Skip to content


अम्बिकापुरबाट तीनसुकियाको लागि बिहान ६ बजे नै बस छुट्थ्यो । चिसो बिहानी, बसको हर्न सुन्नासाथ म ब्याग लिएर निस्किएको थिएँ । पहिलो बस छुट्यो भने फेरि अर्को बस ३ घण्टा पछि अर्थात ९ बजे मात्र थियो र दोस्रो बसमा मलाई गन्तव्यमा पुग्न ढिलो हुने थियो । ब्रह्मपुत्र नदीमा पुल भएकोले घरबाट सिधै तिनीसुकिया आउजाउ गर्न सजिलो भएको थियो ।

लामो यात्रा भएकोले यात्राको आनन्द र खल्लोपना छेवैमा बस्ने सहयात्रि र उसको आनी बानिमा भर पर्थ्यो । मेरो कामना थियो ‘एक सुन्दर स्त्री सँगैको सिटमा भए यात्राको मज्जै बेग्लै हुन्थ्यो। बाटो भरि मिठा मिठा साहित्यिक कुराहरू गर्ने ती सहयात्री भै दिए झनै सुगन्ध थपिने थियो।

खुलेर कुरा गर्ने, सहयात्रीको चासोको विषयमा कुरा गर्ने, साथै आवश्यक मात्रामा कुरा गर्ने भए त झन् कति राम्रो हुने थिएँ ।

पहिले पनि यस्ता लामो दुरीमा भेटिने र सँगैको सिटमा बस्ने सहयात्रीबाट आशा गरेझै कहिल्यै पनि भएको थिएन । अविवाहित र लक्का जवान हुदा पनि यस्तै काल्पनिक सुन्दर सहयात्रीको कामना गर्दा गर्दै पनि भागमा पर्दथ्यो कि त मोटी र फोहोरी हजुरआमा भन्न सुहाउने आइमाई, जो सँगसँगै यात्रा गर्दा सिटमा च्याप्पिएर बस्नु पर्थ्यो, उकुस मुकुस भएर टर्चर सही बस्नु पर्थ्यो या त बाहिर निस्किन ठुलै संघर्ष गर्नु पर्थ्यो । धरै पल्ट त फोहोरी मान्छेहरुनै परेका थिए जो कि त धुम्रपान, मद्यपानका अम्मलि थिए या बाटोभरि पान चबाउदै झ्यालबाट बाहिर मुन्टो निकाली थुक्ने गर्थे । कहिलेकाहीं यात्रा यति बोझिलो हुन्थ्यो कि कोही तलबाट गन्हाउने हावा ओकलिरहेका हुन्थे भने अरु कोही माथिबाट खाएको पानी र अन्न ।

यस्तै कुराहरू सोच्दै र असल सहयात्रीको कामना गर्दै बस भए ठाउमा पुग्छु, टिकट लिन्छु । टिकट अनुसार आफ्नु सिट झ्याल पट्टि बसको मध्यभागतिर हुन्छ, त्यही गएर बस्छु । छेउको सिट अँझैसम्म पनि खालि नै थियो । अरु अगाडि र पछाडिका सिटहरू भने प्रायजसो ओगटिसकेका थिए । गाडी हिड्ने मात्र अब ५ मिनट बाँकीरहेको गुरुजीवाट थाहा भयो । खलासी भाइ पनि बस जाने बेला भयो, छुट्नु होला है भन्दै कराइरहेको थियो । यसै बीच खलासीभाइ देउरीगाउ, बिलकिनार, राज आली भन्दै अरु अरु बाटोमा पर्ने ठाउका नामहरू नछोडी फलाकिरहेको थियो । मभन्दा अगाडिको सिटमा भने एक जोडी कहिले कानमा साहुती गर्दै कान टोकाटोक गर्दै थिए भने कहिले लाजै नमानी ओठमा ओठ जोड्याउन पुग्थे । पछाडिका यात्रुहरुका आँखाँ भने सबैजसोको तिनीहरुको क्रियाकलापमा नै केन्द्रित थियो ।

रातभर तास खेल्ने मानिसहरुको गुनगुन र चिच्याहटले झिपिक्क सुत्न पाइएको थिएन । चाडबाडमा हल्ला नगर भन्न पनि मुनासिब लागेन, त्यसैले ३ प्याग जति लोकल रक्सी तानेर निद्रा फकाउन भरपुर प्रयास पनि नगरेको हैन तर पनि निद्रादेवीको आगमनको प्रतिक्षामै बिहानको कुखुरा बासेको थियो । बल्लतल्ल यसो आँखाँ लागेको मात्र के थियो, आमाले ओछ्यानमै चिया ल्याउदै भन्नुभएको थियो “छ बज्न लाग्यो उठ, दिब्रुगढ़ जाने भनेको हैन? गाडीले पहिलो हर्न बजाई सक्यो ।” हत्त पत्त गरेर मुख धोई चिया खादै ब्याग बोकेर निस्किएको थिएँ ।

मेरो छेवैको सिट अहिलेसम्म खालिनै थियो र बस पनि गुड्न सुरु गरेको थिएन । म भने रातभरिको अनिदोमै झ्यालबाट बाहिर हेरिरहेको थिए, कात्तिक महिनाको हल्का चिसो हावा झ्यालको खुलेको सिसाबाट आइ अलिक फ्रेश गराउदै थियो । निकै समयपछि मात्र बस गुड्न सुरु गर्यो, ढोकातिर हेरेको थिएँ, एक जना महिला हस्यांग फस्यांग गर्दै बसमा चढिन् र मेरो सिट छेउको खालि स्थानमा आएर बसिन् । त्यसरी हतारिएर बस्दा उनको शरीरको धेरै जसो भागले मलाई स्पर्श गरेको थियो । उनको सास छिटो छिटो चलिरहेको थियो तर अनुहार भने देख्न पाएको थिइन्, न त उनले नै मेरो । त्यहाँ के महसुस भयो भने, त्यो सुवास, त्यो महक मेरो परिचित थियो । मलाई खुलदुली भयो, उनी को हुन्, मलाई किन उनको सामिप्यता परिचित र मिठो लागेको छ ?

अँझै पनि उनी आफ्नो साडी मिलाउदै सजिलो तरिकाले बस्न प्रयासरत थिइन्, आफ्नु भित्री बस्त्र मिलाउदै थिइन्, मुखमा कपाल च्याप्ने क्लिप दातले टोकी केशराशी समेट्दै थिइन्, हतारमा अनुहारमा लगाएको पाउडर हातले रगड्दै थिइन् र ओठमा लत्पतिएको लिपस्टिक मोबाइलको स्क्रिनमा हेर्दै पुछ्दै र मिलाउदै थिइन् । उनले लगाएको त्यो पाउडरको बास्नासँग कता कता म परिचित थिएँ, त्यो केशराशी मेरो परिचित थियो, त्यो मपट्टि फर्किएको कान साथै कन्सिरी र गाला मेरा परिचित थिए । उनी को हुन् भन्ने मैले अनुमान लगाउने प्रयत्न गरेतापनि मानसपटलमा कोही पनि त्यस्तो व्यक्ति आइरहेको थिएन । सिधै अनुहार हेर्ने पनि आट गरिन न त सोध्न नै । तर उनको शरीरबाट आइरहेको सुवास भने पक्कै मेरो परिचित हुनु पर्छ ।

यातिन्जेलसम्म बस पनि गुडिसकेको थियो । यात्रा मैले सोचेको या कामना गरेभन्दा धेरै रोमान्चक हुने निश्चित थियो यदि ती महिला मैले सोचेको व्यक्ति थिइन् भने । मैले नजानिँदो तरिकाले उनलाई नियालें, हातहरू हेरें, मपट्टि फर्किएको चिउडोमा भएको कोठी तथा त्यहाँ पलाएका रौहरू हेरे, घुन्ग्रिएको केश, मोटा मोटा र छोटा पुटुक्क परेका औलाहरु, सानो तिखो नाक त्यसमा धेरै सानो टल्किएको फुली, मिलेको घाटी जहाँ भित्री बस्त्रको कालो फिता कलेजी रंगको ब्लाउजबाट अलिकति बाहिर पट्टि चिहाइरहेको थियो, त्यसले कसिलो गरी थिचिएको नरम र गोरो छाला पनि मेरो परिचित थियो । उनको निस्फिक्री र अरुको मतलब नगरी बस्ने प्रबित्ति, हाव भाव र फेर्ने सास नै मेरो सायद कुनै समयको ढुकढुकी हुनुपर्छ, नत्र किन उनी यति आत्मीय र परिचित लागिरहेकी थिइन् ।

यतिन्जेलसम्ममा बसले आठ्माइल, कुंडील हुँदै इस्लाम्पुरतिर लागिरहेको थियो । इस्लाम्पुरबाट पनि केही यात्रुहरू बसमा चढेका थिए सायद बरगढ़ा, चापाखोवा या सान्तिपुर तिरका यात्रु चुनपुरा जाने बसबाट आएर इस्लाम्पुरमा बस परिवर्तन गरेका हुदा हुन् । बस पून सडकमा भएका खाल्डा खुल्डिलाई छल्दै बेग गतिमा दौडिरहेको थियो, जसले गर्दा कहिले उनी आफ्नो शरीरको सम्पूर्ण भार ममा बिसाउँथिन् त कहिले म । हल्का जाडो मौसममा उनको न्यानो सामीप्यले मिठो अनुभव भैरहेको थियो । म झ्यालबाट बाहिर हेरिरहेको थिएँ, कहिलेकाहीं उनीतिर पनि फर्किन्थें, तर अँझसम्म पनि उनी सिटमा अडेश नलागी मोबाइल घोचिरहेकी थिइन् । सायद उनले मलाई देखिसकेकी थिइन्, चिनिसकेकी थिइन् र सँगैको सिटमा परेकोमा पश्चाताप गरिरहेकी थिइन् । मसँग गफ गर्नु नपरोस भनेर नदेखेको, नचिनेको नाटक पो गरिरहेकी थिइन् कि !

तर मलाई भने उनको सामीप्यले कल्पना गरेभन्दा कैयौ गुणा आनन्दको अनुभूति दिइरहेको थियो । उनले पहिलेदेखिनै प्रयोग गरिरहने स्याम्पोको महक, केशमा लगाएको मेहंदिको सुवास साथै प्रयोग गर्ने गरेको तेलको बास्नाले मुना नै भएको पुष्टि हुन्थ्यो । त्यसैले म अँझै धेरै रोमान्चित भैरहेको थिए । उनको देब्रे हातको माझी ओउलामा कलमले बनाएको खाल्डोले भनिरहेको थियो, उनी अहिलेसम्म कलम चलाइरहेकी थिइन् । अनुमान गरें, या त उनी शिक्षिका थिइन् या पत्रकार नत्र साहित्यिक विधामा कलम चलाउने साहित्यकार ।

मैले उनलाई चिनिसकेको थिएँ, उनी आफ्नै मुना थिइन्, मसँग गहिरो प्रेम गर्ने मुना, एक अर्का सँगसँगै मर्ने रसँगै बाँच्ने कसम खाएकी प्रिय मुना । मपट्टि देखिएका उनका आखिभौ अहिले पनि त्यस्तै नै थिए, त्यो चिउँडोदेखि बायाँतिर भएको कालो कोठीमा पलाएको रौ आज पनि २२ वर्षअघि जस्तै थियो । मैले हेर्ने प्रयास गर्दा पनि देख्न नसकिरहेको आँखामा पनि सायद पहिले जस्तै मिलाएर लगाएको गाजल हुदो हो जो अकसर हल्का लत्पतिएको हुन्थ्यो, दुई आखिभौ बीचमा लगाएको सानो गोलो टीका पनि रातै रंगको हुदो हो साथै अनुहारमा भएका अनावस्यक हल्का रौहरू ब्लिचिंग गरेर नदेखिने बनाएकी हुदी हुन् । उनका घाटीमा भने पहिले जस्तै सानो सुनको सुक्री टल्किरहेको थियो र त्यसमा उनका केही केशहरू बेरिएका थिए ।

उनलाई कर्के आँखाले घरीघरी नियाल्दै झ्याल बाहिर हेर्दै थिएँ, बएरका रुखहरू जताततै लटरम्म पहेला राता र हरिया फलहरुले निहुरिएका थिए । बस शदिया हुँदै ब्रह्मपुत्र नदीमा रहेको देशकै लामो पुलमा आइ पुगेको रहेछ । परैबाट ठुलो बोर्डमा लेखिएको थियो भुपेन हाजरिका ब्रिज, लम्बाई ९ /१५ किलोमीटर । कतै खोलाको हरियो पानी बेगसँग बगिरहेको थियो त कतै खोलाको बालुवै बालुवाले भरिएको बगर । टाढा टाढा भने गाइ भैसीका गोठहरू देखिन्थे र ठाउ ठाउमा गाइ भैसिहरू चरिरहेका, भैसी खोलाको किनारामा आहाल खेलिरहेका, माझीहरू गीत गाउदै जाल हानिरहेका, कोही दाउरा संकलन गरिरहेका र चराहरू हुलका हुल उडिरहेका थिए । ड्राइभर दाइले भने भर्खरैमात्र निस्किएको मिठो लोकल भाकाको गीत बजाइरहेका थिए,

“धला खदियार दलंग होल, भुपेन दार खेतु होल,
खदियानुकी रिंग एटार बाटे होल, टुलुन्गार नाउहरू बिलिन होइ गोल,
मा आमी खदियालोइ जामेई, मा आमी खत फुल खामेई”

उनलाई फेरि मुन्टो नघुमाई केवल कर्के आँखाले मात्र हेर्ने प्रयास गरें, उनले आफ्नो ब्यागमा केही खोजिरहेको पाएँ, केही निकालेको अनुमान गरें । प्लास्टिकको खोलबाट केही निकालेर खाएकी थिइन्, केही क्षणपछिनै आएको गन्धबाट थाहा भयो त्यही पहिले जस्तै चबाइरहने, फुलाइरहने, र फुटाइरहने चुंगगम मुखमा हालेकी रहिछन । चबाउदा हल्लिएको गालाको हड्डी कन्सिरी हुँदै टाउकाको केही माथिसम्म अनुमान लगाउन सकिन्थ्यो । अँझै पनि उनी झ्याल पट्टि हेर्दै नहेरी मेरो आडैमा टासिएर मन्दमंद चुइँगम को बास्ना छर्दै मोबाइल खेलाउदै बसिरहेकी थिइन् । मैले चाहेको थिए, उनी सिटमा मुन्टो अड्याएर अडेस लागेर बसुन अनि केही लामो सास फेर्दै निदाउन, मेरो काधमा उनको टाउको ढल्किएर अडेस लाग्न आओस अनि उनलाई सहारा दिन पाउ जसले गर्दा उनको निद्रा नखल्बलियोस् । गाडीको झ्यालबाट आएको हावाले केशरी रंगको कपाललाई मेरो अनुहार भरि छरिदियोस र उनको स्वास र कपालको महकलाई पान गर्दै यात्रा अवधि स्मरणयोग्य बनाउने सौभाग्य मिलोस । यतिन्जेल सम्ममा करिब १० किलोमीटर लामो पुल पार गरेर गाडी सैखोवा हुँदै धौला आइ पुग्न लागेको थियो ।

“तिमी मुना घिमिरे हैनौ?” मैले मनमनै प्रश्नहरू तयार गर्न लागेको थिएँ र सम्भावित उत्तरहरू पनि आफै कल्पना गर्दै रच्न लागेको थिएँ ।

“हजुर,” उनले कुनै आश्चर्य बिना सजिलै उत्तर दिएकी थिइन् ।

“सन्चै छौ नि ? कहाँसम्म हिड्यौ ?”

“कसैलाई मेरो सन्चो बिसन्चोको किन खाचो ! बिसन्चो छु भने पनि कसलाई के फरक पर्छ र?”

“अपरिचित सँग त संच बिसन्च सोध्न मिल्छ भने, तिमी त मेरो …!“

“के भन्न खोज्नुभएको महाशय ?” उनले अलिक कड्किएर रुमालले मुख छोपेर मेरो अनुहारतिर हेरेकी थिइन् । मलाई उनको यस्तो प्रतिक्रियाले अप्ठ्यारोमा पारेको थियो, ।“ हजुर को हो, म हजुरलाई चिन्दिन,” उनले वाक्य पुरा गरेकी थिइन् ।

मैले अरु धेरै प्रश्नहरू गरेर उनलाई चिढ्याउन चाहिंन । अरु प्रश्नहरुले सायद उनलाई क्रुद्ध बनाउन बेर थिएन, बसका मानिसहरुले हामीपट्टि आकर्षित भएर हेरेको म चाहदिन थिएँ, चाहन्नथे अरुको समालोचनाको पात्र बन्न, न त चाहन्थे सहानुभूतिको । वास्तवमा अहिलेसम्म न मैले उनलाई केही सोधेको नै थिएँ, न त उनले नै केही बोलेकी थिइन् ।

यतिन्जेलसम्म बसले धौला बसपार्क छिरिसकेको थियो । खलासी भाइले मुखमा पान चबाउदै अस्पष्ट भाषामा भनिरहेको थियो “खाना खान बस २५ मिनट रोकिन्छ, ट्वाइलेटहरू गर्नु परे यही झर्नु होला, फेरि बाटोमा बस रोकिने छैन ।”

उनी सारी सम्हाल्दै बसबाट ओर्लिन लागिन, म पनि उनको पछि पछि गाडीबाट ओर्ले ।

पछाडिबाट हेर्दा उनी २२ वर्ष पहिलेजस्तै देखिएकी थिइन्, केवल हिप अलिक उचालिएको थियो । उही मन्द चाल सुरक्षित साथ् पाइला टेकिरहेकी थिइन् ताकि उनको तिखा चप्पलका हिलले कसैको अनिस्ट नगरोस । उनी सरासर महिला बाथरुममा लाइन बसिन, म पनि पुरुष बाथरुममा । सायदै हाम्रो पालो सङ्गसँगै आएको हुनु पर्छ, निस्किदा पनि सँगसँगै भयौं । म अलिक अघि परें, सायद अब मलाई पछाडिबाट नियाल्ने पालो उनको थियो होला । म एउटा होटलको टेबल अगाडि गएर बसें, उनी पनि मेरै छेउमा आएर बस्न कर लाग्यो किनभने त्यो होटलमा अरु टेबल मानिसहरुले भरिभराउ थियो । फेरि पनि उनी मेरो देब्रेतिरको कुर्सीमा नै थिइन्, अघि बसमा बसे जस्तै, न उनको पुरा अनुहार अहिलेसम्म देख्न पाएको थिएँ न त बोल्न नै ।

उनको लागि पनि केही मगाउन म हिच्किचाइरहेको थिएँ, संकोचमा थिएँ, कतै मैले अर्डर दिएको कुरा सिधै अस्वीकार गर्लिन । आफ्नो लागि एउटा सिङ्गडा र चिया मगाएँ । मलाई थाहा थियो उनी लस्सी मन पराउछिन, उनले त्यसै गरिन, वेटरलाई एक गिलास चिसो लस्सी ल्याउन भनिन । वेटरले उनको लागि चिसो लस्सी र मेरो लागि सिङ्गडा र चिया तुरुन्तै संगसँगै ल्यायो । वेटरको नजरमा सायद हामी विवाहित दम्पत्ति थियौ । उनले प्लास्टिकको पाइपले बिस्तारै कुनै आवाज नगरी गालामा डिम्पल पार्दै चिसो लस्सी तान्न थालिन भने मैले पनि सिङ्गडा खादै ठुलै आवाज निकालेर सुरुप सुरुप पार्दै तातो चिया । एक आपसमा बोल्ने प्रयत्न न त उनले गरिन न मैले नै गरें ।

उनले लस्सी खादै गर्दा चियाएर हातहरू हेर्दै गएँ, उही नरम हात, गोरो छाला, चौडा अलिकति उठेको गोरो सुहाउने निधार, सायद आँखामा पनि उही पहिलेको चमक थियो । मपट्टि फर्किएको दाहिने आँखामा अलिकति गाजल लत्पतिएको थियो । उनको लवाइ खवाई र हेराइमा जो कोहीले अनुमान लगाउन सक्थ्यो कि उनी सुखी र संभ्रान्त परिवारबाट बिलंग गर्छिन । उनीलाई सुखी देख्दा मलाई पनि गर्व महसुस भएको थियो, उनी मसँग भएकी भए त्यत्ति खुसी दिन पक्कै सक्दिन थिएँ किनभने म अँझैसम्म पनि संघर्ष नै गरिरहेको थिएँ । उनी राम्रो परिवारकी बुहारी भएको कल्पना गरें सायद उनका श्रीमान सरकारी कर्मचारी या सफल ब्यापारी होलान । कता कता मनभित्र जलन पनि भयो र आफैलाई हिनताबोध पनि ।

मैले चिया सक्काएर काउन्टरमा आएँ, अलिक परैबाट वेटरले टेबल नम्बर ७ को जम्मा ३ आइटम ७० रुपिया भनेर जानकारी दियो । मैले उनले पिएको लस्सिको पनि पैसा तिर्न पाउदा अति खुसी भए, वेटरको कुरो उनले पनि सुनेकी थिइन् होलिन्, मैले उनकोसहित पैसा तिर्दै गरेको देख्दा प्रतिवाद पनि गर्दै थिइन् होलिन्, तर मैलेपछि फर्किएर हेर्दै नहेरी गाडीमा आफ्नु सिटमा आइ बसें र सन्तोसको सास फेरे साथै उनी आउने बाटो व्यग्रताका साथ् हेर्न थालें ।

उनको प्रतिक्षामा डर पनि मिस्रित थियो, डर यसकारण कि गाडीमा चड्ने बित्तिकै सबैले सुन्ने र देख्ने गरी चिच्याउदै म माथि आइ लाग्ने हुन् र भन्ने हुन्, “हु आर यु टु पे माइ बिल?”

“हाउ डेएर यु टु पे, एम आइ अ बेगर ?”

“ह्वाट इज योर इन्टेन्सन टु कम निएर बाइ, आइ हेट यु डेम बुलसीट ।”

योभन्दा अरु धेरै सोच्न मन लागेन, झ्यालतिर हेरिरहें । उनी आएको अनुमान गरें, छेवैमा अघिझै अलिकति टासिएर बसेको अनुभव गरें, ठुल्ठुला आँखा पारेर मतिर हेरिरहेको अडकल काटें, फर्केर हेर्दै नहेर्ने अठोट गरें । त्यतिन्जेलसम्म गाडी चिया बगानको बाटो हुँदै डुमडुमातिर दौडिसकेको थियो, बेगले ।

अहिलेसम्म मैले उनको मुखबाट न त कुनै बोली सुनेको थिएँ न त मुस्कान नै देखेको थिएँ । उनलाई प्रतक्ष्य अगाडिबाट हेर्न पनि जुरेको थिएन, मात्र उनको शरीरको दाहिने पट्टिको भाग हेर्ने सौभाग्य पाएको थिएँ । उनी कहाँ जाँदै छिन, उनीसँग अर्को को आएको छ र बसको कुन सिटमा बसेको छ त्यो पनि मैले भन्न सक्दिन थिएँ । मैले केवल अनुमान मात्र लगाउन सक्थे कि ऊ कतैबाट मलाई हेरिरहेको छ र मेरो क्रियाकलापलाई नियालिरहेको छ र अरु यस्तै यस्तै केके सोचिरहेको छ, किनभने ऊ मलाई चिन्दछ र २२ वर्ष अघि मुनासँग मेरो सम्बन्ध रहेको बारेमा उसलाई थाहा छ ।

म सिनेमाको पर्दामा देखाए जस्तो २२ वर्ष अघि फ्लाश ब्याक हुन् मन लाग्छ । त्यतिखेरको गल्तीलाई एक एक गरी केलाएर सुधार्न मन लाग्छ जुन गल्तीले गर्दा मेरी मुनासँग बिछोड हुन् गएको थियो । बिछोड हुनुमा प्राय जसो गल्ती मेरै थियो र थियो मुनाको पनि अलि अलि दोष । तर समयले त्यो मुनाको थोरै दोषलाई सबै बिर्साइसकेको थियो र सबै दोष मेरो नै रहेको मैले स्वीकारिसकेको थिएँ ।

त्यस समयमा मुना साच्ची मुना नै थिइन्, कलिली, निर्दोष, निस्कपट, सरल, स्वच्छ, स्निग्ध अनि पवित्र । उनको आँखामा त्यो जादु थियो जसले मलाई सपेरोले सर्पलाई लठ्याए झैँ लठ्याएको थियो । एक छिन आँखाँ चिम्लिएर बिगतमा डुब्न मन लाग्यो, आँखाँ चिम्लिएँ, स्मृतिमा मुना आइन अनि आयो मुनको त्यो मिठो बोली, आमाले आज बेलुका हजुरलाई खान खान बोलाउनु भएको छ ।”

म खुसी खुसी गएको थिएँ साथी दीर्घलाई लिएर । मसँग मुनाकोमा जान पाउदा साथी मख्ख थियो मुनाको घरको मिठो मेजमानिको स्वाद लिन । बेलुका मुना, उनको बहिनी र भाइले स्वागत गरेका थिए, मुनाको आँखामा खुसीको समुद्रनै छचल्किएको थियो । बेलुका जानी नजानी ठट्टइ ठट्टामा नामबाट लगन जुराइएको थियो, दुवै जनाको नाम ‘म’बाट सुरु भएकोले उत्कृस्ट जोडीमा गनिएका थियौ ।

त्यत्ति लजाउने मुनाले त्यो दिन भने मेरो साथीको आँखा छली मेरो कान छेउ आइ ‘आइ लब यु’ भन्दै कान टोक्नसम्म भ्याएकी थिइन् र लजाउदै भागेकी थिइन् । मलाई मिठो अनुभूति भएको थियो, उनको स्वाशको स्पर्श, सुगन्ध, मधुर कानमा ठोकिएको तरंगित ‘आइ लब यु’ को ध्वनि र उनको लजालु व्यवहार । त्यो दिन उनले अलिक बढी नै गरेकी थिइन्, फेरि रमाइलो गर्ने मौका नाजुर्दो रहेछ । खाना खानुअघि हात धुनलाई दिएको मेरो लोहोटामा पानी नै थिएन, पछि उनको अनुहार हेर्दा थाहा भयो, त्यो सब उनैले जानी जानी गरेकी थिइन् । खाना पनि भयो भन्दा भन्दै धेरैनै थपी दिएकी थिइन् । खानापछि हात धुन बाहिर निस्कदा उनको सम्पूर्ण शरीरले मलाई ढोकामै छेकेकी थिइन्, चप्पल लुकाई दिएकी थिइन्, बस्ने पिर्कामा पानी पोखी दिएकी थिइन् र मेरो त्यसपछि को गतिबिधि नियाल्दै मन्द मन्द मुस्काइरहेकी थिइन् ।

राति सुतेपछि पनि मेरो ढोकामा धेरै चोटी ढकढक गर्दै निद्रा खल्बल्याएकी थिइन् । उनले यो सब मजा मजामै गरेकी थिइन् र मलाई पनि रिसको साटो हाँसो नै उठेको थियो र उनीप्रति अँझै प्रेम जागेर आएको थियो ।

एकाबिहानै गुड मार्निंगले स्वागत गरेकी थिइन्, झ्यालको पर्दा खोली दिएर कोठा उज्यालो बनाएकी थिइन् । सायद हामी छिटै उठेर हात मुख धोई चिया खादै उनीसँग धेरै समय गफ गर्दै बिताऊँ, हासी मजाक गरौं र उनले मलाई सताउँन अँझै समय पाउन । हात मुख धोएर कोठामा छिर्न लाग्दा छिर्के लगाएर मलाई लडाउन खोज्नेदेखि लिएर हेर्दा मिठो र मगमग बास्नादार चियामा मलाई छुटै गिलासमा चिनी नहाली चिया दिदाको क्षण म कसोरी भुल्न सक्छु र, साथीकै अगाडि चियाको गिलासमा लिपस्टिकको दाग लगाएको र चिया जुठो पारेको, उनको घरबाट बिदाबारी भएर हिड्न लाग्दा झ्यालबाट आँखाँ मारेको र ढुंगाको टुक्राले हिर्काएको पल अँझै स्मृतिमा ताजै छ ।

गाडी डुमडुमा पुगिसकेको थियो, ड्राइभर र खलासी भाइ पाँच मिनट मात्र चिया पिउन भन्दै बाहिर निस्किए । मैले चाहेको थिएँ, मुना पनि गाडी बाहिर निस्किउन र उनलाई पछाडिबाट नियाल्न पाऊ र फर्किएर आउदा फेरि अगाडिबाट, किनकि उनी शत प्रतिशत मुनानै भएको र उनी अहिले पनि २२ वर्ष अघिकै अनुहारमा रहेको प्रष्ट होस् । तर उनी गइनन्, अगाडिको सिटमा मुन्टो अड्याएर सायद उनी पनि म जस्तै अतितमा सलल बगिरहेकी थिइन् । बाहिर पट्टि यसो नजर दौडाएँ, जताततै भित्तामा पोस्टरहरू टाँस्सिएका थिए, केही थिए फिल्मका, अरु केही थिए यौन रोग यौन क्षमता बढाउने आयुर्वेदिक औसधिका, क्लिनिकका त अरु केही थिए महिलाहरुको यौन अंग टाइट बनाउने, स्तन इन्लार्ज र स्तिफ साथै अरु यसै यस्तै । भित्ताहरुमा तामुल र पान, पान पराग खाएर थुकेका दागहरू, उभिएरै घोसे मुन्टो लगाएर मुत्र बिसर्जन गरिरहेका मानिसहरू र खुला बगिरहेको ढलबाट वातावरण दुर्गन्धित हावा फैलिरहेको थियो ।

बस डुमडुमाबाट माकुम रोड हुँदै अघि बढ्यो । बाटोदेखि दाहिने पट्टिरहेको सिनेमाहलमा मानिसहरू टिकट काट्न लामबद्ध देखिन्थे । कुनै एडल्ट सर्टिफिकेट पाएको हिन्दी फिल्मको पोस्टर टासिएको थियो । सायद चियाबगानका मजदुरहरुलाई लक्षित् गरी यस्तो सिनेमा प्रदर्शन गर्ने गरेको हुनु पर्छ जहाँ सिनेमामा देखाइनेभन्दा अलि धेर चाहिं पोष्टरमानै देखाइएको हुन्छ ।

गाडीको पछाडिपट्टि फर्किएर हेरें । सबैले मतिरै हेरिरहे जस्तो लाग्यो । उनीहरू धेरैले मलाई चिनेका थिए होलान र मैले पनि उनीहरुलाई, यति धेरै वर्षको अन्तरालपछि देखेको अनुहार । उनीहरुको अनुहार केही परिवर्तन भएको होला र मेरो पनि । म जस्तै उनीहरु पनि म नै हु भनेर कन्फ्युज थिए होलान र म पनि उनीहरू को हुन् भनेर कन्फ्युज नै थिएँ । तर मुना भने पक्कै पनि मलाई चिन्न असमर्थ थिइनन् न त म नै भएको हुला । त्यो सुगन्ध, घुन्ग्रिएको कपाल, चिउडोको कोठी र अरु उनको भाव भंगी पहिचान गर्दा म त्यत्ति गलत साबित त नहुनु पर्ने हो। उनलाई पनि त मेरो संसर्ग, स्पर्शले अतीतलाई ब्यूँझाएको हुदो हो र म जस्तै उनी पनि फ्लाश ब्याकमा कति स्पष्ट र अरु कति अस्पष्ट चित्रहरू नियालिरहेकी होलिन र मनमनै विभिन्न प्रश्नहरू तयार पारेकी होलिन् र मबाट यस्तै उत्तरको प्रतिक्षामा होलिन,

“मलाई किन एक्लै छोडेर यत्तिका वर्षसम्म टाढा भएको ?”

“मैले तिमीलाई छोडेको हैन, परिस्थितिले बाध्य बनाएको थियो,” सायद मेरो उत्तर थियो

“खाटा बसिसकेको घाउलाई किन फेरि बल्झाउन आएको ?” अनुमान गरेकै अर्को प्रश्न तेर्सिएको थियो ।

“यो पनि परिस्थितिकै उपज हो ।”

“खुसी छौ होला, मभन्दा राम्री र शिक्षित् श्रीमती होलिन्, बच्चा बच्ची प्रसस्तै र ठुलै भैसकेका होलान ?”

“अँ”, एकै पल्ट धेरै प्रश्नहरू तेर्सियेकाले एउटइ अक्षरमा उत्तर दिएको थिएँ ।

“बाइस वर्ष पछि आज संजोगले भेट भयो, अब फेरि कहिले आउँछौ ?” यो प्रश्न भने उनले सिध्याउनु अघिनै भावुक भैसकेकी थिइन्, बरर आशु खसाली मबाट लुकाउन खोज्दै थिइन् । उनको भावुकतामा म पनि बग्न सुरु गर्नुपूर्व सतर्क भैसकेको थिएँ । शरीरलाई एक झट्का दिएँ, उनीतिर यसो हेरें, उनी अँझै पनि अगाडिको सिटमा टाउको अड्याई सुतिरहेकी थिइन्, उही पहिलेको मुद्रामा । गाडी माकुम स्टेसनमा पुगिसकेको थियो, केही परिचित अनुहारहरू गाडीबाट ओर्लदै थिएँ, सायद डीग्बोई, जागुन रुटका यात्रु थिए होलान ।

मुनाको बारेमा धेरै जान्ने इच्छा थियो, उनको विवाह, बच्चाहरुका बारेमा, मसँगको बिछोड पछिको घटनाक्रमका बारेमा तर अहिलेसम्म अबोध बालक झैँ लुकिरहेकी थिइन् र मबाट पनि सबै कुरा लुकाइरहेकी थिइन् । मैले उनको सिउदोको सिन्दुर त देख्न पाएको थिइन । तर अहिले यसो विचार गर्दा घाटीमा पोते या मंगल सुत्रको ठाउँमा उही पहिले लगाए जस्तो सानो सिक्रिमात्र गलामा देखिएको थियो ।

म माथि अचानक प्रश्न हरुले घेर्न थालिसकेका थिए –

“के उनी अँझै अविवाहित नै छिन ?”

“के उनी अँझैसम्म पनि मेरै बाटो कुरिरहेकी त छैनन् ?’’

“कतै उनको सिउदो त पुछिसकेको छैन ?”

हैन हैन उनको बारेमा यस्ता अनर्थक र अनर्गल कुराहरू सोच्ने मेरो अधिकार छैन । उनी जे जस्तो स्थितिमा छिन, खुसी साथै सुखिरहुँन ।

मैले घरबाट ल्याएको पानीको बोतल मुना र मेरो सिटको बीचमा च्यापिएर बसेको थियो, मुनाले अप्ठ्यारो नमानी बोतलबाट पानी करिब आधा जति मुखै लगाएर पिइन् । सायद उनलाई तिर्खाले सताएर हो, संकोच नमानी पिएको देख्दा म आफै तृप्त भएझै लाग्यो । गाडी चिया बगानको बीचै बीच दौडिरहेको थियो, चिया बगानमा चियाका कलिला मुना टिप्नेहरू टिपिरहेका थिए र आफूले बोकेको थुन्सेमा भरि नजिकै रहेको मोटरमा पुर्याइरहेका थिए । मेरी मुना भने गाडीको ढोकातिर एकोहोरो हेरिरहेकी थिइन् सायद मेरो बारेमा यस्तै सोचिरहेकी होलिन्,

‘’किन मलाई उसको सामीप्य र स्पर्श आत्मीय लागेको होला?”

“किन फेरि पुरानो घाउ बल्झाउन भेट्नु परेको होला?”

“के ऊ अहिलेसम्म अविवाहित नै छ, नत्र उसको श्रीमती र बच्चा बच्चीहरू पनि साथमै हुनु पर्ने हो ।”

यस्तै कल्पना गर्दै थिएँ, खलासीको चिच्याहटले मेरो कल्पना मात्र भंग गरेंन, निद्रा पनि भंग हुन् पुगेछ ।

ओहो म ता गहिरो निद्रामा पो रहेछु, हिजो रातभरि सुत्न नपाएको, गाडीमा बस्ने बित्तिकै निदाउन पुगेछु । ब्यूँझिदा त गाडीको सिटमा च्यापिएको थिएँ, नजिकै एउटी धम्मरधुस गन्हाउने माछा ब्यापारी आइमाई माछाको टोकरीसहित मेरो सिट पनि करिब आधा जति ओगटेर बसेकी रहिछन । उनको शरीरमा पसिनै पसिना थियो जसले गर्दा म पनि भिजिसकेको रहेछु । न त्यहाँ मुना थिइन्, न त उनले लगाएको पाउडरको सुगन्ध, न थियो त्यहाँ उनको स्वासको सुवास, थियो त केवल पराग चबाइरहेकी एक ब्यापारी आइमाई र उनले मुखै हालेर पिएको मेरो आधा पानीको बोतल । बसमा अहिले पनि उही गीत भने गुन्जिरहेको थियो,

‘’कि जे दिन आजि किनु होइ गोल, तुलुंगा नाउहरू बिलिन होइ गोल ।
टेक्सी गुठि सेल्फी मारी खदिया साबलोई बोइ
धला खदियार दलंग होल, भुपेन्दार खेतु होल
खदिया नुकी रिंग एटार बाटे होल
तुलुंगा नाउहरू बिलिन होइ गोल । “

Leave a Reply

Your email address will not be published. Required fields are marked *