Skip to content

आन्ना मालिनोभालाई


मलाई थाहा छ, म हुँ फुल्नै लागेको कोपिला
र तिमी नै पो कहाँ फक्रिएकी छ्यौ र ?
अनि हाम्रो प्रेमको अर्को कोपिला,
यो पनि कहाँ फुल्न कहाँ पाएको छ र ?
यी कोपिलै कोपिलाहरू
एक निमेसमै निमोठियो भने पनि
मलाई सन्देह हुने छैन आन्ना,
हामी हरबिहान किरणसँग झुल्दै
नयाँ फूलहरूसँग फक्रिन आउँनेछौं ।

मलाई थाहा छ आन्ना, म रणभूमिमा लड्दै गर्दा
कुनै पनि पलमा पल्टिन सक्छु,
च्यापिन सक्छु, ढालिन सक्छु;
तिमी पनि त कन्सन्ट्रेसन क्याम्पभित्र
मानवथुप्रोभित्र थलिन सक्छ्यौ
किचिन सक्छ्यौ, थिचिन सक्छ्यौ;
म मेरा साथीहरूसँग आत्मदह गर्नै लाग्दा पनि
मलाई सन्देह हुने छैन आन्ना,
हामी हरप्रहर हावासँग झुल्दै
हामीजस्तैहरूसँग जीवन्त बाँचिरहनेछौं ।

सायद कुनै दिन यस्तो पनि आउला
जहाँ सल्बलाउलान् –
दामको लागि देश बेच्नेहरू,
नामको लागि निसाफ बेच्नेहरू
र शक्तिको लागि स्वभिवमान बेच्नेहरू;
अनि पुनः जगत जलाउनेहरूको जमाना आउन सक्छ
फेरि पनि जुर्मुरिन पर्नेछ, आन्ना
हो, फेरि पनि जगत जोगाउनेहरू जुर्मुरिन पर्नेछ;
त्यसैले मलाई सन्देह छैन आन्ना,
हामी फेरि तिनै नयाँ युवाहरूकै बीचमा
प्रेरणा बनी जीवन्त बाँचिरहनेछौं ।

मलाई थाहा छ मसँग रुखा दिनहरू बाँच्ने फुर्सद छैन
मलाई थाहा छ तिमीसँग दासत्व सहने सामर्थ्य छैन
हामीलाई थाहा छ हाम्रा नजन्मिएका सन्तानहरू पनि अन्यायमा अड्ने छैनन्
त्यसैले त स्वभिमानको खातिर भीड्दाभीड्दै
स्वअस्तित्वको आडम्बर उँडे पनि
मलाई गुनासो हुने छैन आन्ना
हामी दिनानुदिन स्वतन्त्रका गीतहरूमा
गुञ्जन बनी गगनभर गुञ्जिरहनेछौं ।

जति बेला म रक्तकुण्डमा डुब्नै लागेको हुनेछु
सायद तिमी पनि ग्याँस-च्याम्बरभित्र निस्सासिरहेकी हुनेछ्यौ
हामीले नदेखेका सपनाहरू सपना नबन्दै टुट्न सक्छन्
हामीले नबोलेका शब्दहरू शब्द नबन्दै टुट्न सक्छन्
हामीले नपोखेका भावनाहरू भाव नबन्दै टुट्न सक्छन्
तैपनि मलाई सन्देह छैन आन्ना
हामी हर स्वतन्त्र जीवनका हिस्साहरूमा
उत्प्रेरणा बनी अनन्त बोलिरहनेछौं ।

डिसम्बर ३१, २०१५
लन्डन, बेलायत

4 thoughts on “आन्ना मालिनोभालाई”

  1. बडाे मार्मिक कविता लेख्नु
    बडाे मार्मिक कविता लेख्नु भएकाे रहेछ कुमारजी । बधाई र शुभेच्छा छ अान्तरिक रुपमा ।

    1. धेरै धन्यवाद, होम सर !
      धेरै धन्यवाद, होम सर !

  2. मन छुने रचना ।
    सान्दर्भिक लाग्यो । निम्न हरफले मन छोयो-

    सायद कुनै दिन यस्तो पनि आउला
    जहाँ सल्बलाउलान् –
    दामको लागि देश बेच्नेहरू,
    नामको लागि निसाफ बेच्नेहरू
    र शक्तिको लागि स्वभिवमान बेच्नेहरू; ….. ।

    भेषराज रिजाल

    1. धन्यवाद भेषजी, प्रतिकृयाको
      धन्यवाद भेषजी, प्रतिकृयाको लागि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *