Skip to content

‘जीवन एक : सङ्घर्ष अनेक मोड’ फरक क्षमताको जोश


विषय उठान :

अमेरिकामा एकताका १६ पेजको कमन सेन्स किताबले देशै हल्लाएको थियो । त्यही किताबका कारण अमेरिकीहरू बेलायतीहरूको उपनिवेशबाट सदासदाका लागि मुक्त भएका थिए । मानवको सर्वप्रिय खोजी नै मुक्ति हो । मुक्तिका लागि संसारका सबै मानिसहरू अहोरात्र लागेका छन् ।

सन्दर्भ यतिखेरको पुस्तक छ –‘जीवन एक सङ्घर्ष अनेक मोड’ । यो पुस्तक एकजना फरक क्षमताका भाइले लेख्नुभएको हो । वहाँलाई स्पानल कड इन्जुरी भएको छ । रोग मानिसको चाहना कवै होइन । रोग बाध्यता वा दुर्घटनाका कारण हुन्छन् ।

माथि उल्लेखित कृतिका स्रष्टा पनि दुर्घटनाका सिकार भएर सो रोग आफ्नो शरीरमा बेसाउन बाध्य भए ।

कृतिको कुरा बेग्लै हुन्छ । कसको कुन कृति कतिखेर हिट हुन्छ ? अनि कुन चिज कतिखेर फ्लप हुन्छ ? त्यो कुरा यो संसारमा कसैले जान्दैन । भनिन्छ नि –‘वैद्यका छोराछोरी गलगाँड, अनि ज्योतिषकी छोरी राँडी’ (?) भनेर ।

जीवन अलजेब्राको थ्योरम पक्कै होइन । जानेर या नजानेर जीवन बाँच्नु पर्ने रहेछ । मानिस सोही पाराले कतै अभिसप्त भई कतै अन्जानमा जीवन बाँचिरहेछन् । कोहीकोही त जीवन पनि भन्ने नजानीकन जीवन बाँचिरहेछन् । फगत् जीवेच्छामा । खानका लागि बाँच्ने वा बाँच्नका लागि खाने ।

अनजानमै पनि कहीँ कतै भाम सुखानुभूतिको गुञ्जायस हुन्छ । परिच्छेदहरूले अहिले मलाई विनोदको कृति पठनपछि त्यस्तै अनुभूतिका सोलाहरू यो मनभरि हानिरहेको अवस्था छ । विद्यमान अवस्थाका सँगालिएका सोचहरूलाई मैले इमान्दार भएर भन्नु पर्दा लेख्ने मानिसमा अन्तर्पीडाका उच्छवासहरू रहेका हुन्छन् । हुँदा रहेछन् । सोको एक सानो फड्के साक्षी म आफैँ पनि हूँ । भएको छु । लेखेको छु । धेरै पहिले आफ्ना लेख्ने गर्थें । अहिले आफ्ना साथमा अरुका पनि लेख्छु ।

यो क्रम भनौं उपक्रम जारी छ । यद्यपि जारी छ ।

बीच बीचमा सूत्रधारहरू आइरहेछन् । उपसूत्राधारहरू पनि आइरहेछन् ।

गन्तव्यमा पुग्न असमेल गजबारहरू छन् । सायद् विनोदसँग पनि हूनन् । नभए यिनी लेखक हुने धृष्टता नै गर्ने थिएनन् । ‘लेखक हुनलाई घाउ चाहिन्छ’ –अमेरिकी कवि गिन्सवर्ग भन्छन् । त्यो घाउ शारीरिक नभएर कुनै न कुनै मानसिक हुनुपर्छ । मानसिक सन्तुष्टिकै लागि मानिस लेखनको आफ्नो मनोलोक बनाएर सोको यात्रा तय गर्छ । गरिरहेछ ।

मलाई याद् आउँछ –राजा वीरेन्द्रको पारिवारिक रूपमै कत्लेयाम हुँदा शोकको बजारलाई क्यास गर्ने गरी लेखिएको कृष्ण अविरलको रक्तवीज नामक रिपोर्टपरक उपन्यास नेपाली उपन्यासका पाठकमाझमा भाइरल भयो । त्यो पुस्तक बेचेरै उनले त्यसताका कपनमा घर किने रे ! यथार्थ के हो ? रामजाने !

