हिमाल माथि उच्चमा ध्वजा लिएर जाउँला
पुगेर त्यो हिमालमा नयाँ म गीत गाउँला
भनेर धाउँदै थिएँ अनन्त यो अटव्यमा
निकुञ्ज सिर्जनाहरु पुगी उतै सुनाउँला ।।
बडो सुरम्य हुन्छ त्यो हिमालमा पुगेपछि
उचाइ नाघी स्वर्ग झैं हिमाल नै चुमेपछि
समस्त सृष्टिचक्रको हिमाल नै मुहान यो
कहाँ रहन्छ जिन्दगी हिमाल नै गुमेपछि ।।
हिमाल आदिदेव हुन् हिमाल हुन् प्रभाकर
हिमालमाथि बस्तछन् सधैं यहाँ दिवाकर
अजेय शान्तिबिन्दु हुन् हिमाल नै विसाल हुन्
समस्त विश्वका धुरी हिमाल नै हिमाल हुन् ।।
रहन्छ स्वर्गझैं उचा हिमाल विश्वको धुरी
र लोभ लाग्छ हेर्न नै सुरम्य स्वर्ण माधुरी
सधैं टलक्क टल्कने चुली हिमाल सान यो
फिरेर जानु के उता भनेर हुन्छ भान यो ।।
म चढ्छु चढ्छु चढ्छु यो हिमाल माथिको चुली
म भित्र भित्र भित्र यो चली रहन्छ खुल्दुली
निकुञ्जका कथाहरु हिमालमा सुनाउन
नठानियोस् नठानियोस् हिमाल पुग्न मामुली ।।
होम सुवेदी