Skip to content

करुणा, अहिंसा र प्राणी अधिकार


१.
यो पृथ्वी कसैको जिजुबाको दाइजो भए
लाखौँ निरीह जीवसँग कर उठाइन्थ्यो होला
तिम्रो सर्वश्रेष्ठताको माप के हो मान्छे ?
अहिंसा परमो धर्म ठूलो या जीव्राको तृष्णामा मांसाहार ?
विज्ञानलाई सोध… बुद्धलाई सोध….
तिम्रो र तिनको शारीरिक तत्वमा के भिन्नता छ रे ?
संवेदनाले भरिएका ती निरीह प्राणीको भावना चुँड्दा
तिनको ममता, मातृत्व, पितृत्व छुट्दा
बाँच्छाको ममतामा आँशु बहाउने गाईलाई
कहाँ चक्का जाम गर्ने खुबी छ र !
बबुराको रोदनलाई कुन अदालतले सुन्छ र !
२.

प्रत्येक बिहान, दिन र रातमा हत्या गरिने जीवसँग
मानवीय स्वार्थ र अत्याचारको एकल, निरङ्कुश नियम छ
तिम्रो जीव्रोको प्रत्येक स्वादका कणमा
निरीहको प्राण हरण, संवेदना निमोठेको दोष छ !
बाघलाई मीठो आँप खाने गुण भगवान्ले दिएनन्
सिंहसँग किबी, अनारसको स्वाद लिने गुण छैन
हिंसाप्रेमी तिम्रो रुपमा आहार विहारको के नियम छ ?
न मांसाहार तिम्रो लागि स्वास्थ्यहीतमा छ
शाकाहारमा आर्थिक बचत, स्वच्छ सोच र पवित्रताको विचार छ
न्युटन, सोक्रेटस, गान्धी बन्नलाई शाकाहारको पाठ चाहिन्छ ।

३.
कुविचार, कपटको तुच्छ विचार र व्यवहारलाई उकेरा हाल्ने
आपराधिकतासँग तिम्रो डिप्रेसनमा मलजल हुन्छ
तिमी पृथ्वीलाई प्रदूषित बनाउने प्रपञ्च रच्छौ
प्रत्येक फाममा बाँधिएका, किलामा भोकै अल्झेर मर्ने प्राणीसँग
वेदनाको एक शब्द दान माग
तिमीले बाँधेका प्राणीलाई खर्चिएका अन्नले
भोकमरीको मार र व्यापार घाटालाई डाक्दै छ
प्राणीको हत्यासँग चोर मान्छेको निसानी जाग्दै छ
लोप भएका सृष्टिका सूचकलाई शान्ति छैन
युद्ध पिपासु मान्छेसँग प्राणी अधिकारको ख्याल छैन
कानून रित्तो छ ।

४.
संविधानका प्रत्येक पानामा
एकलौटी राजका काला अक्षर छन्, थाहा छ
निरीह, निर्दोष प्राणी रोदन र विलौना खोलाको गीत हो
कस्ले गम्छ एक्काइसौँ शताब्दीको प्राविधिक युगमा
विवाह र खुसीवाला पाटीमा मासु र रक्सीको अट्टहाससँग
दानवी मान्छेको कर्कस नजरलाई हेर्छ
तर,
प्रत्येक गोसखानका कारुणिक चित्कार
उँधोमुन्टो पारेर बाइकमा घिसारिएका कुखराहरू
गाडीमा कोचिएका भैँसी, बाख्रा, भेडाको त्यो दारुण क्रन्दन पीडा
के तिमी यी श्राप भोग्न तयार छौ त मान्छे ?
निर्दोष प्राणी रक्षार्थ शास्त्रले सिकाएको सम्मान खोइ ?
न बँदेलले स्वतन्त्र हुँदा पृथ्वी ढाकेको छ
के अर्ना, जङ्गली हात्तीलाई जङ्गलमै अड्याउने क्षमता तिमीमा छैन ?
तिमीसँग प्राणी रक्षा गर्ने खुबी छ
तिमीसँग प्राणी अधिकार बचाउने शक्तिको कृपा छ
के तिमी मानव बन्न सक्दैनौ त
प्राणी अधिकार र अहिंसा, करुणा लुछ्नेसँग प्रश्न छ
के यो धर्ती तिम्रो तानाशाही शासनसत्ता स्थल हो र मान्छे ?

रमेश भट्टराई सहृदयी
२०७४/११/१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *