आफैलाई
अनेक पटक हराएर
एक पटक जितेको जिन्दगी
ऊ विजय उत्सव मनाउदै
मौन् जुलुस निकाल्छ
आफ्नो संघर्षशील जीवनको सडकहरुमा ।
थुप्रै मालाहरू उन्छ
गलाभरि पहिरिन्छ ।
डाडाको बुडो सिमलले
पटक पटक जिन्दगीको रुप फेरेको
सेताम्मे कपास् उडाएको
अनि वसन्तमा
रातम्मे बैस फुलाएको सम्झन्छ
तब
दिल्लखी मार्छ
“हौ बुडो सिमल !
त र म उस्तै उस्तै बाँचेका छौ
मित लाउने हो ?
तर त अजम्बरी छस्
तैले धेरै महरुको
जिन्दगी देखिस् र बिदा दीइस्”
भावनामा छुर्लुम्म डुबेपछि
एक सर्को तोङ्बा तान्छ ।
जित्नुको मज्जा लिदै गर्दा
आफ्नो प्रतिविम्ब ऐनामा हेर्छ
रेखै रेखाहरू देख्छ
अनुहार र निदार भरी
भदौरे झरिले भत्काएको
सिरिङ्गजोक मुनिको
थुङ्ग्रुम्बा पहाडको भित्ता जस्तै ।
भत्किदै बाँच्नु,
भत्किदै बनिनु,
भत्किदै टालिनु,
भन्छ ऊ
“जिन्दगी भनेकै यस्तै हो”
थुङ्ग्रुम्बा पहाडको भित्ताले
साङ्लो इँवालाई
धेरै पटक धमिलो बगाएको छ ।
आफूलाई त्यही पहाड
त्यही इँवा खोला
र
बुडो सिमलसँग दाज्दा दाज्दै
स्वात्तै निदाउँछ !
सपना भरी जित
विजय जुलुस
र
फूल मालाहरू देख्छ ।
@@@@@@@@@@
बिरानो द्शबाट
२८ नोभेम्बर २०१४