Skip to content


पुगेन हिजो छातीको नाप
हुनसकिनँ लाहुरे
लुखुरे थिएँ,
वनारस गएँ, धोती लगाएँ
अनि वेद र गीता समाएँ ।

पल्टने साथीले भित्र्याए डलर
मैले भित्र्याएँ शिक्षा र साहित्य
चलाएँ पूर्वीय संस्कार र सँस्कृति
आफ्नै ज्यानको बाजी मारेर
जे जतिसकेँ बचाएँ परिवेश
खिएकै हड्डी घोटेर चलाएँ यो देश
त्यसैले आज शोसक सामन्त कहलाएँ
म बाहुन !

गुरु भएँ,
पाठशाला खोलेँ र चलाएँ
अँध्यारोमा एउटा दियो जलाएँ
हावाले निभाउन खोज्दा छेकेर तेल लगाएँ
पशुवृत्तिबाट बिस्तारै–बिस्तारै सबैलाई माथि उठाएँ
त्यसैले आज निरङ्कुश कहलाएँ
म बाहुन !

भो पुग्यो,
अब मलाई केही चाहिंन्न साथी
मान, सम्मान र स्थान
अनि भाषा, संस्कृति र पुरस्कार
सबै तिमीलाई नै दिँदैछु
म त उहिलै पनि
रुखको काखमा हजारौँ वर्ष भोकै नाङ्गै वसेकै हुँ
मलाई गाँस, बास, कपास केही चाहिंन्न ।

साथी तिमी त अहिले पनि भोकै छौ होला हई !
आऊ साथी आऊ, माथि आऊ
तिमीलाई जे खान मन लाग्छ निर्धक्क खाऊ
दवाउनुसम्म दवाएछु मैले शदिऔँदेखि तिमीलाई
केही छैन, अब तिमी मलाई दवाऊ !

मेरा छोराछोरी, नातिपनाति
कसैलाई केही चाहिँदैन
शिरीखुरी म तिमीलाई नै दिँदैछु
मन्त्री भएको तिम्रो छोराको छोरालाई दिँदैछु
सभासद भएकी तिम्री छोरीकी छोरीलाई दिँदैछु
बिचरा ! भोकैनाङ्गै गाडी र पिलिनमा कुदिरहेकाछन् ।

तिमीलाई अरु केही चाहिंन्छ कि !
भन, निर्धक्क भन
म दिन तयार छु
मलाई त दाल, भात, रोटी केही चाहिंन्न
यति काफी छ,
जातैले माथि छु
म बाहुन !

चिन्ता नगर साथी
तिमीलाई म धेर भएकै हुँ भने
अनि तिमी सक्षम भएकै हौ भने
हाँसीहाँसी म यो देश तिम्रो नाममा गरिदिन्छु
मेरो लागि मुग्लानको ढोका खुलिसकेको छ
ठोकिदेऊ मेरो छातीमा स्ट्याम्प
म मरुभूमिमा उँट चराउन जान्छु,
तिमी यो देश चलाऊ
खै लेऊ, लेऊ साथी, लेऊ मेरो मृत्युको प्रमाणपत्र लेऊ
म आफैँ हस्ताक्षर गरेर जान्छु ।

हुइँया, हुइँया !
ऊ, सुन त !
मलाई लिन कतारबाट कुवेरले पुस्पक विमान पठायो
अब मलाई नलिई जाँदैन त्यो
सेताम्मे लम्पसार तेर्सिरहन्छ गौशालामा
म जान्छु है साथी !

मलाई छोडेर मेरो आत्मा कतै गएनछ भने
आएर तिम्रो उन्नति हेरौँला !
मलाई छोडेर मेरो आत्मा उतैबाट गएछ भने
काठको बाकसमा काठ बनेर
मेरो शरीर आउनेछ
त्यसलाई देउलीमा गाडीदिनु !
अनि, मेरो छातीमा एकजोडि वरपीपल रोपिदिनु
यदी, मेरा यी नलीहाडहरू सग्लै आइपुगेछन् भने
यिनको कीला बनाएर
एउटा सानो फलैँचा पनि हालिदिनु
जहाँ तिमी थाकेको बेला सुस्ताउन सक्छौ !

साथी,
बेच्न चाहिँ नबेच है मेरो देश
तिम्रै हातमा सुम्पेर सर्वश्व
चढ्दैछु विमान, पस्दैछु मुग्लान
म बाहुन !

सबिन लम्साल

1 thought on “म बाहुन !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *