Skip to content

महामारी ज्वरो


हरेक चार वर्षमा
आउँछ हावासितै
र फैलिन्छ संसारभरि
यत्रतत्र, सर्वत्र
एउटा महामारी ज्वरो !

भोकको अनिकाल
निद्रा कैदमा कारागार
अनिदो रात र
अकर्मण्य दिन
गर्भहीन एउटा थारो समय
नेइमार, मेस्सी र रोनाल्डो
थर्थराहट,बर्बराहट र
टोलै हल्लाउने चिच्याहट
गोल, गोल र गोलको भद्रगोल
चुपचाप बगिरहन्छ समय
टुक्रिरहन्छ निरर्थक जिन्दगी
छाड्दैन कहीँ, कसैलाई
यो विश्वव्यापी ऊध्र्वगामी ज्वरो !

जून नै करेसाको छिमेकी र
घाम नै अगेनाको आगो जस्तै
बन्छन् काका नेइमारहरू
मेस्सिहरू त आफ्नै मामा र
रोनाल्डो सहोदर दाजु
सात समुद्र पारिदेखि
आइपुग्छ कसरी यो महाप्रलय
र बगाउँछ निद्राहरू
भगाउँछ भोकहरू
र निभाउँछ कर्तव्यका दियोहरू
तताउँछ कन्पारो
र ठड्याउँछ मुट्ठीहरू
हरेक चार वर्षमा आएर सताउँने
एकमहिने यो म्यादी ज्वरो !

गृहिणीको भान्सा हरायो
विद्यार्थीको होमवर्क हरायो
परीक्षा नि योदेखि डरायो
एकादिउँसै अकर्मण्यता करायो
सबका सबलाई यो के गरायो ?
असत्ती ! महामारी ज्वरो !!

रामविक्रम थापा
बराहपोखरी – ४, खोटाङ
मो.नं. ९७५३००४३६०

Leave a Reply

Your email address will not be published. Required fields are marked *