Skip to content

बर्मेली समाजमा आधारित ‘पश्चाताप’ उपन्यासको अध्ययन


परिचय

दुलियाजान कला–साहित्य मञ्च, असम, भारतद्वारा ३१ मार्च र १ अप्रेल २०१८मा आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य समारोहमा खिम बहादुर बुढाथोकीसँग साक्षात्कार हुने सौभाग्य मिल्यो । यसै अवसरमा भिम बहादुर बुढाथोकी (खिम–कौशिक)बाट यो कृति उपहार स्वरूप हात लाग्यो । खिम–कौशिकको जन्म २००३ कार्तिक १० गते राजा बस्ती मोगोकमा पिता शुद्धिमान बुढाथोकी र माता चन्द्रकला बुढाथोकीका पुत्ररत्नकको रूपमा भएको थियो । बुढाथोकीजीले अष्ट वक्र गीता अनुवात सहयोग, विरता भनुम या बाध्यता (उपन्यास), अतितका पाइला (उपन्यास), ज्योति उपन्यास, तिम्रो गुराँस उपन्यास, जीवन दर्शन धारा –निबन्ध), भोलिका सपना (निबन्ध), साहित्य प्रतिविम्ब (निबन्ध), मार्गहिन (उपन्यास), संघर्स (उपन्यास), एक बुंध अमृत (धार्मिक उपन्यास), ब्रह्म खोज (धार्मिक उपन्यास), सत्य प्रकाश (धार्मिक उपन्यास),शिव पञ्चायन मन्दिरको हिरक जयन्ती जस्ता कृतिहरूको साथै विभिन्न पत्रपत्रिकामा लेख रचना प्रकाशन गरी नेपाली भाषा साहित्यलाई सवल बनाउँदै आउनु भएको छ । साहित्य सेवामा समर्पित बुढाथोकी शास्त्री पुस्तकालय याँगौं, नेपाल म्याँमा कूटनैतिक स्वर्ण वर्षको उपलक्षमा, कृसु पुस्तकालय, प्रज्ञा समितिद्वारा साहित्य विशिष्ट सम्मान, टमृ शाखाद्वारा साहित्य सम्मान आदि सम्मानबाट विभूषित भैसक्नुभएको छ । एक सिद्धहस्त उपन्यासकारको रूपमा परिचय दिन सफल बुढाथोकीजीसँग दुलियाजानको कार्यक्रमले जो साक्षात्कार गरायो त्यो एउटा अविस्मरणीय दिन थियो र बुढाथोकीजीको मृदुमुस्कान एव म आकर्र्षक व्यक्तित्वले ममा स्थान लियो यही नै हो बुढाथोकीजीसँगको छोटो परिचय ।

कृतिको संरचना

आवरण पृष्ठ बाहेक १४४ पृष्ठमा संरचित यस कृतिमा उपन्याको साथमा चारओटा कविता पनि समावेश गरिएका छन् । उपन्यास पाँच भागमा प्रस्तुत गरिएको छ । ‘‘ दुई कुरा लेखकका’’ बाहेक यस कृतिले कसैको भूमिका पाएको छैन र मूल्य पनि राखिएको छैन ।

कृतिभित्र प्रवेश गर्दा

भाग १मा धीरज वर्षको पानीमा रमाउने, एम. वि.विएसको विद्यार्थी,साथीहरूले देशविदेश गएर धन कमाएका, देवु नजिकको साथी, देवुको सुनितासँग विवाह भएको, विद्यार्थीहरूको लागि गहुँको रोटी र गाईको दूध राम्रो हुनेर बुद्धि विकास हुने, निलिमा, निरज, धिरजका भाइ बहिनीहरूसँग घरयासी बातचित, धीरज आफ्नो पन र मर्यादामा कहिल्यै नचुक्ने विद्यार्थी, समयको किम्मत बुझ्नु पर्ने धीरजको धारणा, सन्ध्याले धीरजका साथीहरूले रोटीमा लुछाचुडी हुँदा साथीहरूले लगेको रोटीका टुक्रालिएर धीरजको टिफेनमा राखिदिनु साथीहरूको विविध धारणा आउनु डाक्टरी पढ्न कठिन हुने धारणा, सन्ध्याले एल.एल.बी पढ्दै गरेकी, सन्ध्यामा प्रेमको अङ्कुरण हुन थालेको छ । उनी धीरजप्रति आकर्षित बन्दै जान थालेकी छन् । धीरजकी आमाले धीरजको विवाह गर्ने चाहना धीरजले डा.भएर मानवसेवामा समर्पित हुने धारणा,सन्ध्याको विवाहको कुरा चल्नु सन्ध्याले धीरजसँग आफ्नो धारणा राख्नु धीरजले केही समय पर्खने सुझाव राख्नु, तर धीरजले विवाह नगर्ने भएको र धीरजको साथी रमेशसँग सन्ध्याको विवाहको कुरा चल्नु रमेशले सन्ध्यालाई मन पराउनु, सन्ध्यामा कौतुहलता जाग्नु र आमा (वसन्ती)बाट जानकारी लिन आतुर हुनु, सन्ध्याकी आमाले रमेशकी आमा (ओमा)ले रमेशसँग विवाहको प्रस्ताव राखेको जानकारी दिनु, सन्ध्याले धीरजसँग विवाह गर्ने इच्छा भएको धारणा राख्दा धीरजले आजीवन विवाह नगर्ने जवाफ दिएपछि सन्ध्याले ‘‘अब देखेकाले हुन्न, लेखेको मात्र पाइन्छ भन्ने बूढापूरानाहरूको भनाइलाई ठिक भनौं या बेठीक’’ भन्ने प्रश्नको साथमा यो भाग समाप्त हुन्छ ।

भाग २मा रमेशको बुबा (मेजर साहेप) र रमेशको बीचमा विदेशमा गएर काम गर्ने कुरा चल्नु, आमाले एकल छोरोलाई विदेश पठाउन नचाहानु र आमाले ‘‘मानव जीवन अमूल्य जीवन हो यसलाई सुन्दर बनाउनु पर्छ ’’ विदेश जाने होइन स्वदेशमै रमाउनु पर्छ भन्ने धारणा राख्नु, तर रमेशले विदेश नै जाने अठोट लिनु, बाबु र आमाबाट अनुमति पाउनु, धीरजसँग रमेशले विदेशी जहाजमा काम गरेर धेरै पैसा कमाएर बुढेसकालमा आरामको जिन्दगी बिताउने धारणा राख्नु, देवुले रमेशलाई पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन स्वदेशमै व्यवसाय सञ्चालन गर्ने सुझाव दिनु, रमेशको अन्तिम पढाइको समय र सन्ध्याको विश्वविद्यालयमा प्रवेश हुँदा रमेशले मनमनै प्रेम गर्न थालेको, रमेश दिवेशजानेक्रममा रमेशकी आमाले सत्यनारायणको पूजा र ग्रहजाप लगाउन सन्ध्या र सन्ध्याकी आमालाई निम्ता दिनु, सन्ध्याको रमेशसँग विवाह गरिदिने प्रस्ताव राख्नु, रमेश पानीजहाजमा काम गर्न थाल्नु, ऐ्रावती नदीपार गरेर जहाज समुद्रमा प्रवेश गर्नु रमेशलाई चक्कर आउनु, उल्टी गर्नु, जहाज कलकत्तामा पुग्नु, कलकत्तामा रमेश यादव साथीको घरजानु, बाटोमा भीडभाड हुनु रमेश र बर्माको साथी पनि आत्तिनु, बङ्गालीका घरको अघिल्तिर माछा पालनको लागि पानीका तलाउहरू देख्नु, यादवले कलकत्तामा घटेका किचकन्याका कथा सुनाउनु, जहाजको समान अनलोड र लोड भए पछि जहाज मदस सहरतिर रमाना हुनु र मद्रास (चिन्नै)मा पुग्नु, चिन्नैमा कालाकाला मान्छे, लामालामा जुँघा पालेका मन्द्राजी पुलिस, भव्य इमारत र ठूला ठूला मूर्ति आदिको अवलोकन, मानिसको पसिनामा पनि मसलाको गन्ध आउने, यहाँका मानिस शिल्पकलाका ज्ञाता, पुरुषार्थी, जाँगरिला, ई.सन् २००देखि नै यहााका व्यपारी छिमेकी देशसँग व्यपार गर्न थालेको इतिहास, ई.सन् ६०० देखि विश्वका विभिन्न देशमा व्यपारको थालनी, भारतलाई जम्मुद्विप भनिने र बनारसको संस्कृत विश्वविद्यालयमा विभिन्न देशबाट विद्यार्थीहरू पढ्न आउने, जानकारी रमेशले पाउनु र रमेशले रक्सी पिउने कामको थालनी पनि मद्रासबाटै भएको, जहाज श्रीलङ्काको नजिक हुँदै जान्छ,कोलम्वोको सहरमा ठूला ठूला बुद्धका विहार र बुद्धका मूर्तिको अवलोकन र कोलोम्वो सहरमा फोहोर देखेर रमेशले याँगौं सहर सफा भएको ठान्दछ,जहाज यहाँबाट बम्बैतिर रमाना हुन्छ,दुई दिन दुई रात पछि जहाज बम्बै पुग्छ, बम्बै बलीउडले प्रसिद्ध, चलचित्रका नामी नामी सुपरस्टारहरूको बसोवास भएको सहर, बबर्जीवाट रमेशले यहाँ नेपालीहरू धेरै भएको जानकारी पाउनु, यहुदीहरू व्यपारी र बुद्धिमानहुन्छन् भन्ने जानकारी पाउनु, बम्बैमा कप्तानले सामान खरिद गरेर ल्याउनु, बाख्राको मासु पोलेर मदिरा सेवनतिर जहाजका साहेपहरू लाग्नु, रमेश मदिराको नशाले जीवनलाई दवाउँदै लगेको वर्णन सहित यो अध्याय समाप्त हुन्छ ।

भाग ३मा देवुले व्युटिपालर खोलेर छोटो समयमा साहुकार बन्नु, दुःख पनि खेप्न परेको, अरू व्यपारी सरह उसले मदिरा सेवन गर्न थालेको, सुमार्गको त्याग र कुमार्गको अवलम्क्वनमा देवु लाग्नु, पुर्खाको भनाइ ‘‘दुःखले सुख खोज्नु, सुखले काल भनेझै देवुले थाइल्याण्डमा गएर अत्याधिक मदिरा पिउनु, वेश्या गमन गर्नु, सुनितासँग सल्लाह लिन छाड्नु, देवुको आत्मशक्ति कम हुँदै गएको, सुनितामा मन, मस्तिष्क र सपनामा पनि देवुको चिन्ता बढ्नु भन्ने धारणा आउनु ।

सन्ध्याको धीरजसँगको प्रेमको आशा निराशामा बद्लिनु, रमेशतिर मन जानु, रामजानकी मन्दिरमा भएको वैवाहिक कार्यक्रममा धीरज, रमेश, देवु र सन्ध्याको भेट हुनु, भैलोमा रमेश र सन्ध्याको नाच आकर्षक रहनु, आदि स्मरण सन्ध्याले गरको धारणा यहाँ आएको छ ।

रमेशकी आमाले रमेशलाई सन्ध्यासँग विवाह हुनेभएकोले बिदा मिलाएर विवाह गर्न आउने सन्देश दिनु, बिदा मिलाएर रमेश टोक्यो, हङ्कङ, बेङ्गक हुँदै घरमा आउनु, धीरजले रमेशको अनुहार मलिन देख्नु, धीरजले सन्ध्यालेले जहाजमा काम गर्ने त जँड्यहाँ हुन्छन् भन्ने कुरा सम्झनु, पुन देवु, रमेश र धीरज रेलवेस्टेशनका बगलको काउँटिनमा भेट हुनु देवु र रमेशलाई रक्सी नपिउने सुझाव दिनु, रमेश नशामा चुर भएको देखेर रमेशकी मम्मी चिन्तित बन्नु, बाबुले आफूले रक्सी खाए पनि रक्सीले आफूलाई खान नहुने सल्लाह दिनु, रमेश र सन्ध्याको विवाह हुनु, सुहागरातमै रमेशले अत्याधिक पिउनु, रमेशले सन्ध्याको भनाइलाई मनन गर्दै रक्सी नपिउने कबोल गर्नु तर बाबुले लिमिटमा रक्सी पिउन पर्ने धारणा राख्दै रक्सी पिउन दिनु, रमेशले स्वाट्ट पिउनु र रमेशको को बाबुले रक्सी स्वाट्ट पिउने होइनभन्दा चोरेर पिउन पर्दा यस्तो बानी बसेको भन्दै यो भाग समाप्त हुन्छ । यस भागमा ‘‘आफ्नो भाग्यमा जे–जस्तो भोग्न लेखेको छ, त्यसैमा राजी हुनै पर्ने रहेछ ’’, ‘‘कुकर्मको मार्गदर्शक नै मदिरा हो ’’, ‘‘प्रेममा ईश्वरीय शक्ति छ ’’ आदि मानव जीवनमा घट्ने घटना क्रमलाई यस भागमा उपन्यास कारले सहजरूपमा पस्केका छन् ।

भाग ४मा धीरज मानव सेवामा पूर्णरूपमा समर्पित भएकोले घर आउन नपाउनु आमा नै धीरजलाई भेट गर्न जानु, बिमारीहरूले धीरजलाई प्राणदाता भन्ने गरेका सुन्नु, मैठिला अस्पतालबाट टाउजीमा सरुवा हुनु, टाउजीमा धेरै एडस् रोगी भेट्नु, राउण्डछेक गर्दा एक जना सिकिस्त नेपाली युवा (बले) कुरावामा बसेकी महिला बलेकी पत्नी (शोभा)लाई भेट्नु, बलेलाई एडस् भएको पत्ता लगाउनु, यो रोग कसरी तिमीमा आयो भनी बलेबाट जानकारी लिनु, बलेले धन कमाउने लोभले मोगोकका व्यपारीस।ँग मिलेर पत्थरको व्यपार गर्नु यसै अवसरमा स्याङ्नीकेटी टाछिटैटबासँग सम्पर्कमा आउनु र थाईबाट ‘‘एफ्टामिन’’ ल्याउने क्रममा ऊसँग यौनसम्पर्क भए पछि यो रोगले समाएको धारणा पोख्नु, उसको मृत्यु हुनु, शोभालाई धीरजले छोराछोरी पढाउने र कुनै व्यवसाय सञ्चालन गर्ने सुझाव दिनु, शोभाले व्यपारव्यवसायबाट फाइदा लिनु ।

धीरजको याँगौ अस्पतालमा सरुवा हुनु, देवुलाई एडस् भएको जानकारी पाउनु, देवुलाई भेट्न जानु, योरोग हात मिलाउँदा,सँगै बस्दा, अंकमाल गर्दा नसर्ने तर रगतको सम्पर्कमा सर्र्ने जस्ता धारणा राख्नु, एडस् १९८१तिर अमेरिकामा देखा परेको, सुनितालाई सम्झाउनु, धिरजले देवुलाई गीताको पुस्तक ल्याएर आफूले गरेका कुकर्मको फल मेटाउन आफूलाई आफै ईश्वरमा अर्पण गर्न लगाउनु र देवुले पनि गीता पाठ गरेर ध्यानमा लाग्नु, देवुले र सुनिताले जीवनको लक्षलाई धीरजले देखाई दिएको महसुस गर्नु र देवु चिन्तामुक्त भएको अनुभव गर्नु र सुनिताले सुनाएको गीता सुन्दासुन्दै संसारबाट बिदा लिएको धारणा सहित यो भाग समाप्त हुन्छ । यस भागमा एडस्का बारेमा जानकारी गराउनुको सार्थै, अल्पबुद्धि भएका युवाहरू कसरी कुलतमा फस्छन् भन्ने ज्ञान, विवाह काम वासना तृप्तिको लागि मात्र हैन, यस्तो विचार गर्नेहरू जीवनको सुखबाट टाढिने कुरा, मानिस जन्मदा नै ईश्वरीय प्रेरणा पाएको हुन्छ भन्ने धारणा यस भागले सन्देश दिएको छ ।

भाग ५मा देवुको वर्षान्त, एकाह लगाउने काम एकाहमा धीरज र सन्ध्याको भेट रमेशको हालखबरको सोधनी, धीरजले सुनिता र सन्ध्याको जीवन एकै खाले भएको महसुस, सुनिताले पत्थरको व्यपारी कृष्णजीसँग धीरजको चिनजान गराउनु कृष्ण र धीरज बीच धन आर्जन गर्नु र सदुपयोगको सट्टा दुरुपयोग गर्दै आफैले आफैलाई नरकमा डुबाइरहेको विचारविमर्स गर्नु, धीरजको आमाले विवाहको प्रस्ताव राख्नु तर धीरजले विवाह नगर्ने र आफ्नो जीवन मानव सेवामा समर्पण गर्ने धारणा आमाको साथमा पस्कनु, सन्ध्याको विमारी परेको खबर सन्ध्याबाट आउनु, रमेशको घरतिर लाग्दा साथीको बारेमा सोचमग्न धीरजको अर्को गाडीसँग लछारिन पुग्नु, धीरज रमेशको घर पुग्नु रमेशलाई सोधनी गर्नु रमेशको कलेजो सुकेको जानकारी पाउनु,धीरजले चिन्नै उपचारको लागि लिएर जानु, सुनिताले धीरजलाई लाग्ने खर्च व्यहोर्न तयार रहेको र सञ्चो बनाएर ल्याउने भन्ने खबर पठाउनु, रमेशलाई बचाउन कलेजोको आवश्यक पर्ने, त्यो कलेजोको लागि धीरजले आधाकलेजो दिन तयार हुनु, दुवैको अपरेश्न हुनु दुवैको अपरेशन सफल हुनु, धीरजले विवाह नगरेकोले रमेश र सन्ध्याले सुनितासँग वैवाहिक सम्बन्ध जोडने प्रस्ताप राख्नु धीरजले यो प्रतावलाई निचव्यवहार ठान्नु, साथीप्रति राखेको शुद्ध विचार एउटा पवित्र नारीप्रति अपशब्द बोलेकोमा रिसाउनु, रमेश र सन्भ्ध्याले माफ माग्नु, धीरज, रमेश र सन्ध्या याँगौ फर्कनु, रमेशले नयाँ जीवन पाएपछि समजसेवा र आफ्नो कारोबारमा लाग्नु, सन्ध्याले सुनितालाई हृदयबाट धन्यवाद दिइरहन्छे, र रमेशले पनि विगतका कुरा विर्सेर ‘विलकुलै नयाँ मानिस बन्न पुग्छ’ भन्दै । यो भाग मात्र नभै उपन्यास नै समाप्त हुन्छ ।

चरित्र र चरित्र चित्रण

यस उपन्यासका धीरज, सन्ध्या, रमेश, सुनिता, देवु आदि पात्रहरू सबै अध्ययनशील छन् । यी पात्रमा धीरजको चरित्र अति उच्च छ । मानवीय दृष्टिकोणबाट नियाल्दा धीरजले सारा आफ्नो जीवन मानव सेवामा समर्पित गरेको छ । उस्ले जीवनदर्शनलाई बुझेको छ । ईश्वरप्रति आस्थावान र गीताको राम्रो ज्ञान भएको समयको सही सदुपयोग गर्नु पर्छ भन्ने धारणा राख्ने र आफ्ना साथीहरूलाई यथा समस्यामा सहयोग पुर्याउने काम धिरजले गरेको देखिन्छ । देवुलाई एडस्ले समातेपछि धीरजले दिएको गीताको किताप र जीवनको अन्तिम समय कुकर्मको फल मे्टाउन ईश्वरमा समर्पित हुन भन्ने सुझाव दिन्छ । गीता अध्ययनले देवु र सुनितालाई जीवनको सही लक्ष देखाई दिएका आभास मिल्छ । बलेको मृत्युपछि शोभालाई आफ्ना खुट्टामा उभिन पर्छ भनी दिएको सुझाव र पैसाले शोभले पाएको सफलता रमेशलाई आफ्नै आधा कलेजो दिएर रमेशलाई बचाउनु जस्ता गहन काम धीरजले गरेको छ ।, सन्ध्या पनि एउटी कर्मठ पात्र हुन् उपन्यासकी । धीरजसँग एकोहोरो प्रेम गरेको तर प्रेम सफल नभएकी र धीरजले आजीवन विवाह नगर्ने भनेपछि नचाहदा नचाहदै रमेशसँग विवाह गर्नु, रमेशलाई रक्सीको कुलतबाट टाढा बनाउन प्रयत्नरत हुनु, रमेशलाई औषधीउपचार गराउन विदेश लान धीरजको सहयोग लिएर रमेशलाई मद्रास पुर्याइ उपचार गराई रमेशसँग रमाएर जीवन बिताउने नायिकको रूपमा दर्शिएकी छन् सन्ध्या । यसरी नै देवुकी पत्नी सुनिताको पनि देवुलाई बचाउन धेरै प्रयत्न रहन्छ तर देवु बाँच्दैन तर आफ्नो विधवा जीवनको कठीनाईलाई मनन गर्दै सन्ध्यालाई विधवा हुनबाट बचाउन धीरजलाई जति खर्च लागे पनि व्यहोर्न तयार रहेको तर रमेशको उपचार हुनै पर्छ भन्ने अठोट बोकेकी एउटी त्यागि नारी हुन् सुनिता,, अर्की नारीपात्र जो पतिलाई एडस् लागेर असाहय भएको अवस्थामा धीरजको सुझावले आफू र आफ्ना परिवारलाई लालनपालन र शिक्षादिक्षा दिन सक्षम नारी पात्रको रूपमा प्रस्तुत भएकी छन् शोभा । धीरजका मातापिता, कान्छो भाइ निरज, बहिनी निलिमा, सन्ध्याका मातपिता, देवुका मातापिता, जहाजका कर्मचारीहरू, कृष्ण (पत्थरको व्यपारी), मोगोकका व्यपारी, स्याङ्नी केटी आदि आदि पात्रले सजिएको यो उपन्यास विविध विषयमा प्रदर्शित भएको देखिन्छ ।

परिवेश

यो उपन्यासले म्यान्मा देशको याँगौं नगरका, क्याम्पस लगायतका स्थानहरू, ऐरावती नदी, म्यावडी, मोगोक, थाइल्याण्ड, समुद्र, कलकत्ता, मद्रास, कोलम्वो, बम्वै आदि स्थान त्यहाँको प्राकृतिक, सामाजिक, धार्मिक स्थलको वर्णन आदि उपन्यासले विविध परिवेशलाई समाएको छ ।

भाषा शैली र प्रस्तुति

भाषा सरल, सहज र सुबोध्य छ । साधारण पाठकका निम्ति पनि यो पठनीय छ । एकालाप नभएर वार्तालापपूर्ण भएकोले मनोहर छ, अनुप्रासयुक्त बाक्यहरू, उखान–टुक्का, विम्ब, प्रतिक र आलङ्कारि।क शब्द र वाक्य, उपदेशनात्मक र दार्शनिक अभिव्यक्तिले गर्दा उपन्यास रोचक बन्न पुगेको छ । प्राकृतिक र आध्यात्मिक चित्रण, मद्रास र बम्वैको व्यपारको ऐतिहासिक प्रस्तुति नायक नायिका आदर्शता आदिले गर्दा यस उपन्यासले स्वछन्द र स्वतन्त्ररूपमा प्रस्तुत भएको देखिन्छ ।

अतः उपन्यास साहित्यको एक नवीन विधा हो । यसलाई आधुनिक कालको महाकाव्य पनि भनिन्छ । यस उपन्यासले पनि जीवनको व्यापक क्षेत्रलाई समाएको छ । उपन्यासले ब्रह्मा देशको सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ, प्राकृतिक, धार्मिक पक्षलाई प्रष्ट्याउने प्रयास गरेको छ । मदिरालाई कुकर्मको मार्गदर्शक ठान्दछ, भाग्यवादी सोचकोबाट पनि प्रभावित देखिन्छ, विवाह कामवासनाको तृप्तिको लागि हैन भन्दछ जीवनमा सच्चा सुख प्राप्त गर्न जन्मसिद्ध कर्म गर्नुको साथै आफ्ना जाति, आफ्नो धर्म, आफ्नो परम्परालाई अगाडि बढाउँनु पर्छ जस्ता धाराणा राखेको छ उपन्यासले । अन्त्यमा उपन्यासकार खिम कौशिकको सुस्वास्थ एव म दीर्घायुको कामना सहित बिदा माग्दछु ।

धन्यवाद
सदानन्द अभागी
२०७५ वैशाख ३ गते,
कावासोती शान्तिचोक नवलपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *