Skip to content


हिसाब गर्थे बाजेले औँला भाँचेर
हामी हिसाब गर्दैछौँ मिसिन जाँचेर

`यति मुरी धान भयो कोदो यति पाथी
यतिको दर बेच्नुपर्दा कति हुन्छ नाति ?´
औँला भाँच्दै सोध्नुभयो हाम्रा बाका बाले
कापी कलम झिकेँ अनि हिसाब गर्न थालेँ

जोड्ने गुन्ने मेसो पाइनँ अल्मल गरेँ अनि
हजुरबालाई गफ दिएँ फुर्सद छैन भनी
`सर, मिसले दिनुभा´को गृहकार्य टन्न
सकेपछि भन्छु अहिले सक्तिनँ म भन्न´

यसो भन्दै पढ्ने निहुँमा कोठाभित्र पसेँ
क्याल्कुलेटर खोजेँ अनि हिसाब गर्न बसेँ
बाहिर आई भनेँ -`बल्ल गृहकार्य भ्याएँ
धान-कोदोको हिसाब पनि मिलाएर ल्याएँ´

हजुरबाले सोध्नुभयो- `कसो गरिस् तैँले´
तर उत्तर भन्दिनु भो मैलेभन्दा पैले
भनेँ मैले -`उत्तर मिल्यो साह्रै छक्क परेँ
हो हजुरबा मैले पनि त्यसै त्यसै गरेँ´

`लुकी लुकी क्याल्कुलेटर हान्ने बानी तेरो
औँला भाँच्दै उत्तर ठ्याक्कै पार्ने बुद्धि मेरो´
हाँसी-हाँसी भन्नुभयो `क्याल्कुलेटर झिक्
तेरो मेसिनभन्दा बरु मेरै बुद्धि ठीक्´

-रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *