Skip to content

गंगा लिगल र गंगाजल


आमुख–
अतराष्ट्रिय नेपाली साहित्य समाज ह्युस्टन च्याप्टरकी संस्थापक अध्यक्ष गंगा लिगल नेपालको ऐतिहासिक थलो पाल्पा तानसेनमा जन्मिएर सिद्धार्थनगर, भैरहवालाई स्थायी बसोबास बनाई हाल ह्युष्टन,टेक्सास,अमेरिकामा बसी नेपाली साहित्यमा आफूलाई पूर्णरूपमा समर्पण गर्नुभएको छ । विविध विधामा करिब दुई दर्जनजति कृतिहरू पस्किसक्नुभएको छ । तीन जर्दनको हाराहारिमा पुरस्कार र सम्मानले विभूषित भै सक्नुभएको छ ।

यस कृतिको प्रकाशकीयमा, अनेसास, ह्युस्टन च्याप्टरका अध्यक्ष शेष शर्माले भन्नुहुन्छ– ‘अमेरिका आएर आफ्नो नेतृत्वमा वि.सं.२०६७ सालमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ह्युस्टन च्याप्टरको गठन गरी विदेशमा नेपाली भाषा साहित्यको संरक्षण गर्ने शायद प्रथम महिला हुन गंगा लिगल ’। ह्युस्टनमा नेपाली भाषा पाठशालाको स्थापना गर्न ठूलो योगदान गर्नुभएको कुरा पनि शर्माजीले यहाँ लेख्नुभएको छ । यसरी नै वासु पौडेलको भनाइमा ‘दियो’ को प्रकाशन पनि गंगाको सशक्त पहलबाट थालनी भएको हो । यसरी साहित्य र समाजिक क्षेत्रमा समर्पित गंगा लिगल ‘गंगाजल’ हाइकुसङ्ग्रह लिएर हामी समक्ष प्रस्तुत भएकी छन् । ‘गंगाजल’ हाइकुसङ्ग्रह उनको २१औं सिर्जना हो ।

हाइकु– हाइकु जापानी भाषाा साहित्यमा वासोले प्रयोगमा ल्याएका र यो अहिले नेपाली साहित्यकारहरूले पनि व्यवहारमा उतारेका छन् । यस कवितामा पहिलो हरफ पाँच अक्षरको दोस्रो हरफ ७ अक्षरको र तेस्रो हरफ ५ अक्षरको गरी १७ अक्षरीय सिर्जनालाई हाइकु भन्ने गरिन्छ । गंगाजीले हाइकुलाई यसरी परिभाषित गर्नुभएको छ –‘छोटो मीठो र पेचिलो तीन लाइनको ५–७–५ गरी १७ ओटा अक्षरका माध्यमबाट देश, काल, परिस्थिति, प्रकृति, सौन्दर्य वातावरण आदिको विषयमा व्याक्त गरिने भावलाई नै हाइकु भनिने गरेको कुरा मैले बुझेको छु ’ । गंगाजीको धारणा केलाउँदा साहित्य लेखनमा अँझै संतुष्टि प्राप्त गर्नुभएको छैन र पाठकलाई सन्तुष्टि दिलाउने गरी लेखन गर्ने उहाँको तीब्र चाहना रहेको पनि देखिन्छ । त्यसो हुँदा गंगाजीले यस्तो रसिलो चोटिलो पेचिलो हाइकु विधामा आफ्नो कलमलाई तीव्र पार्दै हाइकु सङ्ग्रह प्रदान गर्नुभएको छ ।

संरचना –आवरण पृष्ठ सहित ११० पृष्ठको यो हाइकुसङ्ग्रहको प्रकाशन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ह्युष्टन च्याप्टरले गरेको छ । यसमा ६१२ हाइकु समावेश गरिएका छन् । मूल्य ने.रु. २५०/– विदेशमा ५ डलर राखिएको छ ।

हाइकुसङ्ग्रलाई अध्ययन गर्दा – गंगाजीले यस कृतिमा पस्केका हाइकु विविधताले सजिएका छन् । गंगाजीले पस्केक हाइकुहरूमा उहाँले नै वर्गीकृत गरेकोलाई कुनै शीर्षक नदिइ लेखिएका हाइकु, आमा, मातृभूमि र जन्मभूमिमा के कस्ता धारणा आएका छन् त्यस्मा नै आधारित रहेर यहाँ विश्लेषण गर्ने अनुमति चाहन्छु । यस कृतिको थालनी काव्यिकरूपमा मङ्गलाचरणको थालनीबाट भएको मैले महसुस गरेको छु । प्रथम हाइकुमा प्रभात सूर्यलाई स्मरण गरिएको छ ।

प्रभात सूर्य
छचल्किन्छ किरण
सुन्दर रूप

प्रभाती सूर्यलाई स्मरण गदै हाइकु लेखनको थालनी गरिएको छ । त्यो सुन्दररूपले संसार नै प्रकाशिलो बनोस् भन्ने कति राम्रो अभिव्यक्ति छ हाइकुकारको । यस कृतिमा सूर्यसँग सम्बन्धित धेरै हाइकुहरू छन् । विहानी सूर्यमा कर्कलाको पानी मोती भै टल्कने यो सौन्दर्यतामा रम्यता छाउने शित छर्ने, शीतको शीतलताले बिरुवा प्रसन्न हुने,किरण हिमालमा पर्दा रम्य देखिने, हिमाल पग्लेर नदी झर्ना बनेर बग्ने, रविको प्रकाश पुञ्जले प्रकाशमय बनाउँछ र मन रम्दछ भन्दै हाइकुकाारको धारणा यस प्रकार छ–

रम्दछ मन
उज्वलता द्योतक
चौतर्फ रवि

विहानी सूर्यले लालीमा छर्ने, सबैको प्यारो बन्ने तर दिनमा चर्केर उत्पात घाम लाग्ने र पीडा दायक हुने जस्ता अभिव्यक्तिको साथमा संसार नै प्रकाशमय बनोस् भन्ने चाहना छ हाइकुकारमा ।

प्रकृतिलाई प्रतिक बनाएर लेखिएका सुन्दर हाइकुले मानव जीवनमा दिने आनन्दता, खुशीयाली प्रशन्नता, मुस्कान, सदा वहार, हर्षित मन, मौसमी सन्देश, आदि थुप्रै भावनालाई अध्ययन गर्दा मानव जीवनमा सुखद अनुभूति हुने धारणा आएका छन् हाइकुमा । वसन्तले प्रणीहरूलाई दिने आनन्दतामा हाइकुकारले यसरी प्रस्तुत गर्नुहुन्छ –

वसन्त आयो
लालीगुराँस हेर
मुस्कान थप्छ (पृष्ठ ७)

वसन्तमा सौन्दर्य खुल्ने, हरियालीले छाउने, चराहरुले डालीडाली रमण गर्ने, मानिसले सधैं वसन्त आओस भन्ने चाहना, साहित्यले वसन्तलाई ताक्ने, र सुरम्य बन्ने, कलकलाउँदा पल्लवहरूले मन नै हर्ने, हृदय स्पर्शी हुने, हरियालीले दुःख हट्ने, मैनाको नचाई, मृगको बच्चाको उफ्राई, भँमरा फूलको रस चुस्ने, प्रकृतिमा नै स्वर्ग हुने, वसन्तको राम्रोले गर्दा अनेक भावनाको सिर्जना हुने वसन्त र प्राणीहरूको अनुप म सम्बन्धलाई हाइकु कारले प्रभावकारी रूपमा वर्णन गर्नुभएको छ । रमणियतामा रम्न सक्नु, प्रकृतिसँग नाच्न सक्नु,प्रकृतिलाई अङ्गाल्न सक्नु, प्रकृतिमय भएर बाँच्न सक्नु जस्ता भित्री भावनामा यी हाइकुसँग जति डुव्यो त्यति आनन्ददायी अनुभूति मानवले गर्न सक्छ ।

वसन्त राम्रो
चलमलिन्छ मन
अनेक भाव,(पृष्ठ १४)

सुनगाभाले
बोटभरि घुमेर
उन्दैछ माला

गृष्मको हावाले बनाउने आल्हादमय, वर्षामा पारिने विनाश, शरदमा आउने दशैं आदि ऋतुका जीव र वनस्तीमा पर्ने सकरात्मक र नकरात्मक पक्ष आदि विविधतालाई गंगाजीले समेट्नुभएको छ ।

झर्ना नदीनाला सागरलाई प्रतिक बनाएर लेखिएका हाइकुहरूले मानव जीवनलाई दिने आनन्दता, ध्वनिको सुन्दरता, नदीको समयकै सुर बग्ने निरन्तरता, वर्षाको भेलले पुर्याउने खेती पाती र जीवको विनाश, नदी र सागर दृष्टिगत हुँदा स्वर्णिम प्रष्ट, नदी परोपकारी रूपमा बग्दा मानिस खुस हुन्छन्, विध्वंस गर्दा मानव र जमिनको नाश हुन्छ, भेल कहिले मलिलो पनि हुन्छ,, पवित्र नदीहरू विभिन्न नाम (गंगा जमुना, सरस्वती) आदिबाट बग्छन् संगम स्थल पवित्र र धर्म स्थल कहलाउँछन्, नदीबाट जमिन सिंचित हुन्छ । नदीहरूले पियुष सरि देशलाई रम्य बनाउँदै जमिन पवित्र पार्छन् । ऋषिहरूले स्नान गर्छन् । कोशी कर्णाली, सप्त गण्डकी, मेची, महाकालीले नेपाली नामलाई ब्रह्माण्डभरि फैलाउँछन् । नदी तथा सागर झर्नाले मानिसलाई दिने ज्ञानको एक हाइकु पढौं –

अविरलता,
निरन्तर प्रवाह,
नथाक्ने देह
(पृष्ठ २८)

गंगाजीले यी नदीहरू विभिन्न नामाकरण हुँदै पूजिदैं, महत्व राख्दै सबैका श्रद्धा र आस्था बन्दै समुद्रसम्म पुगदछन् विशाल जलराशी लहरहरू छचल्किदै समय समयमा रमणियता भर्दै, अत्यान्त मनोरमले मन हर्र्दछ भन्दै भन्नुहुन्छ –

सुरम्य दृश्य
ऐश्वर्य हो जलाधि
परिपूर्णता (पृष्ठ ३०)

समुद्र भित्र नै दूर्लभ मोती, औषधी, विभिन्न किसिमका बिरुवा, अनेकौ जीवजन्तुको उपलब्धता, माछाहरूको सुन्दरता, रंगिन माछाको अमूल्य नृत्य, माछा मार्दै चलेको व्यवसाय आदि भावना र धारणाहरू यी हाइकुमा सलल वगिरहेका छन् जल नै मानव जीवनको प्राण हो । यसको महिमा गाएर सकिदैन, जलविना जीवको सम्भावना पनि छैन । गंगाजी यसमा राम्ररी परिचित हुनुहुन्छ र अतुलनीय रूपमा हाइकुमा प्रस्तुत हुनु भएको छ ।

सगरमाथा र हिमालयलाई प्रतिक बनाएर लेखिएका हाइकुहरू– सगरमाथा र हिमाल विश्वमै नेपालको सान, पहिचान, गौरब, हुन्लाई पनि यस हाइकु सङ्ग्रहमा गंगाजीले समेट्नुभएको छ ।

विभिन्न फूललाई प्रतिक बनाएर लेखिएका हाइकुहरू–लाली गुराँस राष्ट्रिय फूलको महिमा, काँडाको साथमा गुलाफ र वगनवेली, हिलोमा पुल्ने गुलावले मानवलाई दिने उच्चतम सन्देश हाइकुमा आएका छन् ।

वेली चमेली
चौतर्फ सुवास छ
पवित्र गुफा
यस्तै सुवास
हुनुपर्छ मान्छेमा
जीवन भरि
पृष्ठ ७८

निशालाई प्रतिक बनाएर लेखिउका हाइकुहरू– निशाको आगमनसँगै संसार अन्धकारमय हुन्छ । प्रकाशको खोजी हुन्छ । औसीको रातमा त जूनकीरीले नै सम्राज्य ज्नमाउँछे । मानिसले सहारा खोज्छ, यस्तो अवस्थामा जूनकीरी नै पथदर्शक बन्छे । जूनको अभावमा त जूनकीरीमा झनै आनन्द आउँछ । जब जूनेली रातको आगमन हुन्छ तथा जब जून हाँस्छ शीतलो हुन्छ जीवहरू रमाउँछन् । मानिसले प्रकाशको लागि दियालो बोक्छ । निशाको पनि निरन्तरता हुँदैन,जून आए पछि निशा भाग्छे र जूनले आफ्नो प्रज्वलता को साथै अमृत खसाल्छ, औंसीमा त जून पनि डराएर लुक्नु पर्छ । यस्तो अवस्थामा संयमता लिएर पर्खनुपर्छ प्रकाश भर्दै ज्योत्सनाले उजागार पार्दै पूर्णिमा आउँछ र झलझलाकारले अँध्यारोको नाश गर्दछ जस्ता निशा र जून बीचको सम्बन्धलाई हाइकुकारले तुलनात्मक रूपमा विश्लेषण गर्दै मानव जीवनमा पनि सधैं अन्धकार रहदैन उज्यालो दिनले पनि स्वागत गर्दछ भन्ने संदेश दिदै संसारिक चक्रलाई समायोजन गरिएको छ हाइकुमा ।,कवि र हाइकुकार – ‘जहाँ नपुगे रवि त्यहाँ पुगे कवि’ भन्ने शब्दलाई हाइकुकारले समाएकी छन् । निशा होस या चाँदनी रात, प्रकृतिको सौन्दर्यता, जूनकीरीको पिलपिले प्रकाश, सेतै हिउँ, आदिमा कविका भावना फुर्दछन्, कविता वेग बढ्दै जान्छ र उसको कलम चल्दै जान्छ,भन्ने धारणा आएका छन् हाइकुमा ।

देवीदेवता र हाइकुकार–गंगाजीको ईश्वरप्रतिको श्रद्धा अगाध छ । नेपाल देश पूज्य देवहरूको खानी हो र पशुपति नाथ हिन्दूहरूका आराध्य देव हुन् । पशुपतिनाथ नेपालीका विश्व प्रसिद्ध गौरवमय देवता हुन् । यिनले नै रक्षा गर्दछन् । आस्था र विश्वासमा अडेका हामीले पवित्र जलबाट स्नान गरी पशुपति नाथको आराधना गर्छौ । यसरी आराधना र प्रार्थना गर्दा मन शान्त हुन्छ । नेपाल मन्दिरैमन्दिरको देश यी मन्दिर विविध देव अनि देवीहरूले सजिएका छन् । यी मन्दिरहरू लोभ लाग्दा अति सुन्दर शृङ्गारिक मूर्तिहरूमा सजिएका छन् र जनजनको श्रद्धा भक्ति छ । पंचमुखी देवको पूजामा जनताको भीड लाग्छ भन्दै आस्था बलियो हुन्छ र यो आस्थालाई तोड्न हुँदैन भन्नै जस्ता धारणा आएका छन् ।

माटो र यसमा हुने उत्पादनसँग गाँसिएका हाइकुहरू– नेपालका माटोका रङहरू विभिन्न भए पनि गंगाजीले रातो माटोलाई विशेष टेवा दिँदै हाम्रो नेपालको माटो सुन्दर छ र रातो छ । यी रातामाटोले घरका भित्ताहरू सजिएका छन् । नेपाली माटोमा काँक्रा, घिरौला, सिमी बोडी मकै बोडी, साग, फर्सिका मुन्टा,अम्वा सुन्तला हलुवावेद, मेवा, धान,गहुँ, वन जगल, अंगुर, आँप, मेवा, अम्बा, हलुवावेद, नास्पाती केरा आदि फल्छन् । यसलाई चराहरूले,मानिसले खाने, ईश्वरमा चढाइने प्रसाद बनाइने आदि धारणाका साथमा गंगाजीले कृषि उत्पादनमा टेवा दिंदै हाइकु लेख्नुभएको छ । संसारमा बाँच्ने आधार नै खाना र पानी हो । यस्तो महत्त्वपूर्ण धारणा हाइकुमा समेटिनु हाइकुकारहरूको लागि एउटा मार्ग दर्शन पनि हो ।

जीवन दर्शन र हाइकुहरू–
‘जीवन धन
साँच्न पर्छ खुशीले
सदा जीवन्त
पृष्ठ (६८)

प्रगतिको लागि जीवन आँशुमा छचल्किन हुँदैन,मुस्कन थप्नु पर्छ, यसरी मुस्कान थप्दा अघि बढ्दा प्रगति आफै आउँछ, बगेको पानीसरि जीवन बग्छ, जीवनरस तरंगमा लगाई सुखमा बाँच्न सकिन्छन् जीवनमा आँशु मात्र हैन जिन्दगी सुखैसुख र आर्तनाद पीडै पीडाको बोझ पनि हुन्छ । यी दुवैलाई समभावमा ल्याउन सके दुख (दर्द) हरिन्छ । सुख र दुखलाई पिउनको लागि मानिसमा खुवी चाहिन्छ, डटेर अघि बढ्नु पर्छ र जीवन शीतलता लिएर अघि बढ्छ र सौम्य बन्दछ । भावनामा डुबेर मात्र हुँदैन, साक्षात्कार बन्नु पर्छ । फल प्राप्तिको लागि तनमनको आवश्यक पर्छ । जीवनसँग उम्रेका कल्पना बढ्दै जान्छन् । जीवन महगो हुन्छ भनी आस्थालाई तोडन हुँदैन । यो पवित्र हुन्छ र बढ्दै जान्छ साथै विश्वलाई समेट्छ जस्ता धारणा आएका छन् । एउटा हाइकुलाई अध्ययन गरौं –

मान्यता ठूलो
आदर्श जीवनको
बन्छ हर्षित
पृष्ठ ७७

जीवनसँग सम्बन्धित धेरै हाइकुहरू यहाँ समावेश गरिएका छन् । गंगाजीले आदर्श जीवनको लागि मार्ग दर्शन कोरेकी छन् भन्न सकिन्छ ।
रोजगार र युवासँग सम्बन्धित हाइकुहरू– गंगाजीले युवाहरू पलायन भएकोमा पनि चिन्ता व्यक्त गर्नुभएको छ । आज देशमा युवाहरू, उच्च शिक्षा र रोजगारीकाने लागि पलायन भएका छन् ।

हेर देशमा
कत्ति पीडा जलन
बोकेका युवा ।
निस्सासिएर
टाढा टाढा भाग्दैछन्
समेट सबै
पृष्ठ ७४,

आमा,मातृभूमि र जन्मभूमिप्रति समर्पित हाइकुहरू–गंगाजीले आमा कवितासङ्ग्रह २०६४मा निकाली सक्नुभएको छ । आमा नै उहाँको साहित्य लेखनको प्रेरणास्रोत हुनुहुन्छ । हाइकुमा पनि उहाँले आमालाई स्मरण गरेका हाइकुले मनै छुन्छ । आमाको पवित्र कोखबाट जन्म लिएकोमा गौरव ठान्नु पर्ने,ठूलो कुरा के भने आमाको कोमल हृदय छोराछोरीप्रति हुन्छ । यो माया जीवन्त पारेर छोराछारीले जोगाएर संरक्षित राख्नुपर्छ । आमाबाट पाइने जस्तो अमूल्य ज्वलन्त माया संसारमा कहीं छैन । कसैको दुःख देख्न नसक्ने आमाको हृदयले छोराछोरीको घाऊमा मलम लगाउने,छातीमा टाँसेर राख्ने, सृष्टि गरेर रक्षा गर्ने सुख दिलाउने, सन्ततिलाई सुख दिलाउन जति पनि कष्ट बोक्न सक्ने, सन्ततिलाई निस्वार्थी बन्न आकांक्षा राखेर शिर ठाडो बनाएर हिडाउन, उच्च जीवनको लागि आमा सन्ततिप्रति निश्चल छन् र आमा अनन्ततामा सदा वहार वृक्ष हुन् जस्ता गहन भावना गंगाजीले आमाप्रति राख्दै भन्नुहुन्छ –

कति विशाल
अनन्त छ मातृत्व
सम्मान गरौं पृष्ठ ९९

मातृभूमि जन्मभूमि र राष्ट्रप्रति पोखिएका भावनाहरू पनि यस हाइकुसङ्ग्रहमा हामीले प्रसस्तरूपमा अध्ययन गर्न पाउँछ म । देशका प्रकृतिक सम्पदा,चन्द्र सूर्यले अंकित प्राणभन्दा प्यारो राष्ट्रिय झण्डा, हिन्दू संस्कृति, प्यारो नेपाल जननी र जन्मभूमि यी सबै सुन्दर छन् । आमा हाँसे सबै रमाइलो बन्छन् मातृभूमिलाई स्वार्थरहित, कलंकरहित, समय बुझेर वीडम्वना हटाएर पवित्र वारेर, मानिसका मागलाई शान्तरूपले साकार पारेर, शुद्ध भावना जागृत पार्दै सुनौला बनाउँदै संसारलाई नै खुसी पार्दै, अन्धकारलाई नास्दै,उन्नतिशील पाइला बढाउँदै आमा, जन्मभूमि, मातृभूमि र राष्ट्रप्रति एकताको साथमा लसमर्पित हुने आग्रह सहित यो हाइकु सङ्ग्रह सममाप्त गरिएको छ । यस हाइकुसङ्ग्रह विविधताले सजिएको छ । यसमा पोखिएका चाडपर्व, विकृति विसङ्गति र थुप्रै सन्देश मैले समेट्न सकेको छैन र एउटा सानो लेखमा सबै समेट्न सम्भव पनि हुँदैन ।

सारवस्तु – माथि मैले यससङ्ग्रहमा पोखिएका धेरै धारणालाई समेट्ने प्रयास गरेको छु । यस कृतिको मुख्य प्राप्ति भनेको सुन्दर रूपमा यसमा प्रयोग गरिएका प्रतीकात्मक प्रस्तुति हो । यसले प्रकृतिक, सामाजिक, धार्मिक, राष्ट्रप्रतिको माया, आमा, मातृभूमि, जन्मभूमि, मानवता, विश्वशान्ति जस्ता विषयबस्तुलाई गहनरूपमा उठाएको छ । सुन्दर समाजको परिकल्पना गरेको छ । वस्तुत यी रचनाहरू हाइकुका परिधिभित्र रहेर सिर्जना गरिएका छन् ।

भाषाशैली –भाषा सरल र सुबोध छ । सबै वर्गका पाठकले यसलाई आत्मसात गर्न सक्छन् । हाइकुहरू अन्तरसम्बन्धित छन् जस्ले गर्दा हाइकुकारले दिन खोजेका सन्देश पूर्णरूपमा पाठकहरूले प्राप्ति गर्दछन्। शिष्ट, सौम्य र रम्य भाषाको प्रयोगले हाइकुलाई पठन योग्य बनाएको छ ।

नामाकरण –गंगाजीले यस कृतिको नामाकरण रमेश दाहाललाई पढ्न लगाई रमेश दाहालको धारणा बमोजिम ‘गंगाजल’ राखिएको छ । पाठकको भावनालाई समेटिएको र यसमा लेखिएका हाइकुहरू पवित्र भावनामा भएका र गंगाजल सरह सलल बगेका, हुनाले पनि ‘गंगाजल’ नामाकरण सार्थक देखिन्छ ।

अन्त्यमा गंगाजीको सफल साहित्यिक यात्रा अँझै प्रगाढ बन्दै जावस् भन्दै, सुस्वास्थ र दीर्घायुको कामना गर्दै बिदा चाहन्छु ।

धन्यवाद
सदानन्द अभागी
मिति २०७५ साल श्रावण २२ गते
कावासोती नगरपालिका वडा नं ७, शान्तिचोक नवलपुर, गण्डकी प्रदेश
प्रतिकृयाको लागि snjaishy@ gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *