Skip to content

असमको साहित्यिक यात्रा


दुलियाजान कला –साहित्य मञ्च दुलियाजान असमको आयोजनामा आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य समारोहमा भाग लिनको लागि म र छन्देली कवि लोकनाथ खरेल २०७४ साल चेत्र महिनाको १५ गते साहित्यकार गोर्खे साइँलो (ऋषिप्रसाद लामिछाने)को साहित्यसदनमा पुगियो । त्यहाँ पर्वतबाट आउनु भएको साहित्यकार शान्तिनारायण श्रेष्ठ,र डि.आर शर्मा, दाङबाट पाल्नुहुने छवीकिरण ओली, चितवनका साहित्यकार केशवराज आमोदी, प्रेमराज न्यौपाने,मिरा तिमलसिनासँग भेटघाट भयो । गोर्खे साइँलोको साहित्यिक नेतृत्वमा मिना लामिछाने लगायत १०जना नारायणघाटबाट र हेटौडाबाट विर्खे अनजान सहित ११जनाको टोली असम जानको लागि नारयणघाटको लायन्सक्लवबाट रमाना भइयो । १६ गते विहान १० बजे न्यूजलपाईगुडीबाट रेलमा असमतिर लाग्नु थियो । रातीको यात्रा भएकोले यात्राक्रममा देखिने नेपालभित्रका मनोरम प्राकृतिक दृश्य एव म रम्य नगरीहरूको अवलोकन भने हुन सकेन । १६ गते विहान काकाडभित्ताबाट १५० रुपियाँ भारु तिरेर न्यूजलपाईगुडीतिर रमाना भइयो । नेपालबाट न्यूजलपाईगुडीसम्मको यात्रा त सहजसँग भएको थियो तर न्यूजलपाईगुडीमा भने निकै लामो पर्खाईमा बस्नु पर्यो । यहाँबाट हामीले चण्डिगढ एक्सप्रेस मार्फत जानु थियो । यो एक्सप्रेस १६ घण्टा अवेर गरेर न्यूजलपाईगुडीमा आयो, हाम्रो यात्रा १७ गते विहानीपख २ बजेबाट यात्रा अगाडि बढ्यो । न्यूजलपाईगुडी जङ्क्सनमा निकै छटपटीमा रहेका हाम्र मित्रहरूले पाउरव्याङ्क किन्न थाले । कसैले यसलाई ५००रुपियाँ तिर्नुभयो, अर्को व्यपारी आयो मलाई किन्नु थिएन किन्नको लागि जोर गर्यो । मैले ३००रुपियाँ भनिदिएँ, ३००मा नै दियो, लिन बाध्य भएँ । अर्को व्यपारी आयो र किन्ने जोड गर्यो हाम्रै साथीमध्ये एकले २५० भनी दिए त्यसले पनि २५०मै दिएर गयो । सामसुम कम्पनीको त्यो पाउरव्यैंकको मूल्य कति हो हामीलाई पत्तै लागेन । एक त अवेर गरेर आाएको रेल अगाडि बढ्दा अँझै ढिलो हुँदै गयो । १८ गतेको विहानीपख हामी तिनसुकिया जङ्क्सनमा उत्रियौं । दुलियाजान कला –साहित्य मञ्च दुलियाजान असमको अन्तर्राष्ट्रिय नेपाली साहित्य समारोहका आयोजक मित्रहरू हाम्रो स्वागतार्थ आउनु भएको रहेछ हामी उहाँहरूसँगै दुलियाजानतिर लागे म र करिब ३बजे दुलियाजान पुगियो र विहान उठेर सुची तथा नित्यक्रियाको काम सकेर साथीहरूसँग कृति आदान प्रदान गर्ने काम भयो । विहान करिब आठ बजे खाजा खाएर दुलियाजानमा तेल कसरी निकालीन्छ भन्ने जानकारी दिने प्रदर्शन स्थलको अवलोकन गरियो । नरकोटियामा स्थापना तेल खातको अवलोकन पछि विश्रामस्थलतिर आइयो ।

मैले प्राप्त गरेका कृतिहरू–भिम धमलाको बिटुलो रगत, देवी माया सापकोटाको प्रणाम ब्रह्मपुत्र, मित्रदेव शर्माको नून र नीलिम कुमारका अन्य कविता (असमीयाबाट नेपालीमा अनुवाद) खिम कौसिक( खिम बहादुर बुढाथोकीको उपन्यास) र टीका ढुङ्गेलको यात्रा स्मरण, सिरोई सिर्जना (मासिक पत्रिकाको क्यालेण्डर २०१८,यस क्यालेण्डरमा हाम्रा विरहरू भन्दै सुवेदार निरञ्जन सिंह क्षेत्री, मेजर दुर्गा मल्ल र कप्तान रामसिंह ठकुरीको अति छोटो परिचय दिइएको ) प्राप्त भएका र यी कृतिहरूले नेपाली साहित्यलाई दर्विलो बनाएको मैल महसुस गरेको छु ।

साहित्यिक कार्यक्रम– हामी एक दिन (१७ ग ते, ३१ मार्च २०१८) को भव्य उद्घाटन कार्यक्रममा सहभागी हुन सकिनौं । १८ गते २०७४को कार्यक्रममा सहभागी भइयो । यस समयमा केही मित्रहरूको नाम र ठेगाना लिने काममा श्रीमित्रदेव शर्मा (असम), श्रीकेवी नेपाली (असम) एनपिएस निरौला ‘रटन’ (सिक्किम), रवि पौडेल (सिक्किम) टीका ढुङ्गेल (पूर्व सिक्किम) भवानी अधिकारी (इष्ट मणिपुर), खिमबहादुर बुढाथोकी (म्यनमार) अमित शर्मा घिमिरे (म्यानमार), कालुसिंह रनपहेली (दार्जिलिङ), विर्ख खड्का डुुवर्सेली (दार्जिलिङ,) कृष्ण विक्रम राणा (डिगबोई) खिमप्रसाद जैसी (असम), जंगबहादुर क्षेत्री शिवकुमार नेवार, दुलियाजान, भुमराज पुरी दुलियाजान, भीम धमला तिनसुकिया, देवीमाया सापकोट, डिगबोई आदि साहित्यकारहरूसँग सामान्य परिचय त भयो तर त्यहाँ जमघट भएका साहित्यकारहरू तथा साहित्य प्रेमीहरूको विवरण समय अभावको कारणले गर्दा सङ्कल गर्न सकिएन ।

कार्यक्रम सञ्चालन – यो कार्यक्रम दुलियाजान विष्णु मन्दिर प्राङगणमा ४बजे सञ्चालन गरिने भनिएको भएता पनि करिब साढे चारबजेमात्र सञ्चालन भयो । कार्यक्रमको सभापतित्व दुर्गाबहादुर क्षेत्रीले गर्नुभएको थियो । खुमान सोनारको प्रमुख आतिथ्यता तथा बालकृष्ण उपाध्यायको उदघोषणमा कार्यक्रम सञ्चालन गरिएको थियो । विभिन्न स्थानबाट सहभागी साहित्यकारहरूले पहिलो दिनै कविता बाचन गरिसकेका र नेपालबाट जाने साहित्यकारहरूलाई अभिनन्दन गर्ने र नेपालबाट जाने साहित्यकारका रचना सुन्नबाँकिरहेकोले आज सोही कार्यक्रम भयो । यस अवसरमा ‘अभिव्यक्ति’ रजत जयन्ती विशेषाङ्क विमोचन गरियो । दुलिया जानमा जाने नेपाली साहित्यकारको दाङमा पनि अभिनन्दन हुने कार्यत्रबmम रहेकोले हामीहरू ७ बजे नै नेपालको लागि फिर्ता भयौं । गौहाटी स्टेशनमा पुगेपछि साथीहरूबाट म अलगिएँ । सबै साथीहरू गौहाटी स्टेशनमा ओर्ली कामख्या देवीको दर्शनतिर लाग्नुभयो भने म पानीखेतीमा मेरो मामाको छोरा गङ्गाराम चापागाईको घरतिर लागें । कामख्या देवीको दर्शन मैले पनि गर्नु थियो । मामाको छोरासँग ३२ वर्षपछि भेट भयो र भाइका अन्य परिवारसँग पनि परिचय भयो । भाइको घरमा खाना खाइयो । खानापछि भााइ गङ्गारामलाई लिएर म पनि कामाख्या देवीको दर्शन गर्न गएँ ।

कामाख्यादेवीको संक्षिप्त परिचय – सत्यदेवीले दक्ष प्रजापतिद्वारा(सतीका बाबुद्वारा) आफ्ना पति महादेवलाई यज्ञमा नबोलाइस अपमान गरेपछि होमन कुण्डमा हामफाली आफ्नो देह त्याग गरेकी थिइन् । सतिले देहत्याग गरेको घटना सुनेपछि शिवजी यज्ञमा पुगी दक्षको शिर क्षेदन गरी यज्ञ नष्ट गरी सतिको शरीरलाई काँधमा बोकी उन्मत्त भएर त्रिभूवनको भ्रमणमा लाग्नुभयो । शिवजीको यो अवस्थाबाट त्रिभूवनलाई बचाउन विष्णु भगवानले आफ्नो सुदर्शन चक्रबाट सतिको शरीलाई एकाउन्न टुक्रा पार्दै काट्नुभयो । ती टुक्रटुक्रा पारी खसालिएका स्थानहरू सबै तीर्थ स्थल बने । सतिका शरीरका टुक्राहरू जहाँखसे ती टुक्रा पाषणको रूपमा परिण भएका र तत् तत् स्थानमा स्वय म भगवान शिव पनि शिव लिङ्गको रूपमा अवस्थित हुनु भयो । यो ब्रह्मपुत्र नदीको किनारमा योिनमण्डल खसेकोर पाषण रूप धारणा गरेकोले कामख्या तीर्थको नामले प्रख्यात भयो । यसलाई कुञ्जिका पीठ पनि भनिन्छ । वृहद्धर्म पूराण, कालिका पूराण र देवी भागवत आदिले यस तीर्थको बारे महत्वका साथ वर्णन गरेको अध्ययन गर्न सकिन्छ ।कालिका पूराणमा लेखिए अनुसार सतिको योनिमण्डल नीलाचलका माथि खसेको र पाषणरूप धारण गरेकोले यो पाषणमय योनीलाई नै कामख्यादेवीको नामले पुकारिन्छ ।

अभिव्यक्ति (नेपाली त्रैमासिक रजत जयन्ती विशेषाङ्ेकमा समावेश रचनाकारको विवरण –

यो पत्रिका दुलियाजान कला–साहित्य मञ्चद्वारा प्रकाशित बालकृष्ण उपाध्यायबाट सम्पादित र सम्पादकीय लेखन भएको, सचिवको कलमबाट नरसिंह क्षेत्रीको धारणा र सभापतिको कलमबाट दुर्गाबहादुर क्षेत्रीको धारणा पस्किएको, इन्द्रबहादुर राईको ‘अर्थहरूको पछिल्तिर’ एउटा समालोचना शीर्षकमा केदार गुरुङ (सिक्किम), वरिष्ठ साहित्यकार गोर्खे साइँलोको कृष्ण विक्रम राणाबाट लिइएको अन्तरबार्ता, विक्रमवीर थापाको उत्तर पाएँ स्मरण लेख, खड्कराज गिरीको हिजोको ‘मुगलान र आजको ‘सुकरातको डायरी’–का स्रष्टा डा.प्रा. गोविन्दराज भट्टराइसित लेख, लीलबहादुर क्षेत्रकिो प्रवीन नृत्यकार भैरवबहादुर थापालाई सम्झदा स्मरण, लाखन लामाको आत्मीय सज्जनका दृष्टिमा कवि हरिभक्त कटुवाल (टिपनटापन), रञ्जिता देवी (नेपाल) को मनोवैज्ञानिक आधारमा अनुराधाको कृति, टीका ढुङ्गेल(पूर्व सिक्किम)को सम्झनाको तरेलीमा ‘‘ नव पल्लव’’ राधा उपाध्याएको कृति (समालोचना), हीरालाल शर्मा (डिगबोई)को अनुवाद साहित्य औ सुन्दर प्रसाद क्षेत्रकिो ‘‘डाल भरि भरि फुलेई फुल…’’, रेवती मोहन तिमसिना (ओदालगुडी आसाम) को पाङ्ग्रे लघुकथा, रमा सुवेदी (इजरायल)को माफ गर गौमाता संस्मरण, खोमान सोनार दुलियाजानको अभिव्यक्तिः यात्राको साथै छविलाल उपाध्याय, शान्ति नारायण श्रेष्ठ, लक्ष्मी ‘‘मिनु’’, लीलबहादुर सुनार, प्रकाश पौडेल, कालूंिह रनपहेली, कल्पना उपाध्याय, नवराज क्षेत्री, गोर्खे साइँलो, महेन्द्र प्रकाश केसी (साही)का कविताहरूको साथै दलमान डी गरूङको पाठक प्रतिकृयाले सजिएको विविध धारणाले भरिएको भारतका विविध स्थान नेपाल र इजरायल सम्मका साहित्यकारहरूको लेख रचना समेटिएको यो विशेषाङ्क स्तरीय, अति रोचक र पठनीय छ । दुलियाजान कला–साहित्य मञ्च, दुलियाजान (असम)का सञ्चालनका सम्पूर्ण पदाधिकारीहरू धन्यवादका पात्र हुनुहुन्छ ।

अन्त्यमा दुलियाजान कला–साहित्य मञ्च, दुलियाजान (असम)ले अभिव्यक्ति पत्रिकाको रजत जयन्तीको उपलक्षमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समारोहले एउटा भव्य साहित्यिक कार्यक्रम सञ्चालन गरेर एउटा उदाहरणीय एव म अनुकरणीय काम गरेको मैले महसुस गरेको छु । नेपाली भाषा साहित्यको सम्वर्धनको लागि यो एउटा गौरव पनि हो ।

धन्यवाद

सदानन्द अभागी
२०७५ साल जेष्ठ १६ गते,
कावासोती नगरपालिका वडा नं ७, नवलपुर प्रदेश नम्बर ४, नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *