Skip to content

भित्तै भएकाे छु म


बोधो यो किन हो दिमाग अहिले फुर्दै नफुर्ने भयो
केही सिर्जन गर्न साइत कतै जुर्दे नजुर्ने भयो
सारा पूर्व प्रयत्न मेटिन पुगे मस्तिष्क रित्तो किन
साठीबाट उँभो चढेपछि भयो मेरै उछित्तो किन ?

उर्लन्थे मनभित्र भावलहरी थाम्नै नसक्ने गरी
वर्खामा भुइँभित्रबाट पिपिरा सर्लक्क उम्रे सरी
झन्झावात उठी सिनित्त पिपिरालाई मढारेपछि
के उम्रून् नवसिर्जना हृदयले आफैं बढारेपछि ।।

ऐले सोच्तछु लक्ष्यमा विमुख भै प्रारब्ध मेरो गयो
थोत्रो थाल ठटाउँदै मगज यो सम्पूर्ण रित्तो भयो
मेरो व्यर्थ हुँदैछ यत्न अहिले थालेें स्वयं बिर्सन
चाहन्थें म कुनै विशिष्टतम जो यौटा कला सिर्जन ।।

मैले बेच्नु पर्यो मिठा पलहरु आफू हुँदै भोकमा
मैले किन्नु पर्यो तिता पलहरु आफू हुँदै शोकमा
आफैं चिन्नु कता कता पर हुँदा ठग्दै म ठग्दै गएँ
व्यर्थैमा व्यवहारको लहरमा बग्दै म बग्दै गएँ ।।

यौटै पूर्ण थिएँ ठुलो भय थियो टुक्रिन्छु टुक्रिन्छु कि
यो संसार अपारबाट अब ता उत्रिन्छु उत्रिन्छु कि
भन्दैमा वयकोश निख्रिन पुग्यो रित्तै भएको छु म
आशा शून्य छ उत्तरार्द्धतिरको भित्तै भएको छु म ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *