Skip to content


उक्लदै नऊक्लेको
उकालोको के कुरा गर्छौ ?
एक खँगी
कुखुराको भाले-पोथी बोकेर
सयौ पटक
फालेलुङ्को ठुलो घ्याङ र सानो घ्याङ
उकालो उक्लने
मनबिरे र तनबिरे काकाहरुलाई सोध
साचो जिन्दगीको उकालो के हो ? भनेर ।

ओर्लदै नओर्लेको
ओरालोको के कुरा गर्छौ ?
त्यही एक खँगी
कुखुराको भाले-पोथीले साटेको
एक मन नून र एक ठेली धागो बोकेर
सयौ पटक
भीरकुनाको ओरालो ओर्लने
तिनै
मनबिरे र तनबिरे काकाहरुलाई सोध
साचो जिन्दगीको ओरालो के हो ? भनेर ।

नाप्दै ननापेको
जिन्दगीको के कुरा गर्छौ ?
ठेलिका ठेली धागोलाई
तानमा उनेर
दिनको एक सोर
खाडी बुन्ने
आजीवुङ आमै र यमहि म भौज्यूलाई सोध
लामो जिन्दगीको लम्बाई
कसरी नाप्नु पर्छ ? भनेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *