Skip to content

कस्ता भए होलान् मेरा मित


उनलाई मैले २/३ वटा चिठी पठाएको थिएँ तर एउटाको पनि जवाफ आएन । या त मैले ठेगाना गलत टिपें या मेरा मित घर छाडेर अन्यत्रै हिडिसक्नुभयो र पत्र पाउन सक्नु भएन । जस्ले गर्दा हामीबीच सम्पर्क छैन ।

हामीले पुस-माघको चिसोमा मित लगाएका थियौं । उनी सारै मिहिनेती, इमान्दार, हँसिला जोसिला थिए । उनका बानी व्यवहार विचार सबै नियालेर नै मैले मित लगाएको थिएँ । अहिले त मित लगाउने चलन छैन तर अलि पहिला वा एक छेक मित लगाउने निकै चलन थियो । मेरो बाबा र दाजुहरूका पनि मितहरू थिए । त्यति वेलै मैले मित लगाएको थिएँ ।

मित भनेपछि म हुरुक्कै हुन्थें । लाग्छ उनी पनि मेरै मुटुका टुक्रा हुन मलाई भोकलाग्दा उन्लाई पनि लाग्छ, मलाई जाडो हुँदा उनलाई पनि हुन्छ, मलाई दुख्दा उनलाई पनि दुख्छ । त्यसैले मलाई मसँग भएका सबै कुरा उनलाई पनि दिन मन लाग्थ्यो ।

उनी धेरै टाढाबाट पढ्न मैले पढ्ने स्कुलमा आएका थिए । उनलाई गाह्रो छ मैले प्रष्ट बुझेको थिएँ । उनले होटलमा खान्थे उतै सुत्थे तर म होष्टलमा बस्थें । उनले मित, हजुरले ढिंडो ओडाल्ने दिन मलाई पनि बोलाउनु होला है भन्थें । तर मलाई दकश लाग्थ्यो किनभने त्यतिबेला मितलाई ढिंडो खान दिनुहुन्न भन्ने चलन थियो । भात खान अत्यार लाग्दा मितकोमा जानु भन्ने उखान नै थियो । तर पनि हामीसँगै बसेर ढिंडो खान्थ्यौं । म ढिंडो ओडाल्न निकै सिपालु, मलाई मेरा ठूलादाजु र ममीले ढिडों मस्काउन सिकाउनु भएको थियो ।

हामी घर परिवारको अवस्थाका बारेमा कुरा गर्थ्यौं । अध्यायनका बारेमा विचरण गर्थ्यौ । उहाँले लगाउने कपडा सुकिला र महँगा थिएनन् । उहाँ कतै खानदानको छोरा जस्तो पनि देखिनुहुन्नथ्यो, उहाँको साधारण जीवन, खुलेर मनका भावना व्यक्तगर्ने, मिठो हाँस्ने सरल बानी मलाई निकै मनपरेको थियो ।

विसं २०५१ सालको जाडोमा २ महिना ट्युसन पढ्न बाग्लुङको गोल्कोटदेखि र पर्वतबाट सर्कुवा पुग्नेको लर्को लाग्थ्यो । त्यतिबेलाका चर्चित सरहरू मेघराज ढकाल-साइन्स तथा म्याथ, भवानी पौडेल-म्याथ, सकस क्षेत्री-अंग्रेजी, र नारायण पौडेल-नेपाली पढाउने सर । उहाँहरुले एकपटक दक्षिण भेग बाग्लुङ हल्लाउनु भएको थियो । त्यति बेला सर्कुवाबाट एसएलसीमा धेरै विद्यार्थीहरू उत्रीर्ण हुन्थे । त्यति बेलै मैले मित लगाएको थिएँ उहाँसँग ।

दुई महिनाको ट्युसन अवधिमा एकपटक उहाँ घर जानु भएको थियो । फर्केर आउँदा उहाँले मितको लागि ल्याएका कोसेलीहरू अहिले पनि मैले बारम्बार सम्झदै चपाउदै गर्छु । यो पोको बाबाले हजुरलाई, यो पोको आमाले हजुरलाई, यो पोको दाइले हजुरलाई भनेर मलाई दिनुभएका पोका र पुन्तुराहरुको राह्रसको सम्झना मनसपटलमा अँझै ताजै छ । मलाई मायाको कोसेली लिएर आउने कस्ता भए होलान् मेरा मित, मितबावा, मितिनी आमा अनि दाजु र बहिनीहरू !

कहिलेकाहीं राति निद नआउँदा सम्झने गर्छु । अनि प्रश्न पनि गर्छु मितको मन कस्तो होला ? बाल्यकालका मितको याद आउछ होला कि नहोला ? यो १५\२० वर्षको अवधिमा कैयौं परिवर्तहरू भए, देशले नयाँ काँचुली फेर्दैछ । तर मेरा मितका ती मैला सर्ट-पाइन्ट फेरिए होलान् कि नहोलान् ? उहाँले गाउँमै काम गर्नुहुन्छ होला कि म जस्तै विदेशका गल्ली–गल्ली भौतारिंदै हुनुहुन्छ होला ?

अहिले त जातीय अधिकार र पहिचानको नाममा देशलाई ७ टुक्रा पारिसकेको अवस्था छ । त्यसको मेरा मितले जोडदार विरोध गरे होलान् कि नहोलान् ? कि तठस्थ ? म विश्वस्त छु कि मेरा मितले संघीयताको विरोधमा गाउँमै धुमधाम विरोध गर्नुहुनेछ । थोत्रा फाटेका कपडाले बेरिएका दीनहीनहरुको सेवामा आवाज वुलन्द गर्नु हुनेछ । देशलाई जातीय विखण्डनबाट बचाउन हजारौं किसानहरुको नेतृत्व गर्न मेरा मित सक्षम हुनुहुनेछ ।

-देवेन्द्र बस्याल

Leave a Reply

Your email address will not be published. Required fields are marked *