Skip to content

युद्धले भुलेको बाँकी युद्ध’ लड्ने साहसी कवि सुजन सेलिङ् 

20180818_PrakashDipsaliRai-01


लगभग २०६९ सालदेखि पाँचथरका श्रष्टाहरूसँग निक्कै हिमचीम बढाइयो । जो अहिले पनि निरन्तर छँदै छ, यसको मतलब सबै जनासँग भने हैन । किनकि त्यहाँका धेरैलाई त व्यस्तता वा आफ्नै कारणले भेट्न र हिमचिम बढाउन पाएको छैन । मैले जानेको त्यहाँ नेपाली साहित्यको प्रयोगको अथाहा भण्डार हो । उत्रवर्ती सोच, रंगवाद नै भनौं अनि त्यहाँका श्रष्टाहरू साह्रै क्रियाशील छन् । उनीहरू जहाँ जहाँ हुन्छन् आफ्नो सक्रियता देखाई हाल्ने । पछिल्लो पल्टका आयामहरूमा पनि प्राय उनीहरूकै संग्लग्नता रहेको छ । तेश्रो आयामदेखिकै कुरा गर्ने हो भने पनि बैरागी काईला, शृजनशील अराजकतावादी धार हाङयुग अज्ञात, उपेन्द्र सुब्बा तथा सर्जकहरूले आफू जहाँ रहे पनि पाँचथरको माटोलाई मलिलो बनाउने काम सदा गरी नै रहेका छन् । सँगै त्यहाँबाट प्रकाशन भएका कृतिहरूले बजार तताउने गर्दछन्, जसरी पछिल्लो पल्ट राज माङलाकको लिम्बुनी गाउँ कविता कृति मदन पुरस्कारको उत्कृष्ट ८मा पर्दै यो बेला चर्चाको शिखरमा छ । लाग्छ, सायद यो बेला समाजिक सञ्जाल सञ्चार माध्यम भरी यसकै चर्चाले भरिएको छ ।

कवि तथा समालोचक सगुन सुसारा, इन्द्र मुकारुङ ‘दाबुङ’ प्रा. डा. नबोलकिशोर राईहरूको मार्ग आत्मसात गर्दै लिम्बुवान बस्तीमा बसेर राई बान्तावा भाषाको मातृभाषी साहित्यको सेवामा समर्पित छन् । यसले पनि प्रमाणित गर्छ कि पाँचथरे साहित्यको दम कति छ भनेर ? यी र यस्तै तरिकाले पाँचथरलाई आँखीझ्यालबाट चियाउने क्रममा हालसालै कवि राज माङलाक मार्फत अर्का सुन्दर कवि सुजन सेलिङको कविता संग्रह ‘युद्धले भुलेको बाँकी युद्ध’ हात परेको छ सोही कविता संग्रहभित्र प्रवेश गर्दैछु । मेरा मनमा लागेका कुराहरू राख्न ।

‘अहिले
देशले भेडाबाख्रा पालेको छ
उनीहरू
मुना नपलाउँदै खाँदैछन् देश,
४६ सालपछि लगातार’

(४९/तितो यथार्थ देशको)

मैले यो संग्रह पाउने वित्तिकै पहिलो नजर परेको कविता हो । यो कविताले मलाई यो देशको शासन सत्तातिर फर्केर सोच मग्न बनायो । आखिर जसरी भए पनि यो देशको ढुकुटी रित्ताउने त रै छन् । यो देशको सेवा सुविधा हामी सर्वसाधारणसम्म त नआइपुग्ने रैछ हाम्रो सेवा सुविधामा मोज गर्ने यो देशका नेतृत्व तह देखि बीचौलियासम्मको लाइन छ, हामी सर्वसाधारणले कसरी कहिले शान्तिको सास फेर्ने ? यो माथिको कवितांश बडो गम्भिर लाग्दो छ । यो संग्रह भित्रका मन परेको कविताहरू मध्येमा पर्छ यो कविता । यो कविता त सिङगो सर्व साधारण जनताको प्रतिनिधि आवाज सरह लागेको हो मलाई । पाँचथरे श्रष्टाहरू माथि टीका टिपपणी गर्ने मेरो खुबी छैन उनीहरूसँग भलाकुसारीसम्म गर्न सक्छु झनै वहाँहरूको विचार र प्रयोग सहितको कृतिमाथि लेख्न बोल्न के सकिन्थ्यो र ?

पुस्तक मन्थन
‘एकिकरणको भालाले रोपिएको छु,
एकात्मक सङगिनले घोचिएको छु,
भूमिसुधारको तरबारले काटिएको छु
केन्द्रिकृत गोलिले हानिएको छु
मलाई घाइते बनाइएको छ
म घाइते बाघ हुँ ।
मलाई जिस्काउने
कोशिस नगर्नु ।
म महान युद्धमा छु । ’
(९६/युद्धले भुलेको बाँकी युद्ध)

कविताको सामर्थ्य नाप्ने तराजु यो देशका कुन चाहिं समालोचकसँग होला ? अनि यो कवितालाई कुन छेउबाट नाप जाँच गर्ने ? उस्तै पूर्वाग्रही ढंगले यो कवितालाई समालोचना गर्ने समालोचकको त दिमागै रन्थनिन सक्छ । अहिलेको नयाँपनको लेखन आयाम कति समालोचकहरूलाई मनै परेको छैन, उनीहरू यथास्थितिलाई नै आत्मसात गरिरहेका छन् । सायद यसैको उदाहरण मान्नुपर्ला एउटा अन्तरक्रिया कार्यक्रममा एकजना समालोचकले टिप्पणीकर्ताको भूमिका निभाउँदै यो किसिमका लेखन दश वर्षसम्म पढ्दिन भनेर खोकिहाले । यी समालोचकहरूले सुजन सेलिङका कविताहरूलाई त ओ हो यो त हाम्रो विरुद्धमा छ भन्दै हामी बहिस्कार गर्छौं भन्दै बाहिरिन के बेर ? यस्ता छन् यहाँका नाम चलेका समालोचक भनाउँदाहरूको अवस्था । धन्न चलेको छ नेपाली साहित्य ।

‘उ खरानी हुनु पूर्व
आफू आगो भएको पहिचान
फिलुङगो उडाएर उडाएर दिदैं हुन्छ खरानी । ’
(१२४/हेपिएको फिलुङगो )

यो अर्को गरिब निमुखाहरू अनि शोषित पीडित र यो देशका कयौं पिछडिएका र सीमान्तकृतहरूको प्रतिनिधि कविता हो यो । नेपालमा यतिसम्म बोल्न र लेख्न पाउने अधिकार सुजन सेलिङ जस्ता सचेत योद्धाहरूले गरेको कलमको युद्धकै कारणले पनि हो नत्र यी सीमान्तृतहरूको आवाज ती नै झुपडीहरूमा विलीन हुन पनि सक्थ्यो । मैले बुझेको जत्ति सुकैे ठुलो आन्दोलन वा क्रान्तिहरू भएपनि उनीहरूले छाडेको बाँकी युद्ध त कलमले त लड्दो रैछ । सुजन सेलिङका कविताहरू पनि यो बेला बाँकिरहेका युद्ध नै लड्दैछन् भन्ने भान भैरहेको छ मलाई । अनि उनको अर्को प्रशंसनीय पक्ष भनेको संस्कृति र संस्कारसँगै आफ्नो मिथकलाई उत्कर्षमा पुर्याउनु पनि हो । उनका इङ्वा, इक्सा र खाम्बोक, समाङ्खुको यादमा डुब्दा, बन्धकीमा बाँधिएको टारबारी, तिमीलाई मन नपर्ने कविता लगायतका कविताको मिथकीय चयनले कवितालाई चहकिलो बनाएको छ । यो बेला चरम उत्कर्षमा पुगेको पहिचान साहित्य लेखनलाई ठुलो टेवा पुगेको देखिन्छ ।

हाक्पारे र ख्याली सम्झन्छु म
‘साकेला र ल्योसार सम्झन्छु म
ककफेक्वा र सिसेक्वा सम्झन्छु
विडम्वना ।
मैले सम्झने मात्र हो ।
हेर्न र खेल्न पाउँदिन म
किनकि
म देश बाहिर छु । ’
(७५/म देश बाहिर छु । )

सेलिङ्को अर्को यो कविता मिथक र प्रवाशी विरहको बेजोड संयोजन सहितको कविता हो । उनका केही कवितामा चैं बिलकुलै प्रवाशको कष्ट र वेदना त्यहाँ रहनुको पीडा कलात्मक ढंगले उतारेका छन् । उनी स्वयम प्रवाशी जीवन भोगिरहेकाले पनि हुन सक्छ । यो शैदीको कविता आएको । र उनले त अरवी मलुकका शब्द चयन समेत गरेर आम पाठकहरूलाई नयाँ स्वाद पस्केका छन् । साँच्चै प्रवाशी हुनुको पीडा अनि प्रवाशिनुभन्दा अगाडिको नेपालीको जीवन भोगाई यथार्थ चित्रणले कविता छाड्नै मन लाग्दैन । बन्धकीमा बाँधिएको टारबारी कविता साँच्चै मन छुने किसिमको छ । त्यसो त मण्डेला खोजीदै, जय लिम्बुवान, लोकतन्त्र जस्ता कविताको स्वादले जो कोहीको जीव्रो रसिलो पार्छ । कतिपय कविताहरूले उनको लिम्बुवान क्षेत्रमा भएको अनि त्यहाँकै कुनै पर्वमा सेउलाले बारेको गोठहरूमा धान नाच र माङलाङ केलाङ नाचिरहेको झैं महसुस गराउँछ । यो उनको कवित्व हो अथवा कवि धर्मिता पनि हो ।

सेलिङको कवितामा कविताको अनुच्छेद सही बेलामा नभत्किनु अलिक असहज लाग्छ । कसैले मन परेको एउटा पंक्ति झिक्छुभन्दा कुन हो कुन भन्ने दोधार हुन सक्छ । पढ्न पनि यदाकदा असहज हुने खालको छ । अनि केही कविता चैं अति सामान्य लाग्ने पनि छन् । यसले पनि पाठकलाई अलिक खल्ल्लोपना महसुस हुन सक्छ । यो संग्रहको सम्बन्धमा यहाँभन्दा उता मैले बोल्ने हिम्मत गरिन । यो त मेरो मनको रहर मात्रै हो बोल्ने र लेख्ने कुराहरू यो देशका प्रा. डा. तथा समालोचकहरूले बोलिसकेका छन् । बस् अन्त्यमा यति भन्छु सुजन सेलिङ जि, यहाँको कलमले अरुले बेवास्ता गरेका यी यस्तै युद्ध लडिरहोस् जुन युद्ध हाम्रो साझा मुद्दाको निम्ति होस् ।

-प्रकाश दिप्साली राई

साभार:- Nayaonline patrikaa

Leave a Reply

Your email address will not be published. Required fields are marked *