Skip to content

ढाँटेको कुरा काटे मिल्दैन

ढाँटेके कुरा काटे मिल्दैन

कहिले काहीं नढाँटी नहुने । पर्छन् त्यस्तै कुरा अप्ठेराहरु समाजमा बसेपछि । बाध्यता परिदिन्छ कुनै कुनै कुरामा । कहिले भने व्यर्थमा ढाँटिन्छ र परिन्छ आफ्नै खनेको खाल्टोमा । यस्तै आफैं खाल्टोमा परेको मेरो ढाँटकर्मको एक कथा हो यो ।
अहिलेको हैन आज भन्दा तिस वर्ष अघिको कुरा हो । म डेरामा बस्थें । वरपर परिचय भइसकेको थियो । सबैले मान्थे । डेरा बसेको घरैनिर छिमेकमा घर भएका र मेरै कजेलमा साथै पढाउने मेरै साथीका भाइको बिहे थियो । म मात्र नभई मेरी श्रीमतीकाे पनि त्यहाँ आउजाउ हुन थालेको थियो । यसैले जन्ती जाने कसार बटार्ने र रतेउली खेल्ने समेत निम्ता थियो ।

जन्ती जान भनेपछि सारै काउछो लाग्ने मलाई । अझ रातीको बिहेमा निद्राले सताउने । सारै समस्या हुन्थ्यो बिरामी परिने डर हुने । त्यो बेला दिउसोको बिहेका कुरा पहाडे समुदायमा कम थिए । मधेशी समुदायमा ता अझ पनि रात्रि बिहे नै प्रचलित छ उ बेला हुने कुरै भएन । मा‌ओवादीहरुको बिग्बिगी चलेर त्राहि त्राहि भएपछि रातिको बिहे हटेर दिउसोको बिहे चलेको हो । त्यो बेला बिग्बिगी बढिसकेको थिएन । बिग्बिगी बढेपछिका रातहरुमा ता सायद उनै गर्थे होला बिहे । उनका अघि अरुले कता पाउनु बिहे गर्न । हाहाहा ।
जानु थियो झापाबाट झापामै । निकै कर थियो तापनि त्यो बिहेमा भने म घरेलु कारणले जन्ती जान नपाउने भएँ भन्दै टार्न पर्यो भनेर कलेजबाट डेरामा नगई सोझै बिहे घरमा गएँ । बेहुलो अन्भाउने बेला हुन हुन लागेके रहेछ । चार बजिसकेको थियो । माघकाे बेला रात पर्न लागिसकेको थियाे ।
“लौ सर किन ढिलो ! लुगा लगाएर तयार परेर आउनू ।” बेहुलाका बाबुले मलाई देखेर कडो उर्दीका साथ भन्नुभो । उहाँ निकै ठट्यौलो पनि हुनुहुन्थ्यो । हामी ठट्टा पनि गर्थ्थौं ।
“बुबा म आज जान नसक्ने पो भएँ । क्षमा माग्न पो आएको म ता” मैले भने ।
“लौ किन नि ? छिमेकी नगए को जाने त ? यसो अलिक बौद्धिक मान्छे नगएर हुन्छ के त ! अझ आफ्ना साथीको भाइको बिहे ।” उहाँको कर निकै तेजिलो थियो ।
“हैन मेरा ता जहानलाई अलिक सन्चो भएन । एक्लै कता छाड्नु भरअभर राति के पर्छ कसो पर्छ भनेर पो ।” अझ भाँती पारेर ढाँटें ।
“हँ नानीलाई के भो त ?” अलिक गम्भीर गम्भीर जस्तो गरेर भन्नुभो ।
“जरो आएर सुतिरहेकी छिन् ।” मैले अझ ढाँट कुरा गरें ।
“हँ उसो भए यता आउनु त म एउटा जडी दबाइ दिन्छु खुवाइदिनु होस् ।” भन्दै घरभित्र मलाई तान्दै लानु भो । मान्छेका हुलबाट भित्र पस्नासाथ बेहुलोलाई सिँगार पटार गर्ने नारीहरुको समूहतिरकी एक जना नारीलाई देखाउँदै उहाँले भन्नु भो-
“सर उ ति नानीसँग तपाइँकी श्रीमतीको जरोलाई चट पार्ने दबाइ छ, लु गएर माग्नु त !” भनेर मलाई महिलाहरुको हुलतिर सङ्केत गर्नु भो ।
नियालेर हेरिरहनै परेन उहाँले भनेकी महिला ता मेरै श्रीमती पो रहिछिन् । मजासँग बेहुलालाई दुबोको मालामा बत्तु लगाइरहेकी रहिछिन् ।
“हरे, कस्तो बुद्धि नपुगेको होला ढाँट्न पनि” भन्दै उहाँसँगै हाँस्न थालें । लाज पचाउनु यो भन्दा सजिलो उपाय के थियो र । उहाँ अझ मरीमरी हाँस्नुभो । कालो नीलो हुँदै बुझ पचाएर बाङ्गो ढाड लगाउँदै डेरातिर लागें ।
अझ पनि भेट भएको बेला उहाँ मलाई “जन्ती जाने हैन सर ?” भनेर जिस्क्याइरहनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *