माबिमा पढ्थे । शुक्रबारको समय रुझ्दै–रुझ्दै, जसो तसो घरसम्म आइपुगे । मेरो बारीमा केही मान्स मकै कुटाइरहेका थिए ।सँगै पहिलो र दोस्रो घण्टी पढेकी मैना, आज मेरै बारीमा देखे । तीन घण्टी पढ्दा, भागेर आएकी मैना मकै कुटाउदै थि ।

उसको घर, लेकाली गाउँबाट ४ घण्टा हिडेपछि पुगिन्छ । रुने गाउँमा आठ कक्षासम्मको स्कुल मात्रै छ । मैना आठ पास गरेर, नौ पढ्न मेरै स्कुल आएकी हो । घरकै छेउमा उसको डेरा छ । बेला–बेला मेरो घरमा आएपनि, ऊ आज पहिलो चोटी मेरो कोठामा आई । पानी परेको निहुमा, सबै तल बसे मैना भने कोठामै पुगि ।

कोठामै थिए । गाउँमा जिते भने नि स्कुलमा, जित बहादुर भन्थे । “जित बहादुर कति घण्टी पढाई भयो” – नरम स्वरमा भनी । ३ घण्टी मैले भने । ऊ भित्र आएर मुसुक्क हाँसी, म बोलिन । मैना निस्केर गई । पानी कम हुँदै गयो । सबै बारीतिर लागे । ऊ पनि गई ।

अर्को दिन ढोकामै मैना लेखेको देखे । दंग परे । ऊ मेरो कोठामा, चिनो दिन आएकिरहेछ । बल्ल आज बुझे । मैना र म नजिक भैरहेका थियौ । गाउँमा साथीभाइहरू कुरा काट्न सुरु गरिसकेका थिए ।

… … …

बषौँ पछि मैना सम्झिए । मैनासँग भेट हुन्छ ? मनोजलाई सोधे । हत्तपत्त भन्यो – “ए.. साच्ची धोबी खोला मेलामा भेटेको थिए । तलाई नि सोधेकी थि । मैनाको बिहेपनि भए छ” । ट्वा परे .. सबै कुरा बिर्सिन पुगेछु । फेरिसँगै स्कुल जादाका दिन स्मरण गरे । मनमा उदेक लाग्यो । मैले सोचेको पनि थिइन । मैले कल्पना पनि गरेको थिइएन, मैनाको बिहे होला भनेर ।

रातिको १० बज्यो होला । मजोज धेरै कुरा गर्ने प्रयास गर्छ । मन मान्दैन । खै कतिबेला निदाए थाहा छैन । निदाय देखि सपनामा मैना मात्रै देखिन्छे ।

गुराँस बजारबाट हिडेको ज्वान अलिक थकित थियो । घाँम कोठामै पुग्ने गरी सुते छ म । मनोज्या मभन्दा पनि अल्छी छ । मैले भने – उठ्न अब । चिसो रहेछ पानी, आजकाल त घरको आगनमै धारा जोडेछन् । कुनैबेला पाल्लो कुवाबाट पानी बोकेको पनि सम्झे ।

टाउको नुहाएपछि । जेईले पकाएर राखेको, भात र सिमीको तिउन रहेछ । डाँडाबजार जाने सल्लाह भयो । पाल्लो गाउँमा पूजा छ । लोती र विष्णु पनि आउने छन् ।

क्यारेम खेलेर, पूजा खान जाने –मनोज्याको प्रस्ताव । लोती र विष्णु सहमत भए । विष्णु कतारबाट आज मात्रै आयो । मोटो न मोटो चिल्लो देखिन्छ । उसले हाम्रै लागि भनेर बिदेशी चक्लेट ल्याएको रहेछ । बाँडेको–बाँडेई छ ।

विष्णु र मेरा लागि गाउँ नौलो लाग्यो । मुकामबाट चार वर्षपछि आए । विष्णु पनि तीन वर्ष कतारमा बिताएर आएको छ । देशमै भएपनि, मेरो बाध्यता थियो । गाउँ पुग्दा, आफ्न्तका शब्दले गलेको छु । यता गुराँसको गरिखार्ने बाटो, रमणसिंहको जिम्मा लगाएर आए । खै कस्तो गरिरहेको छ ।

… … …

उबेला झै आजपनि म्यारिज खेलिम । मनोज बाठो छ । आज पनि मेरा १ सय २० रुपैँया, विष्णुका ९० रुपैँया, लोतीका ४५ रुपैँया, शन्तुका १ सय रुपैँया खायो । कस्तो फटा, उहिले पनि तास चोरेर खान्थयो, बानी उस्तै छ ।

पाल्लो गाउँ जान हिडि म । ढंगसँग नहिड्दा, लोती लड्यो । झन्न केही भएन । विचार गरेर हिड न, मनोज्या करायो । यो बाटोमा यिनैसँग धेरै यात्रा गरियो । आज भने लाले छुट्यो । बषौँ पहिले स्याउली बजार यिनै ज्वानौसँग गएको स्मरण गरे । साच्ची मैना पनि गएकी थिई । मैनाको साथी रुपा पनि साथैमा थिइन । जात्रा हेर्न गएका थियौ ।

“आजकाल स्याउली बजारमा जात्रा लाग्दैन ?” मैले सोधें ।

मैनालाई जिस्काउदै मनोजले भन्यो – “त्योबेला मैना थिइन, जात्रा थियो । योबेला न मैना, न जात्रा” ।

म लर्थक्क परें । केही बोलिन । बोल्न पनि, के बोल्नु । सबै मनोज्याले बोलेपछि । ठट्टाका बीचमै पुगेका थियौ । बजार पुगेपछि, मैना र म हराएको कुरा गाउँभरि फैलाएका थिए ।

मैना अनि म मात्रै हैन, मन पनि हराएको – ज्वानौसँगको त्यो, जात्रा … … … !

– जीवन डाँगी

Leave a Reply

Your email address will not be published. Required fields are marked *