Skip to content

प्रथम दुई दिने बृहत रामेछाप संस्कृति, कला तथा साहित्य सम्मेलन सम्पन्न


मन्थली ।

यही २०७५ भाद्र ८ र ९ गते रामेछापको मन्थलीमा प्रथम २ दिने ‘बृहत् रामेछाप संस्कृति, कला तथा साहित्य सम्मेलन –२०७५’ एक भव्य समारोहबीच सम्पन्न भयो ।

सम्मेलनको पहिलो दिन ८ गते विभिन्न जात जातिहरूको मौलिक झाँकी प्रदर्शन, कलाका विभिन्न क्षेत्रमा जिल्लाभित्र क्रियाशील कवि, लेखक, कलाकार, चित्रकार, गायक र मूर्तिकारहरूलाई सम्मान वितरण, कवि धन योञ्जनको ‘एकल कविता वाचन’ आयोजना भएको थियो भने भोलिपल्ट ९ गते बहुभाषिक साहित्य सम्मेलन, ‘कला, साहित्य र संस्कृतिको विकासमा स्थानीय तहको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रम समेत आयोजना भयो । सोही दिन उक्त सम्मेलनले सिन्धुली, दोलखा, रामेछाप, सर्लाही, महोत्तरी, धनुषा र राजधानीका स्थापित स्रष्टाहरूबीच भएको साहित्यिक अन्तकृयाबाट ‘११ बुँदे रामेछाप साहित्यिक घोषणा–पत्र –२०७५’ जारी गरिएको थियो ।

२ दिनसम्म चलेको सम्मेलन उद्घाट्न ८ गते बिहान ११ बजे प्रदेश नं. ३का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले भव्य समारोहबीच मन्थलीस्थित जिल्ला समन्वय समितिको मैदानमा गर्नुभयो । सम्मेलनमा ‘आफूले बजेट निर्माण गर्दा रामेछापको समग्र भौतिक विकासका अलावा कला, साहित्य र संस्कृतिका क्षेत्रमा नयाँनयाँ कार्य गर्ने योजना बनाएको’ कुरा राख्नुभयो ।

सम्मेलन प्रदेश नं. ३का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यता, चर्चित साहित्यकार डा. राजेन्द्र विमलको विशिष्ट आतिथ्यता र प्रदेश नं. ३का सांसद रिता माझीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । सम्मेलनमा रामेछाप जिल्लामा बसोबास गर्ने नेवार, तामाङ, मगर र माझी समुदायहरूको उत्कृष्ट मौलिक सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएका थिए साथै विगत् १ दसक अघिदेखि पञ्चेबाजा संरक्षणमा क्रियाशील पञ्चेबाजा संरक्षण समितिद्वारा पञ्चे बाजाको विस्तृत प्रस्तुति समेत गरिएको थियो ।

पहिलो दिनको कार्यक्रममा रामेछापमा रहेर साहित्यका विविध विधामा कलम चलाउने साहित्यकारहरू, चित्रकार, मूर्तिकार, थाङ्का कलाकार, नृत्यकार, गायक र अभिनयकर्मीको उल्लेख्य सहभागिता रहेको थियो । जिल्ला र जिल्ला बाहिरबाट आउनु भएका साहित्यिक अतिथि र विशिष्ट व्यक्तित्व लगायत जिल्लाका २ नगरपालिका र ६ गाउँपालिकाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्सासपूर्ण उपस्थितिलाई साथ दिन मन्थली नगरभित्रका शिक्षक, अभिभावक, विद्यार्थी, पत्रकार, बुद्धिजीवी, उद्योगी, कर्मचारी र विभिन्न राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधिहरूको सघन उपस्थितिबीच करिब १ हजार पाँच सय व्यक्तिहरूको सहभागिता रहेको कुरा मूल आयोजक समितिका संयोजक धन योञ्जनले बताउनु भयो ।

सम्मेलनको उद्घोषण कवि उद्धव अविचल र स्वागत् भाषण सह–आयोजक सान नेपालका अध्यक्ष प्रकाश परिष्कार र धन्यवाद् ज्ञापन २ नगरपालिका र ६ गाउँपालिका आयोजक रहेकाले आयोजकहरूका तर्फबाट मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले गर्नुभएको थियो । समारोहमा वक्ताहरू खाँडादेवी गाउँपालिकाका प्रमुख प्रेम तामाङले ‘स्थानीय तहले अब वार्षिक रूपमा कला र संस्कृतिका क्षेत्रमा उदाहरणीय कार्यहरूगर्ने’ सामूहिक प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

समारोहमा चित्र, शब्द र संगीतका त्रिवेणीहरूको कलम, गायन, कुची, नृत्य र अभिनयले उच्च गरिमायुक्त अग्रज र क्रियाशील व्यक्तित्वहरूलाई आदरपूर्वक स्मरण गरिएको थियो । समारोहमा कविता विधामा कविहरू रामचन्द्र वियोगी, डा. सुमन कर्माचार्य आख्यान विधामा माधव सयपत्री, विनोद श्रेष्ठ, निबन्ध विधामा पेशल आचार्य, रमेश घिमिरे, गजलमा कल्पना प्रकृति, नवीन मनोहर, मुक्तक विधामा सफल गोले तामाङ, चित्रकलामा जयराम मानन्धर, नृत्यमा अप्सरा थापा, गायनमा दुर्गानारायण श्रेष्ठ, स्रिजम सिँजाली, वाद्यवादनमा पञ्चेबाजा संरक्षण समिति, अभिनय विधामा घनश्याम श्रेष्ठ, थाङ्का कलामा मानवहादुर दोङ, मूर्ति कलामा गजेन्द्रबहादुर थापा र सुमन्तकुमार कार्की समेत करिब २ दर्जन स्रष्टाहरूलाई सम्मान गरिएको थियो ।

सम्मेलनमा स्थानीय ५ वटा विद्यालयहरूले आकर्षक नृत्यहरू प्रस्तुत गरेका थिए । सोही दिन कवि धन योञ्जनले ‘एकल कविता वाचन’ गर्नुभएको थियो । उहाँले एक दर्जन जीवनवादी कविता र गजलहरू प्रस्तुत गर्नुभयो । कार्यक्रमको सहजीकरण निरजकुमार थापा र वाचित कविताहरूमाथि वस्तुगत र तत्वगत टिप्पणी वरिष्ठ कवि महेश प्रसाईंबाट भएको थियो ।

भोलि पल्टको बहुभाषिक साहित्य सम्मेलनमा जिल्ला र जिल्ला बाहिरका गरी करिब ७० जना कविकवयित्रीहरूले नेपाली, तामाङ र अङ्ग्रेजी भाषामा कविता सुनाएका थिए । सो समारोहमा राजधानीबाट महेश प्रसाईं, धीरकुमार श्रेष्ठ, शिलत गिरी, बिना थिङ तामाङ, डोल्मा लामा, गोरखापत्रका पत्रकार शिवकुमार भट्टराई, जनकपुरबाट डा. राजेन्द्र विमल, तोयाराज घिमिरे, नागरिक दैनिकका धनुषा संयोजक सुरेश यादव, नीला घिमिरे, अम्विका पौडेल, सिन्धुलीबाट प्रज्ज्वल सिन्धुलीय ‘भाइदाजु’, मैयाँ लामिछाने, केदार देवकोटा, सुनील जलन, रूपक जमरा, कृष्णराज थिङ, नवीन संघर्ष, केशवप्रसाद फुयाँल, सर्लाहीबाट राजेश्वरी काफ्ले, मीना देवकोटा, नित्यानन्द कडेँल, सरोजकुमार सिँह, रामेछापका स्रष्टाहरू रामचन्द्र वियोगी, पेशल आचार्य, प्रिन्स प्रकाश प्रकाश परिष्कार, कुमार यात्री, केशव अमोल, सौजन्य सत्याल, सजना वाइबा, गायत्री श्रेष्ठ, शीतल थोकर, हिरालाल आचार्य ‘अनारबाजे’ र विष्णु विरही श्रेष्ठ लगायतका कविहरूले आआफ्ना कविता, गीत, मुक्तक र गजल सुनाएर माहौललाई संगीतमय बनाएका थिए ।

कार्यक्रमको अन्त्यमा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले ‘नगरपालिकाले यही आर्थिक वर्षदेखि ५ लाख रूपैयाँ अक्षय कोषमा छु्ट्याउने र सो रकमको ब्याजले वार्षिक रूपमा कला र संस्कृतिका क्षेत्रमा केही नयाँकार्य गर्ने’ घोषणा गर्नुभयो । सो दिनको कविता गोष्ठी सञ्चालन निरजकुमार थापा र कुमार यात्रीले संयुक्त रूपमा गरेका थिए । ‘कार्यक्रमले आफूहरूलाई सिर्जनाकर्ममा लागिरहन थप प्रेरणा र ऊर्जा दिएको’ कुरा एक प्रश्नको उत्तरमा मूर्तिकार गजेन्द्रबहादुर थापा र थाङ्का कलाकार मानवहादुर दोङले गर्नुभयो । अधिकांश सहभागीहरू उक्त सम्मेलनबाट प्रभावित भएका थिए । आगामी वर्षदेखि गाउँपालिका र नगरपालिका स्तरमा यस्ता कार्यक्रमहरू गरिनु पर्ने धारणा सभामा सहभागी अधिकांश कवि, कलाकार र संस्कृतिकर्मीहरूले राखेका थिए ।

पेशल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *