Skip to content

डाँडाघरका माहिला सर


सूर्यले मधुरो किरण छरेको छ । विहानको दस बजिसकेको छ । दुर्गा आधारभूत विद्यालय, जगतिपुर, जाजरकोटका ढोकाहरू खुलिसकेका छन् । कार्यालय सहयोगी घाँटी तन्काएर उत्तरतिर हेर्दा छन् । विद्यार्थीहरू चौरमा दौडधुप गर्दा छन् । शिक्षकहरू चाहिँ कार्यालयमा बसेर बाहिरफेरो नजर दौडाउँदा छन् । स्कुल छेवैको मूलबाटो भएर मानिसहरूको पातलो आवतजावत कायमै छ ।

समय गुज्रिरहेको छ । महेशविक्रमको आगमन अँझै भएको छैन । उनी नै त्यस विद्यालयका प्रधानाध्यापक हुन् । आफ्नो अनुपस्थिति बारे उनले कसैलाई सुइको समेत दिएका छैनन् । उनको आज्ञाबेगर कसैले राम्रै काम गरे पनि त्यो उनलाई मान्य हुँदैनथ्यो । उनलाई नसोधीकन कसैले राम्रै काम गरे पनि त्यो उनलाई नै चुनौती दिने काम ठहर्दथ्यो । काम गर्नेले हकारपकार खान्थ्यो । उनी आफूले गरेको गलत कर्मको हिसाव राख्न भुल्थे । यद्यपि अरूले गरेको सानोतिनो कमजोरी पनि बेलाबखत कोट्याइरहन्थे ।

उनी इज्जतका मामलामा साह्रै इखालु थिए । उनको आदेशको पालना गर्न सबै जना उत्सुक हुनुपर्थ्यो । यद्यपि आफ्नो स्वविवेकले कार्य गर्न भने डराउनुपर्थ्यो । कुनै न कुनै त्रुटि पक्रेर खोइरो खन्ने उनको बानी सबैलाई थाहा थियो । उनको पहुँच जिल्लामा मात्र नभएर केन्द्रमा समेत थियो । उनी रिसाए शिक्षकको कुभलो हुने निश्चित हुन्थ्यो । त्यसैले सबै रणभुल्लमा हु्न्थे ।

डाँडाघरका माहिला सर पनि त्यस विद्यालयमा नवनियुक्त शिक्षकका रूपमा कार्यरत् छन् । उनलाई कसैको बारेमा केही थाहा छैन । उनी बोल्नैपर्ने ठाउँमा बोल्छन् । नत्र अरूका कुरा सुनिरहन्छन् । उनलाई आफ्नै गाउँठाउँका विद्यार्थीहरू ठगिएकोमा खेद छ । विद्यालयको प्रदूषित शैक्षिक वातावरण देखेर उनी भित्रभित्रै भुट्भुटिन्छन् । तर, चुपचाप विद्यालयको गतिविधि नियाल्न व्यस्त हुन्छन् ।

हुन त प्रार्थना गर्न/गराउन अरू शिक्षकहरू पनि सक्षम थिए । महेशविक्रम विद्यालय नआउँदा एकै पटक दोश्रो घण्टी लाग्थ्यो । शिक्षकहरू हाजिरी खाता लिएर बाहिरिन्थे । आफ्नो सुझबुझ अनुसार पढाउँथे । उनीहरू कोही अस्थायी, कोही राहत, कोही पीसिएफ त कोही निजी स्रोतका शिक्षक थिए । महेशविक्रम एक मात्र स्थायी शिक्षक थिए । त्यसैले पनि उनको रवाफ दिनानुदिन बढिरहेको थियो ।

उनी विद्यालयमा भए झन् शिक्षकलाई गफमा भुल्याउँथे । अभिभावकहरूदेखि भने असाध्यै डराउँथे । उनका बारेमा अभिभावकले थरीथरीका गुनासाहरू जिल्लासम्म पुर्याइसकेका थिए । कैयौँ पटक उनलाई समेत हायलकायल पारी गल्ती नदोर्याउने सर्तमा छाडेका थिए । स्कुल परिसरमा कुनै अभिभावकको प्रवेश भए हतारहतार शिक्षकलाई कक्षामा पठाउँथे । नत्र भने कक्षामै बसेर विद्यार्थीहरू खेलिरहन्थे । विद्यार्थीहरूलाई कक्षा समयमा चौरमा दौडधुप गर्न भने सख्त मनाही थियो ।

उनी भन्थे– “प्रधानाध्यापक भनेको शिक्षकहरूको राजा हो । शिक्षकहरूलाई प्रधानाध्यापकको मातहतमा रही कामकाज गर्न शिक्षा ऐन–नियमावली र शैक्षिक नीति/निर्देशनले समेत भनेको छ ।” अरू शिक्षकहरू चाहिँ उनका कुरा सुन्दासुन्दा आजित भइसकेका थिए । उनको विचार विरूद्ध एक शब्द पनि चुहाउन डराउँथे ।

उनी जाजरकोटी राजा जक्तिसिंहका सन्तान थिए । विद्यालयकै प्राङ्गणबाट देखिने जगतिपुरको दरबारको अवशेष नियाल्थे । राजाले शीतल ताप्ने पीपलको चौतारा, घोडा दौडाउने आधा किलोमीटर लम्बाइको फराकिलो बाटो, दरबारी भारदारहरूको सभा बस्ने पटाङ्गिनी, राजाले स्नान गर्ने कुवा, शौच गर्ने चर्पी, निवास गर्ने दरबार आदि सबै तीव्र अतिक्रमणमा परेर अवशेष मात्र अद्यापि बाँकी बचेको र भएका संरचनाहरूको समेत संरक्षण नगरिएकाले उनको मन रुन्थ्यो । उनी भन्थे– “मेरा पुर्खाले आर्जेको जाजरकोटी राज्य र त्यहाँका कलाकृतिहरूको नामोनिसान मेटिन लागिसक्यो । म उनको सन्तान भएर पनि टुलुटुलु हेरिबसेको छु ।”

शिक्षकहरू भने वाक्क हुन्थे । मनमनै भन्थे– “राजा बन्ने मान्छे रहिछस् । जाजरकोटको राजा त बनिनस् । यस टुहुरो स्कुलको राजा बनेर हामीलाई भने तर्साउँछस् । जसरी भए पनि, जहाँको भए पनि राजा चाहिँ बनेकै छस् ।”
महेशविक्रम उत्तरतिरको द्वार भएर विद्यालय परिसरमा छिर्थे । त्यसैले सबैको ध्यान नै उतै हुन्थ्यो । विद्यालयको सेवाक्षेत्र दक्षिणमा खोदा गाउँ, तिमीले चौर हुँदै सानचौरसम्म थियो । उत्तरमा आमपाखा हुँदै बिबिरे चौरसम्म थियो । पूर्वमा भने घना जङ्गल पर्थ्यो । पश्चिममा चाहिँ कार्की गाउँ, कराँ गाउँ हुँदै महतारा गाउँसम्म सेवाक्षेत्र पर्थ्यो ।

घण्टी नै नलागिकन प्रार्थनाको समय गुज्रियो । डाँडाघरका माहिला सर हाजिरी खाता बोकेर कार्यालय कक्षबाट बाहिरिए । अरू शिक्षकहरू भने अल्मलिइराखेका थिए । उनीहरूको ध्यान उत्तरदिशातर्फ नै खिचिएको थियो । उनीहरू महेश सर आएर लौ, कक्षाकोठातिर जानुस् भनूँन भन्ने चाहन्थे । नत्र रिसको तारो बनिएला भन्ने त्रास थियो । माहिला सर कक्षा ५मा पसे । उनी उतै अल्मलिए । कक्षा बाहिर स्वर मात्र सुनिँदै थियो–
“नानी–बाबुहरू ! तिमीहरू सबैलाई मेरो नमस्कार छ ।”

“नमस्कार सर !”

“म तिमीहरूकै चिरपरिचित डाँडाघरको माहिलो हुँ । अबदेखि म पनि तिमीहरूलाई पढाउँछु । मेरा कुरा ध्यान दिएर सुन्नू । मनमा गुन्नू । सोध्न मन लागेका कुरा निर्धक्क सोध्नू । म टाढाको मान्छे होइन । म त तिमीहरूमध्ये कसैको दाजु, कसैको काका र कसैको मामा हुँ । मसँग जे ज्ञान छ, त्यो दिन तयार छु । तिमीहरूले लिनुपर्छ । दिनेले दिएर मात्र हुन्न, लिनेले लिएर जतनसाथ व्यवहारमा लागू गर्यो भने मात्र दीर्घकालीन सिकाइ सम्भव छ ।”

विद्यार्थीहरू अल्मलिन्छन् । ट्वाल्ल परेर शिक्षकलाई हेरिरहन्छन् । माहिला सरले विद्यार्थीले कुरो नबुझेको अनुभव गर्छन् । र, तत्कालै सुधारेर सरल तवरले भनिदिन्छन्– “भनाइको मतलव म तिमीहरूकै लय र भाकामा पढाउने छु, सिकाउने छु । रमाइला किसिमका कार्यकलाप गराउने छु । तिमीहरूले सिक्ने तत्परता देखाउनुपर्छ । मलाई साथ दिनुपर्छ । हुन्छ कि हुन्न ?”

सबै विद्यार्थीहरूले एकसाथ जवाफ फर्काउँछन्– “हुन्छ सर ! हामी हजुरले भनेझैँ गर्न तयार छौँ ।”

त्यसपछि माहिला सर विषयवस्तु शिक्षण गर्नतिर लाग्छन् । उता महेश सर समेत विद्यालय परिसरमा देखा परे । उनी खुट्टा लरबराउँदै कार्यालयतिर आए । उनको मुखबाट निस्केको गन्धले कार्यालय कक्षको स्वच्छपन नै धमिलिन पुग्यो ।

उनले दुई/चार वटा आफ्ना पुर्खाको पुरुषार्थका कुरा गर्न भ्याए । भने– “जक्तिसिंहले दैलेखी राजालाई बाजीमा हराएर आफ्ना पिताश्रीको उद्धार गरे । पिताश्रीलाई बाजीमा हराएर दैलेखी राजाले आफ्नो तबेलाको सइस बनाएर राखेका थिए । महाकपटी र धनदौलतले मात्तिएका दैलेखी राजालाई जक्तिसिंहले कपटपूर्ण तवरले छल गरी बाजीमा हराएका थिए ।”

उनी एकोहोरो अगाडि भन्दै गए– “त्यस बेला उनले पटाङ्गिनीमा भारदारहरूसँग छलफल गर्दागर्दै उनीहरूका आँखा छलेर त्यहाँबाट निस्की भेरी नदीले बगाउँदै गरेका सैरन्ध्रीहरू (शृङ्गार–पटारमा खटिई जीवनवृत्ति चलाउने महिला)लाई बचाएको प्रसँग समेत निकाल्न भ्याए । त्यो रहस्य भारदारहरूले धेरै पछि मात्र थाहा पाए । किनभने राजा आसनमा विराजमान नै थिए । तर, उनको पहिरन निथु्रक्कै भिजेको थियो । पानी चुहिरहेको थियो । आफ्ना कुरा सुनेर राजाको हालत यस्तो भएको हो भन्ने ठहर भारदारहरूले गर्न पुगे । राजा जक्तिसिंह स्वयम्को मुखरावृन्दबाट सैरन्ध्रीहरू बचाउन गएको कुरा सुनेपछि सबै चकित भएका थिए ।”

त्यसै बखत एक अभिभावक विद्यालयतिर आइरहेका देखिए । कुरा रोकेर उनले शिक्षकहरूलाई कक्षाकोठामा जान निर्देशन दिए । शिक्षकहरू पनि हाजिरी खातासहित निस्किए । आफूचाहिँ कुर्सीमा अडेस लागेर बसे । कक्षाकोठामा पढाइ भइरहेको पाएर अभिभावकले कार्यालयतिर आउने झन्झट गरेनन् । महेशविक्रमले कार्यालय सहयोगी मार्फत माहिला सरलाई बोलाए ।

माहिला सर कार्यालयमा छिर्नासाथ रक्सीको गन्ध महसुस गर्न पुगे । नाक थुनेर एक छेउमा बसे । उनलाई कार्यालय कक्ष भट्टीखानाजस्तो लाग्यो । मनमा अनेक थरीका कुरा खेल्न थाले । आफू शिक्षक हुनु अगाडि उनले अनेक थरीका सपना साँचेका थिए । प्रधानाध्यापकको विद्यालय र विद्यार्थीप्रतिको वेवास्थाले उनको मुटु नै चर्कियो ।

महेशविक्रम बोल्न थाले– “हैन माहिला सर ! तपाईं त बेला न कुबेला कक्षाकोठामा पसिहाल्नु हुँदो रहेछ । हुन त जोसिलो उमेर भनेकै अहिलेको उमेर हो । म पनि पहिले जोसिलो थिएँ । अब त हर्दम होस नगुमाइरहनै सक्दिनँ ।”
माहिला सरलाई बोल्ने मन थिएन । विद्यार्थी पढाउने मन मात्र थियो । उनी नै बोल्न थाले– “मेरा पितापुर्खाहरूले जगतिपुर दरबार वरपर गाइने गाउँ, बाहुन गाउँ, महतारा गाउँ, कार्की गाउँ र बटाला गाउँ बसाएका थिए । ती गाउँहरू अद्यापि छँदै छन् । तर मेरा पितापुर्खाको कलाकृति, यशगाथा र योगदान माटामै बिलाइसक्यो । अहिले ती सबै खण्डहरमा परिणत भइरहेका छन् । न राज्यले संरक्षण गर्नतिर ध्यान दिन्छ न त स्थानीय नेतानेतृको ध्यान पुगेको छ । यही कुराले मलाई पिरलोमा पारेको छ । यस समाजप्रति नै घृणा उब्जेको छ ।”

“त्यो त हो सर ! हामी पनि दुःखी छौँ । राष्ट्रिय गौरवका पुरातात्विक वस्तुहरू हाम्रा मौलिक सम्पदा र पहिचान हुन् । त्यहाँ भएका ढुङ्गामा कुँदिएका कलाकृतिको मात्रै संरक्षण गरे खरबौँको सम्पत्ति जोगिन्छ । नयाँ पुस्ताले आफ्ना पुर्खाको कृति थाहा पाएर गर्व गर्न सक्छन् । तर विनास भयो भन्दैमा हामीले आफ्नो कर्तव्यवाट च्युत त हुनुभएन नि !” यत्तिखेर बल्ल माहिला सरले मुख खोले । महेशविक्रम एक क्षण ट्वाल्ल परेर टोहोलिए । उनलाई जवाफ फर्काउन सकस पर्यो । चारैतिरबाट जन्जिरले घेरिएको अनुभव गर्न थाले ।

केही बेरको सन्नाटालाई चिर्दै उनले मुख खोले– “जसको जति सेवा गरे पनि आफ्नै स्वार्थको पोल्टो भर्ने त हुन् नि ! यी आजका विद्यार्थी भोलि गएर देश हाँक्ने सारथि बन्दछन् । यिनीहरूले आजै ती ऐतिहासिक सन्दर्भहरू भुलिसकेका छन् । भोलि गएर यिनीहरूले नै अँझ नामोनिसान नरहने गरी मेट्ने छन् । आज यिनीहरूकै दाजु–बुबाहरूले दरवार क्षेत्र अतिक्रमण गरी आ–आफ्नो निवास स्थल बनाइरहेका छन् । व्यक्तिगत सम्पत्ति जोडिरहेका छन् । तिनीहरूकै सन्तानलाई अँझ चनाखो पार्न किन मरिमेट्नु भनेर म निष्कृय रहेको हुँ ।”

माहिला सर कड्किए– “एक जना बिराउने, सारा पिराउने गर्नुहुन्न सर ! तपाईंको कार्यशैली नै ठिक छैन । तपाईंको बोली–विचार नै गलत छ । अरूले विगार गरेकाले तपाईंको चित्त कुडियो अनि यी अबोध बच्चाहरू माथि रिस पोख्नुहुन्छ ? यो कहाँको विद्वता हो ? यो त सरासर अन्याय हो । तपाईं अन्याय गर्दै हुनुहुन्छ ।”

“हेर्नुस् सर ! तपाईं बढता बोल्दै हुनुहुन्छ । बाहुनको छोरो भएकाले मैले मान दिएँ भन्दैमा तपाईंलाई मेरै अपमान गर्ने छुट दिन सकिन्न । नयाँ शिक्षक हुनुहुन्छ । कुरा बुझ्दै जानुस् ।” उनले धम्क्याउन खोजे ।

माहिला सर पनि किन पछि सर्थे । भनिदिए– “कक्षामा पढाइरहेको मलाई बोलाएर नानाथरिका कुरामा अल्झाउने तपाईं । टन्न रक्सी धोकेर लरबरिँदै १२ बजे विद्यालय आउने पनि तपाईं । पढाउने शिक्षकलाई वैयक्तिक गफमा अल्झाएर शैक्षिक वातावरण प्रदूषित गर्ने समेत तपाईं नै । कक्षाकोठाको मुखै नहेरी शिक्षक बनेर सरकारी तलव–भत्ता पचाउने पनि तपाईं । अँझ मलाईं नै धम्क्याउन खोज्ने ! तपाईं सरासर गलत मार्गमा दगुरिरहनु भएको छ । सुध्रनुस् सर ! बेर भइसक्यो । मान्छेको मनमा बस्ने काम गर्नुस् ।”

महेशविक्रम रातापिरा भए । आफ्नो अहङ्कार धुमिल भएकामा शिर निहुर्याए । यद्यपि आफूलाई पानी माथिको ओभानो सम्झेर मसिनो स्वरमा बोले– “मलाई कसैको उपदेश मन पर्दैन । म आफ्नो जीवनशैली आफैँले बनाउन र बदल्न सक्छु । कसैले आदर्श फलाक्दैमा समाज आदर्शमय बन्दैन । खोक्रो आदर्शले समाजको यथार्थलाई छोप्न मिल्दैन ।”

“उसो भए उपदेश नै सही । म बेलुचार्य बाहुनको सन्तान हुँ । हाम्रा पुर्खाले तपाईंका पुर्खालाई उपदेश दिएकै हुन् । आज मैले तपाईंलाई दिँदा के विराएँ त ?” माहिला सरले खुलस्त कुरा राखे । बेलुचार्यको सन्तान भन्ने बुझेपछि उनको मुख नै बन्द भयो । उनी किंकर्तव्यविमूढ भइरहे ।

उनको दिमागमा बेलुचार्य राजगुरुहरूको पुरुषार्थ र बेजोड शास्त्रार्थ ज्ञानको सम्झना भयो । दैलेखी ब्राह्मणहरूलाई शास्त्रार्थमा हराएर आफ्नो राज्यको इज्जत बचाएको कहानीको स्मरण भयो । बेलुचार्यका सन्तानको मन दुख्ने कुनै किसिमको काम नगर्नू भनेर आफ्ना जिजुबुबाले भनेका कुराको सम्झना भयो । आफ्ना कारणले बाहुनको मन रोयो भने स्वर्ग जाने बाटो छेकिन्छ भनेर जिजुमुमाले भन्नुभएको कुरो याद भयो । महेशविक्रम नौनीझैँ पग्लन थाले । उनलाईं राजगुरुको अपमान गर्न पुगेकामा पछुतो लाग्यो । हात जोडेर भने– “ओहो ! मैले त बेहोसीमै आफ्ना राजगुरुको चित्त दुखाउने काम गरेँछु । आफ्नै राजगुरूको अपमान गरी मैले नरकको यात्रा गर्नुछैन । माफ गर्नुस् मेरा राजगुरु ।”

एकाएक महेशविक्रम परिवर्तन भएकाले माहिला सर छक्क परे । भने– “म अहिले राजगुरु हैन, एक शिक्षक हुँ । माफ आफ्नै मनसँग माग्नुस् किनभने तपाईंको भित्री मन अपवित्र छैन । माफ आफ्नै विद्यार्थीहरूसँग माग्नुस् जसलाई तपाईंले आजसम्म ठग्नुभएको थियो । आफ्नै व्यवहारले चित्त कुडाएका अभिभावकहरूसँग माग्नुस् । समग्रमा आफ्नो कर्मले सिर्जिएको बेथितिप्रतिपश्चात्ताप गर्दै यस समाजसँग माफी माग्नुस् ।”

राजगुरुका सन्तानबाट माफी पाएकोमा उनको अनुहारमा चमक आयो । मन ढक्क फुलेर आयो । उनलाई संसारकै मीठो फल पाएँझै लाग्यो । मुख खोले– “ठिक छ गुरू ! अब मबाट के अपेक्षा गर्नुहुन्छ ?”

माहिला सरले यत्ति भने– “तपाईं विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ । यस बारे नीत–नियम, दायित्व र कर्तव्य शिक्षा ऐन र नियमावलीहरूले प्रष्ट उल्लेख गरेका छन् । बस्, त्यही काम गर्नुस् ।”

छैटौँ घण्टी लागेपछि महेशविक्रमले सबै शिक्षक, विद्यार्थीहरू र आँउसे काकालगायतका वरपरका केही अभिभावकलाई चौरमा जम्मा गरे । र, हात जोडेर भने– “मलाई मादक पदार्थको लतले नराम्ररी जकडेको थियो । जिजुबुबा–आमाको उपदेश पनि भुलेको रहेछु । बेलुचार्यका सन्तान माहिला सरलाई साक्षी राखी म आज सम्पूर्ण शिक्षकवर्ग र मेरा प्यारा विद्यार्थी भाइबहिनीहरू साथै आदरणीय अभिभावकहरू समक्ष सङ्कल्प लिन्छु– आइन्दा हेडमाष्टरको दम्भ रत्तिभर राख्नेछैन । समाजमा घृणा फैलाउने गरी मादक पदार्थ सेवन गर्ने छैन । दश बजेभित्रै विद्यालय परिसरमा प्रवेश गरी सक्ने छु । अरू शिक्षक सरह पढाउने छु । मदेखि कसैले कुनै किसिमको भय राख्नुपर्दैन । सधैं आफ्नो कर्तव्य निर्वाहमा होसियार रहने छु ।

आजका विद्यार्थीहरू नै भोलिको समाजका नेतृत्ववर्ग हुन् । आज हामीले होस् जगाउने खालको ज्ञान दिन सके, भोलिको समाज सचेत हुन्छ । अहिलेसम्म मैले गरेका हरेक क्रियाकलापहरू माफीलायक त छैनन् । सक्नुहुन्छ भने कृपया एक पटक मलाई माफी दिएर सुध्रने मौका दिनुस् ।”

माहिला सर खुशी हुँदै अघि सरे– “ठिक छ महेशविक्रम सर ! तपाईं अनुभवी मान्छे हुनुहुन्छ । हामी त आलाकाँचा छौँ । मार्ग भुल्न सक्छौँ । हामीलाई समेत सही मार्ग देखाउँदै अघि बढ्नुस् । हामी पछिपछि लाग्ने छौँ । शिक्षक–विद्यार्थी–अभिभावक सबै मिलेर शैक्षिक समुन्नतिमा यस भेगकै उदाहरण बनौँ । यसो भए तपाईंका बारेमा पुराना खटपटका विषयहरू स्वतः समाप्त हुँदै जाने छन् ।”

विद्यालय पनि छुट्टी भयो । सबै जना प्रशन्न चित्त लिएर आ–आफ्ना घर फर्किए । भोलिपल्ट ठिक दश बजे माहिला सर स्कुल पुगे । त्यस अघि नै महेशविक्रम आइपुगेका रहेछन् । नयाँ वस्त्र पहिरेका रहेछन् । उनी विद्यार्थीहरूसँग भलाकुसारी गर्नमा व्यस्त रहेछन् ।

“तपाईं त आज नयाँ पहिरनमा पो हुनुहुन्छ त हेडसर !” एक्कासि माहिला सरको मुखबाट बोली फुत्कियो ।

महेशविक्रमको अनुहारमा अर्कै आभा थियो । भने– “गुरु ! तपाईंका कुरामा केन्द्रित रहेर रातभर गहन चिन्तनमनन गरेँ । हिजोका हरेक पलहरू स्मरणमै रात बिताएँ । मैले बोलेका कुरा व्यवहारमा लागू गर्न नयाँ जीवन धारण गर्नुपर्ने भयो । अतः पुराना वस्त्रसँगै पुराना विचार समेत त्यागिदिएँ ।”

नन्दलाल आचार्य
मो.नं.९८४२८२९२०६
मिति – ०७४।०५।१७

प्रथमपटक प्रकाशित 2018-03-31 17:31:50 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *