कुनै दयालुले उहाँ पुगी यति भनिदिए
मेरो मन बुझे उनी तुरुन्त फर्कने थिए
कुनै दयालुले……
न चिठ्ठी पत्र आउँछन् न तार नै पठाउँछन्
कसो गरी विदेशमा बसेर दिन कटाउँछन्
यता म आधी भै सकें उता उनी कसो भए
मेरो मन बुझे उनी तुरुन्त फर्कने थिए
कुनै दयालुले……
घटेर झिर्न भैसकेें भुले कि रङ्गिचङ्गीमा
लबस्तरो हुने कुनै थिएन भावभङ्गिमा
म ता विरक्तिमै परें जसै विदेशमा गए
मेरो मन बुझे उनी तुरुन्त फर्कने थिए
कुनै दयालुले……
यता दोधारमा परें पिरोलियो यतै मन
समाल्नु हो कसो गरी बिथोल्छ पानी जोबन
उडेर भुर्र पुग्दथें कुनै चरी परी भए
मेरो मन बुझे उनी तुरुन्त फर्कने थिए
कुनै दयालुले……
कति म आशमा बसूँ कति बसूँ निरासमा
यहाँ भए लिंदा हुनन् मलाई बाहु पाशमा
मिठो पिठो पकाउँला र खाउँला सँगै भए
मेरो मन बुझे उनी तुरुन्त फर्कने थिए
कुनै दयालुले……
२०६१ असार २८ गते सोमबार ।