अलिक अघिको प्रसङ्गमा जाऊँ ।

जब २०४६ सालको जन आन्दोलन चल्दै थियो । हो, त्यही समयमा एउटा १२ पाने सामान्य न्यूज प्रिन्टमा निस्किएको भण्डाफोर नामक पुस्तिकाले नेपालीहरूको अन्तर ढुढढुकीलाई छाम्ने काम गरेको थियो । त्यहाँ राजपरिवारका अनेक खालका रोचक र विवादास्पद कथाहरू लेखिएका थिए । जसलाई त्यसबेलाको बन्द नेपाली समाजले रूचाएर पढेको थियो ।

कृतिगत् अन्तर्य :

यति प्रसँग बाँधिसकेपछि मैले आज लेख्न खोजेको कुराको गुत्थीमा जाऊँ । मेरो हातमा अहिले विनोदकुमार श्रेष्ठ लिखित जीवन एक सङ्घर्ष अनेक मोड नामको आत्मालाप पुस्तक छ । पुस्तक धेरै लामो छैन । अनि लेखक नाम चलेका पनि होइनन् तर उनको स्वजीवनको भावनात्मक कथाको प्रस्तुति यति बेजोड छ कि त्यसलाई अध्ययन सुरू गर्ने जोकोही पाठकले त्यसको पूरापूर अध्ययन र रसस्वादन नगरी किताब छाड्दै छाड्दैन ।

मैले जीवनमा त्यति छिटो समयमा पढेको पुस्तक पनि यही हो । ९६ पृष्ठमा बाँधिएको सो सानो कलेवरको पुस्तकमा रामेछापका साहित्यकार माधव सयपत्री र विनोदले पढेका हाइस्कुलका प्राचार्य नीरबहादुर कार्कीज्यूले शुभकामना मन्तव्य मिठो भाषा शैलीमा लेखिदिनु भएको छ । सो पुस्तकको विमोचन भानु द्वशतवार्षिकी समारोह, रामेछापको कार्यक्रममा मन्थलीमा असार ७ गते, २०७१ सालमा भएको थियो । जतिखेर मलाई त्यो किताब पढ्न दिइएको थिएन । सायद् लेखकसँग पर्याप्य किताब उपलब्ध थिएनन् क्यार !

आज मैले मेरा साहित्यिक भाइ प्रकाश परिष्कारमार्फत् त्यो आत्मालापको किताब पढ्ने मौका पाएँ । किताब पढेर मैले सबैभन्दा पहिले विनोदकुमार श्रेष्ठ भाइलाई धन्यवाद् दिएँ जसले आफूलाई स्पाइनल कड इन्जुरी भएका बेलामा पनि त्यति राम्रोसँग किताब लेख्न सके ।

अनि दोस्रो धन्यवाद् किताबमा भएका केही गल्ती कमजोरी सच्याइदिनुहुने साहित्यकार माधव सयपत्रीलाइदिएँ । किताब चर्चा लेख्न मलाई जीवनमा सबैभन्दा झर्को लाग्ने काममध्ये एक हो तर मैले यो किताबको यति शीघ्रपठन गरेर लेख्न थालेँ कि मलाई नै थाहा भएन एउटा सद्भावपरक लेख तयार भैसकेको रहेछ ।

जीवनमा सबै मानिस आफू पनि राम्रो काम गर्न सक्दैनन् अनि अरूले राम्रो काम गरेको देखी सहँदैनन् । किन हो किन यो प्रवृत्ति मलाई ननिको लाग्छ । मलाई अरूले गरेको कम पनि राम्रो छ भने सह्राना गर्न मन लाग्छ । अनि म त्यो कार्यको मुक्त कण्ठले प्रशंसा गर्न थाल्छु । मैले कति यस्ता झिनामसिना कामहरू गरेको छु जसबाट मलाई जीवनमै असीम आनन्दको सञ्चार भएको छ । यो काम पनि उपलब्धीका हिसाबले सानो हो तर म अत्यन्त खुसी छु ।

विनोद भाइको त्यो पुस्तकमा उनले आफू कसरी अपाङ्तगा भएको मानिसमा अनुवाद भए भन्ने कुराको इतिवृत्त खोलेका छन् । सायद् उनी अस्पताल बस्दाका बेलामा दैनिकी लेख्थे क्यार ! त्यो कुराको फेहरिस्त नलुकाई र नधकाइकन किताबमा भनेका छन् । आत्मालापको किताब भएकाले कतैकतै गजल र कविता पनि पस्कन भ्याएका छन् –उनले ।

साँचो लेख्न र बोल्न सक्ने मानिसको यो समाज र संसारमा कमि हुँदै गएको बेलामा मलाई उनको लेखनीले विछट्टको मोहनी लगाएको छ । मैले जीवनमा पढेका आकारगत रूपका झीना पुस्तकहरूमा माधव घिमिरेको गौरी, देवकोटाको मुनामदन, भूपिको घुम्ने मेचमाथि अन्धो मान्छे र रिमालको आमको सपना नै हो । अनि लीलबहादुर क्षेत्रीको बसाइँ र लैनसिँह बाङ्देलको माइतघर र लङ्गडाको साथी उपन्यास हुन् । मोटो र भीमकाय कृति नै रचना नै हुनुपर्छ भन्ने छैन । चुरो दह्रो भएको पुस्तक यदि जीवनवादी छ भने त्यसले दमदार काम गर्छ भन्ने दृष्टांश साहित्यकार सरुभक्तको चुली उपन्यास नै हो ।

अमृत र विष कति नै चाहिन्छ र ? बँचाउन अनि मार्नका लागि ।

विनोद भाइमा जति संवेदना छ त्यति नै मात्रामा यो पुस्तकको पुनर्लेखन भएन । एउटा व्यावसायिक सम्पादकबाट उम्दो सम्पादन हुन सक्या भए उनले यो पुस्तकबाट नाम र दाम खूब कमाउन सक्ने थिए । तर पहरामा फुलेको फूलको सौन्दर्य यहाँ कसले देख्छ र ? सबै सहरमुखी छन् । भएजति सबै विज्ञापनवादी छन् । जीवनमा किताबै लेख्न नसक्नेहरूले पनि भाडामा थाकका थाक किताब लेखाएका छन् । यहाँ अहिलेको नेपालमा संवेदनाको कार्टेलिङ् गरी सिण्डीकेट मार्का साहित्य लेखिन थालिएको छ । नेपालमा करौडौं कर छलेर अरबपति भएका व्यापारीहरू रातारात कथित स्तरीय लेखक भएका छन् । डाडुपन्यौ हातमा हुने पत्रकारहरू समेत माहिरमाहिर आख्यानकार भएका छन् । तीन न तेह्रका साहित्य लेख्ने पानीमरुवाहरू चाहिँ फेसबुके साहित्यको भर्याङ् चढेर विश्वव्यापी गीतकार भनाएर आत्मरतिमा मख्ख छन् । भ्यागुते शैलीमा कराएर ट्यार्रट्यार्र…।

संवेदनाको व्यापार हो सहित्य तर त्यो कलात्मक र सामयिक हुनुपर्छ । नेपालमा जबरर्जस्त लेखनलाई पनि साहित्यको ढब्बा दिइएको छ । खाँटी लेखक कि गाउँमा छन् । कि सहरका छेउकुनामा बसेर रातबिरात आफ्नो उर्बर ऊर्जालाई बहुराष्ट्रिय कम्पनीको सेएर भएका कुनै टाइकुनमा नाम भँजाउन नसकेर पाखामा पारिएका छन् ।

तिनीहरू उम्दाउम्दा विषयातिरेक र भावितिरेकमा साहित्य लेख्न सक्छन् । कथ्न सक्छन् । तर तिनीहरूको पसिना यहाँका बोके र बगरे प्रकाशकलाई गन्हाउँछ । हेपिन्छन् –यहाँ कालिदासहरू । पेलिन्छन् –यहाँ गार्सिया लोर्का र लुसुनहरू । प्रायोजित खिल्ली पनि उडाइएको हुन्छ यहाँ –गोर्की र बाल्जाकहरूको । अनि धुरुधुरु रुन्छन् –गिन्सवर्गहरू । गान्धारी मोथाईहरू पनि नेपाली पाखा र भित्तामा छन् । कोही त अरब र मलेसिया पनि पसेका होलान् । पसिनाका कोसी र कर्णाली बहाउँदै सपनाका ब्लुजहरूमा कहिरन साटेर आँसुले साहित्य पस्केर घर फिर्ने रहर जोहो गर्दागर्दै कफनमा सजिएर गौचर हवाई अड्डा नआउलान् भन्न सकिन्नँ ।

विनोद ती र तीहरूमा कहाँनेर पर्छन् । सन्धानहरू भएकै छैनन् । सायद् हुनेवाला पनि हैनन् । किनकि उनलाई आफ्नो शारीरिक रोगले एकातिर सताएको अवस्था विद्यमान् छ भने अर्कातिर दालरोटीको जोहो गर्नुमै दिनरात ज्यापूको ट्याकट्याकमा लाग्नु परेको छ ।

विनोदी पाराका विनोद शब्दक्रीडामा मगनमस्त छन् । आफ्ना पीडोत्तर भावोच्छोलनमा लागेका छन् । परिवेश टटोलेर उरुङ् कथा कथ्न नै उनी भ्याउन्नन् । उनलाई कुनै दलको पुच्छर कहाँनेर समात्दा के हुन्छ भन्ने पनि पत्तो नाइँ । उनी त लेख्छन् । कतै आत्मालाप लेख्छन् । कतै आख्यान लेख्छन् । बग्रेल्ती कथाहरू हुने नै सायद् हाम्रो जस्तो देशमा स्वयम्मा कथा बन्छन् । विदेश भएको भए उनी अष्ट्रेलियाका मिष्टर निकजस्ता काउन्सिलर हुने थिए । हजारहजार डलरमा मोटिभेसन गर्दै हिँड्थे –संसारभर । किनकि उनीसँग संवेदना थिएछन् । उनीसँग कविता हुँदाछन् । म कवितालाई सलाम गर्ने मानिस । कथाख्यानलाई मनमौजी माया गर्ने दोपाया । मैले उनको कृति धृतिमय विश्वासका साथ पढ्दा सोही पाएँ । आवरण र कलेबरमा मलाई रत्तिभर विश्वास छैन । हुँदैन ।

एकजना मित्रले भने ‘अहिले नेपालमा भाँडा माझ्न विदेश जानेहरूको साहित्यले बजार तताएको छ ।’ मैले त्यसरी त भन्न सकेको छैन तर केसम्म अनुमान गरेको छु भने नेपाली साहित्यमा २०२० देखि २०४० सालसम्मको त्यो २ दसक बीचमा लेखिएकाजस्ता कालजयी र अजरअमर कृतिहरू साहित्यमा अहिले लेखिन सकेकोजस्तो लागेको छैन । जसले लेखेका छन् तिनका पनि व्यावहारिक जीवनमा इमान्दारिताका इँजार फुस्केका छन् ।

कथनी र करनीमा फरक छ ।

मानिस लेखेको व्यवहारमा उतार्दैन । व्यवहार प्रदर्शन गरेको लेखनमा उतार्ने सामर्थ्य गर्दैन । भनिन्छ, कडवा सच व्यक्त गर्न गाह्रो छ । विनोदले आफ्नो पुस्तकमा केही सानातिना नै सही कडवा सच ओकलेका छन् । यो एङ्गललाई म नमन गर्न रूचाउँछु । रुचाएको छु ।

विनोदको लेखनधर्मितालाई म स्यालुट गर्दछु ।

सुखद् समापन :

सबैको प्रेम महान् हुन्छ तर यहाँ शाहजहाँ र मुमताजको मात्र प्रेमको व्याख्यान भएको छ । साहिर लुधियानवीले कतै भनेका छन् –इक शहन्शाह ने ताजमहल बनाएर, उडाहा है हम गरिबौंका प्यारका मजाक । वास्तवमा यो भनाइमा कति ठूलो विद्रोह छ ? त्यसको मापो गर्न हम्मेसी सकिँदैन । छैन कुनै पत्यञ्चाको बादल सो मापन गर्न ।

बजार गाँजा खाएको धूत गँजडीझैँ आफैँ धामी आफैँ बोक्सी पात्रोत्तर भूमिकामा सिल्ली भएको छ । विडम्बना नै विडम्बनाको यात्रा गरिरहेछ भने यहाँ कसलाई असीम पीडाको फिराद गर्न सकिन्छ ?

सकिँदैन । भाव र अभाव लेखक लेखकका दुवै सामल हुन् । ती दुवै विनोदसँग व्यतिरेकी रुपमा रहेका छन् । लेखक भएपछि समन गर्न सक्ने हुनु पर्ने रहेछ ।

मैले विनोद भाइको किताबलाई यस मानेमा जीवन अमूल्य छ । यसलाई माया गरौं अनि सिर्जनात्मक कार्यमा लगाऔं भन्ने अर्थमा मात्र बुझेँ । यत्ति कोरेँ । फेरि पनि लामो अवकासमय बिदामा बसेर पुस्तक पढ्दा अरू धेरै नबुझेका कुराका पउल गुत्थीहरू बुझेँ भने अलि लामो समालोचना नै लेखौंला । कृति गागरमा सागर हो । नयाँ र लेख्न सिक्छु भन्नेहरू साथै पुराना कलमका उस्तादहरूले पनि यो किताब एकफेर पढेमा दिमागका नयाँनयाँ तन्तु उघ्रिनेछन् ।

अहिलेलाई यति ।

पाठकहरू विनोदसँग संवाद गर्न चाहनुहुन्छ भने ९७४१०६४२८१मा कल गर्नुहोस् । अनुभूति सेएर गर्नुहोस् । जीवन कति जटिल छ । अनि सो जटिलतालाई झेलेर लेख्न झन् कति जटिल छ ? ऐजनऐजन भारमा लेख्नु र लेखनको समूल भारलाई थामेर लेख्नु सायद् सिजरिङ् गरेर बच्चा जन्माउनु र प्राकृतिक रुपमा सुत्केरो हुनुमा जति फासला छ । यहाँनेर यत्तिचाहिँ धृष्टतापूर्वक भनेँ भनेँ ।

एउटा ‘द स्प्रिङ् लभ’ शीर्षकको उपन्यास प्रकाशन पछि फेरि अब यिनको अर्को उपन्यास ‘आभास’ प्रकाशन हुँदैछ ।

पेशल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *