Skip to content

हार्दिक अपिल


ए ! नयाँ वर्ष
जगाइदे निदहरुलाई
ब्युझाइदे शहीदहरुलाई
वुद्दको देशमा बुद्धू धेरै भए
वक्ता हैन कर्ता चाहिएको छ
मानवीयता कैद नहोस्
सम्बन्ध कहिल्यै अवैध नहोस्
बहादुरलाई मूर्ख नबनाइदे
सुपुत्रको खाँचो छ कुपुत्र नजन्माइदे
ताकि
खोल्नु नपरोस् सुधार केन्द्रहरू
बालश्रम, वृद्धाश्रम र अनाथाश्रम ।

बन्द गरिदे
नारी हिंसाको चित्कार
चोरी, लुटपाट र बलात्कार
ताकि
नरहोस् जेल, पुलिस र अदालत
मुद्दा, वकिल र वकालत ।

युवा
हुन् राष्ट्रका मेरुदण्ड
नअल्झाइदे सामाजिक सञ्जाल र प्यारमा
हुन् भविष्यका मेएर र उपमेएर
नभुलाइदे लाइक, कमेन्ट र शेयरमा
बनाइदे जिम्मेवार नागरिक
थमाइदे जवाफदेही नेतृव
दुई नम्बरी र खासखुस नचलोस्
कालोधन्दा, दलाली र घुस नचलोस्
सोंच दूरदर्शी होस्
योजना पारदर्शी होस्
प्रस्ताव प्रष्ट बनोस्
निर्णय भ्रष्ट नबनोस्
शान्ति र अस्थिरता कायम रहोस्
न्याय र अधिकार खोज्न नपरोस्
अनेकतामा एकता होस्
जाति, उमेर र लिङ्गमा
धर्म, वर्ण र रङ्गमा
समानता होस्
ताकि
न होस द्वन्द, हडताल र चक्काजाम
बन्द होस् सधैलाई बन्द र अनशन ।

ए ! नयाँ वर्ष
नयाँ सोंच र नयाँ उम्मीद भित्र्याइदे
विकल्पहरुको खोजी होस्
श्रोत र साधनको परिचालन गरियोस्
ठप्प कलकारखाना सुचारु होउन्
श्रम र क्षमताको पहिचान गरियोस्
दक्षलाई प्राथमिकता दिइयोस्
स्वदेशमै रोजगारका अवसर मिलुन्
ताकि
जवान खाडीमा धाउन नपरोस्
पासपोर्टमा लेबरको छाप लाउन नपरोस् ।

ए ! नयाँ वर्ष
नपरोस् प्राकृतिक प्रकोप
बाढी पहिरो, भूकम्प
आगलागि र चट्याङ
महामारी, अकाल र भोकमरी
ताकि
कोही बन्नु नपरोस्
अपाङ्ग र अशक्त
अल्पायुमै परलोक
कम उमेरमै विधवा
अनि
टुहुरा र टुहुरी ।

ए ! नयाँ वर्ष
अप्ठ्यारोमा सचेतता
आपतमा धैर्यता जुटाइदे
हरेक दशैं दशा नबनून्
तिहारहरू अभावको सिकार नबनून्
धमिला सोंचहरूलाई बगाइदे
बाधाहरुलाई किनारा लगाइदे
ताकि
कोसिस – सफलतामा
पर्खाइ – मिलनमा
यात्रा – गन्तव्यमा
आशा – खुशीमा
चुनौती – विकल्पमा

सपना – यथार्थमा
परिणत होउन् ।

ए ! नयाँ वर्ष
हुनुपर्छ विकास, प्रगति र परिवर्तन
तर उस्तै रहनुपर्छ
नेपाली मन, नेपाली पन र नेपाली पहिचान ।

रेखा पन्त, गोरखा
हाल इजरायल ।

1 thought on “हार्दिक अपिल”

Leave a Reply

Your email address will not be published. Required fields are marked *